काङ्ग्रेसको पुनरोत्थानमा युवाहरूको भूमिका

काङ्ग्रेसको पुनरोत्थानमा युवाहरूको भूमिका


– इन्द्रबहादुर बराल

नेपालको राजनीतिक इतिहासमा नेपाली काङ्ग्रेसको अवस्था अनपेक्षित रूपमा खस्केको छ । हालै सम्पन्न सबै तहको निर्वाचन परिणामले काङ्ग्रेसलाई स्तब्ध बनाएको प्रस्टै देखिन्छ । चुनावी समीक्षा हुँदै गर्दा केही सकारात्मक कोणबाट पनि हेरिनेछ भन्ने आमकार्यकर्ता र सर्वसाधारण मतदाताको अपेक्षाविपरीतका टिप्पणीले काङ्ग्रेसलाई बल पुग्नुको सट्टा कमजोर बनाउने पक्का छ । पार्टीका आन्तरिक मामिलालाई सार्वजनिक गरेर विपक्षीहरूको प्रशंसाको पात्र त भइएला, तर सङ्गठनलाई भने फाइदा हुनेछैन ।

नेपाली काङ्ग्रेसको इतिहासलाई ढाकछोप गरेर वर्तमानको मात्र समीक्षा गरिनु त्रुटिपूर्ण छ । सर्वविदितै छ, प्रजातन्त्रको पुनस्र्थापनापछिका चुनावमा कहाँ अन्तर्घात भएन ? अन्तर्घात मात्रै होइन, विश्वसघात पनि भएकै हुन् । ०५१ को मध्यावधि चुनावमा नेतात्रय चुनाव नलड्ने निर्णय भयो, तर त्यो निर्णय वा समझदारीको उल्लङ्घन भएकै थियो । त्यति मात्रै होइन, आफ्नै पार्टीको सरकार ढाल्नेदेखि किसुनजीलाई प्रधानमन्त्रीबाट गलहत्याउने कार्यले सच्चा, इमानदार र अवसरको खोजीमा नलागेका, तर निष्ठा र आस्थाको राजनीतिमा लाग्नेहरूका आँखा ती घटना सम्झँदा रसाउँछन् ।

पहिलो संविधानसभाको चुनावी दौरान (२०६४ साल)मा तत्कालीन पार्टी सभापतिले पार्टीलाई भोट माग्दिन भनी रेडियो/टेलिभिजनमार्फत दिएको अभिव्यक्ति अझै कानमा गुन्जिराखेको अनुभूति हुन्छ । यसर्थ नेपाली काङ्ग्रेसका जय–पराजयका शृङ्खला जारी छन् । त्यसैको परिणाम अहिले काङ्ग्रेसको पराजयको पालो रहेछ भनेर बुझ्नु सान्दर्भिक हुन्छ ।

खोक्रो र अन्धराष्ट्रवादको प्रतिवाद गर्न नसक्नु पनि काङ्ग्रेसले चुनाव हार्नुको अर्को कारण हो । यसरी हेर्दा काङ्ग्रेसइतरका पार्टीहरूले आफ्नो र आफ्ना कार्यकर्ताका कमी–कमजोरीलाई ढाकछोप गर्दै अघि बढेर सफलता पाए भने काङ्ग्रेसचाहिँ आपसमा जुध्दै एक–अर्काको वस्त्र फुकाल्नेतिर लागे, आफैँ नाङ्गिनुमा आनन्द ठाने ।

काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीले चुनावी समीक्षामा एक–अर्कालाई सिध्याउने चाल चल्नु वा असहिष्णुतापूर्ण समीक्षा गर्नु निःसन्देह पार्टीको हितमा देखिँदैन । पार्टीका आन्तरिक मुद्दाहरूलाई मिडियाबाजी गरेर क्षणिक प्रशंसाको पात्र त बनिएला, तर काङ्ग्रेस भने झनै खस्कँदै जानेछ, जसलाई थाम्न कुनै तागतले सक्दैन । तसर्थ पार्टीको खस्कँदो साख जोगाउने वा पार्टीलाई पुनरुत्थान गर्न पक्कै पनि युवाहरूको काँधमा त्यो जिम्मेवारी आएको छ । यस्तो गहन र उत्तरदायित्वपूर्ण कार्यभार अहिलेकै जस्तै शैली वा तारिकाले पूरा हुन सक्दैन । यो भन्न हिच्किचाउनुपर्दैन कि जुन दिनसम्म काङ्ग्रेसले ‘फुटाऊ र शासन गर’ भन्ने रणनीतिमा सफलतामा हासिल गरेको थियो त्यो दिनसम्म प्रमुख पार्टी बन्न सकेको हो । अहिले ‘डिभाइड एन्ड रुल’को नीति असफल भयो, त्यसैको परिणामस्वरूप काङ्ग्रेस राजनीतिक रणमैदानमा घाइते बनेर उत्तानो परेको छ ।

वर्तमान पार्टी नेतृत्वले त्यो नीतिलाई कायम राख्ने क्रममा स्थानीय तहको निर्वाचनमा पहिलो प्रयोग भरतपुरमा ग¥यो, तर पार्टीको अर्को पक्षले त्यो स्वीकार गरेन । परिणामतः काङ्ग्रेस अत्यन्तै अराजक र अनुशासनहीन जत्थाजस्तो देखिन पुग्यो जसले गर्दा नेकपा माओवादी केन्द्र झस्किँदै फेस सेभ गर्न एमालेसँग जोडिन पुग्यो । यति मात्र नभई काङ्ग्रेस यसरी खस्कनुमा अन्य सानातिना कारण पनि छन् । नेपालको संविधान २०७२ जारी गर्ने बेला नेकपा एमालेलगायतसँग भएको भनिएको भद्र सहमति तोडिनु प्रमुख कारणमध्ये एक हो । एवम् क्रमले एकपछि अर्को, तर झिनामसिना कारणलाई पन्छाउन मिल्दैन ।

काङ्ग्रेस स्वयम् कहाँ चुक्यो भन्ने विषयमा गम्भीर तर स्वतन्त्र र निष्पक्ष ढङ्गले समीक्षा हुनुपर्छ । तर, अहिले जे देखिँदै या सुनिँदै छ, एक पक्षले संस्थापन पक्षको दोहोलो मात्रै काड्ने काम गर्दै छ भने अर्को पक्षले बचाउको प्रयत्न गर्दै छ । समीक्षाको नाममा भएका यस्ता क्रियाकलापले पार्टीको पुनरुत्थान गर्न किमार्थ सक्दैन । चुनावका समयमा प्रतिस्पर्धी पार्टीका कमी–कमजोरीलाई सार्वजनिक गर्न नसक्नु मुख्य कारणमध्ये एउटा हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा ल्याउन सार्वजनिक गरेको २५ जनामध्येका अधिकांश एमालेका चल्तापुर्जा पात्रहरू थिए । तिनलाई जोगाउन एमालेले अख्तियार प्रमुखलाई नै फ्याँकी आफ्ना नेता–कार्यकर्तालाई संरक्षण दियो । तर, काङ्ग्रेसमा चाहिँ उल्टै आफ्नै समकक्षी नेताहरूलाई आफैँले अख्तियार गुहारी–गुहारी फसाउनेसम्मका हर्कत भएको पाइयो ।

एकपटक निकै चर्चामा आएको राज्यलक्ष्मी गोल्छा प्रकरणमा गोल्छाले आफू सांसद बन्नका लागि र बनिसकेपछि पनि कुन–कुन एमाले नेता–कार्यकर्तालाई के–कति पैसा बाँडिन् भन्ने विषयमा अख्तियारले समेत चासो बढाएको थियो । तर, त्यस्तो विषयमा पनि काङ्ग्रेसले मुख खोल्न नसक्नु रहस्यको कुरा थियो । खोक्रो र अन्धराष्ट्रवादको प्रतिवाद गर्न नसक्नु पनि काङ्ग्रेसले चुनाव हार्नुको अर्को कारण हो । यसरी हेर्दा काङ्ग्रेसइतरका पार्टीहरूले आफ्नो र आफ्ना कार्यकर्ताका कमी–कमजोरीलाई ढाकछोप गर्दै अघि बढेर सफलता पाए भने काङ्ग्रेसचाहिँ आपसमा जुध्दै एक–अर्काको वस्त्र फुकाल्नेतिर लागे, आफैँ नाङ्गिनुमा आनन्द ठाने ।

खाटो बसेको घाउ कोट्याउँदै जाँदा झनै सङ्क्रमित भई फैलिएर जान सक्छ । पार्टीका झिना–मसिना मामलालाई बाँदरको घाउ बनाउने प्रयत्न नगरी ‘समीक्षा बैठक’को माध्यमबाट खाटो बस्न लागेको घाउमा थप मल्हम लगाउनु खासगरी युवा नेताहरूको दायित्व हो । यथार्थमा आधारित स्वच्छ र सारभूत समीक्षाले काङ्ग्रेसको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने दृढविश्वास नवोदित युवा नेताहरूमा पलाउनु जरुरी छ ।

यी सब जे भए–भए, तर काङ्ग्रेसको अबको (युवा) पुस्ताले धेरै सोचविचार पु¥याएर अघि बढ्नुपर्ने देखिन्छ । पार्टी–सत्ता हस्तान्तरणमा वंश परम्परालाई तिलाञ्जली दिनु–दिलाउनु नयाँ पुस्ताको अहम् कर्तव्य पनि हो । वंश या चाटुकारवादलाई प्रश्रय दिन थालियो भने काङ्ग्रेस फेरि अर्को धरापमा पर्छ । यतिबेला केही चर्चित युवा नेताहरू पार्टीलाई रूपान्तरण गर्ने भन्दै निकै कस्सिएका सुनिएको छ (देखिएको होइन, सुनिएको) । यदि कसैको प्रभावमा नपरी तटस्थ, निष्पक्ष एवम् स्वतन्त्र रूपले पार्टी शुद्धिकरण र रूपान्तरणको अभियानमा लागेका हुन् भने केही आशा राख्न पनि सकिन्छ । तर, यसरी लागेका भनिएकाहरूलाई एउटा सुझाव भने दिनैपर्ने देखिन्छ कि पार्टीको आन्तरिक मामिलालाई मर्यादित र सम्मानित ढङ्गले सार्वजनिक गरिनुपर्छ ता कि ‘पैसाको चलखेल भयो र छानबिन गर्नुप¥यो’ भन्ने खालका अतिरञ्जनापूर्ण धारणा सार्वजनिक हुन नपाओस् । अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताविहीन अभिव्यक्तिले सबैको सर्वनास गर्दछ । काङ्ग्रेसका चर्चित युवाहरू लगभग सबैले अवसर या भूमिका पाएकै हुन् । अवसर पाउनेमध्ये कतिले त्यसको फाइदा लिए वा कतिले लिन सकेनन्, अनि कतिले पार्टीहितमा काम गरे वा गर्न सकेनन्, त्यो विषय पनि छलफलको विषयवस्तु बनाइनुपर्छ, समीक्षा बैठकमा ।

अन्ततः खाटो बसेको घाउ कोट्याउँदै जाँदा झनै सङ्क्रमित भई फैलिएर जान सक्छ । ‘बाँदरको घाउ’ भन्ने उखान नै छ, सानो घाउ लागे पनि बाँदरले लगातार कोट्याइरहने हुँदा कहिल्यै सञ्चो नभई अन्ततः त्यसैबाट उसको अन्त्य हुन्छ भन्ने भनाइ छ । पार्टीका झिना–मसिना मामलालाई बाँदरको घाउ बनाउने प्रयत्न नगरी ‘समीक्षा बैठक’को माध्यमबाट खाटो बस्न लागेको घाउमा थप मल्हम लगाउनु खासगरी युवा नेताहरूको दायित्व हो । यथार्थमा आधारित स्वच्छ र सारभूत समीक्षाले काङ्ग्रेसको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने दृढविश्वास नवोदित युवा नेताहरूमा पलाउनु जरुरी छ ।

अन्तमा, काङ्ग्रेसमा दूधले पखालिएका कोही छैनन् भन्न शरम मान्नुपर्दैन । यो आत्मसात् गर्दै लाभ र अवसरको लागि खेमा बदल्दै हिँड्ने प्रवृत्तिबाट काङ्ग्रेसलाई जोगाउन युवापुस्ता सचेत रहनैपर्छ । पार्टीको निम्ति काम गर्छु, देशको निम्ति केही गर्दै छु भन्ने जो–कोही पात्रले प्रशंसा मात्र खोज्ने प्रवृत्ति व्यक्ति स्वयम् र पार्टी एवम् देशकै लागि पनि प्रत्युत्पादक हुन सक्छ । नेतृत्व तहमा पुगेका अधिकांश काङ्ग्रेसी युवामा यस्तो आत्मप्रशंसा र अतिरञ्जनापूर्ण प्रचारको आकाङ्क्षा जागेको महसुस गरिएको छ । असल कर्म गर्नेलाई प्रचार र प्रशंसाको दरकार नै पर्दैन भन्ने तथ्य तिनले बुझ्नु आवश्यक छ । कतिपय काङ्ग्रेसी युवानेतालाई त प्रतिस्पर्धी दलका तर्फबाट नियोजित रूपमा प्रशंसा गर्ने, उछाल्ने गरिएकोसमेत देखिएको छ । परायाको प्रशंसाका पात्र बन्नेले मख्ख पर्नेभन्दा पनि होसियारी अपनाउन सिक्नुपर्छ । अरूले दिएको ‘पापड’भन्दा आमाले दिएको ‘झापड’ नै लाभकारी हुन्छ भन्ने नबुझी कम्युनिस्टहरूको फुक्र्याइमा परे भने आफ्नै वस्त्र फुस्केको तिनलाई थाहा नहोला ! यस्तोमा काङ्ग्रेसको पुनरुत्थानमा जाग्दै गरेको युवा अगुवाहरूको भूमिका या विश्वासमाथि नै पानी खनिनेछ, होसियार !