महिलाको ठूलो संघर्षको परिणाम ‘सीमित’ स्वतन्त्रता !

महिलाको ठूलो संघर्षको परिणाम ‘सीमित’ स्वतन्त्रता !


– हरि भट्टराई (बेल्जियम)

‘८ मार्च’ अर्थात् श्रमिक महिलाहरूको संघर्षको गाथा बोकेको दिन । यस दिनलाई संसारभरका श्रमजीवी महिलाहरूले विशेष रूपमा स्मरण गर्दै आएका छन् । यस वर्ष पनि संसारभरका श्रमजीवी महिलाहरूले ‘८ मार्च’ मनाउने तरखर गर्दै छन् । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभरका महिलाहरूले जस्तै नेपालबाट बेल्जियम पलायन भएका महिलाहरूको साझा संगठन गैरआवासीय महिला मञ्चले पनि मनाउँदै छन् । विश्वभर विभिन्न महिला संगठनहरूले विविध कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउन तयारी गर्दैछन् ।

प्रवासी महिला मञ्च, जनप्रगतिशील महिला मञ्च, एनआरएन महिला फोरम, जनसम्पर्क सम्बद्ध महिला संघ, प्रजातान्त्रिक महिला संघसहितका विभिन्न महिला संगठनहरूले गैरआवासीय महिला मञ्चमार्फत एक अन्तरक्रिया कार्यक्रम गरी श्रमिक महिला दिवस मनाउने निर्णय भैसकेको छ । ‘प्रस फर प्रोग्रेस’ विषयक सो अन्तरक्रिया कार्यक्रम आन्त्वर्पेनको सभाहलमा गर्न लागिएको हो । सो अन्तरक्रियामा मन्तव्य राख्ने महिला नेतृहरूलाई महिला अधिकार, चुनौती, इतिहास आदिबारे फरक–फरक विषयमा अन्तरक्रियात्मक छलफल चलाउन अनुरोध गरिने छ । जसबाट महिलाहरूको कानुनी, लैंगिक र जातीय विभेद सँगसँगैअन्य समस्याबारे तर्कसंगत निराकरणको लागि निष्कर्षमा पुग्न सजिलो हुने सबैको ठम्याई हो । महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँगै जोडेर लैजानुपर्छ भन्ने तर्क पनि एकातर्फ उठिरहेको देखिन्छ भने जातीय, लैंगिक र अन्धविश्वासका समस्याहरू वर्गसँग मात्र हैन चेतनास्तर र शिक्षासँग सम्बन्धित छन् भन्ने सवाल पनि अर्कोतर्फ छ । यी सबै तर्कमा केही न केही सत्यता अवश्य रहेको देखिन्छ ।

भन्नैपर्छ केही रूपमा हामीले राज्यबाट समेत विभेदको सामना गरिरहेका छौँ । जस्तोकि आज विश्वका ६७ देशका कानुनले महिलालाई समान ज्याला दिनुपर्छ भन्छ । १२६ देशले सुत्केरी बिदा सुनिश्चित गरेको छ । ब्यवहारमा विकसित देशबाहेक अल्पविकसित देशमा त्यो देखिँदैन । राजनीतिमा, प्रशासनमा र संघीय प्रदेशको मन्त्रालयमा समेत सहभागिताको कुरालाई हेर्दा यो निश्कर्ष निकाल्न सकिन्छ ।

हामी महिलाहरूले हाम्रा पक्ष र विपक्षमा भए गरेका डाटातर्फ ध्यान दिँदै गम्भीर तरिकाले मनन गर्न जरुरी छ । के विकसित एवम् औद्योगिक देशका महिला स्वतन्त्र छन् ? के तिनीहरू रोजगारीको समान अवसर पाउँछन् ? के ती महिलाहरू केटाकेटी जन्माउन र त्यसपछि निरन्तर काम गर्न स्वतन्त्र छन् ? विकसित देशहरूको अन्तर्राष्ट्रिय संस्था ‘आर्थिक सहकार्य एवम् विकास संस्था’ (ओईसीडी) का ३४ देशमा पुरुष र महिलाको पारिश्रमिकमा १७ ।६ प्रतिशत फरक छ । मध्यपूर्वमा ३० प्रतिशतभन्दा कम महिला रोजगार छन् । एक वर्षअघि भन्दा आजको लिवियाली महिलाको स्थिति झन् नाजुक छ । संसारको सम्पत्तिमा ९९ प्रतिशत पुरुषको स्वामित्वमा छ जबकि महिलामा १ प्रतिशत । संसारको ९० प्रतिशत आयुको हकदार पुरुष हो भने महिलाको १० प्रतिशत । यौन हिंसाका शिकारमा १० देखि २७ प्रतिशत महिला छन् । मानव बेचबिखनमा ८० प्रतिशत महिला पर्छन् । हरेक वर्ष ६ करोड केटीहरूको जबरजस्ती बालविवाह हुन्छ । युरोपेली संघका देशहरू, जसले आफूलाई अत्यन्तै सभ्य ठान्छन् । त्यहाँ ४० देखि ५० प्रतिशत महिला आफ्नो कार्यस्थलमै यौन शोषणको शिकार हुन्छन् । विश्वका २५ प्रतिशत महिला शारीरिक एवम् यौन शोषणबाट पीडित हुन्छन् । मानव अधिकार र महिला स्वतन्त्रताको पहरेदार ठान्ने संयुक्त राज्य अमेरिकामा हरेक ९ सेकेण्डमा एक महिला पुरुषको यातनाको शिकार हुन्छ । विश्वमै घरेलु हिंसाका घटनामा परेका २० प्रतिशतको मात्र अभिलेखमा राखिएको तथ्यले हिंसा शिकारको संख्या अझ कति धेरै हुन्छ भन्ने अन्दाज मात्र गर्न सकिन्छ । यो नै आजको महिलामाथि भएको अत्याचारको तथ्यगत प्रमाण हो महिला साथीहरू ।

हरेक वर्ष ६ करोड केटीहरूको जबरजस्ती बालविवाह हुन्छ । युरोपेली संघका देशहरू, जसले आफूलाई अत्यन्तै सभ्य ठान्छन् । त्यहाँ ४० देखि ५० प्रतिशत महिला आफ्नो कार्यस्थलमै यौन शोषणको शिकार हुन्छन् । विश्वका २५ प्रतिशत महिला शारीरिक एवम् यौन शोषणबाट पीडित हुन्छन् । मानव अधिकार र महिला स्वतन्त्रताको पहरेदार ठान्ने संयुक्त राज्य अमेरिकामा हरेक ९ सेकेण्डमा एक महिला पुरुषको यातनाको शिकार हुन्छ ।

अन्तर्राष्ट्रिय मजदुर महासंघद्वारा सन् २०१२ मा प्रकाशित प्रतिवेदन अनुसार महिलालाई आफ्नो सहकर्मी पुरुषलाई भन्दा ज्यालामा कम्तीमा १८ प्रतिशत कम दिइन्छ । प्रतिवेदनअनुसार अमेरिकामा पुरुष र महिलाको पारिश्रमिकमा सन् २००५ मा १९ प्रतिशत फरक थियो भने हाल बढेर २० प्रतिशत पुगेको छ । प्रतिवेदनमै माध्यमिक शिक्षा प्राप्त ३० वर्षका पुरुष मजदूरहरूले उस्तैखाले महिलाको आम्दानीभन्दा ४८ प्रतिशत बढी कमाइ गर्छन् भने उच्च शिक्षा हासिल ३० वर्षका पुरुषहरूले महिलाले भन्दा ३७ प्रतिशत बढी कमाइ गर्छन् । के अमेरिकाले मानव अधिकारको व्याख्या गर्दा महिला–पुरुषको ज्याला फरक हुनुपर्छ भन्ने लेखेको छ ? स्वाभाविक प्रश्न छ ।

अर्को तथ्य हेरौँ । सन् २०११ डिसेम्बरमा गरिएको एक अध्ययनअनुसार राष्ट्रिय सभामा महिलाको प्रतिनिधि प्रतिशतको आधारमा समाजवादी क्युवा तेस्रो स्थानमा छ । अमेरिकी महादेशहरूमै अमेरिका ७८औं स्थानमा छ । संयुक्त राज्य अमेरिकाको तल्लो सदनमा १६.८ प्रतिशत र सिनेटमा १७ प्रतिशत सांसद महिला छन् ।

पश्चिमा सञ्चारमाध्यमले चिनियाँ महिलाको स्थितिबारे जतिसुकै भ्रम फैलाए पनि तथ्यले स्पष्ट पार्छ चीनको संसदमा २२ प्रतिशत महिला छन् । सन् २०१० अक्टोबरको तथ्यांकअनुसार चीनमा १ अर्ब ३७ करोड मजदुर महिला छन् (यो सङ्ख्या कूल मजदूरको ४२.७ प्रतिशत हो) । जबकि सन् १९४० को चिनियाँ क्रान्तिताका यो सङ्ख्या ६ लाख १० हजार (जुन कूलमा ७.५ प्रतिशत) महिला थियो । चिनियाँ क्रान्तिले महिलाको आयुदर ७५ पुर्याएको छ, जबकि सन् १९५९ मा त्यसको आधा मात्र थियो ।

सन् १९५९ को क्रान्तिपूर्व ल्याटिन अमेरिकी मात्र होइन बाँकी विश्वका महिलाजस्तै सामन्तवादी एवम् पितृसत्तात्मक समाजबाट क्युवाली महिला पीडित थिए । महिला दोस्रो दर्जाकै नागरिक बन्न विवश थिए । आजको तथ्यांकले प्रस्ट पार्छ क्युवाली महिलाको स्थिति । क्युवाको श्रम शक्तिमा ६६ प्रतिशत महिला छन्, ७० प्रतिशतभन्दा बढी व्यवसायीमा महिला नै छन् । शिक्षण पेशामा महिलाको सङ्ख्या बढी छ । ७२ प्रतिशत शिक्षकमा महिला नै छन् । क्रान्तिपूर्व २ हजार जना मात्र नर्स थिए भने अहिले ७० हजारको संख्या पुगेको छ । ५१ प्रतिशत डाक्टर, ४३ प्रतिशत वैज्ञानिक, ३३ प्रतिशत प्रबन्धक, ७० प्रतिशत बैंक कारिन्दा महिला हुनुले समाजवादी क्रान्तिको उपादेयतालाई प्रस्ट पार्छ ।

शिक्षाको क्षेत्रमा क्युवाली महिला कुनै पनि अति विकसित पुँजीवादी देशभन्दा कम छैन भन्ने तथ्यांकले नै भन्छ । ६२ प्रतिशत विश्वविद्यालय विद्यार्थीमा महिला छन् । ४९.५ प्रतिशत स्नातक उत्तीर्ण महिला छन्, विज्ञान संकायमा ५० प्रतिशत महिला छन् भने समाजशास्त्र, मानविकी, चिकित्सा विज्ञान र शिक्षाशास्त्रमा ७० प्रतिशत विद्यार्थी महिला छन् ।

राजनीतिक क्षेत्रमा पनि महिलाको शक्ति कम छैन । क्युवाको राष्ट्रिय सभामा महिलाको उपस्थितिको हिसाबमा विश्वमै पाँचौं स्थानमा छन् – क्युवाली महिला । ३६ प्रतिशत सांसद राष्ट्रियसभामा उपस्थित छन् । १८ प्रतिशत मन्त्रिमण्डलमा, २३ प्रतिशत सहायकमन्त्री महिला छन् । प्रान्तीय सभामा ३१ प्रतिशत प्रतिनिधि महिला छन् । ६२ प्रतिशत वकिल, ४० प्रतिशत न्यायाधीश र सर्वाेच्च अदालतको ४७ प्रतिशत न्यायाधीश महिला छन् । क्युवाली सैन्य शक्तिमा २० प्रतिशत अधिकारी तहमा महिला छन् । परिवार नियोजनलाई महिलाको मौलिक अधिकार मानिन्छ । ७७ प्रतिशत क्युवाली महिला कुनै प्रकारको परिवार नियोजनका साधनको प्रयोग गर्छन् जबकि संरा अमेरिकामा ७६ प्रतिशत मात्र छ । आयुदर ल्याटिन अमेरिकामै सबभन्दा बढी क्युवाली महिलाकै छ । यो अनुमानित तथ्य नभएर सर्वस्वीकार्य तथ्य हो साथीहरू ।

नेपालको अवस्था हेरौँ त ? हामी शिक्षित कहलिएका महिला अन्याय र शोषणको कुरा गर्छाैं तर एकजुट हुन हच्किन्छौं । समान कामको निम्ति समान ज्याला चाहियो, सुत्केरी बिदा चाहियो, दसौँ वर्षदेखि हामी अस्थायी भयौं, ज्यालादारीमै जागिरको जीवन बित्ने भयो, सुत्केरी भएपछि जागिरबाटै हात धुनुपर्यो, महिलाको कामको मूल्याङ्कन गरिएन, महिलालाई मूख्य जिम्मेवारी दिने विश्वास गरिएन, कार्यालयमै हामीलाई तल्लो दुर्व्यवहार भयो, घरको जिम्मेवारीले हामीले पढ्ने–लेख्ने अवसर गुमायौं आदि आवाज हामी महिला समय–समयमा उठाउँछौं तर आफ्नो हक–अधिकार स्थापित गर्न अग्रसर हुँदैनौं ।

महिला संघ–संगठन भनेपछि हामी आफै नाक खुम्च्याउँछौं, जुलुस–प्रदर्शनमा सहभागी हुँदैनौं, आफ्नो कार्यालय वा कारखानाका समस्याबारे आवाज उठाउँदैनौं, बैठक वा सभा–समारोह हुँदा हामी आफै भागी भागी हिंड्छौं वा फुर्सद नभएको बहाना बनाउँछौं, महिलाले नै महिलालाई हेलाहोचो गर्छौं, अनि दुःख भयो भनेर आफै कराउँछौं । आफ्नो कमजोरीको गम्भीर समीक्षा गरौँ । महिलाको हक–अधिकार अरूले ल्याइदिने होइन, महिलाकै पहल वा सक्रियताबाट मात्र महिला मुक्ति सम्भव छ ।

महिला संघ–संगठन भनेपछि हामी आफै नाक खुम्च्याउँछौं, जुलुस–प्रदर्शनमा सहभागी हुँदैनौं, आफ्नो कार्यालय वा कारखानाका समस्याबारे आवाज उठाउँदैनौं, बैठक वा सभा–समारोह हुँदा हामी आफै भागी भागी हिंड्छौं वा फुर्सद नभएको बहाना बनाउँछौं, महिलाले नै महिलालाई हेलाहोचो गर्छौं, अनि दुःख भयो भनेर आफै कराउँछौं । आफ्नो कमजोरीको गम्भीर समीक्षा गरौँ । महिलाको हक–अधिकार अरूले ल्याइदिने होइन, महिलाकै पहल वा सक्रियताबाट मात्र महिला मुक्ति सम्भव छ । शोषणका सम्पूर्ण पर्दा हटाउन राजनीतिक रूपमा सचेत र संगठित भई महिलामाथिको अन्य विभेद संगसंगै वर्गीय मूक्ति आन्दोलनलाई साथै लानु आजको एउटै मात्र विकल्प हो । हाम्रो वर्गीय धरातल फेरिने हो भने न त हामी खाडीमा बेचिएर अनिच्छुक यौन पिडा सहँदै नोकरसरह काममा जोतिनु पर्थ्यो न विदेशी जेलमा डोल्मा बनेर सहयोगको याचना गर्नु पर्थ्यो । आज एउटी चेली छाउपडिको सिकार भएर मर्नुपर्ने अवस्था किन आयो ? भारतीय कोठीहरूमा हाम्रा चेलीहरूले किन नारकीय जीवन गुजार्नु परेको छ ? के कारणले बाउले छोरी बेच्दै छ ? किन बोक्सीको आरोपमा काठमाडौँ स्वयम्भु किमडोलकै प्रमिला शाक्य, सिमराढी निवासी ६० वर्षीया वृद्धा जानकी देवी कापडलाई १० बर्षसम्म यातना दिदा छिमेकी दिदीबैनी र दाजुहरूले रमिता हेरेर बसे ? अत्तरिया नगरपालिका घुरसवा गाउँकी राजकुमारी रानालाई त बोक्सीको आरोपमा ज्यान समेत लिइयो । तर समाज पटकपटक उस्तै छ किन ? न त अहिलेसम्मका परिवर्तनले यसको उत्तर दिएको छ न त समाज र राज्य नै यी महिला उत्पीडनहरूमा गम्भीर ढंगले उत्तरदायी बनेको छ ।

अत अबका कार्यक्रमहरू केवल क्लारा जेटकिन, रोजा लग्जेम्बर्ग, लुइस जेइट्स, क्रुप्स्काया र लिओन त्रोसकी जस्ता धर्तीका महान छोरीहरूको नाम घोक्नका लागि मात्र मनाएर केहि अर्थ छैन । उनीहरूले देखाएको बाटो ‘समस्या थुपार्न हैन संसार बदल्न कम्मर कस नारीहरू’ बाट मात्रै हाम्रो मुक्ति सम्भव छ । त्यो मुक्ति भनेको जातीय, धार्मिक, सामाजिक, मनोवैज्ञानिक, लैंगिक र वर्गीय मुक्ति हो । हाम्रो सरोकार बदल्नुसंग हुनुपर्छ समस्याबाट भाग्नु र समस्या थुपार्नुसँग हैन । हामीले आजैबाट संकल्प गरौँ हामी एक्सनमा पक्कै जाने छौँ । हामी आफूलाई बदल्ने, समाजको नारीलाई हेर्ने दृष्टिकोण बदल्ने, राज्यको विभेदकारी न्याय ब्याबस्था, ज्याला ब्यवस्थालाई बदल्ने र संसार बदल्ने एक्सनबाट कदापि भाग्ने छैनौँ । हाम्रो महान पर्व ८ मार्च जिन्दावाद ! हाम्रा महान नेतृहरू रोजा, क्लारा, क्रुप्स्काया अमर रहुन !!

(लेखिका एनआरएनए महिला फोरम बेल्जियमकी संयोजक तथा वामपन्थी नेत्री हुन् ।)