यात्रा समृद्धिको कि सर्वसत्तावादको ?

यात्रा समृद्धिको कि सर्वसत्तावादको ?


आफ्नो धरातल बिर्सिएर अघि बढ्न खोज्ने क्रममा धर्मराएको नेपाली काङ्ग्रेस फगत ‘गुट’को किल्ला मजबुत पारेर मूल नेतृत्वले आफूलाई सुरक्षित तुल्याउन खोज्दा उदार प्रजातन्त्रको पर्याय बनेको यो पार्टी आज रुग्ण, दीनहीन तथा दुर्बल अवस्थामा पुगेको छ । नेतृत्व मोटाउन खोज्दा सिङ्गो पार्टीचाहिँ दुब्लाएर जीर्ण बनेका उदाहरण खोज्दा यथेष्ट पाइएलान्, तर नेपाली परिवेशमा चाहिँ काङ्ग्रेस नै यसको ज्वलन्त उपमा बनेको छ ।

काङ्ग्रेस आज लथालिङ्ग भएर उठ्नै नसक्ने हालतमा पुगेको छ र पनि यसको नेतृत्व कुम्भकर्ण निद्रामा रहेको अनुभूति हुन्छ । आफ्नो भोट नघटेको जिकिर गर्छ र भन्छ, ‘वाम गठबन्धनको कारण एमाले–माओवादी विजयी बनेका हुन्, हामी हारेका छैनौँ ।’ यति मात्र नभई विभिन्न तहका निर्वाचन सम्पन्न गराएर काङ्ग्रेसले नयाँ इतिहास रचेको भन्दै आफैँ गम्किनसमेत काङ्ग्रेस नेतृत्व हिच्किचाइरहेको छैन । कार्यकर्ता र आमजनतालाई अलमल्याउन यस्तो तर्क गरिरहँदा काङ्ग्रेस स्वयम् घोर अलमलमा परेको र गन्तव्यविहीन भई थला पर्न लागेको हेक्का राखिएको छैन ।

यसरी एकथरी काङ्ग्रेसी पार्टी हारेको छैन भन्दै आत्मरतिमा मग्न छन् त कोही लज्जास्पद हार भएकोमा डाँको छोडेर कोक्किने अवस्थामा छन् । ‘काङ्ग्रेस यस्तै हो, यसैगरी चलिरहन्छ, विकल्परहित पार्टी भएकोले यत्तिकै पनि बाँचिरहन्छ’ भनेर चित्त बुझाउन खोज्ने जमात पनि भेटिन्छ भने समयानुकूल शैली बदलेर नयाँ ऊर्जाका साथ पार्टी अघि बढाइन्छ भनी डिङ हाँक्ने नेतृत्व तहकै एउटा तप्का पनि क्रियाशील देखिन्छ । यो तप्का कहिले बुढाहरू ठाउँ खाली गर भनी डुक्रन्छ–घुक्र्याउँछ त कहिले पार्टी सफाइ अभियान भन्दै चोकबाटोमा जुत्ता सफाइको रमिता रच्दछ । तर, ठाउँ ओगट्ने र ठाउँ खाली गर भन्ने दुवै पक्षसँग काङ्ग्रेसको विचार, सिद्धान्त, नीति–रणनीति, योजना र मूलतः नवयुवा पङ्क्तिलाई आकर्षित गर्ने स्पष्ट भिजनको नितान्त अभाव छ । वास्तवमा काङ्ग्रेस कस्तो पार्टी हो त भनी नियाल्दा स्पष्ट चित्र नै नदेखिने अर्थात् छवि धुमिल भएको अवस्थामा भेटिन्छ आज ।

काङ्ग्रेस आज लथालिङ्ग भएर उठ्नै नसक्ने हालतमा पुगेको छ र पनि यसको नेतृत्व कुम्भकर्ण निद्रामा रहेको अनुभूति हुन्छ । आफ्नो भोट नघटेको जिकिर गर्छ र भन्छ, ‘वाम गठबन्धनको कारण एमाले–माओवादी विजयी बनेका हुन्, हामी हारेका छैनौँ ।’

अझ हास्यास्पद त यो छ कि वामन्थीहरू ठूला कुरा गर्छन्, काम गर्न सक्दैनन्, बोलेको पूरा नभएपछि जनता उनीहरूसँग भड्किनेछन् र पाँच वर्षपछि त स्वतः परिणाम हाम्रै पक्षमा आइहाल्छ भन्दै केन्द्रीय तहका काङ्ग्रेस नेताहरू मग्नसँग गफ चुट्न थालेका छन् । यो दलको हालत किन दयनीय बन्न पुग्यो र अझ कति ओह्रालो लाग्ने हो, सहज अनुमान गर्न सकिन्छ । यसरी हरेक अप्ठ्यारा कालखण्डमा मुलुकलाई भर दिँदै आएको भनी प्रशंसित ऐतिहासिक पार्टीले आफ्नो ठाउँ छोडेर पहिचान गुमाउन पुग्दा दाउ हेरेर बसेको वामशक्ति सहजै सत्ताको लगाम समाउन पुगेको छ । निर्वाचनमार्फत जनताबाट अनुमोदित भएर नै शासनको जिम्मेवारी पाएको वाम गठबन्धनको मूल नेतृत्वले समृद्धिको सपना राम्रैसँग देखाएको पनि छ । सपना देखाउन नजान्ने, देखाएको सपना पनि तुहाइदिने ‘काङ्ग्रेस–प्रवृत्ति’को सिकार स्वयम् काङ्ग्रेस हुँदै गर्दा वामसरकारलाई एकछत्र मार्ग हासिल भएको ठानिँदै छ । पचास वर्ष सत्ता कब्जाको घमण्ड बजार्ने कम्युनिष्ट नेतृत्वलाई काङ्ग्रेसको दुर्बलता एक हिसाबले ठूलो अवसर पनि हो । यदि आफूले देखाएको सपना या गरेका वाचाको एकचौथाइ काम मात्र अबका पाँच वर्षमा गरी देखाउन सक्यो भने वाम–शासकहरूका लागि पचासवर्षे शासनको यात्रा सोचेभन्दा सहज नहोला भन्न सकिन्न ।

तर, संसारका आजसम्मका दृष्टान्ततिर फर्किएर हेर्दा कम्युनिष्ट शासनबाट विकास र समृद्धिका सपना यथार्थमा परिणत हुने आशा गर्न सकिँदैन । शासनको नाममा सर्वसत्तावाद वा अधिनायकी लाद्ने प्रवृत्ति मौलाएर जाने छैन भनी विश्वस्त हुन सकिने कुनै आधार मिलेको छैन । कम्युनिष्ट एकताको परिणाम मुलुक एकात्मकता र या सर्वसत्तावादतिर उन्मुख हुने जुन आरोप विशेषतः प्रतिपक्षी कित्तामा पुगेको काङ्ग्रेसका तर्फबाट लगाइएको छ, यसलाई फगत द्वेष वा आरिसको आरोप भनी उपेक्षा गरिहाल्न पनि मिल्दैन । तर, सर्वसत्तावादको आरोप मिथ्या हो भनी सिद्ध गर्नका लागि वाम सरकारसँग प्रशस्त अवसरहरू छन् । यसका लागि आफूलाई पूर्ण लोकतान्त्रिक ढाँचामा ढाल्दै सोअनुसारको व्यवहारका साथ सुशासन, शान्ति, स्थिरता र समृद्धिको मार्ग भने सरकारले कोर्नैपर्ने हुन्छ । अन्यथा, काङ्ग्रेसले गरेको आशङ्का त साबित हुन्छ नै, देश पनि कहिल्यै उठ्न नसक्ने गरी थेचारिने निश्चित नै छ ।