राजेन्द्र महतोले झिके सत्तामा जाने बहाना

राजेन्द्र महतोले झिके सत्तामा जाने बहाना


राष्ट्रिय जनता पार्टी (राजपा) मण्डलका अध्यक्ष राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढे आफूहरु सरकारमा जाने बताएका छन् । गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा बुधबार आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जलिसभामा उनले सो कुरा बताएका हुन् ।

ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले मधेशी, दलित, पिछडिएका वर्ग, मुस्लिम, महिला लगायतको अधिकार हुने गरी संविधान संशोधन हुन जरुरी रहेको र त्यसमा आफूहरु पूर्ण रुपमा लागिरहेको महतोको भनाइ छ । उनले हामीलाई सत्ताभन्दा मधेशी, दलित र जनजातिको अधिकारको आवश्यकता छ भन्दै त्यसमा हाम्रो पार्टी पछि नहट्ने दाबीसमेत गरे । अब देशमा लडाईं झगडा समाप्त पार्नका लागि वाम गठबन्धनले पनि त्रुटिपूर्ण बनेको संविधानलाई संशोधन गर्नका लागि राजपा नेपालले पनि साथ दिने उनले बताए ।

राजपाकै अर्का अध्यक्ष राजकिशोर यादवले समेत संविधान संशोधनको पक्षमा अभिव्यक्ति दिएको सो कार्यक्रममा प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले शहीद परिवारको रोजगारी, शिक्षादीक्षा, सरकारी सुविधाको व्यवस्था गरिने बताए । मधेशमा प्रहरीद्वारा हत्या गरेका शहीदको स्मृतिमा शहीद स्मारक बनाउने घोषणासमेत मन्त्री सोनलले गरे। समाजिक विकास मन्त्री नवलकिशोर साह र कृषिमन्त्री शौलेन्द्रप्रसाद साहले राजपा र फोरमले कहिले पनि मधेशी जनताको हितकोविपरीत काम नगर्ने वाचा गरे ।

गत २०७३ फागुन २३ गते नेकपा (एमाले)ले शुरु गरेको मेची–महाकाली अभियानअन्तर्गत मलेठमा आयोजना गरेको आमसभामा मधेशी कार्यकर्ता र प्रहरीबीच भएको झडपमा पाँच जना मधेशी कार्यकर्ताको मृत्यु भएको थियो ।

तस्बिर रासस