माओवादी सकसमा

माओवादी सकसमा


झलनाथ खनाललाई पट्याएर फुर्तीसाथ सत्तामा सहभागी हुने तयारीमा रहेको नेकपा माओवादीले दुई साताभित्र दुईपटक सरकारमा नजाने निर्णय गर्‍यो । एमाले केन्द्रीय कमिटीको बैठकले सातबुँदे सम्झौतालाई परिवर्तन गर्ने निर्णय लिएपछि माओवादी नेतृत्व थप निराश बनेको छ । ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छाबाबुको अनुहार’ भन्ने अवस्थामा पुगेको माओवादीले जतिसुकै घुर्की र धम्कीको भाषा बोले पनि भित्री रूपमा ऊ सरकारमा जसरी र जुन रूपमा भए पनि सहभागी हुने पक्षमा रहेको छ । त्यसैले सरकारमा सहभागी नहुने भनी यसअघि गरिएका निर्णयहरूलाई राजनीतिक विश्लेषकहरूले गम्भीर रूपमा लिएनन् बरु माओवादीको घुर्कीका रूपमा मात्र बुझे । सरकारमा सहभागी हुने आन्तरिक तयारीमा रहेको माओवादीले नयाँ गठबन्धनको सरकारमा आफ्नो सहभागिता कुन रूपमा गराउला भन्ने विषयमा भने सर्वत्र चासो प्रकट भएको छ । गृह मन्त्रालय आफूले नपाए पनि तत्काल प्रधानमन्त्री झलनाथ खनाल आफैंसँग उक्त मन्त्रालय रहँदा सरकारमा सहभागी हुनका निम्ति आफूहरूलाई सहज हुने माओवादीले ठानेको छ । झलनाथसँगको गठबन्धन बलियो हुने अवस्थामा पार्टीका पदाधिकारीमध्येका जिम्मेवार नेताको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने सम्भावना बढेको छ भने गठबन्धन कमजोर रहने या दीर्घकालीन हुनसक्ने नदेखिएमा पदाधिकारीबाहेकका कुनै नेताको नेतृत्वमा माओवादी सरकारमा जाने स्थिति छ । यर्सथ पदाधिकारीमध्येकै कुनै नेताको नेतृत्वमा माओवादी सरकारमा सहभागी भयो भने उसले दीर्घकालिक रूपमै विद्यमान गठबन्धनलाई बलियो बनाएर जान चाहेको बुझनुपर्ने अवस्था छ भने अलिक तल्लो तहका नेताको अगुवाई भएमा उसले सहभागितालाई कम महत्त्व दिएको अर्थमा बुझन सकिन्छ ।
पदाधिकारीमध्येबाट सरकारमा सहभागिता जनाउने भएमा रामबहादुर थापा बादल या सीपी गजुरेलले सरकारको नेतृत्व गर्नुहुने निश्चितप्राय: छ । त्यसो नभएमा कृष्णबहादुर महराको नेतृत्वमा माओवादी सरकारमा जानेछ । यसपटक मन्त्रिमण्डलमा पहिले मन्त्री भइसकेकाहरूलाई प्राथमिकता नदिने सोच माओवादीको रहेको बुझिन्छ । जसको नेतृत्वमा सहभागिता जनाए पनि माओवादीबाट मन्त्रिमण्डलमा पोष्टबहादुर बोगटी, देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षमान पुन, पम्फा भुसाल, जयपुरी घर्ती, गोपाल किराती, लेखराज भट्ट, खड्गबहादुर विश्वकर्मा, रामकुमार शर्मा, आरसी (रामशरण) चौधरी, महेन्द्र पासवान र प्रमु साहमध्येबाट प्रतिनिधित्व हुने बुझिएको छ । सरकारमा जाने निर्णय जहिले भए पनि यिनै व्यक्तिहरूले मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने माओवादी सूत्रले जनाएको छ ।

मन्त्री दौडमा युवा नेताहरू अगाडि
प्रधानमन्त्री झलनाथ खनालको मन्त्री बन्न एमालेमा युवा पुस्ताका नेताहरू उत्साहित भएका छन् । हाल विष्णु पौडेलजस्ता अग्रपङ्क्तिका नेता र भद्र मानिने गंगालाल तुलाधरलाई मन्त्रिमण्डलमा सामेल गरिएको भए पनि अझै कम्तीमा पाँचदेखि आठजनालाई एमालेबाट मन्त्री बनाउन बाँकी नै छ । यसअघि मन्त्री रहेकाहरूलाई नदोहोर्‍याउने स्थिति बनेको भए पनि सुरेन्द्र पाण्डे पुन: मन्त्री बन्नसक्ने सम्भावना धेरैले देखेका छन् । मन्त्रिमण्डलमा एमालेका तर्फाट घनश्याम भुसाल, युवराज कार्की, युवराज ज्ञवाली, उर्मिला अर्याल, योगेश भट्टराई, ठाकुर गैरे, दलबहादुर राना, राधा ज्ञवाली, भागवत विश्वासी, विजयी सुब्बा, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, सोमप्रसाद पाण्डे र भानुभक्त ढकालमध्येका व्यक्तिहरूलाई सामेल गरिनसक्ने ठानिएको छ ।

रुक्माङ्गद बोलाइएनन् राजाको भोजमा
लामो समयको अन्तरालपछि निर्मलनिवासमा तीन दिनसम्म लगातार भोज चल्यो । नागरिक बडामहारानी कोमल राज्यलक्ष्मीको जन्म दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको उक्त भोजमा सहभागीहरूलाई राष्ट्रिय पोसाक अनिवार्य गरिएको थियो । पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानी, पूर्वअधिराजकुमारी प्रेरणा र उहाँका पति राजबहादुर सिंहको नाममा गरिएको निम्ता मान्नका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरू निर्मलनिवास पुगेका थिए । गत आइतबार, सोमबार र हिजो मंगलबार गरी तीन दिनको ‘हाई टी’ पार्टीमा आइतबार मूलत: राजनीतिकर्मीहरू, पूर्वराजदूत तथा सुरक्षा क्षेत्रका पूर्वअधिकारी एवम् अन्य व्यक्तित्वहरू, पत्रकार, सामाजिक सङ्घ/संस्थाका प्रतिनिधिहरूलगायतको सहभागिता रहेको थियो । प्राप्त जानकारीअनुसार, आइतबार सूर्यबहादुर थापा, पशुपतिशमशेर राणा, पद्मसुन्दर लावती, लोकेन्द्रबहादुर चन्दलगायतका नेताहरूको उपस्थिति थियो भने नेपाली सेना र प्रहरीका प्राय: सबै पूर्वप्रमुखहरूको सहभागिता थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी आमा केही दिनदेखि सैनिक अस्पतालमा कोमामा रहनुभएकोले उहाँ भने निर्मलनिवास जानुभएको थिएन । सिकिस्त आमालाई छोडेर
आफू जान सक्ने अवस्था नभएपछि कमल थापाले पूर्वमहाराजाधिराज ज्ञानेन्द्रलाई टेलिफोन गरी आफ्नो असमर्थता जनाउनुभएको स्रोतले बताएको छ । वास्तविकता थाहा नपाएका सहभागीहरूबीच भने कमल थापा निर्मलनिवास नपुग्नुभएको कुराले निकै चर्चा पाएको थियो ।
प्राप्त जानकारीअनुसार, पहिलो दिनको भोजमा पूर्वबडामहारानी कोमल पूरै समय भोजस्थलमा बस्नुभएको भए पनि राजा ज्ञानेन्द्र केही समय मात्र बसेर बाहिरिनुभएको थियो । नेता, पूर्वराजदूत तथा सुरक्षा क्षेत्रका पूर्वप्रमुखहरूले राजनीतिको कुरा गर्दा राजा ज्ञानेन्द्रले केही नबोली टाउको मात्रै हल्लाउनुभएको थियो । तर अन्य विषयका कुराकानीमा भने उहाँले रुचिपूर्वक ध्यान केन्द्रित गर्नुभएको बुझिएको छ । सुरक्षा क्षेत्रका प्राय: सबै पूर्वप्रमुखहरूलाई निम्त्याइए पनि नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाललाई भने त्यहाँ नबोलाइएको बुझिएको छ । भनिन्छ, कटवालसँग दरबारको सम्बन्ध सेनापति हुँदादेखि नै चिसिएको थियो । कटवालप्रति दरबारको गम्भीर ‘रिजर्भेसन’ रहेको बताइन्छ । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मालाई पनि त्यहाँ नदेखिएको सहभागीहरूले बताएका छन् ।
दोस्रो दिनको भोजमा मूलत: व्यावसायिक व्यक्तित्वहरूलाई बोलाइएको थियो । पत्रकारिता, गायन, सङ्गीत, सामाजिक सङ्घसंस्था, व्यापार-व्यवसायलगायतका क्षेत्रमा सम्बद्ध व्यक्तित्वहरूबीच राजपरिवारका सबै सदस्यले करिब दुई घन्टा बिताउनुभएको थियो । परिचयका क्रममा व्यावसायिक विषयमा सामान्य सोधपुछबाहेक राजनीतिक कुराहरूमा प्रवेश नै गरिएको थिएन । केही व्यक्तिहरूले संविधान निर्माणको कुरा गर्दा राजाबाट ‘संविधानको कुरा गर्नका लागि यो उपयुक्त स्थान होइन’ भन्ने जवाफ पाएका थिए । ‘दिस इज नट राइत प्लेस टु टक अबाउट इट’ भन्ने जवाफपछि संविधानबारे जिज्ञाशा राख्नेहरू चुप भएका थिए । तीन दिनकै खानामा सोल्टीबाट मगाइएको सामान्य ‘हाई टी’ राखिएको थियो भने आफ्ना बुबा स्व. श्री ५ महेन्द्र र स्व. बडामहारानी ऐर्श्वर्यद्वारा रचित के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर, उकाली-ओरालीहरूमा, एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा लगायतका गीतका धुनहरू बजाइएको थियो । आइतबारको भोजमा पुराना राजावादी पत्रकार राजन कार्कीले आफू पत्रकार महासङ्घ काठमाडौं शाखाको चुनाव लड्न लागेको बताउँदा वरिपरि बसेर सुन्नेहरूले लज्जा महसुस गरेका थिए ।
योग्य व्यक्ति नपाए आन्दोलन
देशको अर्थतन्त्रको सिङ्गो भविष्य गाँसिएको तथा पूर्णरूपले सरकारी स्वामित्वमा रहेर पनि हाल सुधारको प्रक्रियामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिसम्बन्धी बहस चर्किएको छ । वर्षोनी अर्बौं नाफा आर्जन गरी राज्यलाई सबैभन्दा बढी कर तिर्ने दस प्रतिष्ठानमध्येको एक यस बैंकको करार व्यवस्थापनको म्याद आगामी मार्च ३१ देखि समाप्त हुँदै छ । यस सर्न्दर्भमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु भनी नेपाल राष्ट्र बैंकबाट निर्देशन गएको र बैंकको सञ्चालक समितिले सो प्रक्रिया प्रारम्भ गरेकोप्रति नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले गम्भीर चासो दर्शाएको छ ।
सङ्घका अध्यक्ष जितेन्द्रसिंह थापा र महासचिव दिनेशविक्रम थापाले संयुक्त विज्ञप्ति जारी गरी सुधारको क्रममा रहेको बैंक व्यवस्थापनका लागि बाह्य विकल्प खोज्दा सुधार प्रक्रिया नै अप्ठ्यारोमा पर्ने औंल्याएका छन् । बैंकको व्यवस्थापन नेपाली समूहले जिम्मा लिएपछि सरकार परिवर्तनसँगै बैंकको सञ्चालक समितिमा भएको फेरबदललाई राजनीतिक हस्तक्षेपको प्रारम्भका रूपमा चित्रित गर्दै थापाद्वयले प्रमुख कार्यकारी अधिकृतका लागि गत वर्ष खुल्ला विज्ञापन गरिएको भए तापनि नेपाल राष्ट्र बैंकले हठात रद्द गरी पुरानै व्यवस्थापनलाई किस्ताबन्दी रूपमा अवधि थप्दै जानुले झन् अन्योल बढाएको स्पष्ट पारेका छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्ति अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विज्ञापन गरी पूर्ण व्यावसायिक व्यक्ति वा समूहलाई दिइनुपर्ने सुझाव पनि सङ्घका तर्फाट दिइएको छ । यसो गर्न नसके तत्कालका लागि बैंकको सुधार प्रक्रियामा करार व्यवस्थापनसँग काम गरेर खारिँदै आएका बैंकभित्रकै वरिष्ठ व्यवस्थापकहरूलाई जिम्मा दिनुपर्ने विकल्पसमेत दिइएको छ । यसो नभएमा बैंकलाई राजनीतिक हस्तक्षेपबाट मुक्त तुल्याउन आन्दोलनमा उत्रने चेतावनी पनि सङ्घले दिएको छ ।

काशीको मुखबाट अर्कैको कुरा
एमाले बैठकमा झलनाथ खनाललाई सरकार चलाउन र माधव नेपाललाई पार्टी चलाउन दिनुपर्ने विचार पनि अभिव्यक्त भएको छ । गत सोमबार सम्पन्न पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै सुरेन्द्र पाण्डे र अरुण नेपालले सरकार बनाउने पूर्ण अधिकार प्रधानमन्त्री झलनाथ खनाललाई दिनुपर्ने धारणा प्रस्तुत गर्नुभएको थियो भने काशीनाथ अधिकारीले चाहिँ पार्टी चलाउने जिम्मेवारी ? अध्यक्ष) माधव नेपालले लिनुपर्ने र सरकार चलाउन झलनाथ खनाललाई नै छोडिदिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । काशीनाथ अधिकारी पार्टीमा सरल, सत्जन र सोझो व्यक्तिका रूपमा चिनिनुहुन्छ । तर, उहाँको कुरालाई बैठकमा सबै सहभागीले सरल र सहज रूपमा ग्रहण गरेका भने छैनन् । अधिकारीको सुखारबिन्दबाट माधव नेपालको इच्छा प्रकट भएको हो कि भन्ने केही नेताहरूको ठम्याइ छ । कतिपयले चाहिँ माधव र केपीबीच फाटो ल्याउने झलनाथ
खनालले नै माधव नेपाललाई चारा फ्याँक्नुभएको हो कि भन्ने आशङ्का पनि गरेका छन् । जे भए पनि वास्तविकता निकट भविष्यमै नै स्पष्ट हुने अपेक्षा गरिएको छ । स्मरणीय छ, गत असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्याइनुअघि पनि खनालले माधव नेपाललाई कार्यवाहक अध्यक्ष बन्न प्रलोभन दिनुभएको थियो । त्यसबेला नेपालले खनालको प्रस्ताव अस्वीकार गर्नुभएको थियो । तर, अहिले परिस्थिति बेग्लिएको हुँदा कतै अध्यक्ष पद हात पारेर खनाल-नेपाल एकातिर हुने परिस्थिति निर्माण गरिन पनि सम्भव ठानिएको छ ।

राजीनामाको कुरासमेत गरे प्रधानमन्त्रीले
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष्ँ झलनाथ खनालबीच भएको सातबुँदे सहमति २० दिनपछि एमालेले परिमार्जन गरी अनुमोदन गरेको छ । प्रधानमन्त्रीको चुनावअघि २० माघ बिहान खनाल र प्रचण्डबीच सातबुँदे सहमति भएको थियो । सोही सहमतिलाई लिएर एमालेभित्र निकै ठूलो अन्तरसङ्घर्षको स्थिति भएको थियो भने माओवादीले सो सहमति पालना नभएसम्म सरकारमा नजाने अड्डी कसेर बसेको थियो । एमालेका लोकतन्त्र पक्षधर नेताहरू पार्टीबाट भोटिङ गराएरै भए पनि सो सहमति तोड्ने पक्षमा उभिनुभएको थियो । तर, ९ फागुन ? सोमबार) बिहान बसेको शीर्ष चार नेताको छलफलपछि उहँँहरू सातबुँदे सम्झौता परिमार्जन गरी पारित गर्न सकारात्मक हुनुभएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले सातबँुदे सहमतिलाई परिमार्जन गरी पारित गर्न सहमत भएपछि ९ फागुन ? सोमबार)मा बसेको पोलिटब्युरो बैठकले पारित गरेको हो । पोलिटब्युरो बैठकले पारित गरेको परिमार्जित सातबुँदे सहमतिलाई १० फागुनमा ? मंगलबार) बसेको केन्द्रीय कमिटीको बैठकले
अनुमोदन गरेको हो । प्रचण्ड-खनालबीच भएको सातबुँदे सहमतिलाई एमालेले परिमार्जन गरी पारित गरे पनि यसबारे माओवादीले कुनै प्रतिक्रिया दिएको छैन । माओवादी अध्यक्ष प्रचण्डले एमाले सातबुँदे सहमतिको विरुद्धमा गए आफूहरूले सरकार निर्माणमा एमालेलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको थियो ।
माओवादीले परिमार्जित सातबुँदे सहमतिको मूल मर्म, भावना र उद्देश्य शान्तिप्रक्रियालाई पूर्णता दिनु र निर्धारित समयभित्र संविधान जारी गर्नु हो भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ भनेको छ । सातबुँदे सहमति परिमार्जन गरी पारित गरेपछि प्रधानमन्त्री खनाल र नेपाल-ओली पक्षधर नेताहरूले सातबुँदे सहमति सकारात्मक भएको प्रतिक्रियासमेत दिन भ्याए । ‘पार्टीेका पूर्वमान्यताहरूको अधीनमा रहने गरी सातबुँदे सहमति परिमार्जन गरिएको छ, यसलाई माओवादीलगायत सबै राजनीतिक दलले स्वीकार गर्छन् भन्ने एमालेको विश्वास छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो । सातबुँदे सहमति परिमार्जन गर्ने विषयमा एमालेका शीर्ष नेताहरूले सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री खनाल तथा महासचिवर् इश्वर पोखरेल, एमाले वरिष्ठ नेता नेपाल र केपी ओलीको सहभागिता थियो । सो बैठकमा माओवादीको समेत समर्थन रहनेगरी सातबुँदे सहमति परिमार्जन गर्ने विषयमा सहमति भएको थियो । छलफलमा केही ड्राफ्टसमेत तयार गरिएको थियो । त्यही ड्राफ्टका आधारमा प्रदीप ज्ञवाली र प्रकाश ज्वालाले सातबुँदे सहमतिको परिमार्जित ‘फाइनल ड्राफ्ट’ तयार पार्नुभएको थियो । त्यही प्रस्ताव पेस गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खनालले प्रधानमन्त्री निर्वाचन हुनुअघि माओवादी अध्यक्षसँग सातबुँदे सहमति गर्नुको कारण र त्यसको उद्देश्य प्रस्ट्याउनुभएको थियो । खनालले माओवादीसँग सातबुँदे सहमति रहरले नभई बाध्यता र मुलुकको विद्यमान समस्या समाधान गर्नका लागि गरिएको बताउनुभएको थियो । उहाँले सातबुँदे सहमतिले कसैलाई हानि नपुर्‍याउने भन्दै त्यसको खिलाफमा उत्रनुको कुनै अर्थ नरहने जिकिर गर्नुभएको थियो ।
बैठकमा खनालले सातबँुदे सहमतिबारे सदस्यहरूलाई स्पष्ट पारेपछि अन्य वक्ताहरूले बोल्न सुरु गरेका थिए । बैठकमा वरिष्ठ नेता नेपालले सातबँुदे सहमतिले लोकतान्त्रिक गठबन्धनविरुद्ध रहेको देखिए पनि त्यसलाई पार्टीले परिमार्जित गरेर पारित गर्दा फरक नपर्ने प्रतिक्रिया दिनुभएको थियो । तर, नेपाल-ओलीनिकट खगराज अधिकारी, थममाया थापालगायतका नेताहरूले सातबुँदे सहमतिको चर्को विरोधमा बोलेपछि प्रधानमन्त्री खनालले हामीले सातबुँदे सहमतिलाई पालना नगरी अघि बढ्न सकिँदैन । यदि सहमतिको विपरीत हामी जाने हो भने म प्रधानमन्त्रीको पदमा बसिरहनुको औचित्य छैन, हामीले आफ्नो स्वार्थलाई होइन, सिङ्गो मुलुक, पार्टी अनि अन्य दलको स्वार्थ पनि हेर्नुपर्छ । त्यसैले हामीसामु दुईवटा मात्र विकल्प छन्, त्यो हो कि सहमति पालना गरेर अघि बढ्ने वा प्रधानमन्त्री पदबाटै राजीनामा दिएर बाहिरिने । यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै कुनै पनि हालतमा सातबुँदे सहमति कार्यान्वयन गरिछाड्ने भनी आफ्नै पार्टीका बहुसङ्ख्यक नेताहरूलाई समेत चेतावनी दिनुहुने प्रधानमन्त्री खनालबाट यस्तो अभिव्यक्ति आएपछि बैठकमा सहभागीहरूले एक-आपसमा मुखामुख गरेका थिए । त्यसपछि बैठकमा अन्य वक्ताहरूले सहमति परिमार्जन गरेर जानुपर्ने पक्षमा बोल्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । एमालेको बैठकमा आरोप-प्रत्यारोप सामान्यजस्तै भएकोले सोमबारको पोलिटब्युरो बैठकमा पनि त्यसको सामान्य लक्षण देखिएको ती नेताले बताउनुभयो ।
पोलिटब्युरो सदस्य पशुपति चौलागाईंका अनुसार बैठकमा गृहलगायतको मन्त्रालयका विषयमा सदस्यहरूले बढी चासो देखाउनुभएको थियो । उनीहरूले गृह माओवादीलाई कुनै पनि हालतमा दिन नहुने भन्दै शान्तिप्रक्रियाले निर्णयक रूप नलिएसम्म सुरक्षासँग सम्बन्धित मन्त्रालय माओवादीलाई दिन नहुने अडान राखेका थिए । उनीहरूले काङ्ग्रेसलाई पनि सरकारमा सहभागी गराई गृह काङ्ग्रेसलाई दिन भनेका थिए । माओवादी नेतृत्वको सरकारमा काङ्ग्रेस सहभागी नभएको भन्दै काङ्ग्रेसलाई गृह दिएर भए पनि सरकारमा ल्याउन सुझाव दिएका थिए । उनीहरूले सुरक्षासँग सम्बन्धित मन्त्रालय माओवादीलाई दिए धेरै अपराधीले राज्यबाटै प्रश्रय पाउने पनि बताएका थिए । गृहलगायत मन्त्रालयका विषयमा सदस्यहरूले चर्को आवाज उठाएपछि प्रधानमन्त्री खनालले अहिले सबै मन्त्रालय आफूसँगै रहेकोले यस विषयमा विवाद नगर्न भन्दै आपसी छलफलका आधारमा मन्त्रालय बाँडफाँड गर्ने, एमालेको नेतृत्वमा सरकार बनेको भए पनि सबैभन्दा ठूलो दल माओवादीको सहयोगमा सरकार बनेकोले स्वाभाविकै रूपमा उसले धेरै मन्त्रालय पाउने जानकारी गराउनुभएको थियो । मन्त्रालय बाँडफाँडका विषयमा प्रधानमन्त्री खनाल, वरिष्ठ नेता नेपाल, ओली र्रर् इश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ ।

साथ छोडिन् उर्मिलाले
नेकपा एमालेमा लोकतन्त्र पक्षधर र माओवादी पक्षधरबीच धु्रवीकरण हुँदै गइरहेका बेला झलनाथ खनालले प्रधानमन्त्री पद पाएपछि केही मानिस अडान छाडेर पद प्रलोभनमा क्याम्प परिवर्तन गर्न थालेका छन् । खनालले यस क्रममा गत शनिबार राति तराईबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सोह्र सदस्यहरूलाई रात्रिभोज दिनुभएको थियो । त्यस अवसरमा खनालले आफू तराईका समस्याप्रति संवेदनशील रहेको बताएर तिनको मन जित्ने प्रयास मात्र गर्नुभएन, केहीलाई मन्त्री बनाइदिने आश्वासन दिनुभयो र जस्तोसुकै समस्या परेको भए पनि आफूलाई भन्न नहिच्किचाउनु भन्दै घुमाएर पैसाको अफरसमेत गर्नुभएको बताइन्छ । रामचन्द्र झाको विशेष सक्रियतामा सम्पन्न उक्त भोजमा रघुवीर महासेठ, योगनारायण यादव, डा. वंशीधर मिश्र, कमलादेवी महतो, नागेन्द्र चौधरी, शत्रुघ्न महतो, लालबाबु पण्डित, रामपृत पासवान, धर्मनाथप्रसाद साह, रामचन्द्र यादव, गंगाराम यादव, सत्यनारायण मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, श्रीप्रसाद साह, वैजनाथ चौधरी र मोहम्मद आलमको सहभागिता रहेको समाचार स्रोतले जनाएको छ । यसरी भोज खानेमध्ये को कसले झलनाथलाई साथ दिने भए बुझन सकिएको छैन, तर मन्त्री पद प्राप्त गर्न सक्ने जति सबैको साथ खनाललाई प्राप्त हुने विश्वास गरिएको छ ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार निकै लामो समयदेखि केपी-माधवको पक्षमा रहँदै आएकी उर्मिला अर्याल रातारात खनालको क्याम्पमा हात उठाउन पुगेकी छिन् । उर्मिलालाई मन्त्री बनाइदिने वचन झलनाथले दिएपछि उनले आकस्मिक रूपमा क्याम्प परिवर्तन गरेको बताइएको छ । यसरी उर्मिला अर्याललाई आफ्नो बनाउने सफलता खनाललाई प्राप्त भए पनि विगतमा आफ्नै साथमा रहेकार् इश्वर पोखरेललाई भने उहाँले करिब-करिब गुमाउनुपरेको छ । पोखरेल सातबुँदे सम्झौता जस्ताको त्यस्तै कार्यान्वयन गर्ने कुराको विरुद्ध उभिएपछि उहाँले खनालको साथ छोड्नुभएको ठानिएको छ । तर, सैद्धान्तिक र वैचारिकभन्दा पद र हैसियतमुखी चरित्रका मानिनुहुने पोखरेल विचारको लडाइँमा लामो समय अड्नुहुनेमा विश्वास गरिएको छैन । अड्नुभएमा आर्श्चर्य मानिनेछ । झलनाथले पोखरेललाई आफ्नै क्याम्पमा फर्काउन अनेक प्रयास गरिरहनुभएको हुनाले पनि अन्तत: पोखरेल झलनाथकै क्याम्पमा उभिन पुग्ने अनुमान एमालेभित्र गरिएको छ ।

पत्रकारको नेता बन्न दौड
पत्रकार महासङ्घको केन्द्रीय चुनावमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकार महासङ्घ काठमाडौं शाखालाई आठौँ अधिवेशनको चटारोले राम्ररी छोएको छ । आगामी १३ फागुनमा कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुने चुनावका लागि पेसागत पत्रकारहरूभन्दा प्रमुख राजनीतिक दलसँग निकट मानिने विभिन्न सङ्घ/सङ्गठनहरू सक्रिय रूपमा लागिपरेका छन् । ती सङ्घ/सङ्गठनहरूले काठमाडौं शाखाको चुनावी परिणाम आफ्नो पोल्टामा पार्न तीव्र चलखेल गरिरहेका हुन् । चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्रियताका साथ लाग्ने सङ्गठनहरूमा एमालेनिकट प्रेस चौतारी, माओवादीनिकट क्रान्तिकारी पत्रकार सङ्घ र काङ्ग्रेसनिकट प्रेस युनियन रहेका छन् । त्यसैगरी आफूलाई राष्ट्रवादी भन्दै राजावादी पत्रकारहरू पनि शाखाको परिणाम आफूअनुकूल बनाउन लागिपरेका छन् । महासङ्घको चुनावमा समेत महत्त्व राख्ने भएकोले केन्द्रीय पदाधिकारीहरूको आँखा पनि काठमाडौं महासङ्घको चुनावमा केन्द्रित भएको छ । भक्तपुर र ललितपुर जिल्ला शाखाको चुनाव पनि १३ गतेका लागि तय गरिएकाले पनि राजनीतिक दलका नेतादेखि महासङ्घका पदाधिकारीहरूको ध्यान उपत्यकामा केन्द्रित भएको हो ।
काठमाडौं महासङ्घको चुनावका लागि करिब साढे सात सयभन्दा बढी सदस्य हुने र त्यसमध्ये ६ सयभन्दा बढी सदस्यले चुनावमा भाग लिने अपेक्षा गरिएको छ । जसमा दुई सय प्रेस चौचारी, एक सय २५ क्रान्तिकारी, १ सय प्रेस युनियन र बाँकी अन्य राजनीतिक दल तथा स्वतन्त्र पत्रकारहरूको सहभागिता हुने बताइएको छ । चुनावी नतिजा आफूअनुकूल बनाउन क्रान्तिकारी पत्रकार सङ्घ, प्रेस चौतारी, प्रेस युनियनका पदाधिकारीहरूबीच सहकार्यका लागि चरण-चरणमा वार्ता भए पनि कसले कोसँग सहकार्य गर्ने भन्नेबारेमा अझै खुलेका छैनन् । तीन सङ्गठनले नेतृत्वलगायत महत्त्वपूर्ण पदमा दाबी गरेपछि सहकार्यले औपचारिक रूप लिन नसकेको हो । महासङ्घको अध्यक्षका लागि प्रेस चौतारीले वर्तमान सचिव गोविन्द चौलागाईंलाई अघि सारेको छ भने अन्य पदमा सहकार्य गर्ने भन्दै खाली छोडेको छ । क्रान्तिकारी पत्रकार सङ्घले दीपेन्द्र रोकायलाई अध्यक्षको रूपमा अघि सारेको छ । प्रेस युनियनले भने अहिलेसम्म अध्यक्षमा कसैलाई पनि घोषणा गरेको छैन । त्यसैगरी अध्यक्ष पदकै लागि दिनेश बस्नेत, राजन कार्की, कमल गुरुङ पनि चुनावी मैदानमा उत्रिएका छन् । बस्नेतले आफूलाई माओवादी तथा स्वतन्त्र सदस्यहरूको सहयोग रहने बताउँदै आएका छन् भने कार्कीले आफूलाई राष्ट्रवादी पत्रकारहरूले सहयोग गर्ने बताएका छन् । गुरुङले आफूलाई जनजाति तथा एमाले र काङ्ग्रेसको मत आउने दाबी गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा टीबी विरही, कृष्ण भण्डारी, रामचन्द्र सिलवाल, श्रीजन झा, दिनेश खनाल, चन्द्रलता गिरी, अर्जुन थपलिया देखिएका छन् । सचिवमा रामहरि पाण्डे, दीपक खनाल र अस्मिता भण्डारीले उम्मेदवारी दिने चर्चा छ । त्यस्तै सहसचिवमा रामकृष्ण अधिकारी, इन्द्र बानियाँ, रामचन्द्र खड्का, पुष्कर बुढाथोकी तथा कोषाध्यक्षमा वैकुण्ठ भण्डारी, शिव बस्नेत, केशव न्यौपाने, हेमराज सिलवाल र दिवाकर पन्तको नाम चर्चामा छ । त्यसैगरी सदस्यहरूमा ज्ञानप्रसाद बास्तोला, सूर्य सुवेदी, मानध्वज लामा, हरि लामिछाने, विष्णु पन्थी, सतिदेवी उप्रेतीलगायतको चर्चा चलेको छ । उता ललितपुर जिल्ला शाखाको अध्यक्षमा क्रान्तिकारी पत्रकार सङ्घका लेखनाथ न्यौपाने र पूर्णसिंह बराइलीको नाम चर्चामा छ भने सचिवमा अमृत तिमिल्सिना र ज्ञानप्रसाद पौडेलको नाम लिइएको छ ।

बानकी मुनसँगै बन्दना
यसै वर्षको जनवरी १ तारिखदेखि सञ्चालनमा आएको महिला समानता र सशक्तीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएन वुमनको यही फेब्रुवरी २४ तारिखका दिन (आगामी बिहीबार) संयुक्त राष्ट्र सङ्घको मुख्य कार्यालय न्युयोर्कमा उद्घाटन हुँदै छ । उद्घाटनमा राजनीतिक व्यक्तित्वहरू, महिला अधिकारवादी, सेल्रि्रेटीहरू तथा पत्रकारहरूको सहभागिता रहने कुरा संयुक्त राष्ट्रसङ्घले जनाएको छ । उद्घाटन समारोहलाई संयुक्त राष्ट्रसङ्घ साधारणसभाका अध्यक्ष जोसेफ डेइस, महासचिव बान की मुन, यूएन वुमनकी प्रमुख मिसेल बेनेट, संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका सरकारहरूको तर्फाट ट्रिनिडाड एन्ड टोबागोकी कमला पेर्साद बिसेसार, स्पेनकी राजकुमारी क्रिष्टिना र सदस्य राष्ट्रका नागरिक समाजको तर्फाट नेपालकी बन्दना राणा, शान्ति स्थापनाको क्षेत्रमा कार्यरतको तर्फाट लाइबेरियाकी प्रहरी युनिटकी पूर्वकमान्डर राखी शाही, मिडियाबाट सीएनएनकी संस्थापक तथा एबीसी टेलिभिजनकी समाचारवाचिका क्रिष्टिना अमानपुर र मनोरञ्जनको क्षेत्रबाट निकोल किड्म्यानले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसङ्घ महासभाको जुलाई २, २०१० को बैठकले युनिफेमसहितका महिलासम्बद्ध चारवटा संयुक्त राष्ट्रसङ्घीय निकायको समायोजन गरी यूएन वुमनको स्थापना गरेको थियो । यूएन वुमनकी प्रमुख रहेकी मिसेल बेनेट चिलीकी पूर्वराष्ट्रपति हुन् । संयुक्त राष्ट्रसङ्घको शक्तिशाली निकायको उद्घाटनमा विश्वभरिका नागरिक समाजको तर्फाट नेपालकी बन्दना राणाको चयन हुनु सम्पूर्ण नेपालीका लागि गर्वको कुरा हो । सञ्चारिका समूहकी पूर्वअध्यक्ष बन्दना साथी संस्थाकी अध्यक्ष हुन् । महिलाका निम्ति काम गर्ने अधिकारसम्पन्न, स्रोतयुक्त र शक्तिशाली संयुक्त राष्ट्रसङ्घीय निकायको माग गर्दै गरिएको विश्वव्यापी अभियानमा उनी दक्षिण एसियाको संयोजक थिइन् ।

अस्ताए तारा नेपाली काङ्ग्रेसका सक्रिय कार्यकतर्
राराप्रसाद त्रिपाठीको साठी वर्षको उमेरमा निधन भएको छ । पृथ्वीराजमार्गको मलेखुमा समाजसेवी एवम् उद्यमीका रूपमा समेत चिनिनुहुने तारा त्रिपाठी केही दिनअघि बिरामी भई ललितपुरस्थित पाटन अस्पतालमा भर्ना हुनुभएको थियो । मंगलबार ? फागुन १० गते) बिहान अस्पतालमा निधन भएपछि उहाँको पार्थिव शरीर अन्त्येष्टिका लागि मलेखुस्थित त्रिशूली नदी र मलेखुको सङ्गममा लगिएको थियो । त्यस अवसरमा नेपाली काङ्ग्रेसले उहाँको पार्थिव शरीरमा पार्टीको झन्डा ओर्ढाई सम्मान गरेको थियो । पार्टीका गाउँ सभापति ऋषिनाथ त्रिपाठी, वडा सभापति रामशरण त्रिपाठी, महाधिवेशन प्रतिनिधि गोपाल सिलवाललगायतको उपस्थिति रहेको उक्त अन्त्येष्टि समारोहमा नेकपा एमाले, राप्रपा, माओवादी र जनशक्ति पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले पनि तारा त्रिपाठीको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । त्रिपाठीको निधनले मलेखु काङ्ग्रेसमा अपूरणीय क्षति पुर्‍याएको पार्टी सभापति ऋषिनाथ त्रिपाठीले बताउनुभएको छ । तारा त्रिपाठीका पत्नी तथा छोराहरू श्याम र प्रकश हुनुहुन्छ । घटना र विचार साप्ताहिक तारा त्रिपाठीको निधनमा गहिरो दु: ख प्रकट गर्दै मृतात्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हारि्दक समवेदना प्रकट गर्दछ ।

गृहणी-शिक्षा देशभर पुर्‍याउन अपिल
आजभन्दा १८ वर्षअगाडि आफू शिक्षामन्त्री भएको समयमा म्याग्दीको विद्यालय भ्रमण गर्दा कक्षामा ६० प्रतिशत छात्रा उपस्थित भएको आफूले भेटेको तर अहिले पनि आफ्नो जिल्लामा ३० प्रतिशत पनि छात्रा विद्यालय जाने नगरेकोमा राष्ट्रपति डा. रामवरण यादवले चिन्ता व्यक्त गर्नुभएको छ । देशको सम्पूर्ण ध्यान सत्ताकेन्द्रित राजनीतिमा लागेकोले शिक्षा, स्वास्थ्यजस्ता संवेदनशील विषयहरूमाथि उपेक्षा हुने गरेको भन्दै उहाँले शिक्षाको विकास र प्रसार नभई मुलुकको समृद्धि र प्रतिष्ठा माथि उठ्न नसक्ने बताउनुभयो । गत साता महिला सीप विकास केन्द्र ? दिवस नेपाल)ले प्रस्तुत गरेको ज्ञापनपत्र ग्रहण गर्दै राष्ट्रपति यादवले सो अभिव्यक्ति दिनुभएको हो । सो अवसरमा उहाँले मध्यपूर्वका देशहरू धनी भए पनि महिला शिक्षाको कमीले ती देशहरूमा धेरै समस्या रहेको मूल्याङ्कन गर्दै उहाँले मानवीय मूल्य र मर्यादा शिक्षा र चेतनाको आधारमा निर्धारण हुने बताउनुभयो ।
साक्षर होइन शिक्षित महिला बनाऔँ भन्ने अभियानका साथ महिला सीप विकास केन्द्रले मकवानपुरको हेटौंडामा हालै सम्पन्न राष्ट्रिय भेलाबाट पारित सुझावहरूसहितको ज्ञापनपत्र राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो । ज्ञापनपत्र पेस गर्दै केन्द्रकी अध्यक्ष रीता खनालले अशिक्षित र गरिब भएकै कारण महिला र चेलिबेटीहरू बेचिने गरेकोले त्यसबाट बचाउन आफूले गृहणी शिक्षाका माध्यमबाट महिला शिक्षित बनाउने अभियान सञ्चालन गरिरहेको बताउनुभयो । केन्द्रको अभियानलाई सरकारले पनि मान्यता दिएर गृहणी शिक्षा सञ्चालन गर्ने हरेक विद्यालयलाई वारि्षक २६ हजार शैक्षिक कार्यक्रम सहयोग र शिक्षिकाका लागि प्रतिमहिना दुई हजारका दरले अनुदान दिने गरेको जानकारी पनि अध्यक्ष खनालले दिनुभयो । ११ बुँदे मागपत्रसहितको ज्ञापनपत्रमा उहाँले जल, जङ्गल र जमिनको सदुपयोग र संरक्षण गर्नेदेखि भ्रष्टाचार र सामाजिक रुढीवादी तथा हत्या, हिंसा र सामाजिक अराजकतासमेतको अन्त्यका लागि आमाहरू शिक्षित हुनुपर्नेमा जोड दिनुभयो । सोही ज्ञापनपत्र नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई पनि बुझाइएको जनाउँदै गृहणी शिक्षा हालसम्म २५ जिल्लामा पुगिसकेको र अब देशव्यापी बनाउन सरकार एवम् राजनीतिक दलहरूको सहयोग र समर्थन चाहिएको संस्थाकी अध्यक्ष खनालले बताउनुभयो ।

पुनर्स्थापना कार्यक्रमलाई थप अवधि
माओवादी शिविरबाट बहिर्गमनमा परेका प्रमाणीकृत नावालिग तथा पछि भर्ना भएकाहरूका लागि संयुक्त राष्ट्रसङ्घीय अन्तरसंस्था पुनर्स्थापना कार्यक्रमद्वारा सञ्चालन गरिएको पुनर्स्थापना कार्यक्रममा नाम दर्ता गर्ने अवधि आगामी चैत ८ गतेसम्मका लागि बढाइएको छ । उमेर र माओवादी सेनामा भर्ती भएको समयका आधारमा गत वर्ष चार हजार आठजना माओवादी लडाकुलाई ‘प्रमाणीकृत नावालिग तथा पछि भर्ना भएका’ मानिएको थियो र नागरिक समाजमा पुनर्स्थापनाका लागि उनीहरूलाई शिविरबाट बहिर्गमन गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक रबर्ट पाइपरका अनुसार पुनर्स्थापना कार्यक्रममा नाम दर्ता गरिनसकेकाका लागि आफ्नो नाम सहयोग कार्यक्रममा दर्ता गरी नागरिक जीवनमा र्फकन सहयोग प्राप्त गर्ने यो अन्तिम अवसर हो । यस कार्यक्रमअर्न्तर्गत शैक्षिक सहयोग, लघु-उद्यम विकास प्रशिक्षण, व्यावसायिक सीप प्रशिक्षण र स्वास्थ्य सेवासम्बन्धी प्रशिक्षण गरी चारवटा पुनर्स्थापना सहयोग प्याकेज रहेका छन् । सहयोग प्याकेजअर्न्तर्गत प्रशिक्षण पूरा गरेकाहरूलाई रोजगारी अवसर प्राप्त गर्न वा स्वरोजगार बन्नका लागि प्रशिक्षणोत्तर सहयोगको पनि व्यवस्था गरिएको छ । शैक्षिक सहयोग लिने सहभागीहरूका लागि सहयोग अवधिभरि मासिक भत्ता दिने गरिएको छ । सहकर्मी संस्थाहरूको सञ्जालका माध्यमबाट सहभागीहरूलाई मनोसामाजिक परामर्श पनि उपलब्ध गराउने गरिएको छ । अहिलेसम्ममा तीन सयजनाभन्दा बढी सहभागीलाई यो सेवा उपलब्ध गराइसकिएको छ । कार्यक्रममा सहभागी हुनका लागि नि: शुल्क फोन नं. १-६६०-०१-७७८८८ को व्यवस्था गरिएको जनाइएको छ ।

काठमाडौंको मुटुमा क्लाउड नाइनको धमाका
राजधानीमा रेस्टुरेन्टको सङ्ख्या कति होलान्, यसको सही तथ्याङ्क आधिकारिक निकायसँग पनि नहोला । साना वा ठूला गरेर यस्ता हजारौँ रेस्टुरेन्ट काठमाडौं उपत्यकाभित्र सञ्चालित छन् । तीमध्ये खास विशेषता बोकेका रेस्टुरेन्टको सङ्ख्या केही सय वा त्योभन्दा पनि कम हुन सक्छन् । र, यिनै विशेष कोटिका रेस्टुरेन्टहरूबीच विशिष्ट मौलिकताका साथ सञ्चालनमा आएको छ- क्लाउड नाइन । यसरी सञ्चालनको छोटो अवधिमै ग्राहकको उत्कृष्ट रोजाइमा परेर क्लाउड नाइनले लोकप्रियता हासिल गर्नुमा केले भूमिका निर्वाह गरेको होला त ?
चारतले भवन ओगटेको क्लाउड नाइनको चौथो तलाबाट नारायणहिटी सङ्ग्रहालयको भित्रीपरिसरको मनोरम दृश्य हेर्दै आफ्नो रोजाइका परिकारको स्वाद लिन पाइन्छ । ‘अल फर रेस्टुरेन्ट’ नाराका साथ सञ्चालित यस रेस्टुरेन्टमा नेपाली, कन्टिनेन्टल, चाइनिज र इटालियन परिकारका दुई सयभन्दा बढी आइटम उपलब्ध छन् । पाँचतारे होटलको लामो अनुभव बोकेका सेफ म्यानेजर मनमोहन राउत र दुबईको होटलमा पाँच वर्षसहित १४ वर्षको अनुभव संगालेका सेफ बालकुमार राउतको हातबाट ग्राहकले साँच्चै अनुपम भन्न सुहाउने स्वाद चाख्न सक्ने सो रेस्टुरेन्टका पारखीहरूको कथन छ । सुनिल शाही, मनोज शाही, सुजन मालाकार र सुरेन्द्र कोइरालाको संयुक्त प्रयासमा सुरु गरिएको क्लाउड नाइनमा सबभन्दा साधारण काम गर्ने कामदार पनि एसएलसी तहका रहनु एउटा अलग विशेषता मान्नुपर्छ ।
२५ जनाले रोजगारी पाइरहेको सो रेस्टुरेन्टमा रुद्र कार्कीको अध्यक्षतामा युनियन गठन भएको छ र युनियनले रेस्टुरेन्टको छवि जोगाउँदै उन्नतिका लागि आफ्नै सम्पत्तिझैँ माया र चिन्ता गर्ने गरेको सुखद अनुभूति सेयर गर्छन् सञ्चालक सुरेन्द्र कोइराला । लामो समयदेखि प्राध्यापन गर्दै आएका कोइराला कानुन व्यवसायी पनि हुन्, तर रेस्टुरेन्ट व्यवसायीका रूपमा समेत मौलिक पहिचान बनाउने ध्येयका साथ उनी यस काममा होमिएका छन् । मुलुकले मनाइरहेको पर्यटन वर्षलाई समेत ध्यानमा राखी क्लाउड नाइनमा सेवा प्रदानको व्यवस्था गरिएको दाबी गर्ने कोइरालाका अनुसार रेस्टुरेन्टको ग्राउण्ड फ्लोरमा मिटिङ रुम र सेप्रेट रुम पनि रहेको छ भने ४०-५० जना अट्ने मिटिङ रुममा कुनै पनि कार्यक्रम, सेमिनार आयोजना गर्न सकिन्छ । त्यस्तै गोप्य कोठामा पनि ८-१० जना बस्न सक्छन् । यो कोठा प्रयोग गरेबापत अलग शुल्क तिर्नु पर्दैन । पहिलो तलामा कफीबार छ भने बस्नका लागि कुर्सी र सोफाको व्यवस्था गरिएको छ । एलसीडी टीभीमा मनलागेको च्यानल हेर्दै यहाँ कफी पिउनुको मजा नै अर्कै हुन्छ । दोस्रो तलामा आकर्षक ढङ्गले सजाइएको डाइनिङ हल तथा ओपन किचन छ । माथिल्लो तलामा रहेको ‘टेरेस’मा जाडोमा आगो ताप्दै कक्टेल र मक्टेलको विशेष चुस्की लिन सकिने भएकोले क्लाउड नाइनले ग्राहकको हृदय विशेष किसिमबाटै जितिरहेको छ भन्न सकिन्छ । जय नेपाल सिनेमा हलको छेवैमा रहेर पनि पार्किङको मनग्गे व्यवस्था हुनु र विशिष्ट स्वादका अनेक परिकारका साथ मलेखुबाट झिकाइएको सानो माछाको जिब्रोमै झुन्डिने स्वाद पस्किने व्यवस्थाले क्लाउड नाइनलाई राजधानी सहरको एक मौलिक रेस्टुरेन्टका रूपमा चिनाएको छ ।

लेखा अधिकृतको आग्रहमा जिशिअले कानुन मिचे
जिल्ला शिक्षा कार्यालय कास्कीले शिक्षा नियमावलीविपरीत अन्य जिल्लामा कार्यरत अस्थायी शिक्षकलाई जिल्लान्तर सरुवा गरी कास्की जिल्लाको एक विद्यालयमा ल्याएको रहस्योद्घाटन भएको छ । तनहुँ जिल्लास्थित खैरेनी उमाविमा अस्थायी शिक्षक पदमा कार्यरत रंगीता सुवेदीलाई सराङकोट-९, लामागाउँ कास्कीस्थित सिर्जना प्राविको स्थायी दरबन्दीमा ल्याएपछि गैरकानुनी सरुवा भएको रहस्य बाहिर आएको हो । उनलाई गैरकानुनी ढङ्गले जिल्लान्तर सरुवा मिलाउन ठूलै प्रपञ्च मिलाइएको थाहा हुन आएको छ ।
घटनाक्रमअनुसार सिर्जना प्राविमा स्थायी दरबन्दीमा कार्यरत प्रधानाध्यापकसमेत रहेका मेषबहादुर कार्कीसँग पारस्परिक सरुवा (म्यचुअल ट्रान्सफर)को नाटक अपनाइएको छ । माघ १२ गतेबाट अनिवार्य अवकाश पाउने मेषबहादुर कार्कीलाई तनहुँ खैरेनी उमावि पठाउने गरी कागजी घोडा तय गरिएको थियो । मेषबहादुर कार्कीको खैरेनी उमाविमा पारस्परिक सरुवा गरिएको भए पनि उनको सेवाअवधि सकिएको कारण अनिवार्य अवकाश लिने कुरा र्छलङ्गै थियो । त्यही कारण पनि आफ्नो विद्यालयमा अस्थायी दरबन्दी खाली हुने भएपछि खैरेनी उमाविको व्यवस्थापन समिति र विद्यालय प्रशासनले रंगीतालाई सरुवा सहमति दिएको बताइन्छ भने उनी आउने विद्यालयको व्यवस्थापन समितिमा प्रअ मेषबहादुर कार्कीकै सहोदर भाइ अध्यक्ष रहेको कारण कथित पारस्परिक सरुवाको तानाबाना रचिएमुताबिक सफल बनाइन खोजिएको छ ।
कार्की दाजुभाइको मिलेमतोमा अस्थायी शिक्षक रंगीतालाई प्रअ पदमै म्यचुअल गर्न सफल भएका थिए । सोही विद्यालयमा अन्य स्थायी शिक्षक कार्यरत हुँदाहुँदै अस्थायीलाई शिक्षा ऐन नियमावली प्रतिकूल हुने गरी सीधै निमित्त प्रधानाध्यापक बनाइएको थियो । संशोधित नियमावलीले प्रअको पद रिक्त भएमा पदपूर्ति नभएसम्मका लागि सोही विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये वरिष्ठतम् स्थायी शिक्षकलाई निमित्त प्रधानाध्यापक बनाउनुपर्ने उल्लेख छ । ऐननियमविरुद्ध रंगीता सुवेदी निमित्त प्र.अ. भएकोबारे जानकारहरूको टीका-टिप्पणी र प्रतिक्रिया आउन थालेपछि माघ मसान्तमा जिल्ला शिक्षा कार्यालय कास्कीले विद्यालयको निर्णय सच्चाई स्थायी शिक्षकलाई नि.प्र.अ. तोक्न पत्राचार गरेको कार्यालयका उपसचिव रमेश पौडेलले बताएका थिए ।
पारस्परिक सरुवाको वहानामा धेरै आर्थिक चलखेल हुने गरेको, अवकाश हुने बेलामा पारस्परिक सरुवा आदान-प्रदान गर्दा शुभलाभको मोलमोलाइ हुने नेपालका थुप्रै घटना पटाक्षेप भइरहेका छन् । कास्कीको सर्न्दर्भमा भएको सरुवाबारे आर्थिक चर्चा चले पनि पुष्टि हुन बाँकी छ । बेजिल्लाको अस्थायी शिक्षकको सरुवालाई छैटौं संशोधित नियमावलीले कडाइका साथ नियन्त्रण गर्न सीमा तोकेको छ ।
नियमावलीको छैटौं संशोधनको मूल नियम ९९ को संशोधित उपनियम (२) मा ऐन १६ ज को उपदफा ३ मा लेखिएको अवस्थामा बाहेक स्थायी नियुक्ति भएको एक वर्ष नपुगेको शिक्षक र अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि रहेको शिक्षकलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिने छैन भन्ने वाक्य स्पष्ट उल्लेख गरिएको छ ।
माघ ९ गते संशोधित नियमावली राजपत्रमा प्रकाशित भएको छ भने जिल्ला शिक्षा कार्यालय कास्कीले नियम जारी भएको भोलिपल्ट अर्थात् माघ १० गते जिल्लान्तर सरुवा गर्ने निर्णय गरेको देखिन्छ । नियमावलीले स्थायी शिक्षकको हकमा एक वर्ष पूरा भएपछि मात्र जिल्लान्तर सरुवा गर्न मिल्ने बताएको छ भने अनिवार्य अवकाश हुन १ वर्ष वा सोभन्दा कमलाई सरुवा गर्न नपाइने उल्लेख छ । संशोधित नियमावलीविरुद्ध गरिएका पारस्परिक सरुवा दुवै शिक्षकको हकमा पूर्णतया गैरकानुनी रहेको प्रस्ट छ । कास्कीका जिशिअ वैकुण्ठप्रसाद अर्यालसँग नियमावलीविरुद्ध किन सरुवा गर्नुभएको भन्ने जिज्ञासा राख्दा उनले नियमावली संशोधन भएकोबारे जानकारी भए पनि कुन-कुन बुँदा संशोधन भएको थियो भन्ने यकिन जानकारी नभएको बताए । अर्यालले पुरानो ऐन-नियमावलीले अस्थायी शिक्षकलाई जिल्लान्तर सरुवा गर्न कुनै बाधा नपुर्‍याएकोसमेत बताए ।
जिशिअको तर्कप्रति क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक बाबुराम पौडेल सहमत छैनन् । निर्देशक पौडेलका अनुसार नयाँ वा पुरानो कुनै पनि शिक्षा ऐन-नियमावलीले अस्थायी शिक्षकको जिल्लान्तर सरुवा गर्न पाइँदैन । ‘अस्थायी शिक्षक जुन विद्यालयका लागि नियुक्ति दिएको हो त्यही विद्यालयमा अध्यापन गराउनुपर्ने सर्वमान्य कुरा हो,’ उनले थपे । निर्देशक पौडेलको कुरालाई पुष्टि गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष जगन्नाथ अधिकारीले भने, ‘अस्थायी शिक्षकको हकमा पारस्परिक सरुवा मिले पनि अस्थायी शिक्षकका लागि जिल्लान्तर सरुवा गर्न कुनै पनि हालतमा मिल्दैन ।’
तर, विडम्बना ऐन-कानुन तथा तालुक अड्डाहरूले समेतबाट नमिल्ने भनेको काम कास्कीमा मिलाइएको छ । जिल्लान्तर सरुवा भई पोखरा आउने रंगीता सुवेदी जिल्ला शिक्षा कार्यालय कास्कीका लेखा अधिकृत सूर्य सुवेदीकी श्रीमती हुन् । आफ्नी श्रीमतीलाई घरपायक ल्याइदिन सूर्य सुवेदीले गरेको आग्रहलाई टार्न नसक्दा जिशिअ अर्यालले गैरकानुनी निर्णय गराई जिल्लान्तर सरुवाको चाँजो-पाँजो त मिलाइदिए तर ऐन-कानुनको आँखा थुनेर शिक्षा नियमावलीअनुसार जागिर खाएका जिल्ला शिक्षा अधिकारी बैकुण्ठप्रसाद अर्यालले शिक्षा नियमावलीविरुद्ध गई आफ्नो कर्मचारीको श्रीमती भएकै आधारमा ऐननियम मिचेर जिल्लान्तर सरुवा गर्ने कार्य गर्दा पनि राज्यको नियमन निकायहरू मौन बस्नुलाई विडम्बना मान्न सकिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले छानबिन गरी गैरकानुनी बाटो अपनाउने कर्मचारीउपर कडा कारबाही गर्नुपर्ने माग हुन थालेको छ । समग्र शिक्षा क्षेत्रमा यस्ता गैरकानुन हरकतले प्रश्रय पाएमा समग्र शिक्षा निकाय निकम्मा र कानुनीराजबाट ओझेल पर्ने पक्का छ । यस्ता गैरकानुनी कार्यको सही ढङ्गले छानबिन र न्याय निरूपण गर्न सम्बन्धित निकायले सक्रियता देखाएन भने यस्ता घटना समग्र मुलुकभरकै कार्यालयका लागि ऐंजेरू बन्न सक्छन् ।
– यदुनाथ बञ्जारा
माछापुच्छ्रेका थप तीन एटीएम
माछापुच्छ्रे बैंक लिमिटेडले गत ४ गतेदेखि भक्तपुरको पर्यटकीय स्थल नगरकोट, नेपालगञ्जको धम्बोजी चोकस्थित नेपाल राष्ट्र बैंक परिसर र धनकुटा बजारस्थित बैंकको धनकुटा शाखा कार्यालयमा एकसाथ थप तीन एटीएम सञ्चालनमा ल्याएको छ । अब माछापुच्छ्रे बैंकको एटीएम सङ्ख्या ५४ पुगेको छ । सो बैंकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना ३९ वटा शाखामार्फ करिब एक लाख ५५ हजार ग्राहकहरूलाई सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
बैंकले ग्राहकहरूको आवश्यकता र सुविधामाथि ध्यान पुर्‍याई साधारण बचत खाता, रोयल बचत खाता, पेवा बचत खाता, युवा बचत खाता, सेयरधनी बचत खाता, तलब व्यवस्थापन खाता, उच्च शिक्षा निक्षेप खाता, सम्मान बचत खाता र म्याच सेभेन सेभिङ एकाउन्टजस्ता लोकप्रिय योजनामार्फ बचत परिचालनका सेवा प्रदान गर्दै आएको छ ।
तटबन्ध र लिङ्क रोड निर्माणका लागि तीन करोड
नवलपरासीको कुडियामा तटबन्ध तथा लिङ्क रोड निर्माणका लागि भारत सरकारले तीन करोड नौ लाख अनुदान सहयोग प्रदान गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा गत सोमबार भारतीय राजदूतावास र सिँचाइ मन्त्रालयबीच हस्ताक्षर भएको छ ।
नवलपरासीको मध्य भाग भएर वहने नारायणी नदी तीव्र गतिमा वहने सदावहार नदी हो । वषार्याममा नारायणी नदीमा आउने बाढीको उच्च वहावले ए-ग्याप र बी-ग्यापको बीचमा रहेको गाउँ डुबानमा पर्नुको साथै वर्षोनी यस वरपरका क्षेत्रमा बाढी आई बालीनालीको साथै मानव बसोबासलाई समेत जोखिममा पार्छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने पूर्वाधारले बाढी नियन्त्रण गर्न सहयोग पुग्नुको साथै नारायणी नदीमा वर्षोनी आउने बाढीले पुर्‍याउने अमूल्य सम्पत्ति, बालीनाली र मानवीय क्षतिलाई जोगाउने विश्वास स्थानीय सरोकारवालाहरूले गरेका छन् ।
सो परियोजना नेपाल सरकारको नीति-नियमअनुसार कार्यान्वयन गरिने र परियोजनाको गुणस्तरीयता र समयमै समापनका लागि सम्बन्धित निकाय नै जिम्मेवार रहने पनि सम्झौतामा उल्लेख गरिएको छ भने परियोजना प्रभावकारी ढङ्गले समयमै समापन भए/नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि स्थानीय विकास तथा प्रशासनिक निकायहरूका प्रतिनिधिहरू सम्मिलित एक अनुगमन समितिसमेत गठन गरिएको बुझिएको छ ।
नेपालका सबै जिल्लालाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअर्न्तर्गत सञ्चालित तथा पूरा भएका ठूला-साना तीन सय नब्बेभन्दा धेरै परियोजनाको लागत ५७ अर्ब रहेको छ भने यी विकास परियोजना स्थानीय आवश्यकताअनुरूप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।

बालअधिकारका लागि सीएनए स्थापना
वर्तमान समाजमा रहेका अनेक समस्यामध्ये बालहकहित एवम् बालबालिकासँग सम्बन्धित अन्य समस्याहरूको उचित समाधान नहुनु प्रमुख एक हो भन्ने तथ्यलाई मध्यनजर राख्दै सो समस्या समाधानार्थ पाइला चाल्ने उद्देश्यका साथ चिल्ड्रेन नेपाल एसोसिएसन नामक सामाजिक संस्था स्थापित भएको छ ।
बालबालिकाको नैर्सर्गिक हकअधिकारको रक्षा, अनाथ असहायहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य आदिको व्यवस्था, बालशोषण तथा उत्पीडनबाट छुटकारा, बालबालिकाको व्यक्तिगत विकास र उचित संस्कार प्रदान गर्दै समयोचित मार्गदर्शन प्रदान गर्नेसहितका उद्देश्यहरू संस्थाले बोकेको संस्थापक अध्यक्ष लाक्पा छिरिङ लामा ‘अजय’ले जानकारी गराउनुभएको छ । बालअधिकारमा काम गर्ने उद्देश्यले खोलिएका अन्य सङ्घसंस्थाहरूसँग समन्वय गरेर अघि बढ्ने संस्थाको नीति रहेको पनि अध्यक्ष अजयले जानकारी दिनुभयो ।
संस्थाका विविध गतिविधिलाई अगाडि बढाउनका लागि चिल्ड्रेन नेपाल एसोसिएसनको हालै सम्पन्न साधारणसभाले लाक्पा छिरिङ लामा ‘अजय’को अध्यक्षतामा ९ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दधिराम सिटौला ‘विक्रम’, महासचिवमा राजेन्द्रकुमार सुवेदी, सहसचिवमा ध्रुवदेव कार्की, कोषाध्यक्षमा श्रीमती सञ्चिता दाहाल र सदस्यहरूमा लामाकाजी शर्ेपा, श्रीमती गीता दाहाल, रामहरि त्रिपाठी, दीपक उप्रेती चयन भएका छन् ।

कारखाना श्रमिक सङ्घ विजयी
बाराको औद्योगिक करिडोरस्थित हनुमान मेटलमा भएको ट्रेड युनियनको आधिकारिक निर्वाचनमा नेपाल ट्रेड युनियन काङ्ग्रेस-स्वतन्त्रसँग आबद्ध नेपाल कारखाना श्रमिक सङ्घ विजयी भएको छ । श्रम कार्यालयको रोहवरमा सम्पन्न निर्वाचनमा कारखाना श्रमिक सङ्घले ७२ मत प्राप्त गरेको थियो भने माओवादीको औद्योगिक मजदुर सङ्घले ३० मत प्राप्त गरेको थियो । सो निर्वाचनमा एमालेनिकटको जिफन्ट आबद्ध मजदुर सङ्घले भने एक मत पनि प्राप्त गर्न सकेन ।

महासङ्घ इलाममा गुरुङ
नेपाल पत्रकार महासङ्घ इलामको सभापतिमा प्रेस चौतारी र क्रान्तिकारी पत्रकार सङ्घको संयुक्त प्यानलबाट उमेश गुरुङ अध्यक्ष निर्वाचित भएका छन् । हालै सम्पन्न अधिवेशनले उपाध्यक्षमा रोहितचन्द्र भट्टराई, सचिवमा भीम चापाग्ााईं, सहसचिवमा विमलकुमार दाहाल र कोषाध्यक्षमा सुजन तिम्सिनालाई निर्वाचित गरेको छ । सदस्यहरूमा गोविन्द लामिछाने, बुद्धवीर राई, मेनुका भट्टराई र विचारसिंह लावती रहेका छन् । १० जना केन्द्रीय पार्षद्का लागि २० जनाको उम्मेदवारी परेको थियो । निर्वाचित पार्षद्हरूमा रोशन साँवा, सटेन्द्र जबेगु, बुद्धि खनाल, कोकिला ढकाल, युवराज पीसी, प्रकाश अधिकारी, अशोककुमार बान्तवा, बेनुप भट्टराई, माधव घिमिरे र तोयानाथ भट्टराई रहेका छन् ।

भुवनेश्वर महादेवको मन्दिर निर्माण
साक्षात् पाताल भुवनेश्वर महादेवको उत्पत्तिका बारेमा काभे्र कालिन्जोरका उप्रेतीहरूको आफ्नै कथन रहेको छ । त्यतिबेला दैनिक रूपमा गाई चराउन खर्कमा लैजाने गरिन्थ्यो । खर्कमा लैजाँदा दैनिक एउटा कैली गाई हराउने र साँझपरेपछि आफैं गोठमा आउने गर्दा उनीहरूमा विभिन्न शङ्का-उपशङ्का उत्पन्न भएको थियो । यो रहस्य पत्ता लगाउन गोठालाहरू गाईको पछिपछि लागेर जाँदा शिलामा दूध चढाइरहेको देखेका थिए । यो वि.सं. १९३८ सालको कुरो हो ।
सो कुराको रहस्योद्घाटन भएपछि उप्रेतीहरूले व्यापक छलफल गरी त्यहाँ पाताल भुवनेश्वर महादेवको मन्दिर निर्माण गरेका थिए । मन्दिरका लागि भुम्लुटार तथा फलाटेका उप्रेतीहरूको सामूहिक निर्णयमा करिब तीन मुरी धानको बिउ जाने खेत र पाखो बारीसमेत गुठीमा राखिएको थियो । वर्तमात अवस्थामा करिब एक हेक्टर क्षेत्रफलमा फैलिएको उक्त मन्दिरसम्म जान यातायातको सुविधा पनि रहेको छ । यो मन्दिरमा दैनिक पूजा, पाठ हुनुको साथै बालाचतुर्दशी, महाशिवरात्रि र अन्य ठूला पर्वहरूमा ठूलो मेला लाग्दै आएको छ । उप्रेतीहरूका अनुसार यो मन्दिरमा वि.सं. १९४० देखि पूजाआजा गरिँदै आएको थाहा भएको छ । -कमल उप्रेती

‘नेपाली सेना’ बजारमा
सेना समायोजनका अनेक खाकाहरू सार्वजनिक भइरहेका बेला मारि्टन चौतारीले नेपाली सेना, नागरिक नियन्त्रणका चुनौतीहरू नामक पुस्तक प्रकाशित गरेको छ । सेनासम्बन्धी महत्त्वपूर्ण जानकारी समेटिएको यो पुस्तक पत्रकार सुधीर शर्माले सम्पादन गरेका हुन् । चार खण्डमा विभाजित पुस्तकमा बीपी कोइराला, विवेककुमार शाह, कुलचन्द्र गौतम, वर्षमान पुन ‘अनन्त’, ध्रुवकुमार, सुधीर शर्मा, साम कोवान, शरद अधिकारी, पूर्ण बस्नेत, गेजा शर्मा वाग्ले, केशरबहादुर भण्डारी, दीपकप्रकाश भट्ट र खिम घलेका आलेखहरू छन् ।
नेपाली सेनासँग जोडिएका महत्त्वपूर्ण सामग्रीहरू पुस्तकमा छन् । नागरिक सेना सम्बन्ध, सैन्य राजनीति र तत्कालीन राजतन्त्र, माओवादीसँगको युद्ध, पुनर्संरचनाका मुद्दालगायतका खण्डमा नेपाली सेनाको ऐतिहासिक कुराहरूदेखि लिएर माओवादी लडाकुको समायोजनका कुराहरूसमेत समेटिएको छ । पुस्तकको मूल्य तीन सय रुपैयाँ रहेको छ । नेपालको सुरक्षा र लोकतान्त्रिक भविष्यबारे चासो र चिन्ता राख्नेहरूका लागि पुस्तक उपयोगी हुने मारि्टन चौतारीले जनाएको छ ।

सुनामीपछि आमाको वृक्ष
लैङ्गिक विशेषज्ञ तथा अध्यापक तारा दाहालको कवितासङ्ग्रह ‘आमाको वृक्ष’मा राष्ट्रप्रेमले ओतप्रोत ९३ वटा कविता समेटिएका छन् । यसअघि उहाँको ‘सुनामी’ कवितासङ्ग्रह प्रकाशित भएको थियो । सुनामीमा पनि नेपाल, राष्ट्र, आमा, मातृभूमि, शान्ति, सहिद, नआतिलिऊँ आमालगायतका राष्ट्रिय भावनाले भरिएका ७२ वटा कविता प्रकाशित थिए ।
अटोभोन ग्योरिक विश्वविद्यालय म्याग्डेर्बर्ग जर्मनीबाट द्वन्द्वव्यवस्थापन र शान्ति निर्माण विषयमा स्नातकोत्तर ताराले यूएनडीपी, परराष्ट्र अध्ययन प्रतिष्ठानलगायतमा काम गरिसक्नुभएको छ । कलेजहरूमा अध्यापनका अलावा अहिले उहाँ विभिन्न अध्ययन-अनुसन्धानमा संलग्न हुनुहुन्छ । कवयित्री ताराले देशभक्तिपूर्ण भावका साथै कुनै पनि विषयमा कवितामार्फ आफ्नो मनोभावना व्यक्त गर्नुभएको छ । गोली, बुद्ध, को हौँ हामी ? समदूरी, धर्ती झन् खतरा, भाउ स्वाट्टै घटेको छ, सग्लै बित्यौ रे लगायतका महत्त्वपूर्ण भावका कविताहरू आमाको वृक्षमा छन् । आफ्नो अध्ययन, अनुसन्धान र अध्यापनको क्रममा भएका तीता-मीठा अनुभवहरूलाई यसैगरी कविताहरूमार्फ बाहिर ल्याउने क्रमलाई निरन्तरता दिएमा साहित्यिक क्षेत्रमा तारा दाहालको छुट्टै प्रकारको प्रभाव स्थापित हुने निश्चित छ ।