कांग्रेस उपसभापतिमा निधिको मनोनयन

कांग्रेस उपसभापतिमा निधिको मनोनयन


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुमान गरिएअनुसार अन्ततः पार्टी उपसभापतिमा विमलेन्द्र निधिलाई मनोनयन गरेका छन् । पार्टी अधिवेशन भएको दुई महिनाभित्र गरिनुपर्ने पदाधिकारी नियुक्ति उनले दुई वर्षसम्म गरेका थिएनन् । आज डाकिएको निर्वाचित केन्द्रिय समितिका सदस्यहरुको बैठकको बहुमतबाट उपसभापतिमा निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई नियुक्त गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मामार्फत् सार्वजनिक गरिएको छ ।

सभापति देउवाले आफूखुशी पदाधिकारी मनोनयन गर्न लागेपछि रामचन्द्र पौडेल समूहले बैठक बहिष्कार गरेको थियो । असन्तुष्ट पक्ष बैठकमै उपस्थित नभएपछि देउवाको प्रस्ताव सहजै अनुमोदित भएको हो ।

ज्ञातव्य छ, कांग्रेसको विधान २०१७ को दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानको सोही प्रावधानअनुसार सभापति देउवालेपदाधिकारी मनोनय गरेका हुन् तापनि यस कदमले कांग्रेसभित्र रडाको उत्पन्न गर्ने सम्भावना बढेर गएको छ ।

तस्बिर रासस