म्याग्दीको बेगखोलामा मुलुककै लामो झोलुङ्गे पुल

म्याग्दीको बेगखोलामा मुलुककै लामो झोलुङ्गे पुल


पर्यटकिय क्षेत्र म्याग्दीमा मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–१ बेगखोलामा पुलको निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै आन्तरिक पर्यटक तान्ने माध्यम बन्न थालेको स्थानियहरु बताउँछन् । निर्माण सम्पन्न भएुको पुलमा आवत–जावत खुला गरिएपछि म्याग्दीका साथै मुस्ताङ घुम्न जाने पर्यटक पुलमा पुग्न थालेका छन् ।

साविकको बेगखोला गाविसमा रहेका १–६ र बादुकका ७, ८ र ९ वडाका बासिन्दालाई पुलको निर्माण भएपछि सहज भएपनि यसले आन्तरिक पर्यटकलाई समेत आर्कषित गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नेत्र बहादुर पुनले बताए । ‘पुल निर्माणले स्थानियमात्रै नभई आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।’ उनले भने ।

हाल नेपालकै लामो कुश्मा–मुडिकुवा झोलुङ्गे पुलको लम्बाई ३ सय ५९ मिटर र उचाई १ सय ५५ दशमलब ७० रहेकोमा बेगखोलामा कुल ३ करोड ३२ लाख लागतमा निर्माण भएको पुल ३ सय ६५ दशमलव ८० मिटर लम्बाई रहेको जिल्ला समन्वय समिति म्याग्दीले जनाएको छ ।

जिल्ला समन्वय समितिका सव इन्जिनियर बालकृष्ण पौडेलका अनुसार पुलको उचाई करिव एकसय ५० मिटर रहेको छ । ‘पुलले स्थानीयलाई सहजतासंगै आन्तरिक पर्यटकलाई समेत आर्कषित गरेपछि पुल नजिक ब्यापार ब्यवसाय समेत सुरु गरिएको छ ।’ उनले भने, ‘पुलको निर्माणसंगै रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले, चिमखोला, दग्नामका साथै अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, नारच्याङ, हिस्तानका बासिन्दा समेत लाभान्वित भएका छन् ।’