एकताको पक्षमा आफूलाई यसरी उभ्याए प्रचण्डले

एकताको पक्षमा आफूलाई यसरी उभ्याए प्रचण्डले


कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने धारणा प्रचण्डले सार्वजनिक गरेका छन् । ‘कार्लमाक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ले आज राजधानीमा आयोजना गरेको ‘आजको माक्र्स, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा (एमाले)सँगको एकता केही दिनभित्रमै हुने दाबी गरे ।

यहाँनेर ध्यान राख्नुपर्ने के छ भने प्रचण्डकै कारण एकता प्रक्रिया लम्बिन पुगेको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गरेको अवस्था छ । ओलीले आफ्ना निकटजनहरुसँग प्रचण्डले बार्गेनिङ गरेर हैरान तुल्याएका भन्दै गुनासो गरेको सन्दर्भलाई मिडियाहरुले प्रकाशनमा ल्याएका थिए ।

सो कार्यक्रममा प्रचण्डले एकतामा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको तर्क उनको छ ।

प्रचण्डले भन्छन् ‘पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।’

सोही अवसरमा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको तर्क गरेका छन् भने अर्का एमाले नेता माधव नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गरे ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले समेत मन्तव्य दिएको सो कार्यक्रममा समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले गोष्ठी दुई दिनसम्म चल्ने र माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए ।