प्रचण्डले एकताको आह्वान गर्दा कार्यकर्ताले देखाए ताण्डव

प्रचण्डले एकताको आह्वान गर्दा कार्यकर्ताले देखाए ताण्डव


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गरेकै बेला एकीकरण प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रका भातृसंगठनले तण्डव प्रदर्शन गरेका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले वर्ग, संघर्ष र विचारधारात्मक संघर्षको लामो शृृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेकोले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

तर एमाले र माओवादीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभागृहमा तिनकै कार्यकर्ताहरुले सानो विषयमा लफडा गरेपछि तनाव पैदा भएको थियो । माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा लेखिएको एक शब्दप्रति आपत्ति जनाउँदै हल्ला मच्चाएपछि तनाव सिर्जना भएको थियो ।

ब्यानरमा माओवादी केन्द्रलाई छोटकरीमा ‘माके’ लेखिएको थियो । तर, पार्टी एकीकरणका साथ भातृसंगठनहरु पनि एक हुने प्रक्रियामा रहेको भनिएको अवस्थामा माओवादी कार्यकर्ताहरुले आफ्नो पार्टीको अपमान गरिएको भन्दै हुटिङ शुरु गरे ।

हुटिङ जारी राखेपछि उर्जामन्त्री तथा माओवादी नेता वर्षमान पुनले यो कार्यक्रम दुवै पार्टीले सहमतिमा आयोजना गरेको र यस्ता प्राविधिक विषयलाई ठूलो नबनाउन आग्रह गरे पनि उनको आग्रहको सुनुवाई गरिएन । अन्तिममा ब्यानर झिकेर उल्ट्याएपछि माओवादी पक्ष शान्त बनेको थियो । यत्ति कारणले १२ बजे शुरु हुने भनिएको कार्यक्रम अढाई घण्टा ढिलो हुन पुगेको थियो ।

यसरी सामान्य कुरामा समेत बखेडा झिकेर झगडा गर्ने कार्यकर्ताहरुको रवैयाले दुई पार्टीबीच एकता भइहाल्यो भने पनि त्यो कति दीगो होला भन्नेमा प्रश्न खडा गरेको छ ।