मधेसवादी नेतामाथि मण्डलले लगाए गम्भीर आरोप

मधेसवादी नेतामाथि मण्डलले लगाए गम्भीर आरोप


राजविराज । मधेसका वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले मलेठ घटनाको वर्ष दिन पुग्न नपाउँदै मधेशवादी दलहरूले शहिदका शवलाई सत्ताको सिँढी बनाएको आरोप लगाएका छन् । बुधबार एक विज्ञप्ती जारी गरी मण्डलले मलेठ घटनामा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय पार्टी बनाउने सपना देखेका दलले मधेशी सपुतहरूका लासलाई सत्ताको सिँढी बनाएको र हरदम सत्ताप्रति लालसा दर्शाएको आरोप लगाए ।

जातीय स्वायतत्ता र समाजिक विभेद समाप्त गर्ने नाराका साथ जनयुद्धमा हजारौँ नेपालीको हत्या–प्रतिहत्या गराउने माओवादी दल इमान्दार भैदिएको भए २०६३ सालमै संघीयतासहितको संविधान जारी भईसक्ने र मधेशी सपुतहरूले बलिदान दिनुपर्ने अवस्था नआउने तर्कसमेत उनले गरेका छन् ।

विज्ञप्तिमा मण्डलले भनेका छन्, ‘सन् १९४२ को भारतीय स्वतन्त्रता आन्दोलन कालमा बिहार सरकारको सचिवालयमाथि स्वतन्त्र भारतको झण्डा फहराउने क्रममा ७ यूवा विद्यार्थी शहीद भएपछि ब्रिटिस शासक भारतबाट पलायन गर्ने नीति बनाएको थियो । तर, नेपालको राजनीतिक आन्दोलनको इतिहासमा २०७२ मंसिर ५ गते र २०७३ फागुन २३ गते दुई दिनमा एक दर्जन मधेशी सपूतले शहादत प्राप्त गरे पनि त्यस बखतका सरकारहरूको रौं सम्म हल्लेन ।

वर्तमान सत्ताधारी मुख्य दलको अहम् र मधेशविरोधी नीतिको विरोधमा मलेठमा शहीद भएका पाँचै शहीदको पहिलो वार्षिकी हुन नपाउँदै मधेशवादी दलबाट राष्ट्रिय पार्टी बनाउने सपना देख्ने दलले मधेशी सपुतको लाशलाई सिँढी बनाइरहेको छ ।

जातीय स्वायत्तता र समाजिक विभेद समाप्त गर्ने नाराका साथ कथित जनयुद्धमा हजारौँ नेपालीको हत्या–प्रतिहत्या गराउने माओवादी दल इमान्दार भैदिएको भए २०६३ साल मै संघीयतासहितको संविधान जारी भैसक्ने थियो । मधेशी सपुतहरुले बलिदान दिनुपर्ने अवस्था आउने थिएन । तर, संविधानसभाको पहिलो चुनावपछि मधेशवादी दल माओवादीको झूठो आश्वासनको भरमा सरकारमा सामेल भएको घटना–प्रतिघटना विदितै छ ।

वर्तमानमा आफूलाई कथित मधेशवादी भनाउँदा दल घोर मधेशविरोधी दलको झूठो आश्वासनको भरमा सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान हो । आज हाम्रो सामुन्ने प्रश्न खडा भएको छ कि मधेशी शहीदलाई सत्ताको सिँढी बनाउने वा ती शहीदहरुको सपना साकार पार्न त्यस्ता तत्वको पहिचान गरी मधेशको अपुरो माग पुरा गराउनु पर्ने हो वा होइन ?