अरुणको गति र भ्रष्टहरूको मति

अरुणको गति र भ्रष्टहरूको मति


– हीरामणि निरौला

अरुण नेपालीहरूको माझ सुपरिचित, विवादास्पद, जलप्रवाहको दृष्टिले नेपालको एक प्रमुख नदी, हिमालय पर्वतमालाको कुम्भकर्ण हिमशृङ्खलालाई चिर्दै तिब्बतको भूभागमा, १५४ माइलको दूरी पार गरेर नेपालको भूमिमा प्रवेश गरेको पृथ्वीको सर्वाधिक उचाइ (२२१७ मि.) बाट बग्ने नदी हो । त्यसैगरी नेपालमा सबैभन्दा चर्चामा आएको नदी पनि अरुण नै भन्नुपर्दा अत्युक्ति नहोला । अरुण नदी त्रिवेणीमा गएर सप्तकोसीमा मिल्नुपूर्व नेपालको भूभागमा ८२ माइल लामो दूरीको बहाब क्षेत्रमा प्रकृति साँच्चै अचम्मको हुनुमा समेत यसको छुट्टै पहिचान छ । समुद्र सतहबाट ४५७ मिटरको उचाइमा रहेको विश्वको सबैभन्दा गहिरो अरुण उपत्यकादेखि लिएर विश्वको सर्वोच्च शिखरहरूमध्ये पाँचौँ हिमशृङ्खला मकालु (८४६३ मिटर) पनि यसै क्षेत्रमा रहनुले साँच्चै नै आश्चर्यजनक छ यहाँको भूबनोट । नेपालको प्राकृतिक विविधताको कुरा गर्दा अरुण उपत्यका वा संखुवासभाको उत्तरी भागको नाम नलिईकन वर्णन अधुरो हुन्छ । एउटा सानो क्षेत्रमा विश्वका विलकुलै नौला एवम् दुर्लभ जीवजन्तु वनस्पतिहरूको घना बस्ती÷अवस्था पाइनु आफैँमा आश्चर्यलाग्दो छ ।

यस क्षेत्रमा ६०० भन्दा बढी जातका चरा, १५० जातका पुतली, ६७ किसिमका अति महत्वपूर्ण जडीबुटी, १९ किसिमका बाँस, नेपालमा पाइने ३० जातका लालीगुराँसमध्ये २५ जातका लालीगुराँस, ४७ किसिमका सुनगाभा, तीन हजारभन्दा बढी जातका फूल पाइनले यसको महत्व कति छ आफैँ कल्पना गरौँ । खुलेर भन्दा अरुण उपत्यका नेपालका लागि मात्र नभएर विश्वलाई नै प्रकृतिले दिएको उपहार हो जस्तो लाग्छ । तर, के गर्ने त्यहाँको विडम्बना आफ्नै ठाउँमा छ । त्यहाँका मानिसले त्यत्रो प्राकृतिक सम्पदाको भण्डारबाट कुनै लाभ लिन नसकिरहेको अवस्थामा २–४ जना भ्रष्टले चाहिँदो डलर कुम्लाइसकेका छन्, अरुणको नामबाट । बिनाप्रयोग बगिरहेको अरुण नदीको पानीको सदुपयोगमा त्यस क्षेत्रको उज्ज्वल भविष्य गाँसिएकोमा दुईमत छैन । प्राकृतिक बनोटको कारणले गर्दा अरुण नदीको पानीको उत्तम सदुपयोग त्यसबेला हुन्छ जुनबेला अरुण नदीबाट निकाल्न सकिने बिजुलीको केही अंश निकालिन्छ, अरुण नदीलाई जलमार्गको रूपमा प्रयोग गरिन्छ, त्यसका अतिरिक्त ऱ्याफ्टिङको लागि प्रयोग गरेर पर्यटकीय दृष्टिले उपयोग गरिन्छ, आदि । अन्यथा अरुण नदीको गहिराइ र अरुण क्षेत्रका गाउँ, बस्ती र खेतीयोग्य जमिनको उचाइको असमानताले खानेपानी, सिँचाइजस्तो दैनिक उपभोग्य काममा प्रयोग हुन नसकेको अवस्थामा धार्मिक भावनाले भरिपूर्ण भएर स्नान गर्नुबाहेक स्थानीय जनताले अलिकति पनि लाभ लिन सकेका छैनन् ।

अरुणको पवित्रतामा भ्यागुताको लास औँल्याउने भ्रष्ट वातावरणविद्हरूको निहित स्वार्थको कारण देशको जलस्रोत विकासमा जुन प्रकारको अवरोध पुग्न गयो- नेपाललाई उपलब्ध गराइन लागेको करिब ७६ करोड ४० लाख अमेरिकी डलर त गुम्यो नै, त्यसमा पनि संखुवासभावासीका सपना चकनाचुर नै भए ।

अरुण क्षेत्रमा रहेको प्राकृतिक विविधता, ०४८ मङ्सिरमा मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रको स्थापना भएपछि थोरबहुत रूपमा प्रकाशमा आउन सक्यो । संखुवासभावासीले आशा गरे कि हाम्रा दिन खुल्दै छन् । अरुण तेस्रो कार्यान्वयनको सङ्घारमा मकालु वरुण आयोजना वास्तवमै संखुवासभावासी त्यसमा पनि नुम उत्तरका गाउँको उज्ज्वल भविष्यको सङ्केतको रूपमा हेरियो । कुल २३३० वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र विकासको ‘व’ समेत नपुगेको बस्तीहरूको लागि आफैँमा नौलो थालनी भएकोमा त्यहाँका जनता विश्वस्त थिए । हाल आएर यो आयोजनाबाट स्थानीय जनता कति लाभान्वित भएका छन् त मूल्याङ्कन गर्नु पनि उत्तिकै टड्कारो आवश्यकता भइसकेको छ । विकासको नाममा विनाश त होइन ?

जे होस्, यसलाई यहीँ छोडेर अरुणको पवित्रतामा भ्यागुताको लास औँल्याउने भ्रष्ट वातावरणविद्हरूको निहित स्वार्थको कारण देशको जलस्रोत विकासमा जुन प्रकारको अवरोध पुग्न गयो- नेपाललाई उपलब्ध गराइन लागेको करिब ७६ करोड ४० लाख अमेरिकी डलर त गुम्यो नै, त्यसमा पनि संखुवासभावासीका सपना चकनाचुर नै भए । त्यसैले अरुणको नाम उच्चारण हुनासाथ विकासप्रेमी सज्जन नेपालीको छातीमा लागेको चोट झस्कन थाल्छ भने अर्काथरी विकासविरोधी गतिविधिमा संलग्न भई सीधासाधा नेपालीको भाग्यमा खेलवाड गर्दै डलरको खेतीमा संलग्न सीमित भ्रष्टहरूको कान ठाडाठाडा हुन्छन् किनकि यिनीहरूले अरुण तेस्रोमा भाँजो हाल्ने तथा कथित वातावरण समस्या तेस्र्याएर यो आयोजना बिथोलेको कारणले कुम्ल्याउनसम्म कुम्ल्याए र फेरि कुम्ल्याउने दाउमा लागिपरेका छन्, अरुणबाट ।

अरुण तेस्रोको साथमा पूर्वेलीहरूको भाग्यरेखा भनौँ वा नेपालको पूर्व–उत्तर भागमा ११७ किलोमिटर एउटा बाटो तयार हुन लागेको थियो । यसैबाट अन्य शाखा बाटाहरू बन्न सक्ने सम्भावना आफ्नै ठाउँमा थिए । सबै अरुण तेस्रोसँगै गुम्यो ।

अरुण तेस्रो आयोजना खारेज भएको पनि यही साउन मा २ वर्ष पुगिसकेको छ । तैपनि अरुण उपत्यकाको विकासका लागि कुनै पहल गर्नेतर्फ सरकार तत्पर नहुनु त्यस क्षेत्रका लागि दुर्भाग्यमाथि दुर्भाग्य थुपार्नुजस्तो भएको छ । फल पाक्छ र खाउँला भन्दै बसेका जनताको भाग खोस्ने विश्व बैंकको २०५२ साउन १९ गतेको निर्णयपछाडिको खास कारण अरुणविरोधी क्रियाकलापमा खुलेआम रूपमा लागेका जलमाफियाका एजेन्टहरूको भूमिका एक पक्ष थियो त्यसमा पनि यी तत्वहरूलाई नेकपा (एमाले) ले बोक्ने काम ग¥यो । यति गर्दा पनि अरुण तेस्रो कार्यान्वयनतर्फ अगाडि बढ्ने क्रम नरोकिएकोले अन्तिममा नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल पड्किए अरुणको विरुद्धमा र विश्व बैंकलाई चिट्ठी लेख्न पुगे । त्यसपछि अरुण आयोजना गुम्यो र गुम्यो संखुवासभावासीहरूको मुखको गाँस पनि । छवि सधैँ उच्च होस् अरुण तेस्रोको तेस्रो स्मृति वर्षमा यही कामना छ ।

(घटना र विचार, २०५४ साउन १५ बुधबार)