चीन जानुअघि प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई स्वागत गर्ने

चीन जानुअघि प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई स्वागत गर्ने


प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई प्रतिपक्षी नेताले ‘लम्पसारवादी’ आरोप लगाएकोमा यतिबेला मञ्च पाउनेवित्तिकै निकै भावुक बनेर भाषण दिनुहुन्छ । छिमेकी मित्रराष्ट्रले तोकिदिएको मितिमा भारत जानुलाई लम्पसारवादी ठानिन्छ र देशमा जसरी पनि विकास र समृद्धि ल्याउने कुरालाई अधिनायकीपन मानिन्छ भने विपक्षी नेताहरुको ‘बुझाई’प्रति आफूलाई गुनासो नरहेको भन्दै उहाँ ब्यंग्य गरिरहनुभएको छ । भारतको भ्रमणलगत्तै उत्तर छिमेकी चीनको भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रम ओलीमाथि यतिबेला अर्को असमञ्जसको स्थिति आइपरेको छ । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीका रुपमा छिट्टै तेस्रोपटक नेपाल आउन लाग्नुभएको छ ।

स्रोतहरुका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गते नेपाल भ्रमण गर्ने टुंगो लागेको छ । प्रम ओलीले छिट्टै चीनको भ्रमण गर्ने तयारी गरिरहेको परिवेशमा वैशाख २८ गते नै प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने भारतका तर्फबाट प्रस्ताव आएको छ । यो प्रस्तावलाई प्रधानमन्त्री ओलीले सहमति जनाइसक्नुभएको छ । श्रोतलाई आधार मान्ने हो भने भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण मिति वैशाख २८ तय भएको छ । तथापि, परराष्ट्र मन्त्रालयले यसबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । ज्ञातव्य छ, भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपालमा स्वागत गर्न आफू आतुर रहेको भन्दै भ्रमणको निम्तो दिनुभएको थियो ।

बुझिएअनुसार आगामी मे २५ का लागि भारतीय प्रधानमन्त्रीको भ्रमण गराउने तयारी सरकारले गरिरहेको थियो । तर, भारतीय पक्षले मे ११ (वैशाख २८)मै भ्रमणको चाहना दर्शाएपछि त्यसअनुसार सरकारले तयारी सुरु गरेको छ ।

सुत्रका अनुसार नेपालको दुईदिवसीय राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री मोदी जनकपुर पनि पुग्नुहुनेछ । मोदीको भ्रमणले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण पछाडि धकेलिने निश्चित ठानिएको छ भने प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गत साता बेङजिङ पुगेर फर्किनुभएको छ । परराष्ट्रमन्त्रीको चीन यात्राका क्रममा प्रम ओलीको चीन भ्रमणबारे कुनै टुंगो लाग्न सकेको थिएन ।