राजनीतिमा निर्मम सत्यको खोजी अपरिहार्य

राजनीतिमा निर्मम सत्यको खोजी अपरिहार्य


– दामोदर पौडेल

अर्जुनले कृष्णलाई यो संसारमा निष्पक्ष को छ भनेर सोधेछन् । कृष्णले उत्तर दिएछन् कि सबै मानिस आफ्नो बुद्धि र पायकको हिसाबले सत्य र असत्यको परिभााषा वा मानसिकता बनाउँछन् । त्यसैले दुनियाँमा कोही पनि निष्पक्ष छैनन् ।

भगवान्ले जे भने ठीक भने । तर, उनले पनि मानिस कमसेकम निष्पक्ष सोच्ने बनाइदिएको भए हुने थियो । उनको पनि कमजोरी नै हो । कृष्णले कमसेकम मैले मानिस नै यस्तो आफ्नो पक्षमा नै बढी सोच्ने बनाएको छु त्यसैले मेरै कारणले मानिस निष्पक्ष हुँदैनन् भनेको भए पनि हुन्थ्यो । हिन्दूहरूको मुख्य हिस्साले भगवानु मूलभूत रूपमा निराकार छन् र आवश्यक पर्दा साकार रूपमा आउँछन् र एकैपटकमा साकार रूपमा धेरै पनि देखिन सक्छन् भन्ने मान्यता राख्छ । त्यसैले कृष्ण यहाँ थिए । उनी निराकार निरञ्जनको रूपमा त स्थायी रूपमा छन् नै । कृष्ण एकैपटकमा धेरै ठाउँमा देखिन्थे । सायद राम आदि पनि देखिन्थे । उनी कहिले राम कहिले देवी कहिले शिव आदि भएर प्राणी हितमा आउँछन् । तर, उनीहरू एउटै हुन् भन्ने हिन्दूधर्मको सामान्य मान्यता हो ।

अर्कोतर्फ ती भगवान्ले सबै आफैँले गरिदिने, दिमाग चलाउने कुरा पनि आफैँले गरिदिने हो भने मानवको अलगअलग स्वभाव पनि हुने थिएन । मानवले गर्नैपर्ने काम पनि हुने थिएन । त्यसैले मानवलाई बुद्धि दिएर वा बुद्धिको प्रयोग गर्ने वातावरण दिएर छोड्नु राम्रो हो पनि भन्ने अर्थ लगाए हुन्छ । अर्थात् डाक्टर, इन्जिनियर, वकिल, प्रशासक आदिको योग्यता दिने, तर योग्यताको सदुपयोग र दुरुपयोगको आधारमा राज्यले वा जनताले मूल्याङ्कन गरेजस्तो भगवान्ले पनि मानिसको सकारात्मक सोच हुन सक्दछ कि सक्दैन र भएमा पुरस्कार दिने वा स्वर्ग दिने मूल्याङ्कन गर्ने होला सायद । त्यो नभए पनि धर्म मान्नेहरूको परिकल्पना त्यस्तो होला ।

राजनीति गर्ने प्राणीहरू पनि भगवान्ले नै बनाएका प्राणी हुन् भन्ने मान्नैपर्ने होला । तर, त्यही लोकतन्त्र मानेर जापानमा किन खुसहाली आएको र अफगानिस्तानमा किन वदतर अवस्था आएको होला । लोकतन्त्रको मर्म वा भाव पनि पानीजस्तै चेरापुन्जीमा धेरै र मरुभूमिमा कम परेकोसँग तुलना गर्ने होला कि ? या यी नेताहरूले गल्ती गरेकोले माथि गएपछि सजाय पाउने हुन् कि ? जनताले त गल्ती गरेकालाई सजाय दिन सकेनन् नै । नत्र यहीँ पनि हिसाबकिताबको मिलान हुने थियो । सायद हामी जनताले पनि मरेर गएपछि पृथ्वीमा असल नेताहरू र विचार नछानेकोले सन्तान दरसन्तानले दुःख पाउने हुँदा सत्यको सामना गर्नुपर्ने होला ।

एकजना माओवादीका ठूलै नेताले भने कि निजी सम्पत्ति नै सम्पूर्ण विवाद झगडाको मूल कारण हो । त्यसैले त्यसको अन्त्य नै सबै समस्याको अन्त्य हो । उनको भनाइ र सम्बन्धविच्छेद विवाहको कारणले भएको हो भन्नु करिब–करिब उस्तै हो । निजी सम्पत्ति नभए लोभी, बेइमान र अल्छी समाजमा राजाको काम कहिले जाला घाम हुन थाल्छ । काम सबैले गरेजस्तो गर्ने, तर उत्पादन घट्ने हुन्छ । चीनमा माओको समयमा निजी सम्पत्तिलाई मान्यता थिएन र विकास पनि थिएन । अहिले चीनमा निजी सम्पत्ति छ र विकास पनि छ । उत्तर कोरियामा निजी सम्पत्ति छैन, विकास पनि छैन ।

हामी सानासाना कुरामा ठूला सोचहरूलाई बिर्सन्छौँ । एक नेताले अन्तर्वार्तामा कांग्रेसका विश्वप्रकाश शर्माले कांग्रेस परिमार्जन गर्ने कुरा गरेका थिए, तर देउवाले प्रवक्ता दिएपछि शान्त छन् त ? भनेर सवाल सोधेका थिए । उनले केही सोचेका होलान्, तर सबैमा मुखबाहिर देश, जनता, सिद्धान्त आदिका कुरा आउँदा रहेछन् । तर, प्रधान लक्ष्य त आफ्नै हित रहेछ भन्ने वारपार देखिएको छ । अहिले सञ्चारमा कतै आयो विश्वका धनी नेताहरूमा प्रचण्ड र देउवा पर्दछन् रे ? हुन त भन्नेले पनि जे पनि भन्छन् । सत्य छुट्याउन पनि कठिन छ । कागले कान लग्यो भनेर कागको पछि लाग्दा कान पनि नछुने कस्तो रहेछ भन्छन् । अर्कोतर्फ सधैँ बाघ आयो भनेर झुक्याउने रामेले एकपटक साँच्चै बाध आउँदा पनि झुक्याएको होला भनेर नजाँदा बाघले बाख्राहरू सखापै पारेका कथाहरू पनि हामीहरूकै लागि नीति शिक्षाहरू हुन् ।

लाग्छ, अहिले एमाले र माओवादी मिलेर बनेको नयाँ दलमा पनि भागबन्डा र अरू पदहरू नमिल्दा सिद्धान्त आदिका तर्क दिएर केही दलबाट बाहिरिनेछन् । यो कटु सत्य हो । पद पाउँदा पनि सिद्धान्तकै लेप, नपाए पनि सिद्धान्तकै लेप र लक्ष्य भने आफ्नो स्वार्थको परिपूर्ति सबैभन्दा माथि नेपाली राजनीतिज्ञको चरित्रको हालसम्मको मुख्य निष्कर्ष भन्दा हुन्छ ।

तर, जे भए पनि हामीले सबै तहमा आफूलाई नै महत्व दिने हुँदा नियम, कानुन, बहुलवाद, बहुदल, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चार चाहिएका हुन् । नत्रभने दल र नेताहरू तथा उनीहरूका नजिककाले सबै कुरा आफैँतिर तान्ने थिए । अहिले पनि कहाँ नतानेको हुन् र ? ती व्यवस्था नभएको भए उनीहरूले अझै तान्ने थिए र ताने पनि चुइँक्क बोल्न पाइने थिएन र गल्ती गरे पनि समर्थन गर्नुपर्ने थियो । त्यसैले त एकजना विद्वान्ले भनेका थिए कि मलाई ६० लाख सेना दिइयोस् । दुनियाँमा सबै मानिसलाई माइनस १०० डिग्रीमा पानी उम्लन्छ भन्ने वनाइदिन्छु तर मानिसहरू पानी तताउन परे भने चिसोमा होइन तातोमा नै तताउने नै छन् ।

सत्य–असत्य जे भए पनि एउटा रोचक विषय छ । एउटा छात्रलाई जाँचमा प्रश्नहरू सोधिएकोमा उसले सबै मिलेको भन्ने विश्वास गरेको रहेछ, तर परिणाम त जिरो पो आए छ त । उसलाई सोधिएको एउटा प्रश्न रहेछ कि बलभद्र कुन युद्धमा मारिए ? उसले उत्तर दिएछ कि आफ्नो आखिरी लडाइँमा । अर्को प्रश्न रहेछ कि भारतीय स्वतन्त्रताको घोषणापत्रमा कहाँ सही गरिएको थियो र उसले उत्तर दिएको रहेछ कि पन्नाको अन्तिम भागमा । अर्को पति–पत्नीको सम्बन्धविच्छेदको कारण के हो भन्ने सवालमा उसले लेखेछ कि विवाह । यसरी नै सवाल र जवाफहरू राजनीतिमा आउने गरेको जस्तो पनि लाग्न थालेको छ । आफू र आफ्नाले गरेको सबै ठीक हुनुपर्ने भावना र त्यसमा पारख नहोस् भन्ने चाहना पनि समस्याको कारण बनेको छ । विवाहको कारणले नै सम्बन्धविच्छेद हुने हो । तर, सम्बन्धविच्छेद विवाहकै कारणले भएको हो भने धेरै विवाहमा सम्बन्धविच्छेद किन हुँदैनन् त ? त्यो सत्य हो भने पनि प्रश्नले सोधेको जवाफ त्यही हो त ? दिमागलाई अनावश्यक रूपामा तरङ्गित बनाएर पनि कुनै काम छैन ।

राजनीतिज्ञहरूले मानिसको स्वभाव र विकासको अवस्थालाई समायोजन गरेर काम गरून् । जनतालाई झुक्याउने र पूरा हुन नसक्ने वा अहिले पूरा हुन नसक्ने आश्वासन बाँड्ने र पूरा नभएपछि अरूलाई दोष दिने नगरून् । हुन सक्ने कुरालाई व्यवस्थित गरून्, त्यसै माध्यमबाट सामान्यभन्दा सामान्य जनताको पनि हित हुने स्थितिको सिर्जना गरून् ।

एकजना माओवादीका ठूलै नेताले भने कि निजी सम्पत्ति नै सम्पूर्ण विवाद झगडाको मूल कारण हो । त्यसैले त्यसको अन्त्य नै सबै समस्याको अन्त्य हो । उनको भनाइ र सम्बन्धविच्छेद विवाहको कारणले भएको हो भन्नु करिब–करिब उस्तै हो । निजी सम्पत्ति नभए लोभी, बेइमान र अल्छी समाजमा राजाको काम कहिले जाला घाम हुन थाल्छ । काम सबैले गरेजस्तो गर्ने, तर उत्पादन घट्ने हुन्छ । चीनमा माओको समयमा निजी सम्पत्तिलाई मान्यता थिएन र विकास पनि थिएन । अहिले चीनमा निजी सम्पत्ति छ र विकास पनि छ । उत्तर कोरियामा निजी सम्पत्ति छैन, विकास पनि छैन । कमसेकम निजी सम्पत्ति पनि एकजना विद्वान्ले राज्य आवश्यक खराबी हो भनेजस्तो मानवको मूल स्वभावले गर्दा विसङ्गतिहरू भए पनि आवश्यक भयो र विसङ्गतिहरूलाई सके अन्त्य गर्नु र नसके कम गर्ने आवश्यकता हो । कसैको हातले मानिसलाई पिटिरहन्छ भन्दैमा हातै खराब भनेर काटेर फालेदेखि मारपिट कम हुन्छ भन्नुभन्दा उसको मानसिकता बदल्नु महत्वपूर्ण हो ।

मलाई पनि निजी सम्पत्तिको अन्त्यबाट धेरै विवादको अन्त्य हुन्छ जस्तो नै लाग्दछ । त्यसको सम्बन्धमा विकास, समानता, इमानदार मानिसहरू, उनीहरूको लगनशीलता र व्यवस्थित सङ्गठन आवश्यक पर्दछ । त्यसको सम्भावना टाढाटाढासम्म देखिँदैन । लोकतन्त्र र बहुलवादको माध्यमबाट जुन दिन मानिसमा त्यस्तो अवस्था आउँछ र आउने वातावरण तयार हुन्छ त्यतिबेला कसैले निजी सम्पत्तिको उन्मूलन भनेर कराइराख्न पनि पर्ने छैन, स्वतः हुनेछ । बीपीले साम्यवादमा लोकतन्त्र थपेमा समाजवाद हुन्छ भनेको पनि त्यो दूरदृष्टिको परिचय हो र एकदलीयताबाट वास्तविक साम्यवाद आउँदैन भन्ने सन्देश पनि हो । तर, माटोको जोडाइले सयतले घर बनाउँछु भन्ने कुरा सिमेन्ट र रडको आविष्कारभन्दा पहिला मूर्खताबाहेक केही हुँदैनथ्यो । आज स्वाभाविक भएको छ । अर्थात् समयको वेगलाई व्यवस्थित र परिस्कृत गर्ने हो । समयभन्दा पहिला अनावश्यक रोमाञ्चक कुरा गरेर समाजलाई गलत दिशामा लग्न खोज्ने भने होइन ।

त्यसैले राजनीतिज्ञहरूले मानिसको स्वभाव र विकासको अवस्थालाई समायोजन गरेर काम गरून् । जनतालाई झुक्याउने र पूरा हुन नसक्ने वा अहिले पूरा हुन नसक्ने आश्वासन बाँड्ने र पूरा नभएपछि अरूलाई दोष दिने नगरून् । हुन सक्ने कुरालाई व्यवस्थित गरून्, त्यसै माध्यमबाट सामान्यभन्दा सामान्य जनताको पनि हित हुने स्थितिको सिर्जना गरून् ।