ध्यान दिँदा खेर नजाने कुरा झिनामसिना

ध्यान दिँदा खेर नजाने कुरा झिनामसिना


– तिलक पौडेल

‘बडाले जे गऱ्यो काम, हुन्छ त्यो सर्वसम्मत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दितः ।।’

उही बेला सरस्वती पुत्र लेखनाथ पौड्यालले भविष्यवाणी गरेको प्रतीत हुन्छ – उक्त श्लोक स्मरण गर्दा । किनभने वर्तमानको मानवीय स्वभाव (गल्ती स्वीकारेर दोहोरिन नदिन सतर्कता अपनाउनुभन्दा थप गल्ती गरी पूर्वगल्तीलाई ढाकछोप गर्ने धृष्टता गरिरहेको पाइन्छ । सानो कुरा गर्दा सानै भन्लान् भन्ने सन्त्रस्तता ठूलाबडामा बढी प्राप्य छ । ठूलाकै सिको गरेर ठूलो बन्ने रहर बोकेका नयाँ पीढीहरू पूर्वोक्त व्यहोरा नै अवलम्बन गर्न रुचाउँछन् । उही पीढीका सानो दर्जाका मानिएकाहरूमा पनि आ–आफ्नो वृत्तमा लालबुझक्कड बन्नमै रमाउने गरेको देखिन्छ । तर्सिनु त बरु, भविष्यमा कतै लालबुझक्कडी/डेडअक्कलीहरूको आवास त बन्दैन विश्व ? भन्नेमा पर्ला जस्तो छ ।

यो व्यहोरा हाम्रो जस्तो निरक्षरता बहुल जनसङ्ख्या रहेको मुलुकमा झन् व्यप्त हुँदो रहेछ । किनभने संसार आखिर सानोबाटै प्रारम्भ हुन्छ र त्यसैमा अडेको छ भन्ने व्यहोरा मनन हुन सकिरहेको पाईंदैन । गौण गरेर नियाल्ने हो भने सबै सजीवहरू न्यूक्लियसमा पुग्दा झण्डै समान छन्, सबै निर्जीवहरू त झन् इलेकट्रोन, न्यूट्रन र प्रोटोनमा पुगेर समान बनेका छन् । के यसको तात्पर्य धरती शुक्ष्ममा पुग्दा समान छ र हो भन्नु होइन र ?

आखिर एक कोषीय शुक्राणु र डिम्बाणुको विकसित रुप बाल्यावस्था हो र वर्तमानको विद्वत अवस्थाको जग त्यही हो भन्दा व्यहोरा अनुचित देखिँदैन नै । विशद् अभ्यासबाट निष्कर्ष्याइएका ब्यहोरामाथि डेडअक्कली कमेन्ट गर्दा आफूलाई धन्य सम्झनु कतिसम्मको सामान्यता हो ! के सामान्यता नै विशालता र महानताको आधार हैन र ? शेक्सपियरले भन्नुहुन्थ्यो, ‘तिमी सामान्य छौ र त महान छौ, अथवा तिमी महान छौ र त सामान्य छौ ।’ हुन पनि ‘कसैलाई व्यवस्थित गराउन चाहन्छौ भने पहिले आफैं व्यवस्थित बन, ‘कुनै काम अह्राउन सिपालु हुन पहिले त्यो काम गर्न आफू सिपालु हुनुपर्दछ’ भन्ने भनाइहरूलाई आत्मसात् गरी ठूला बन्ने भिजिलान्तेहरूले व्यावहारीकरण गरिदिएमा सुधारको आशा बढाउन सकिन्छ ।

त्यसैले, यहाँ बिग्रेको/हराएकोमा गाली गर्नुभन्दा साना–ठूला सबैले ध्यान दिई लागू गर्ने/गराउने हो भने उपयुक्तै जँच्ने केही शुक्ष्मतम् व्यहोराहरू सुझाउने चेष्टा गरिएको छ । उपयुक्त जँचेको हदसम्म लागू गर्नु राम्रै हुनेछ र अुनरोध पनि गरिन्छ ।

कसैलाई कलम दिँदा बिर्को आफैंसँग राखौँ : यसो गर्दा कलम हराउने सम्भावना कम हुन्छ । किनभने, कलम लिने व्यक्तिले आफूले कलमको काम सकेपछि बिर्को लगाउन खोज्दा नभएपछि दिने व्यक्तिको खोजी गर्दछ । लोभी प्रकृतिकै भए पनि खुला कलम गोजीमा कसै राख्दैन, बरु त्यत्तिकै बेवारिसे छाडिदेला । कारण, उसका कपडामा मसीको टाटा पार्नु पक्कै छैन । तसर्थ कसैले कलम मागेमा – दिनुहोस्, ‘सेवा ही परमो धर्म’ भनेकै छ, तर बिर्को आफैंसँग राख्नुहोला, जाती नै हुनेछ ।

साँचो–कूचीमा नम्बर लगाऔँ : जो व्यक्ति, धेरै कूचीहरूलाई कूचीझोला (की ब्याग)मा वा झुप्पा बनाउन पर्ने अवस्थामा हुनुहुन्छ, त्यास्ता व्यक्तिले एकदिन झण्झट नमानीकन साँचो र कूचीमा नम्बर लेखौँ वा ट्याग टाँसिदिऔँ । यसो गर्नाले ढोका, सेफ, दराजादि खोल्न पटक–पटक कूची फेर्दै प्रयास गर्दै गरिरहनु पर्ने छैन । कोठा नम्बर बमोजिम कूची र साँचोमा नम्बर लगाउँदा अझ स्मरण गर्न सहज हुने व्यहोरा अनुभविएको प्रसङ्ग हो । त्यसैले फ्याक्ट्री, घर, कार्यालय, विद्यालयहरूमा साँचो खोल्ने र बन्द गर्ने व्यक्ति वा सो काम अह्राउने व्यक्तिले साँचो कूचीमा सङ्ख्याङ्कन गरौँला र गराऔँला, बेशै हुनेछ ।

थुक्नुपहिले थुकिने ठाऊँ हेरौँ : कुनै पनि समय, कुनै पनि स्थानमा मुखमा खकार आउनु मानवीय संरचनाको प्रकृति हो । खकार आउने वित्तिकै थुक्नुभन्दा सम्भावित खकार खस्ने/पर्ने ठाऊँ हेरी थुकेमा हुनसक्ने झगडा वा माग्नु पर्ने क्षमायाचनाप्रति वेफिक्र हुन सकिनेछ, जसले आत्माभिमानमा सहयोगै हुनेछ । आखिर, मुखमा आएको खकार आफ्नै थुक न हो, तत्काल थुके सफा र एकक्षणपछि ठाऊँ हेरी थुकेमा फोहोरी भन्न मिल्छ र ?

पैदल बाटोका व्यवधानहरू हटाउन कोशिष गरौँ : हाम्रा पैदल बाटोहरू पूर्ण व्यवस्थित छैनन् र हामीमा पनि व्यस्थितताको ठोस हेक्का पनि छैन । हामीहरू हिँड्ने बाटोमा हिँड्दै गर्दा आफूले टेक्न आँटेको ठाऊँमा कुनै किसिमको व्यवधान रहेर भए त्यस ठाऊँबाट तर्केर पाइला टेक्नुको साटो त्यसलाई यसो खुट्टाले पन्छाएर हिँड्ने गरेऊँ भने अर्को पटक हिँड्दा वा अरु व्यक्तिहरू हिँड्दा त्यसले दुःख दिने छैन । यो व्यवहार अझ प्रातःकालीन हिँडाइ हिँड्नेहरूले लागू गर्न कोशिष गरेमा समूचा समाजले नै राहत पाउन सक्छ, नजाती कसै हुनेछैन ।

ढोका खोलेपछि ताला पड्काएर/बन्द गरेर (क्लीक गरेर) छाडौँ : यसो गर्नाले निम्न फाइदाहरूको प्रत्यक्षानुभव गर्न सकिन्छ । एउटा कहिल्यै पनि कूची कोठाभित्र छुटाई ढोकामा ताला लगाउन सकिँदैन । यसले गर्दा कूचीभित्रै छुटेको नाममा ताला फोड्न पर्ने छैन । वास्तवमा त्यो ताला बन्दाको लगानी वास्तविक मूल्यभन्दा बढी छ र तपाईंले फोड्नु भनेको यस धर्तीबाटै त्यो ताला धुलिनु हो । अर्को कुरा ताला खुलै ढोकामा झुण्ड्याउनु भयो भने कसैले बदमास्याईं गर्न सक्छन्, झुक्किएर भूइँमा खस्न सक्छ, याने तालै हरायो भनेर सोध्नुपर्ने हुन्छ । तर पूर्वोक्त विधि प्रयोग गर्नुभयो भने कहिल्यै ताला हरायो, कूची मात्रै के काम ? भनेर भन्नु पर्ने छैन । अझ अर्को कुरा ताला खुलै छाडेर आफूहरू भित्र कोठामा बसेको बेलामा कसैले – अबोध केटाकेटीहरूले, बाहिरबाट बन्द गरिदिई हिँडिदिए भनेर छिमेकीलाई गुहार्नु पनि पर्ने हुँदैन । तसर्थ, ताला खोलेपछि त्यही ठाऊँमा पड्काएर छाडौँला, फाइदै हुनेछ ।

चुरोटको ठुटो ननिभाई वा फालिने स्थान नहेरी नफालौँ : धुम्रपान गर्नेहरूले आफूले चुरोट पिइसकेपछि चुरोट ननिभाई जथाभावी फालेमा डढेलो लाग्न सक्ने हुन्छ । तसर्थ चुरोटको धीत मरेपछि फाल्नु पहिले त्यो पर्ने/खस्ने स्थानको अड्कल गरेर मात्र फाल्ने गरयौँ भने डढेलोको सम्भावित खतराबाट बँच्न सकिनेछ, बेफाइदा कसै हुने छैन ।

शौचालय प्रयोग गरेपछि पानीले पखालौँ : वास्तवमा, हरेकलाई आफ्नो पाचनभट्टीबाट अवशेषको रुपमा निस्कने मलमूत्र तुलनात्मक रुपमा कम दुर्घन्धित लाग्नु पर्छ । आखिर त्यही दिशा–पिशाव गर्ने अङ्गको सफाइ जतिसुकै ठूलाबडाले पनि आफैं गर्ने गर्दछौँ । तसर्थ, शौचालय प्रयोगपछि पानीले पखाल्ने गऱ्यो भने दुर्गन्धलाई पानीले निर्मलीकरण गरिदिने हुँदा कम्ति गन्हाउँछ र ढिलो फोहोर देखिन्छ । आखिर आफूले प्रयोग गर्ने स्थान फोहोर बनेको हेर्न रुचाउनु स्वयम्मा फोहोरिपना होइन र ! त्यसकारण, शौचालय प्रयोग गरेपछि पानीले पखालिदिने गरौँला, यसले सभ्यताकै परिचय दिन सक्छ । आफूलाई परेको चोटानुभव त पशुपंक्षीले पनि गर्छन्, मानव हुनुको महानता त अर्काको पीडाबोध गर्नुमा पो हुन्छ त ! हैन ? सोचौँ त ! त्यस शौचालयमा तपाईं पछि पनि अरु कोही अवश्य आउनुहुन्छ, अनि ती पछि आउनेलाई पनि स्वच्छता अनावश्यक होला त ? तसर्थ, आफूले जति सफा मन पराइन्छ, त्यत्तिकै बनाई छाड्नु सफाइ सभ्यता ठहरिने भएकाले, शौचालय प्रयोग जहाँ कहीँ गरेपनि अवश्य पानीले पखालौँला, मेत्तरको संज्ञा कसैले दिने छैन ।

नङ् काट्दा, उछिट्टिने छेउलाई औंलाले बन्द गर्ने गरौँ : कतिपय ठाऊँमा नङ् अस्तव्यस्त छाड्दा हात, खुट्टामा बिझेको, खाद्यवस्तुमा मिसिएको पाइन्छ । अर्को कुरा, उछिट्टिएर आँखामा गाडिएको पनि पाइएको छ । तसर्थ, उक्त ब्यहोराबाट बँच्न नङ् काट्दा, नङ् उछिट्टिने सम्भावना (माथितर्फ) भएको छेउमा अर्को हातको औंलाले ढाक्ने गरौँला । सम्भावित् दुर्घटना टरेर जानेछ, नराम्रो कसै हुनेछैन ।

सत्य र मीठो बोली बोलौँ : बाटोमा अपर्झट भेट भएकी अधबैंसे महिलालाई तपाईंले ‘ओहो ! मेरी आमा जस्तै’ भन्नुभयो भने उनले ‘ए ! मेरो छोराछोरी जस्तै रहेछौ, कहाँ पऱ्यो नि घर ?’ भन्नेछिन् तर यदि तपाईंले उनीलाई ‘ए ! मेरा बाउकी स्वास्नी जस्तै’ भन्नुभयो भने उनीले तपाईंलाई पक्कै ढुङ्गा उठाएर पिट्न आउने छिन् । यसो सोच्नुहोस् त ! यथार्थमा बाउकी साख्खै स्वास्नी भन्नु आमा होइन र ? नत्र त ठूलीआमा, सानीमा, छ्यामा भने हुन्थ्यो नि ! तर, अप्रिय अभिव्यक्तिले कतिको प्रतिकूल स्थितिको सिर्जना गर्दोरहेछ भन्ने सानो उदाहरण हो – यो । फेरि सहज/मीठो अभिव्यक्ति व्यक्त गर्दा असहज अभिव्यक्ति व्यक्त गर्दा भन्दा शारीरिक शक्तिको पनि बचत हुने व्यहोरा पनि प्रमाणित भैसकेको तथ्य हो । त्यसैले सत्य र प्रिय बोली बोल्ने गरौँ । रमाइलो वातावरण नै बन्ने छ, बेठीक कसै हुनेछैन । आदिइत्यादि ।

बेट्रीबाट चल्ने रेडियोलाई बेट्री राखेर अन गरिएको छ भने यसबाट स्याँ… आवाज आउँछ । यसो हुँदा पनि बेट्री खर्च भएकै हुन्छ । यदि रेडियोलाई सामान्य घुमाएर फाइन ट्युनिङ् गरिदिने हो भने ‘यो रेडियो नेपाल हो …’ अथवा सम्बन्धित स्टेशनको कार्यक्रम प्रसारण हुनसक्छ । यसरी रेडियो बज्दा पनि अघि स्याँ… गर्दाभन्दा बढी बेट्री खर्च हुँदैन । आखिर उपर्युल्लिखित कार्यहरू प्रत्यक्ष वा परोक्ष रुपमा सम्पादन गरिएकै छ, त्यसमा सामान्य ध्यान पुऱ्याउँदा निःसन्देह सहज, सरल, प्रभावकारी हुने अनुभव गरिएकाले सम्बन्धित सबैलाई यसै आलेख मार्फत् सादर अनुरोध गर्नु अनुपयुक्त नहुनुपर्छ ।
…सके सापारौं, नसके नबिगारौं…।