प्रदेश नं. १ का मूख्यमन्त्रीलाई विप्लवको वारेन्ट

प्रदेश नं. १ का मूख्यमन्त्रीलाई विप्लवको वारेन्ट


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शासन–सत्तामा रहेका विभिन्न दलका नेतालगायत भ्रष्टाचार, अत्याचारमा संलग्न रहेका समाजका विभिन्न पेशा–व्यवसायका व्यक्तिलाई वारेन्ट काट्ने क्रमलाई निरन्तरता दिएको छ ।

गत साता प्रधानमन्त्री ओली र माओवादी केन्द्रका सुप्रिमो प्रचण्डलाई वारेन्ट पूर्जी काटेपछि प्रधानमन्त्री ओलीबाट सार्वजनिक भाषणमार्फत ‘मजाक नगर्न’ चेतावनी दिएलगत्तै नेकपाले प्रदेश नम्बर १ का मुख्यमनत्री शेरधन राईलाई पनि वारेन्ट पूर्जी जारी गरेको छ ।

‘शेरधन राईलाई उपस्थित हुने सूचना’ भन्दै काटिएको पत्रमा ‘…तपाईंसँग केही बुझ्नुपर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ…’ भन्ने उल्लेख गरिएको छ ।

वारेन्टपत्रमा भनिएको छ– ‘श्री शेरधन राई आमचोक गाउँपालिका ३ भोजपुर,

विषय : उपस्थित हुने सुचना

जागिरमान राईको छोरा भोजपुर जिल्ला थिदिङ्खा गा.वि.स. हला आमचोक गाउँपालिका वडा नं. ३ बस्ने तपाई शेरधन राईको विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा ‘२०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु हेमन्त प्रकाश ओली ‘सुदर्शन’ एवम् पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैरकानुनी रुपमा धनकुटामा थुनामा राखेको’ भन्ने मुद्दा परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपार्इंसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनसुसार हुने कुराको जानकारी समेत गराइन्छ ।’

टाँस भएको मिति : २०७४ चैत १६

(प्रकाश, केन्द्रीय जनअदालत रोल्पा)