सदरखोरमा रहेका ढुंगेलको पक्षमा विप्लवको पार्टीले प्रदर्शन गर्ने

सदरखोरमा रहेका ढुंगेलको पक्षमा विप्लवको पार्टीले प्रदर्शन गर्ने


ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर भई डिल्लीबजारस्थित सदरखोरमा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको पक्षमा विप्लवले नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले पहलकदमी लिन थालेको छ । माओवादी पार्टीबाट सभासदसमेत रहिसकेका ढुंगेल जेल परेपछि प्रचण्डको पार्टी ‘माओवादी केन्द्र’ले बेवास्ता गर्दै आएको छ भने यही परिस्थितिको ‘राजनीतिक लाभ’ उठाउँदै नेकपाले ढुंगेलको पक्षमा आफूलाई अघिसारेको अनुभूति गरिएको छ ।

जनयुद्धकालीन उक्त मुद्धामा जेल-जीवन बिताइरहेका ढुंगेलको रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले आज शक्ति प्रदर्शन गर्ने भएको छ । ढुंगेललाई अनाहकमा फसाइएको भन्दै पछिल्लो समय नेकपाले लगातार विरोध गर्दै आएको परिवेशमा नेकपा निकट जनवर्गीय संगठनहरुले मंगलबार विरोध प्रर्दशन गर्न लागेका हुन् । सम्बद्ध पक्षले जानकारी दिएअनुसार मंगलबार मध्यान्ह राजधानीको शान्तिबाटीकामा ढुंगेलको रिहाईको माग गर्दै प्रदर्शन गर्न गरिने छ । सो क्रममा आयोजना हुने कोणसभालाई नेकपाका विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाका एक नेताका अनुसार माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएपछि ढुंगेलको रिहाईको पहल हुने अपेक्षा गरिएको थियो । गृहमन्त्री बादलले समेत ढुंगेललाई भेटेरै रिहाईको लागि पहल गर्ने प्रतिवद्धता गरेका थिए । तर, वादलको प्रतिबद्धता अलपत्र छ । यसरी ओली नेतृत्वको वामसरकारले बेवास्ता गरेपछि नेकपाले ढुंगेल रिहाईको पहलकदमी लिएको सो पार्टीसुत्रले जनाएको छ । पछिल्ला दिनमा ढुंगेलकी छोरी विनिता ढुंगेलले पनि विभिन्न मिडियामार्फत आफ्ना बाबुको रिहाइमा माओवादी केन्द्रले वास्ता नगरेकोप्रति संकेत गर्दै मार्मिक ढंगमा गुनासो पोख्दै आएकी छिन् ।

ज्ञातव्य छ, दशवर्षे जनयुद्धकालमा भएको घटनामा दोषी ठहर भएका ढुंगेल डिल्लीबजारस्थित सदरखोरमा सजाय भोगिरहेका छन् । उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई सर्वश्वसहित जन्म कैदको फैसला सुनाएको थियो । तर पुनरावेदन अदालतबाट छुटकारा पाए पनि पुनरावेदन अदालतको फैसला सर्वोच्चले २०६६ पुसमा उल्टाउँदै जिल्ला अदालत ओखलढुंगाको फैसला सदर गरेपछि गिरफ्तारीबाट बच्दै आएका ढुंगेललाई प्रहरीले गत कात्तिक १४ गते सातदोबाटबाट गिरफ्तार गरेको थियो ।