प्रधानमन्त्री ओलीका चुनौती र अवसर

प्रधानमन्त्री ओलीका चुनौती र अवसर


प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको दुई महिना बितेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुलुकको ४१औँ प्रधानमन्त्रीको रूपमा शपथ लिने अवसर मिलेको छ । निर्वाचन प्रक्रिया सम्पन्न भएपछिका एकै पल पनि खेर जान नदिई अध्यक्ष ओली पद बहाली गर्न हतारिएका सर्वत्र महसुस गरियो । सांसदको शपथ नै नलिएका व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरिएको भन्ने कोणबाट राष्ट्रपतिले समेत आलोचित बन्नुप¥यो । यसबाट सत्ताको वागडोर समात्न ओली कति हतारिएका थिए भन्ने प्रस्ट हुन्छ । तर, एमाले अध्यक्ष ओलीले सत्ताको लगाम समातेकोमा होइन, समातेको सत्ता सम्हाल्ने ल्याकत कति राख्छन्–राख्दैनन् भन्नेमा यतिबेला सचेत तहमा तीव्र कुतूहल जागृत भएको छ । ओलीजस्ता आशा गरिएका नेताको नेतृत्वप्रति अहिले नै यस्तो प्रश्न किन उठ्न पुग्यो, यो महत्वपूर्ण छ ।

देश–दुनियाँ जान्दछ कि माओवादी केन्द्रसँगको गठबन्धन बनाएकै कारण आज सहज रूपले प्रधानमन्त्रीको कुर्सीसम्म पुग्ने हैसियत केपी शर्मा ओलीलाई हासिल भएको हो । प्रचण्डजस्ता चतुर पात्रले नेतृत्व गरेको दलको समर्थनमा शासनको वागडोर हात पारेका प्रधानमन्त्री ओलीका लागि उनै प्रचण्ड सर्वाधिक खतरा बनेर उभिएका छन् । त्यसको सङ्केत आरम्भमै मिलिसकेको छ ।

गत असोजदेखि चलाइएको एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको प्रसङ्ग उत्कर्षमा पुगेको छ । दुई दलका शीर्ष पात्रहरूले निकै वार्ता गरे अनि ‘भोलि मिल्ने भयौँ, आजै र अहिल्यै मिल्यौँ’ जस्ता अभिव्यक्ति पनि पटक–पटक सार्वजनिक गरे । अन्ततः सातबुँदे सहमतिसँगै पार्टी एकताको ‘औपचारिक घोषणा हुन मात्र बाँकी’ भन्ने बिन्दुमा वाम–गठबन्धन उभिन पुगेको छ । तथापि, विभिन्न संशय कायम नरहेको भने होइन । ओलीको शपथग्रहणमा उपस्थित नभएर र पार्टीका तर्फबाट मन्त्रिमण्डलमा सहभागीसमेत नगराएर प्रचण्डले प्रधानमन्त्री ओलीलाई शुरुमै दह्रो झट्का दिए । प्रचण्ड र ओलीबीच भागबन्डाको खिचातानी या पदको बार्गेनिङ कुन स्तरमा पुगेको थियो, नबुझिएको विषय थिएन, र पदीय व्यवस्थापनको खिचलो बाँकी नै छ । राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना देखाउँदै यहाँसम्म आइपुगेका ओलीको अभियानमा देखापरेका अवरोध सबै हटिसके भन्ने होइन, तर पार्टी एकताको उत्कर्षले निकै हदसम्म हलुका भने बनाइदिएको हुनुपर्छ प्रधानमन्त्री होलीलाई ।

रेलदेखि पानीजहाजसम्म, हावाबाटै बिजुलीदेखि घर–घरमा ग्यासको पाइपलाइनसम्म र यस्तै–यस्तै मन हर्ने प्रकृतिका सपना देखाएर जनताको मन जितेका प्रधानमन्त्री ओलीमाथि यी योजनालाई यथार्थमा परिणत गरेर देखाउनुपर्ने बाध्यता छ । अब कुनै बहानाबाजीको निम्ति स्थान छैन भन्ने उनले राम्रै बुझेका छन् ।

सवाल पार्टी एकीकरणको मात्र होइन । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा मुलुक प्रवेश गरिसकेको अवस्थाका कारण चुनौतीको चाङले यसै पनि मुलुकका प्रधानमन्त्रीलाई थिचेकै छ, चाहे प्रधानमन्त्री ओहदामा ओली रहुन् या अर्को कोही । किनकि, राजनीतिक मुद्दालाई लिएर बहस–विवाद, विरोध, सङ्घर्ष गर्ने चरण समाप्त भएका छन् । सत्तामा पुगेका र प्रतिपक्षमा रहेका प्रमुख दलहरूकै दाबी हो यो कि अब आर्थिक विकास र समृद्धिको यात्रामा मुलुक लम्केको छ । यसर्थ, रेलदेखि पानीजहाजसम्म, हावाबाटै बिजुलीदेखि घर–घरमा ग्यासको पाइपलाइनसम्म र यस्तै–यस्तै मन हर्ने प्रकृतिका सपना देखाएर जनताको मन जितेका प्रधानमन्त्री ओलीमाथि यी योजनालाई यथार्थमा परिणत गरेर देखाउनुपर्ने बाध्यता छ । अब कुनै बहानाबाजीको निम्ति स्थान छैन भन्ने उनले राम्रै बुझेका छन् । यथार्थमा परिणत हुन वर्षौं लाग्न सक्ने योजना भए पनि विश्वसनीय कार्यान्वयनको आरम्भ आफ्नो यही कार्यकालमा उनले गरी देखाउनुपर्नेछ । प्रधानमन्त्री ओलीका लागि यी अत्यन्त ठूला चुनौती हुन् भने चुनौती चिरेर नेपालको इतिहासमै उच्च दर्जाका ‘राजनेता’को रूपमा नाम लेखाउनका निम्ति यो कार्यकाल ‘स्वर्णिम अवसर’ पनि हो ।

चुनौतीकै कुरा गर्नुपर्दा सर्वाधिक सङ्गीन प्रश्नचाहिँ रणनीतिक महत्वका भारत र चीनजस्ता दुई छिमेकीलाई सन्तुलनमा राख्न सक्ने हुन् कि होइनन् भन्नेमा देखिन्छ । यी दुईमध्ये एकलाई मात्र चिढ्याउँदा पनि समृद्धिको फड्को मार्ने नेपालको चाहनामा गहिरो धक्का लाग्न सक्छ । दुवै छिमेकीको नेपालसँग आ–आफ्नै स्वार्थ जोडिएका छन् भन्ने जगजाहेर छ । यसर्थ उनीहरू आफ्नो हितमा यस भूमिमा प्रत्यक्ष या परोक्ष रूपमा चलखेल गरिरहेका हुन सक्छन् । के–कति र कस्तो चलखेल चलिरहेको छ, यो बुझ्ने र सुझबुझ पु¥याएर देशको पक्षमा छिमेकीको साथ जुटाउने काम प्रधानमन्त्री ओलीकै काँधमा छ । सारमा भन्नुपर्दा निरन्तरको राजनीतिक अस्थिरताका कारण मुलुकले आजसम्मका हविगत व्यहोर्दै आएकोमा विवाद रहन्न, अब राजनीतिक स्थिरता कायम गर्नु अपरिहार्य छ । प्रधानमन्त्री हुनुअघि र दोस्रोपटक प्रधानमन्त्री भइसकेपछि पनि राजनीतिक स्थिरताको मुद्दालाई ओलीले विशेष जोड दिएका छन् । प्रधानमन्त्री ओलीलाई यसमा सफलता मिलोस्, देशले निकास पाओस् । अहिलेलाई यत्ति शुभकामना ।