‘म बलात्कारी हुँ’- विजय देउजा

‘म बलात्कारी हुँ’- विजय देउजा


भट्ट हेर्दैमा निकै डरलाग्दा देखिन्छन् विजय देउजा । नेपाली सिनेमाका खलनायक देउजाले एउटा टेलिचलचित्र पनि बनाए ‘अपराजिता’ । सरकारी जागिरे देउजा लामो समयदेखि वीर अस्पतालमा जागिरे पनि छन् र, भन्छन्, ‘अफर आएमा खेल्छु नत्र जागिरतिरै हुन्छ ।’ थुप्रै विज्ञापनतिर पनि मोडलिङ गरिसकेका देउजासँग गरिएको रमाइलो कुराकानी ।
० तपाईं त अस्पतालको जागिरे । रोग लाग्दैन होला है ?
– यो त डाक्टर कहिले पनि मर्दैन होला भन्नेजस्तो प्रश्न भएन र ?
० अँ साँच्चै, विवाह गर्न जाँदा केटी हेर्न जानुभयो होला । त्यो बेला तपाईंलाई देखेर केटी डराइनन् ?
– म विवाह गर्न केटी माग्न जाँदा यस्तो थिइनँ ।
० एक्कासि कसरी हुनुभयो त यस्तो ?
– श्रीमतीको मायाले अनि दर्शकहरूको साथले ।
० तपाईंको वजनचाहिँ कति हो नि ?
– त्यो त गोप्य नै राखौँ ।
० केटीहरू उमेर अनि केटाहरू तलब गोप्य राख्छन् तर तपाईंले त वजन नै गोप्य राख्नुभयो नि ?
– मसँग भएको यही हो । अहिले यही गोप्य राखौँ न ।
० तपाईं दुब्लो भएको भए के हुन्थ्यो होला “?
– म सायद फिल्म क्षेत्रमा हुन्नथेँ होला । अनि तपाईंले मेरो अन्तर्वार्ता लिनुहुन्थ्यो ।
० तपाईंलाई देखेपछि केटीहरू कत्तिको भाग्छन् नि ?
– भागिहाल्न त हाल्दैनन् । तर मलाई एक्कासि देखे भने ‘आम्मै’चाहिँ भन्छन् ।
० आफूलाई यसो भन्नेहरूलाई के भन्न चाहनुहुन्छ ?
– नडराउनुस् भन्छु । सिनेमामा खराब भए पनि वास्तविक जीवनमा म खराबव छैन है भन्छु उहाँहरूलाई ।
० तपाईं बलात्कारी हो ?
– यसमा दुई अर्थ लाग्न सक्छ ।
० कस्तो दुई अर्थ ?
– सिनेमाको कुरा गर्दा त्यहाँभित्र म बलात्कारीको चरित्र निभाउँदा म बलात्कारी हुँ । तर, वास्तविक जीवनमा त म बलात्कारी होइन नि ।
० सिनेमामा कतिवटी हिरोइनहरूलाई बलात्कार गर्नुभयो ?
– त्यसको त हिसाबै नगरौँ । मैले सिनेमामा थुप्रै हिरोइनलाई बलात्कार गरिसकेँ ।
० चलचित्रमा नायक ठूलो कि खलनायक ?
– दुवै ठूला हुन् । तर, खलनायकले नायिकालाई दु:ख नदिने हो भने हामीलाई पिटेर नायिकाको अगाडि राम्रो काम गर्ने केटाको रूपमा नायक कसरी हुन्थ्यो? त्यसैले नायक राम्रो हुने नै हामीजस्ता खलनायकले गर्दा नै हो ।

‘मोजमस्तीका लागि होइन चलचित्र’
चलचित्र केका लागि बनाउने ? यो क्षेत्रमा होमिएकाहरूमध्ये अधिकांश भने अस्पष्ट नै छन् । धेरैको उद्देश्य त मिडियामा छाइन्छ अनि मान्छेले चिन्छन् र ‘वाहवाही’ कमाइन्छ, त्यसैले पनि यो क्षेत्रमा लागेको कुरा बताउँछन् । चलचित्र क्षेत्रलाई नै कर्मथलो बनाएर अगाडि बढ्नेहरू अब थाकिसकेका कारण बिस्तारै पाखा लागिरहेको अवस्थामा ‘ठूला कुरा’ गर्ने र ‘गफ’ दिनेहरू क्रमश: चलचित्र निर्माणतर्फ अग्रसर देखिएपछि तत्कालका लागि राम्रो देखिए तापनि यसले चलचित्र उद्योगलाई दीर्घकालीन असर पार्ने अकाट्यलाई पनि भुल्न सकिँदैन ।
चलचित्र निर्माण यतिबेला सस्तोमा पूरा हुन थालेपछि जो पनि निर्माता बन्नेहरूको लहर व्यापकै रूपमा आउन थालेको छ । ठिक्कको सिनेमा २५ देखि ३५ लाखसम्मको लगानीमा निर्माण हुने भएपछि सङ्ख्यात्मक रूपमा सिनेमा निर्माण ह्वात्तै बढ्न थालेको हो । तीनजना मिलेर सिनेमा निर्माण गर्दा एकजनाको भागमा धेरै लगानी पनि नपर्ने र यदि सिनेमा डुब्दा पनि धेरै नडुब्ने निश्चित भएपछि नयाँ-नयाँ निर्माताको आकर्षण यो क्षेत्रमा बढ्न थालेको हो । कमाइयो भने राम्रै कमाइने अनि डुब्बा पनि नाम भने नडुब्नाले चलचित्र क्षेत्र फलदायी हुन्छ उनीहरूका लागि । ‘दस लाख लगानी गर्दा अरू क्षेत्रमा यस्तो नाम, इज्जत र सम्मान हुँदैन तर सिनेमा क्षेत्रमा छ,’ एक नयाँ निर्माता भन्छन् ।
तर, सिनेमामा नाम र इज्जतका लागि मात्र होइन मोज गर्न पाइन्छ भन्ने गलत भ्रम बोकेर यो क्षेत्रमा आउनेहरूको सङ्ख्या पनि ठूलो छ । ‘पर्दामा देखिएकी नायिकासँग उठबस गर्न पाइने अनि फलानीलाई त मैले चिनेको छु भनेर धाक देखाउन पनि सिनेमा निर्माणमा आएका छन्,’ पुराना निर्माताहरूको विचार छ ।
हुन त कुनै समय सिनेमा खेल्ने लोभमा थुप्रै नयाँ युवतीले आफूलाई समर्पण गरेको समाचार पनि नआएको होइन तर अहिले अवस्था त्यस्तो छैन । सञ्चारको बढ्दो लोकप्रियता र शिक्षाका कारण सिनेमा खेल्ने लोभमा निर्माताहरूले जे भन्यो त्यही गर्न तयार हुने युवती अब छैनन् । त्यसैले पनि सिनेमामा आएपछि या लगानी गरेपछि मोज गर्न पाइन्छ भन्ने भ्रम यदि कसैले पालेको छ भने अब त्यस्तो भ्रम आफ्नो दिमागबाट हटाए हुन्छ भन्ने मान्यताले व्यापकता कमाउन थालेको छ ।
त्यसैले अब कोही सिनेमा निर्माणमा आउन चाहन्छ र खोज्छ भन्ने स्वच्छ मन र राम्रो उद्देश्य लिएर आयो भने मात्र त्यसले सफलता हात पार्न सक्छ तर गलत सोच, विचार र उद्देश्य बोकेर सिनेमा निर्माणमा आउनेहरूको भविष्य भने अब साँच्चिकै अँध्यारो नै छ ।

पढ्ने होइन त ‘चलचित्र सिद्धान्त’
अब नेपाली चलचित्र वा विश्व चलचित्रहरूको बारेमा ज्ञान लिने इच्छा तपाईंमा छ भने रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूमा मात्र सीमित रहनुपर्ने अवस्था रहेन । एउटा पुस्तकबाट नै तपाईहरूले चलचित्रसम्बन्धी भरपूर ज्ञान पाउनुहुनेछ । माधव ढुङ्गेलले लेख्नुभएको सो पुस्तक हो- चलचित्र सिद्धान्त ।
‘चलचित्र क्षेत्रका बारेमा चासो राख्नेहरूका लागि यो पुस्तक साँच्चै उपयोगी हुनेछ,’ एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको भनाइ थियो यो । ‘मैले पनि पुस्तक अध्ययन गरेँ, त्यो अध्ययनको क्रममा कल्पना र सोचभन्दा माथिका कुराहरूको बारेमा पनि जानकारी पाइयो । एउटा सङ्ग्रहणीय पुस्तक बनेको छ चलचित्र सिद्धान्त,’ भट्टराईले पुस्तकको विमोचन गर्दै भन्नुभयो ।
‘चलचित्र सिद्धान्त’ पुस्तकको विमोचन समारोह निकै भव्य नै भएको थियो । वरिष्ठ नेतादेखि नेपाली सिनेमामा महानायक राजेश हमाल अनि नायिका करिश्मा मानन्धर, युवराज लामा, केपी पाठक, शम्भुजित बास्कोटा, चेतन सापकोटा, लक्ष्मण शेष, शिवजी लामिछाने, विमल पौडेललगायतका व्यक्तित्वहरूको बाक्लै उपस्थिति रहेको थियो । आफूले ‘चलचित्र सिद्धान्त’को लेखनकार्य लामो समय अगाडिदेखि सुरु गरेको र अहिले आएर सफलता मिलेकोमा प्रसन्नता व्यक्त गरे लेखक माधव ढुङ्गेलले ।
पुस्तक नेपाली भाषामा प्रकाशित भएकोमा भने नायक राजेश हमालले लेखकलाई बधाई नै दिए । ‘सबैको पहुँचमा यो पुस्तक पुग्ने भयो, अनि अध्ययन गर्न सजिलो भयो,’ हमालले भने, ‘मैले पनि यो पुस्तक पढेर चलचित्रसम्बन्धी धेरै ज्ञान पाएँ, नायिका करिश्मा मानन्धरको भनाइ थियो । पुस्तक विमोचन समारोहको आयोजक थियो गणतान्त्रिक चलचित्रकर्मी मञ्च ।- राजन घिमिरे