काङ्ग्रेसले सरकारलाई साथ दिने गगनको दाबी

काङ्ग्रेसले सरकारलाई साथ दिने गगनको दाबी


नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले सरकारले राम्रो काम गरेमा त्यसको प्रशंसा गर्न काङ्ग्रेसले कञ्जुस्याइँ नगर्ने बताएका छन् । विगतमा झैँ सरकारले गरेका सबै कामको विरोध गर्ने नभई अब राष्ट्रनिर्माणमा काङ्ग्रेसले पनि हातेमालो गर्ने उनको भनाई छ । विहिबार गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लामा आयोजित ‘गाउँ जाउँ अभियान’को बृहत आमसभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीले देशको विकास चाहेकोले जनताले दिएको भूमिकाको कदर गर्दै संविधान र संघीयतालाई सफल बनाउन तथा आवश्यक कानुनहरू बनाउन काङ्ग्रेस पनि सरकारसँगै हुने उनले बताए । ‘विकास निर्माणलगायतका सकारात्मक कामको लागि सरकारसँगै हुन्छौँ । त्यसमा कुनै प्रतिपक्ष हुदैँन ।’

काङ्ग्रेसले बाम गठबन्धनको चुनावी घोषणपत्र राम्रोसँग अध्ययन गरेकोले विकास–निर्माणलगायतको कामलाई पनि नियालिरहेको नेता थापाको भनाई छ । उनले सरकारले गर्ने प्रत्येक राम्रो काममा साथ दिने र बाटो बिराएको खण्डमा सही ठाउँमा ल्याउने काम समेत काङ्ग्रेसले गर्ने बताए । ‘जनताले दिएको निर्देशनअनुसार सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छौं ।’ उनले भने, ‘राम्रो कामको समर्थन र खराब कामको सुधार गर्छौं ।’

नेता थापाले संघ र केन्द्रको निर्वाचनमा हारे पनि काङ्ग्रेसको विचारले जितेको भन्दै कार्यकर्तालाई कत्ति पनि विचलित नहुन आग्रह गरे ।

– चन्द्रकान्त खनाल