‘उर्जा’ लाई विशेष मुद्दा बनाउने गृहकार्य, चार विषय उठान गर्ने सरकारी तयारी

‘उर्जा’ लाई विशेष मुद्दा बनाउने गृहकार्य, चार विषय उठान गर्ने सरकारी तयारी


छविलाल बगाले

दस बर्षमा १० हजार मेगावाट जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र सक्रिय छन् । तर, उत्पादित विद्युत कसरी अन्य मुलुकमा पठाउने भन्ने विषयमा भने धेरै बहस भएको छैन । उत्पादनलाई मात्रै केन्द्रमा राखेको सरकारले प्रधानमन्त्री केपी ओलीको भ्रमणमा ‘उर्जा’ लाई विशेष मुद्दा बनाउने गृहकार्य गरिरहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जलविद्युत क्षेत्र केन्द्रित गरी ४ वटा विषय उठान गर्ने सरकारको तयारी छ । यसअघिका दुई देशीय बैठकमा निरन्तर छलफल भएको तर निश्कर्ष नआएका विषयलाई प्रधानमन्त्रीले प्राथमिकता दिने उर्जा मन्त्रालयले जनाएको छ । जसअनुसार बुटवल–गोरखपुर चारसय केभी क्रस बोर्डर लाइन निर्माण, इनर्जी बैंक, पावर ट्रेड र बहुचर्चित पञ्चेश्वर परियोजनाको डीपीआर निर्माणको अल्झनलाई प्राथमिकता दिइने उर्जा मन्त्रालयका स–सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । ‘लामो समयदेखि चर्चामा रहेको सो प्रसारण लाइन निर्माणको विषयलाई प्रमुख प्राथमिकतामा राखेर निर्माण शुरु गर्ने विषयमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।’ उनले भने, ‘सो प्रसारण लाइनलाई नेपालले सरकारी तहमा नै निर्माण गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ ।’ तर भारतीय पक्षबाट भने व्यावसायिकरुपमा नै सो परियोजना अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ । आर्थिक, सामाजिक तथा रणनीतिक महत्वको सो प्रसारण लाइन निर्माणका लागि सहमति जुटाएर अगाडि बढ्ने योजनाअनुसार प्रस्ताव तयार पारिएको उनले बताए ।

महाकाली सन्धि भएपछि भारत भ्रमणमा गएका हरेक प्रधानमन्त्रीको भ्रमणको प्रमुख एजेन्डा महाकाली सन्धिको कार्यान्वयन भए पनि हालसम्म पञ्चेश्वर परियोजनाको डीपीआरसमेत तयार हुन सकेको छैन् । २०५२ माघ २९ गते भएको महाकाली सन्धि पानीका सवालमा मात्र होइन, सन्धिका अन्य प्राव्धानलाई पनि भारतले खासै महत्व दिएको छैन । बहुचर्चित पञ्चेश्वर विकासका लागि महाकाली सन्धीले गरेका ब्यवस्थामा दुबै देशबीच एकमत नभएका कारण केही विवाद छ । प्रधानमन्त्री ओलीले भारतीय पक्षलाई त्यसबारे पनि ध्यानाकर्षण गराउने तयारी रहेको स–सचिव घिमिरेले जानकारी दिए ।

यता, निजी क्षेत्रले पनि मुलुकको उर्जा विकासका लागि प्रधानमन्त्रीको भ्रमण फलदायी हुनेमा विश्वस्त छ । प्रधानमन्त्रीले क्रस बोर्डर लाइन निर्माण, इनर्जी बैंकिङजस्ता मुद्दा स्पष्टरुपमा राख्नुपर्नेमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले जानकारी दिए । उनले ५१ प्रतिशत भारतीय स्वामित्वमा रहेको आयोजनाका विद्युत भारतले मात्रै खरिद गर्ने ब्यवस्था खारेज गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

प्रधानमन्त्रीको भ्रमणले विगतमा भएका सन्धी–सम्झौताको पुनरावलोकन र भारतले लिएका ठूला परियोजना कार्यन्वयनमा सहजता मिल्ने अपेक्षा छ । तर, गर्दिन कहिल्यै नभन्ने तर काम कहिल्यै नगर्ने भारतीय प्रबृत्ति जारी रहँदा नेपालले उठाएका मुद्दा सम्बोधनमा भारतले सजिलै हात अगाडि बढाउला भन्ने स्पष्ट संकेत भने अहिलेसम्म नदेखिएको गुरागाँईको भनाई छ ।