‘महफिल’ जमाउन नमान्दा गायिकाको हत्या

‘महफिल’ जमाउन नमान्दा गायिकाको हत्या


कथित सम्भ्रान्त वर्गका व्यक्तिहरूको ‘अफर’ अस्वीकार गर्दा एक पाकिस्तानी मोडल एवम् सिङ्गरले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमै जीवनबाट हात धुनुपरेको छ । २५ वर्षीया कलाकार सम्बल खानको लोकप्रियता दिनानुदिन बढिरहेको थियो । तर, आफ्नो लोकप्रियतालाई कमाउने माध्यम बनाउनुहुँदैन भन्नेमा उनी सचेत मात्र नभई अडान पनि राख्दै आएकी थिइन् । यही अडान नै सम्बलका लागि भारी हुन पुग्यो । पाकिस्तानका केही धनाढ्यहरूले उनलाई मागेअनुसार रकम दिने भन्दै एक निजी कार्यक्रममा गाउन अफर गरेका थिए । तर, त्यसप्रकारको निजी महफिलमा गाउनु आफ्नो नैतिकताभन्दा बाहिरको काम भन्दै सम्बलले अस्वीकार गरिन् । यसबाट कथित सम्भ्रान्त व्यक्तिहरूले आफ्नो अहममा ठेस पुगेको अनुभव गरे र भाडाका अपराधी प्रयोग गरेर हालै सम्बलको हत्या गराए । पाकिस्तान एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार रिसले चूर बनेका धनाढ्यहरूले पठाएका तीन हत्याराले सम्बलको घरमै घुसेर उनको छाती ताकी एघारवटा गोली दागेका थिए ।