दृष्टिविहीनलाई ऐना, अबुझलाई शास्त्र !

दृष्टिविहीनलाई ऐना, अबुझलाई शास्त्र !


– स्वयम्भूनाथ कार्की

‘यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम् । लोचनाभ्यां विहिनस्य दर्पणः किं करिस्यति ।।’ यो पञ्चतन्त्रबाट लिइएको श्लोक हो । यसले भन्छ, जो प्राज्ञ होइन त्यसलाई शास्त्रको के काम, जसको दुई आँखा नै छैन त्यसलाई ऐनाको के काम । विष्णु शर्माले पढेलेखेर उपाधि प्राप्त, वर्तमानमा प्रमाणपत्र प्राप्त प्राज्ञ भएको पुष्टि होइन भन्ने कथा पनि सामेल गरेकाले यो शब्दले शिक्षित मात्र नभनी सहज बुद्धि–ज्ञानको प्रयोग कौशल अनि ज्ञानार्जन क्षमता नै प्राज्ञ हो, उनका अनुसार । शास्त्रको सही प्रयोग प्राज्ञले मात्र गर्न सक्छ, देखावटी शिक्षितले होइन भन्ने यसको आशय हो । आँखा नभएकालाई ऐना र गैरप्राज्ञलाई शास्त्र उस्तै हो, उपयोग हुन सक्दैन, बरु दुरुपयोग भइदिन्छ ।

पञ्चतन्त्र र विष्णु शर्माको सतही परिचय यहाँ सान्दर्भिक हुन्छ । आचार्य विष्णु शर्माले उद्दण्ड र शिक्षा भन्नेबित्तिकै भाग्ने राजकुमारहरूलाई योग्य राजपुरुष बनाउने शिक्षा दिन रचना गरेको ग्रन्थ हो पञ्चतन्त्र । शिक्षा लिएकोजस्तो नलागी नै सिक्नका लागि रचना गरिएको यो तन्त्रको वास्तविक रचनाकाल कहिले हो भन्नेमै अनेकौ किंबदन्त छन् । कोहीकोही चाणक्यको अर्को नाम विष्णु शर्मा हो भन्छन । त्यसै पनि वर्तमानमा चाणक्य नीतिको लहर चलेको छ ।
विदुरनीति, शुक्रनीति, वृहस्पतीनीतिजस्ता दर्जनाँै बेग्लाबेग्लै नीतिकारका नीतिलाई चाणक्य नीतिको रूपमा पस्कने गरिएको छ । त्यति मात्र नभएर आफूलाई मन परेको कुनै पनि कुरालाई चाणक्यको तस्बिर टाँसेर उनैको नीति बनाउन पनि पछि परेका छैनन्, मोतीराम भट्टले भानुभक्तलाई भेट्न नसकेका श्लोकहरू आफैंले रचेझैँ ।

यही शिक्षित तर गैरप्राज्ञको हातमा शास्त्र परेको परिणाम सनातन समाजले लामो समयदेखि भोग्दै आएको छ । सतीप्रथालाई हिन्दुत्वको अभिन्न अङ्ग मान्नेहरूले रामायणमा रामको वनवासपछि अयोध्यामा स्वागत गर्ने कौशल्या, केकयी र सुमित्रा दशरथको मृत्युपछि जीवित किन थिए भन्ने जवाफ दिन सक्दैन । कतै कुनै स्त्रीले पतिविगोगमा प्राण त्यागेको दुर्लभ घटनालाई आधार बनाएर सतीप्रथा चलाई अरू अंशियारले अंश एकलौटी बनाउन गरेको प्रयत्नमा शास्त्रको दुरुपयोग गर्ने गैरप्राज्ञ पण्डितहरू नै हुन् । अनि यस्तै व्याख्याहरूको आधारमा सनातनलाई गाली गर्ने प्रगतिशील हुनेहरू त कसरी पो प्राज्ञ र ?

वर्तमान नेपालमा यस्ता प्राज्ञहरूको बाहुल्य छ जो बुझ पचाएर आफूलाई प्रगतिशील, अग्रगामी देखाउन तल्लीन छ । ऐनाको सामुन्ने आँखा चिम्लेर अरूले आफ्नो मुहारको गरेको वर्णन पत्याउनु ठूलो विद्वता देख्छन् । जसले आफू सम्मोहित भएको देखाउन सक्यो त्यो नै ठूलो भएको मान्यता राख्नेहरूले ढाक्दै गएको छ । आज नेपाल यस्तो मुलुक भएको छ जहाँ विश्वमा नाम कमाएका शल्यचिकित्सकहरू अल्पशिक्षित नेताबाट शल्यक्रियाको प्रवचन सुनेर लाभान्वित हुन्छन् । अनि बाहिर निस्केर तिनै भन्छन् नेता हुने योग्यता तोक्नुपर्दैन र ? नामी अर्थशास्त्रीहरू लाभान्वित हुन अर्धशिक्षित मन्त्रीको प्रवचन सुन्न घन्टौँ प्रतीक्षा गर्छन् अनि बाहिर आएर भन्छन्– अब चुनाव लड्न न्यूनतम योग्यता तोक्ने बेला भयो ।

आचार्य विष्णु शर्माले त दुवै आँखा नभएकालाई ऐनाको के काम मात्र भनेका थिए । तर, युगौँपछि यस्तो पनि मुलुक हुनेछ जहाँ ऐनाको सामुन्ने गएपछि मान्छेले आँखा चिम्लनेछन् भन्ने के थाहा ? प्राज्ञको परिभाषामा पर्न सक्नेहरू आ–आफ्नो आराध्यको अनुसार बुझ पचाएर आफ्नो सहज बुद्धिलाई छेउ लगाएर प्रशंसा र विरोध गर्छन् भन्ने के थाहा ?

आचार्य विष्णु शर्माले त दुवै आँखा नभएकालाई ऐनाको के काम मात्र भनेका थिए । तर, युगौँपछि यस्तो पनि मुलुक हुनेछ जहाँ ऐनाको सामुन्ने गएपछि मान्छेले आँखा चिम्लनेछन् भन्ने के थाहा ? प्राज्ञको परिभाषामा पर्न सक्नेहरू आ–आफ्नो आराध्यको अनुसार बुझ पचाएर आफ्नो सहज बुद्धिलाई छेउ लगाएर प्रशंसा र विरोध गर्छन् भन्ने के थाहा ? निर्वाचनको मौसममा वफादारिता साबित गर्न पाउमा बिछिएर जनता मूर्ख बनाउने अनि बाँकी दिन जनताको साखुल्ले भएर तिनै नेतालाई गाली गर्ने काम ऐनाको सामुन्ने आँखा चिम्लेको होइन र ? बुझ पचाएर प्रशंसा गरिएको होइन र ?

आफ्नो योगदानले जितेको व्यक्तिले गरेको राम्रो काममा छाती फुलाएर घिँरौलाजत्रो नाक पार्ने अधिकार हो । त्यसै गरेर उसले गरेको हरेक नराम्रो कामको नैतिक दायित्व लिने काम पनि आफ्नै हो । गोप्य मतदानमा अरू कसैले नदेखेको होला, तर आफ्नोे आत्माले त देखेको छ । ‘माछा देख्दा दुला हात सर्प देख्दा पाखा हात’ गर्नु बुझ पचाउनु हो । अन्तमा यस्ता बुझपचाइ देखाउने एक उदाहरण, एकै व्यक्तिले भरसक एकैपल्ट भन्ने गरेका छन्, ‘यो स्थानीय निर्वाचन इतिहासमै पहिलोपल्ट भएको युगान्तकारी घटना हो । बीस वर्षपछि आएको यो निर्वाचनको जनता व्यग्रतापूर्वक प्रतीक्षा गर्दै छन्’ । संसारमा कसैले यी दुई अभिव्यक्तिको तारतम्य सम्झाइदेओस् कि नेपाली प्राज्ञहरूले आफ्नो त्यो प्राज्ञता बन्धकी नै राखेको हो ?

नयाँको नियुक्ति प्रक्रिया पूरा भएपछि पनि पुरानाको पद उसले त्यागपत्र नदिउन्जेल वहाल रहन्छ भन्नु कस्तो विद्वता हो ? संविधानमा समयसीमा राखेर त्यो त प्रक्रिया शुरु हुने मिति हो भन्नु चाकरीको नमुना होइन र ? यस्तै आफ्नो ज्ञान, बुद्धि जाकटी राखेर कमाएको सरकारी ‘प्राज्ञ’ पद प्राज्ञ भएको प्रमाणपत्र कसरी मान्न सकिन्छ ? यस्ता प्राज्ञहरूको विद्वताको लाजलाग्दो नमुनाहरू जताततै देखिन लागेका छन् । सभा–समारोहहरूमा, जमघटहरूमा सबैतिर सरकारी अझ दल वा राजनीतिक सिद्धान्तका भक्त भएको कमाईस्वरूप ‘प्राज्ञ’हरू मनोरञ्जन प्रदान गरिरहेका हुन्छन् । आचार्य विष्णु शर्माको ‘यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम् । लोचनाभ्यां विहिनस्य दर्पणः किं करिस्यति ।।’ भनाइ चरितार्थ गर्दै ।