स्वराज आगमनको अन्तर्य

स्वराज आगमनको अन्तर्य


छिमेकी मित्रराष्ट्र भारतको बाह्य मामलामन्त्री सुष्मा स्वराजको आकस्मिक प्रकृतिको नेपाल भ्रमणका कारण नेपाली राजनीतिक वृत्तमा पैदा भएको तरङ्ग मत्थर भइसकेको छैन । कहीँ–कतै कुनै कारणले पैदा हुने हलचल क्रमशः मत्थर हुँदै एउटा निश्चित समय–बिन्दुमा थामिनु सामान्य प्राकृतिक प्रक्रिया मानिन्छ । स्वराजको पुगनपुग चौबीस घन्टा अवधिको नेपालयात्राबारेका चर्चा पनि स्वभावतः यतिबेलासम्म सेलाइसक्नुपर्ने थियो । केन्द्रीय सरकार परिवर्तनको उत्कर्ष र नेपालको इतिहासमै पहिलोपटक प्रदेश सरकार गठनसम्बन्धी अत्यन्त चासोयुक्त प्रक्रिया जारी रहेको माहोलबीच त बाह्य मुलुकका कुनै एक मन्त्रीको ‘एजेण्डाविहीन’ यात्राको सन्दर्भ यति धेरै चर्चा र चासोको प्राथमिकतामा रहिरहनु नपर्ने हो, तर माहोल ठीक विपरीत छ ।

अर्थात्, स्वराजको नेपाल आगमनबारे आफूखुसी अर्थ लगाएर भ्रमण–सन्दर्भलाई ‘हौवा’ बनाउने, नकारात्मक रूपले तरङ्गित तुल्याउने र हाउगुजीको रूपमा चर्काउने प्रयत्नसमेत गरिएको छ । परिवर्तन तथा चेतनास्तर वृद्धिको जतिसुकै चर्का कुरा गरे पनि ‘अति राजनीतीकरण’को सिकार बन्दै–बनाइँदै आएको नेपाल र नेपाली अझै अन्योलग्रस्त ओरालो यात्रामै मग्न रहेको यस प्रसङ्गले दर्शाउँछ ।

जुन पाटोबाट व्याख्या–विश्लेषण गर्न खोजे पनि छिमेकी भारतप्रति आग्रहपूर्ण या नकारात्मक भाव राख्नेले समेत दुई देशबीच सदियौँदेखि रहँदै आएको ‘विशेष सम्बन्ध’को अवस्थालाई अस्वीकार गर्न सक्दैनन् । अर्को शब्दमा भन्नुपर्दा नेपाल र भारतबीच अन्योन्याश्रित सम्बन्ध कायम रहेको यथार्थ जति छोप्न खोज्यो त्यति प्रकट हुने विषय बन्छ । चाहेर होस् या नचाहेर, यी दुई मुलुकको अवस्थिति र नियति नै यस्तै छ । यसैले त यी दुईबीच तुलनात्मक रूपमा ठासठुसको अवस्था पनि ज्यादा नै पैदा हुने गर्छ ।

आकार–प्रकार, अवस्था–व्यवस्थादिका कारण भारत निकै हदसम्म नेपाललाई आफ्नो अनुकूलताअनुसार ‘गाइड’ गर्न सक्ने हैसियतमा छ । यसो भन्दा न भारतले अहम् प्रदर्शन गर्नु आवश्यक छ न त नेपालले लघुताभाष प्रकट गरिरहनु नै पर्छ । छिमेकी ठूला र शक्तिशाली हुँदैमा आकारले सानो ‘नेपाल’को सार्वभौमिकता या अस्तित्व धरापमा परिहाल्ने पनि होइन । स्व-अस्तित्व रक्षाको सवाल निकै हदसम्म आफ्नै सोच, कर्म र व्यवहारमाथि आधारित रहेको हुन्छ ।

आकार–प्रकार, अवस्था–व्यवस्थादिका कारण भारत निकै हदसम्म नेपाललाई आफ्नो अनुकूलताअनुसार ‘गाइड’ गर्न सक्ने हैसियतमा छ । यसो भन्दा न भारतले अहम् प्रदर्शन गर्नु आवश्यक छ न त नेपालले लघुताभाष प्रकट गरिरहनु नै पर्छ । छिमेकी ठूला र शक्तिशाली हुँदैमा आकारले सानो ‘नेपाल’को सार्वभौमिकता या अस्तित्व धरापमा परिहाल्ने पनि होइन । स्व-अस्तित्व रक्षाको सवाल निकै हदसम्म आफ्नै सोच, कर्म र व्यवहारमाथि आधारित रहेको हुन्छ । हाम्रो (हाम्रा नेतृत्व या नेताहरूको) सोच–व्यवहार कस्तो छ, यो हामीले नै मूल्याङ्कन गर्ने, सुधार्ने या सच्चिने–सच्याउने विषय हो ।

विश्वका कुनै पनि मुलुकले आफ्नो हितलाई प्राथमिकतामा राखेर छिमेकी तथा मित्रदेशहरूसँग व्यवहार गर्छ र भारत पनि यसको अपवाद छैन । यसरी नै आफ्नो (नेपाल र नेपालीको) कल्याणको पथ पहिल्याउनु हाम्रो (नेतृत्वको) पनि कर्तव्य हुन आउँछ । परायालाई दोषी देखाएर आफ्नो कमजोरी छोप्न खोज्नु त हास्यास्पद विषय मात्र हो । शक्तिशाली छिमेकी आफ्नो छिमेकीप्रति कति सहिष्णु या असहिष्णु बनिरहेछ भनी सवाल उठाइनु निश्चय पनि सान्दर्भिक हुन आउँछ । तथापि, यो पनि आफ्नै कूटनीतिक क्षमता, स्व–सामथ्र्यअनुरूपको व्यवहारका आधारमा निक्र्योल हुने कुरा हो ।

जहाँसम्म मन्त्री स्वराजको भ्रमणलाई लिएर गरिएका टीका–टिप्पणीको सवाल छ, यी पनि हाम्रै नकारात्मक एवम् हीनभावबाट ग्रस्त रहेको स्वीकार गर्नु सान्दर्भिक हुनेछ । कतिपयले स्वराजको आगमनलाई ‘नयाँ सरकार गठन कार्यलाई प्रभावित तुल्याउने कसरत’को रूपमा व्याख्या गरे भने कैयनले ‘वाम पार्टी–एकता भाँड्न भएको भ्रमण’ भन्दै आलोचना गरे । एउटा मन्त्रीको ‘सद्भाव यात्रा’लाई कतिपयले त ‘सार्वभौमिकतामाथिकै चुनौती’ भनेरसमेत चर्चा चलाए । तर, भारतीय विदेश मन्त्रालयले चाहिँ ‘दुई देशबीचको विशेष सम्बन्धलाई अघि बढाउनेबारे विस्तृत कुराकानी भएको’ प्रस्टोक्ति दिएको छ ।

सर्सर्ती हेर्दा एमालेसँग खस्किएको सम्बन्ध सुधार ल्याउनु नै स्वराज–भ्रमणको मूल उद्देश्य हुन सक्छ, जसलाई अस्वाभाविक ठानिरहनु आवश्यक छैन । नेकपा एमालेले मन्त्री स्वराजलाई विशेष रात्रिभोज दिएर स्वागत गर्नु र ‘वेटिङ प्राइमिनिस्टर’को अवस्थामा रहेका एमाले अध्यक्ष केपी ओली र मोदी सरकारका प्रभावशाली मन्त्री स्वराजबीच झन्डै एक घन्टा अलग्गै वार्ता हुनुले भारत–एमाले सम्बन्धमा न्यानोपन आउन लागेकै रूपमा अथ्र्याउन सकिन्छ । भारतीय मन्त्रीको आगमन तथा स्वराज–ओली भेटवार्तालाई ‘दुई देशबीचको विशेष सम्बन्ध तथा आपसी हितबारे नेतृत्व तहमा छलफल भएको एक महत्वपूर्ण अवसर’को रूपमा बुझिए असान्दर्भिक ठहरिने छैन ।