गच्छदारलाई दिएको आश्वासन देउवालाई यसरी भयो घाँडो

गच्छदारलाई दिएको आश्वासन देउवालाई यसरी भयो घाँडो


दुई महिनाभित्र गरिनुपर्ने पार्टीका केन्द्रिय पदाधिकारीको मनोनयन २६ महिना बितिसक्दा पनि पूर्ति गर्न नसकेकोमा आलोचित बनेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आजको बैठकमा पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने अनुमान गरिएको थियो । खुमबहादुर खड्काको निधनपछि उपसभापतिमा आफ्नो चाहनामुताविक गर्न उनलाई बाटो खुलेकोले अब देउवाले पदाधिकारी चयनमा ढिलाई गर्ने छैनन् भन्ने विश्लेषणमा दम पनि थियो ।

तर, फोरम लोकतान्त्रिक सञ्चालन गरी बसेका विजय गच्छदारलाई चुनावको मुखमा देउवाले पार्टीमा भित्र्याएका (प्रलोभन दिएर फिर्ता ल्याएका) थिए । गच्छदारजस्ता पदलोलुपलाई देउवाले सहजै कसरी काङ्ग्रेसमा फिर्ता ल्याए भन्ने चर्चा त्यतिबेलै चलेको थियो । अहिले आएर त्यसको रहश्य उजागर भयो– काङ्ग्रेसको उपसभापति बनाइदिने भनी विजयलाई फकाएका रहेछन् देउवाले । यही आश्वासन देउवाका निम्ति यतिबेला घाँडो बन्न पुगेको छ ।

हुन त पार्टीका नेता–कार्यकर्ता जोसुकैलाई आफ्नो आवश्यकता हेरेर जथाभावी आश्वासन दिने र त्यसलाई पालना नगर्ने नेताका रूपमा देउवा बदनाम भइसकेका छन् । तथापि, उनले देखाउने ललिपपको मोहमा परेर लोभिनेको लर्को कायमै छ । यही भुलभुलैयामा फस्न पुगेका छन् आफूलाई निकै वरिष्ठ मान्ने गच्छदार पनि । देउवा विजयलाई होइन मधेसकै विमलेन्द्र निधिलाई उपसभापति बनाउन चाहन्छन् भन्ने आमचर्चा छ ।

तर, लिनेलाई भन्दा दिनेलाई सकस परेको अनुभूति गरिँदैछ यतिबेला । अर्थात्, गच्छदारलाई दिइएको आश्वासनकै कारण आजको बैठकमा देउवाले पार्टी–पदाधिकारीहरूको नाम प्रस्ताव गर्न नसकेको गाइँगुइँ काङ्ग्रेस वृत्तमा चलिरहेको छ । फलतः नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक ‘विशेष कारण’ देखाउँदै स्थगित गरिएको छ । स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने जानकारी गराइएको छ ।

बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी रहेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिले पनि देउवालाई बैठक स्थगित गर्न प्रेरित गर्यो । केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो । अबका चार दिन देउवाका लागि सोचविचार गर्ने, सल्लाह–परामर्श गरेर निर्णय लिने अवसर हुनेछ । तर, चार दिनमा पनि देउवाले उपयुक्त निर्णय लिएर पार्टीको सहमति जुटाउन सक्लान् भन्नेमा आशंका उत्तिकै कायम छ ।