अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या


अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको दुःखद समाचार छ ।

स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जाेरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो ।

सोही विद्यालयका एकजना १९ वर्षीय पूर्व विद्यार्थीले सो आक्रमण गरेको प्रहरीले पत्ता लगाएको छ । सो गोलीकाण्डमा परी अरु १४ जना विद्यार्थी घाइते भएका अमेरिकी अधिकारीहरुले बताएका छन् ।

गोली हन्ने निकोलस क्रुज नाम गरेका ती विद्यार्थीलाई गिरफ्तार गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती विद्यार्थीलाई यसअघि सो विद्यालयबाट निकालिएको खुल्न आएको छ । तर गोली हान्नुपर्नाको कारणको नजिक भने प्रहरी पुग्न सकेको छैन ।

उक्त विद्यालयबाट निष्कासनमा परेका ती विद्यार्थीले सोही रिस पोख्न यस्तो गरेको हुनसक्ने अनुमान प्रहरीको छ । तर यसको पुष्टी भने भइसकेको छैन ।

उनले सुरुमा विद्यालयमा आगो लाग्दा थिच्नुपर्ने खतरा जनाउने घण्टी थिचेका थिए । यसबाट उक्त विद्यालयमा भागाभाग भएको थियो । हातमा बनदुक लिएर तम्तयार अवस्थामा रहेका उनले सोही मौकामा गोली हानेको बताइएको छ ।

सुरक्षा अधिकारीहरूले सीबीएस न्यूजलाई जानकारी दिएअनुसार गोली चल्न थालेपछि कतिपय विद्यार्थी कक्षा कोठाभित्र लुकेर बसेका थिए भने केही भागेर बाहिर आएका थिए । प्रहरीलाई तत्कालै खबर भएकोले विद्यालय परिसरलाई घेरा हालेको थियो ।

प्रहरीले हत्यारालाई तत्कालै नियन्त्रणमा लिएको भए पनि छोटै समयमा धेरै बालबालिकाको हत्या भइसकेको थियो । अत्याधुनिक राइफल लिएका कारण त्यति धेरै विद्यार्थी मारिन पुगेका बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त गोलीकाण्डमा परी ज्यान गुमाएका विद्यार्थीहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्तगर्दै मारिएका बालबालिकाका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

आफ्नो ट्वीटर अकाउन्टमार्फत सम्प्रेषण गर्नुभएको सन्देशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि बालबालिका, शिक्षक वा अरू कसैले पनि अमेरिकी विद्यालयमा कहिल्यै असुरक्षित महसुश गर्न नहुने धारणा राख्नुभएको छ ।

उहाँले हत्यारालाई आवश्यक कानुनी कारबाही हुने बताउनुभएको पनि समाचारमा उल्लेख गरिएको छ ।