पार्टी एकता ‘निकट भविष्यमा’ !

पार्टी एकता ‘निकट भविष्यमा’ !


नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति भएको खुलासा गरिएको छ । भ्लादिमिर लेनिनको १४८ औँं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९औँ स्थापना दिवस (२२ अप्रिल) का अवसरमा पार्टी एकता संयोजन समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुवै पार्टीका अध्यक्षले सो सहमति भएको जानकारी दिएका हुन् ।

पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने भन्दै अध्यक्षद्वयले आमजनता, पार्टी कार्यकर्ता र नेताहरुको भावनालाई सम्बोधन गर्दै निकट भविष्यमा पार्टी एकता घोषणा गर्ने दाबी गरेका हुन् ।

असम्मानजनक, विभेद र अन्यायको अवस्थामा एकता हुँदैन, सम्मानजनक आधारमा मात्र एकता हुन्छ भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पार्टी एकताका विषयमा सन्देह नगर्न आग्रह गरे । उनले भने, “एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन, एकता निकट भविष्यमा हुन्छ ।” विगतमा भएका गल्ती नदोहो¥याउने बाचा गर्दै उनले एकताबाट पछाडि फर्कने होइन, अब गल्ती गर्दैनौँ, नयाँ ढंगले अगाडि बढ्नेछौँ भनी प्रतिबद्धता व्यक्त गरे ।

शान्तिपूर्ण ढंगले प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिबाट संघीय लोकतान्त्रिक प्रणालीमा अगाडि बढ्ने विषयमा आफूहरु स्पष्ट रहेको उनको भनाई थियो । राजनीतिक अधिकार प्राप्त भइसकेको उल्लेख गर्दै उनले समृद्धिको मुद्दामा एकताबद्ध भएर अगाडि बढ्ने धारणा अघिसारे ।

सोही अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्मानजनक, समानतामा आधारित र न्यायोचित परिस्थितिमा पार्टी एकता गर्ने अध्यक्ष ओली र आफूबीच सहमति भएको खुलासा गरे । एकताको ढाँचा तयार गरेर अगाडि बढेको जानकारी दिँदै उनले पार्टी एकता महत्वपूर्ण विषय हो, त्यसैले सबैको ध्यान त्यसतर्फ छ, यस विषयमा एकअर्काले सम्मान गर्नैपर्छ भने । एकअर्का पार्टीका नेताले एक अर्काको संवदेनशीलतालाई बुझिदिनुपर्छ, त्यसो भए सबै विषय ठिकसँग अगाडि बढ्छ भन्ने उनको धारणा थियो ।

सामूहिक बलबाट नयाँ संकल्पका साथ एकतालाई निष्कर्षमा पु¥याएर राष्ट्रिय एकताको भावमा अगाडि बढिने बताउँदै उनले जनता, कार्यकर्ता र विश्वजनमतको घेरामा रहेको एकता प्रक्रियालाई निष्कर्षमा पु¥याइने बताए ।

देशमा विकास र समृद्धि आवश्यक भए पनि विगतमा राजनीतिक अस्थिरताका कारण त्यसतर्फ मुलुक अगाडि बढ्न नसकेको भन्दै उनले प्रकृतिले दिएको बरदानलाई सदुपयोग गरेर अगाडि बढ्ने विश्वास दिलाए ।

तस्बिर रासस