गुटभन्दा ‘धेरै माथि’ प्रधानमन्त्री !

गुटभन्दा ‘धेरै माथि’ प्रधानमन्त्री !


प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो पहिचान मेट्दै नयाँ पहिचान स्थापित गर्न लागिपर्नुभएको विश्लेषण हुन थालेको छ । आलोचकहरू ओलीलाई ‘गुटपरस्त’ नेताका रूपमा टिप्पणी गर्ने गर्दथे र, पार्टीभित्र बेग्लै पार्टी खडा गरी आफ्नो गुटको मात्र संरक्षण गर्न खोज्ने नेताका रूपमा उहाँलाई लिइन्थ्यो । तर, अर्थमन्त्री चयनको सन्दर्भमा उहाँले जसरी निर्णय लिनुभयो त्यसले उहाँको पार्टीगत हैसियतलाई कमजोर तुल्याइने सम्भावना बढाए पनि ‘गुटपरस्त’ भनिने पुरानो छविमा भने पुनर्विचार गर्नुपर्ने अवस्था पैदा गरेको छ ।

पार्टीमा महासचिव ईश्वर पोखरेल अर्थमन्त्रीका सबैभन्दा बलियो दाबेदार हुनुहुन्थ्यो र जस्तासुकै व्यक्तिले अर्थ मन्त्रालय चलाउन थालेको परिप्रेक्ष्यमा पोखरेलको दाबीलाई अस्वाभाविक मानिएको पनि थिएन । केपीपछिको शक्तिशाली र केपीकै उत्तराधिकारीका रूपमा समेत हेरिएका महासचिव पोखरेललाई उहाँको इच्छाविपरीत केपी ओलीले रक्षा मन्त्रालयमा लगेर थन्क्याइदिनुभएको छ । त्यस्तै, एमालेमा प्रभावशाली तर ओलीका दाहिनेहात मानिने नेता विष्णु पौडेललाई पनि यसपटक केपीले महत्व दिनुभएन ।

केपी ओलीको ‘खास मानिस’ भन्ने पहिचान बनाउनुभएका प्रदीप ज्ञवाली पनि यसपटक अर्थमन्त्री बन्न इच्छुक हुनुहुन्थ्यो र उहाँले आफ्नो इच्छा अध्यक्ष केपीसमक्ष प्रस्तुत पनि गरिसक्नुभएको थियो । तर, ओलीले प्रदीप ज्ञवालीलाई पनि ‘भाउ’ दिनुभएन । पार्टीका प्रभावशाली र आफूप्रति वफादार नेताहरू हुँदाहुँदै उहाँले मौद्रिक नीतिका विज्ञ युवराज खतिवडालाई अर्थ मन्त्रालयको कार्यभार सुम्पनुभएको छ ।

केपी ओलीको ‘खास मानिस’ भन्ने पहिचान बनाउनुभएका प्रदीप ज्ञवाली पनि यसपटक अर्थमन्त्री बन्न इच्छुक हुनुहुन्थ्यो र उहाँले आफ्नो इच्छा अध्यक्ष केपीसमक्ष प्रस्तुत पनि गरिसक्नुभएको थियो । तर, ओलीले प्रदीप ज्ञवालीलाई पनि ‘भाउ’ दिनुभएन । पार्टीका प्रभावशाली र आफूप्रति वफादार नेताहरू हुँदाहुँदै उहाँले मौद्रिक नीतिका विज्ञ युवराज खतिवडालाई अर्थ मन्त्रालयको कार्यभार सुम्पनुभएको छ ।

डा. युवराज खतिवडा आफ्नो विषयको राम्रो ज्ञाता र अर्थशास्त्रले प्रतिपादन गर्ने नीतिप्रति प्रतिबद्ध व्यक्तिका रूपमा चिनिनुहुन्छ । राष्ट्रिय अर्थतन्त्र सबलीकरणका निम्ति उहाँले लिने अडान र निर्णय दूरगामी दृष्टिले महत्वपूर्ण मानिन्छ । तात्कालिक राजा ज्ञानेन्द्रले शासनाभार लिइसकेपछि खतिवडाको क्षमतालाई हेरेर राष्ट्रिय योजना आयोगको सदस्य बनाइदिनुभएको थियो । त्यसबेला कतिपयले पहिलेको ‘मण्डले’ भएको हुनाले राजाले खतिवडालाई मौका दिएको भन्ने टिप्पणी पनि गरेका थिए ।

२०३१/०३२ सालतिर राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल झापा जिल्ला समितिको अध्यक्ष लय सङ्ग्रौला रहँदा युवराज खतिवडाले सचिवका रूपमा काम गरेका थिए । त्यतिबेला मण्डले बनेकै कारण हाल एमाले नेता रहेका र अखिल पाँचौँको केन्द्रीय अध्यक्षसमेत भएका चन्द्र भण्डारीलगायतको अग्रसरतामा ०३२ सालमा लय सङ्ग्रौला, युवराज खतिवडा र गणेश निरौलालगायतलाई मोसो लगाई डोरीले बाँधेर जयपुर माविबाट झापाकै धुलाबारीसम्म पु¥याउने काम भएको थियो ।

तात्कालिक अञ्चलाधीश छिरिङ तेन्जिङले प्रहरी हस्तक्षेप गराई धुलाबारीनजिकैको रतुवा खोलाबाट मुक्त नगराएका भए लय सङ्ग्रौला, युवराज खतिवडा र गणेश निरौलाले डोरीमा बाँधिएर, मोसोमा पूरै धुलाबारी परिक्रमा गर्नुपर्ने निश्चित थियो । यसरी विगतमा मण्डले रहेका र राजाको शासनकालमा योजना आयोगको सदस्य भएका डा. युवराज खतिवडालाई केपी ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पनुहुँदा उहाँले आफ्नै गुटका नेताहरूलाई समेत असन्तुष्ट तुल्याउनुभएको छ । यस प्रकरणले केपी ओली गुटभन्दा माथि मात्र नभई पार्टीभन्दा पनि माथि उठ्नुभएको हो कि भन्ने सन्देश दिएको छ ।