भेनेजुयला छोड्नेको लहर

भेनेजुयला छोड्नेको लहर


सन् २०१७ को शुरुदेखि अहिलेसम्म भेनेजुयलाबाट भागेर विभिन्न मुलुक पुगी आफुहरूलाई शरणार्थीको रूपमा ग्रहण गरिदिन करिब एक लाख जनाले निवेदन दिएका छन् । संयुक्त राष्ट्रसंघले जनाएअनुसार पछिल्लो समय भेनेजुयलाबाट पलायन भई विश्वका विभिन्न क्षेत्रमा पुग्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसिआर)का अनुसार सन् २०१४ को तुलनामा त्यसपछिका दिनमा शरणार्थीको स्थान खोज्दै विदेश भौँतारिने भेनेजुयालीको सङ्ख्यामा दुई हजार प्रतिशतले वृद्धि भएको छ । यसमा पनि पछिल्ला १४ महिनामा उक्त सङ्ख्यामा नाटकीय रूपमा वृद्धि भएको छ ।

भेनेजुयलामा पछिल्ला केही महिना यता आर्थिक तथा राजनीतिक सङ्कट बढ्दो देखिएपछि यूएनएचसीआरले भेनेजुयलाको वरपरका आठ मुलुकमा लागु हुनेगरी क्षेत्रीय उद्धार योजना ल्याएको यूएनएचसीआरको भनाई छ ।

यूएनएचसीआरका प्रवक्ताका अनुसार भेनेजुयलामा जारी राजनीतिक सङ्कटका कारण विदेशिएका भेनेजुयाली नागरिक स्वदेश फर्किन नमान्ने गरेका छन् । भेनेजुयालाको राजनीतिको प्रत्यक्ष प्रभाव ब्राजिल र त्यो पनि बोआभिष्टा शहर वरपर रहेको बताइन्छ ।

उक्त क्षेत्रमा करिब ४० हजार मानिसले शरण लिई बसेका छन् । उक्त ठाउँमा रहेका सयौँ भेनेजुयाली नागरिक खुला आकाशमा रातदिन बिताउँदै आएका छन् ।