एसियाली खेलकुद -श्रीविक्रम भण्डारी

एसियाली खेलकुद -श्रीविक्रम भण्डारी


[फेरि तगारो बन्दै छ सरकार]
एसियाली खेलकुद नेपालको सर्न्दर्भमा ठूलो अर्थ राख्ने प्रतियोगिता हो । ओलम्पिकपछिको दोस्रो ठूलो प्रतियोगिताको रूपमा रहेको यो प्रतियोगिता नेपालका लागि आइरनगेटको रूपमा रहेको छ । नेपालले अहिलेसम्म यो आइरनगेट तोडेर स्वर्णपदक जित्न सकेको छैन । नेपालको एसियाली खेलकुदमा प्रदर्खनको चर्चा गर्दा नाक खुम्च्याउनेभन्दा अर्को विकल्प देखिँदैन । जहिले पनि नेपाल सहभागिताभन्दा माथि उठ्न सकेको छैन । केही मार्सल आर्टस्का खेलहरूमा नेपालले एसियाली खेलकुदमा पदक जित्न सफल भए पनि अन्य खेलमा भने निरासाजनक प्रदर्खन गर्दै आएको छ । अहिलेसम्म तेक्वान्दोमा रजतपदक जित्नु नै एसियाली खेलकुदमा नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । नेपाललाई उक्त रजतपदक तेक्वान्दोकी सविता राजभण्डारीले बैंकक एसियाडमा दिलाएकी थिइन् । त्यसपछि नेपालले तीनवटा एसियाडमा प्रतिस्पर्धा गरे पनि कास्यपदकभन्दा माथि उठ्न सकेको छैन । यसरी एसियाडमा नेपालको गिर्दो प्रदर्खनप्रति सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म कानमा तेल हालेर बस्नु विडम्बनाको विषय बनेको छ ।
एसियाली खेलकुद प्रतियोगिताको सोह्रौँ संस्करण छिमेकी राष्ट्र चीनको ग्वाङझाउ सहरमा आगामी नोभेम्बरदेखि आयोजना हुँदै छ । यो प्रतियोगितामा नेपालले सहभागिता जनाउने पक्का भए पनि अहिलेसम्म तयारीको सुरसार भने गरेको छैन । जहिले पनि आयो बाघ, हान्यो फालको रणनीति अख्तियार गर्दै आएको नेपालले अहिले पनि त्यही कुरालाई अनुशरण गरिरहेको छ । समय छँदा चुप लागेर बस्ने र एक-दुई महिना बाँकी रहेको अवस्थामा खाए खा नखाए घिच् भनेर सिनो फालिदिने सरकारको गैरजिम्मेवारी हरकतले गर्दा खेलाडीले कहिल्यै सोचेअनुरूप प्रशिक्षण गर्न पाएका छैनन् । मुलुकको प्रतिष्ठा गाँसिएको महत्वपूर्ण प्रतियोगिताका लागि सरकारले गरेको अनदेखि र अनसुनीलाई हेर्दा यसपटक पनि समयमै प्रशिक्षण हुने छाँटकाँट देखिएको छैन । आखिर कसले हाँच्छ्यौँ गर्‍यो र खेलाडीहरूले प्रशिक्षण गर्न पाइरहेका छैनन् ? भन्ने प्रश्नको जवाफमा राखेपको स्पष्ट जवाफ छ, ‘आर्थिक अभाव छ, सरकारले बजेट दिएको छैन । जहिले सरकारले बजेट उपलब्ध गराउँछ, त्यसबेलादेखि प्रशिक्षण सुरु हुन्छ ।’
एसियाली खेलकुदको १६औँ संस्करण अर्थात् ग्वाङझाउ एसियाडमा राखेपले दसदेखि चौध खेललाई समावेश गर्ने योजना बनाएको छ । जसमा एघारौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने खेलसहित अन्य खेलहरूलाई समावेश गरिने भएको छ । राखेप सूत्रका अनुसार यो प्रतियोगिताको तयारीका लागि कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथलेटिक्स, सुटिङ, ब्याडमिन्टन, भारोत्तोलन, पौडी, टेबुलटेनिस, कुस्ती, जुडो, आर्चरी, गल्फ र बुद्धिचाललाई छनोट गरिएको बुझिएको छ । सम्बन्धित खेलका पदाधिकारीहरूलाई यो कुराको मौखिक जानकारी राखेपले गराए पनि अहिलेसम्म निर्णय भने गर्न सकेको छैन । गत साता नै राखेपको बोर्डबैठकले खेलहरूको सहभागिताको बारेमा निर्णय गर्ने भने तापनि अहिलेसम्म बोर्डको बैठक बस्न सकेको छैन । बोर्डको बैठकको निर्णयसँगै पहिलो चरणको प्रशिक्षण शुभारम्भ गर्ने राखेपको भनाइले कहिले र्सार्थकता पाउने हो त्यो प्रतीक्षाको विषय बनेको छ ।
१६औँ एसियाडको तयारीका सम्बन्धमा राखेपद्वारा गठित एसियाड तयारी समितिका संयोजक मीनकृष्ण महर्जनले तयारी चाँडै सुरु हुने बताएका छन् । संयोजक महर्जनले समितिले एसियाडको तयारीका लागि सरकारसँग चार करोड १७ लाख ७५ हजार माग गरेको बताए । महर्जनले पदकलाई दृष्टिगत गरी सरकारसमक्ष समयमै बजेट माग गरे पनि कहिले दिने हो त्यसको टुङ्गो नलागेको सुनाए । सरकारले चाँडै दिन्छु त भनेको छ तर कहिले दिने हो त्यसको ठेगान छैन भन्दै प्रशिक्षणका लागि तयारी ढिलो भइसकेको बताए । महर्जनले अन्तिम समयमा दिएको बजेट काम नलाग्ने भन्दै त्यसरी दिएको बजेटले खेलाडी तयार पार्न र पदक जित्न नसकिने प्रस्ट पारे । मुलुकको मान, सम्मान र प्रतिष्ठा गाँसिएको एसियाडमा सरकारले अहिल्यै दूरदर्शी भएर सोचेन भने भोलि पछुताएर केही नहुने उनले बताए । पदकको अपेक्षा गर्ने सरकारले खेलकुद र खेलाडीको वास्तविकता नबुझेको बताउँदै जबसम्म खेलकुदका बारेमा सरकार हरेक कोणबाट प्रस्ट हुँदैन तबसम्म खेलकुदले यस्तै नियति भोग्नुपर्ने बताए ।
ग्वाङझाउ एसियाड आयोजना हुन लगभग सात महिना बाँकी रहेको अवस्थामा सरकार यो प्रतियोगिताप्रति गैरजिम्मेवार रूपमा प्रस्तुत हुनु सबैका लागि चिन्ताको विषय बनेको छ । राखेपका कोषाध्यक्ष तथा एसियाड तयारी समितिका संयोजक महर्जनले यदि सरकारले भनेको समयमा बजेट उपलब्ध गराएको खण्डमा यसपटक नेपालले ऐतिहासिक नतिजा ल्याउने बताएका छन् । संयोजक महर्जनले खेलाडीलाई समयमै स्वदेशी र विदेशी प्रशिक्षण दिन सकिएमा नेपालले आउँदो एसियाडमा कम्तीमा दुई रजत, चार कास्यपदक जित्ने दाबी गरेका थिए । नेपालले स्वर्णपदक जित्न सक्तैन ? भन्ने प्रश्नमा महर्जनले स्वर्णपदक नेपालका लागि निकै टाढाको कुरा भएको बताउँदै नेपालको तार्गेट रजतपदकसम्म मात्र हो भनेका थिए । महर्जनले मार्सल आर्टस्का तीन विधा तेक्वान्दो, कराते र उसु सम्भावित पदक विजेता खेलहरू भएको बताउँदै समयमै राम्रो प्रशिक्षण पाएको खण्डमा नेपालले यी खेलमा चमत्कार देखाउने स्पष्ट पारेका थिए । नेपालले एघारौँ सागमा यी खेलहरूमा उत्कृष्ट प्रदर्खन गरेको स्मरण गराउँदै राखेपले यिनै खेललाई विशेष प्राथमिकतामा राखेको महर्जनले बताएका थिए ।
सरकारका कारणले गर्दा एसियाडको तयारीमा ढिला भएको आरोप लगाउँदै संयोजक महर्जनले सरकारको यस्तो रवैयाले खेलकुद र खेलाडी ज्यादै मारमा परेको बताए । समयमा तयारी नहुँदा ठूला पदक जित्न नसकिने दाबी गर्दै सरकारले बुद्धिमत्तापूर्वक समयमै बजेट दिएन भने एसियाडमा नेपालको सहभागिता मात्र सहभागितामा सीमित रहने बताएका थिए । एसियाडजस्तो ठूलो प्रतियोगितामा नेपालको लक्ष्य सीमित भएको र त्यसलाई भेट्टाउन समयमै तयारी गरिएन भने त्यो पनि हातबाट फुस्किने महर्जनले सुनाए । एसियाली मुलुकका उत्कृष्ट खेलाडीको सहभागिता रहने यो प्रतियोगितामा लामो र स्तरीय प्रशिक्षणबिना पदक जित्न असम्भव हुने बताउँदै सरकारले प्रतियोगिताको महत्व बुझेर समयमै बजेट उपलब्ध गराउनुपर्ने महर्जनले बताए । बजेटबिना एक कदम पनि अगाडि बढ्न नसकिने बताउँदै सरकारले समयमै बजेट दिएन भने त्यो पछि काम नलाग्ने उनको ठहर थियो ।
तर्सथ अहिले बल सरकारको कोर्टमा पुगेको छ । सरकारको निर्णयबिना कोही पनि चलमलाउने अवस्था छैन । आर्थिक अभावका कारणले योजना र कार्यक्रमहरू ठप्प रहेको अवस्थामा अब सरकारले एसियाडका लागि कहिले बजेट विनियोजन गर्छ, त्यो प्रतीक्षाको विषय बनेको छ । साँच्चै सरकार खेलकुद र खेलाडीप्रति उत्तरदायी र संवेदनशील छ भने मुलुकको प्रतिष्ठासँग गाँसिएको विषयमा छिटो निर्णय गरेर देखाउने कुरामा आमखेलप्रेमी विश्वस्त रहेका छन् । हेरौँ जहिले पनि खेलकुदलाई सौतेलो व्यवहार गर्ने सरकारले यसपटक कस्तो निर्णय गर्छ ।

कमनवेल्थ गेममा सेक्सगल्र्सको बिगबिगी-रतिश्री राणा
सन् २०१० को अक्टुबरमा भारतको राजधानी नयाँदिल्लीमा कमनवेल्थ खेलकुद प्रतियोगिताको आयोजना हुँदै छ । प्रतियोगिताको सफल आयोजनका लागि आयोजक भारत युद्धस्तरमा लागेको छ । भौतिक पूर्वाधारको विकास निर्माणदेखि अतिथिहरूको सुविधा र सुरक्षाका लागि आयोजकले विशेष व्यवस्था गरेको छ । कमनवेल्थ गेमको सफल आयोजना गरेर ओलम्पिक खेलको आयोजनाको दाबेदारी प्रस्तुत गर्ने सुरमा रहेको भारतका लागि यो प्रतियोगिता गर कि मरको अवस्थामा पुगेको छ । तर, कमनवेल्थ खेलसँगै तातेको सेक्सको बजारले भने भारतको कन्सिरी तताएको छ । यसलाई कसरी व्यवस्थापन गर्नेबारेमा अहिले भारतलाई हम्मेहम्मे परेको छ ।
कुनै पनि महादेशमा विश्वस्तरीय खेलकुदको आयोजना हुँदा सेक्सगल्र्सका लागि विशेष व्यवस्था गरिएको हुन्छ । सोहीअनुरूप कमनवेल्थ गेमलाई ध्यानमा राखेर भारतले पनि सेक्स बजार खोल्ने निर्णय गरेको छ । आयोजकले उक्त सेक्स बजारका लागि अहिलेसम्म एक लाख सेक्सगल्र्स तयार भइसकेको जनाएको छ । स्वदेशी र विदेशी सेक्सगल्र्सहरूले सेवा दिने उक्त सेक्सबजारको कारोबार कमनवेल्थ गेमको कुल खर्चभन्दा निकै बढी हुने आयोजकले दाबी गरेको छ । त्यसैले होला अहिले सेक्सबजारलाई आधुनिक र सुविधासम्पन्न बनाउन आयोजक मात्रै होइन, खुद राजनीतिक पार्टीहरू पनि खुलेर लागेका छन् ।
मुलुकको आर्थिक विकासका लागि अहम् भूमिका निभाइरहेका खेलकुद र सेक्सले यसपटक कमनवेल्थ गेममा पनि आफ्नो जलवा देखाउने प्रस्ट भइसकेको छ । राजनीतिक पार्टीकै छत्रछायामा मौलाउन पाउने खेलकुद र सेक्सका लागि अहिले पार्टीका नेताहरू खुलेर लागेपछि सुनमा सुगन्ध थपिएको छ । वास्तविक रूपमा खेलकुद र राजनीति एक नदीका दुई किनारा हुन्भन्दा फरक नपर्ला । तर, यस्ता विश्वस्तरीय खेलकुद प्रतियोगितामा खेलकुद र सेक्सको सामीप्य दिनप्रतिदिन बढ्दै गएपछि राजनीतिक पार्टीका नेताहरूले पनि यसप्रति सकारात्मक सोच राखेका हुन् । अहिले सेक्सबजारको समर्थनमा एकै साथ कदम अगाडि बढाइरहेका राजनीतिक पार्टीका नेताहरू भन्न थालेका छन्, ‘सेक्सगल्र्सको उपस्थितिबिना कमनवेल्थ गेम सफल हँुदैन । सेक्सगल्र्सको उपस्थितिले नै प्रतियोगितामा चारचाँद लाग्ने भएकोले जतिसक्दो बढी स्वदेशी र विदेशी गल्र्स भित्र्याउनुपर्ने बताएका छन् ।
केही भुक्तभोगी खेलाडी र पदाधिकारीहरूले सेक्सबजारलाई मर्यादित बनाउनुपर्ने स्पष्ट धारणा राखेका छन् । उनीहरूले सिड्नी ओलम्पिक र एथेन्स ओलम्पिकको उदाहरण दिँदै मर्यादित सेक्स र अमर्यादित सेक्सका लागि छुट्टाछुट्टै कानुन बनाउनुपर्ने बताएका छन् । सिड्नी र एथेन्समा सेक्सलाई मर्यादित र कानुनको घेरामा बाँध्न आयोजकहरूले लाखौं कण्डम र सुरक्षित यौनबजारको व्यवस्था गरेको खुलासा गर्दै कमलवेल्थ गेमका पदाधिकारीहरूले यस्तै रणनीति अख्तियार गर्नुपर्ने कुरामा जोड दिएका छन् । कारणवश यसो गर्न नसके राजधानी दिल्ली ठूलो बिरामीको सिकार हुनेे चेतावनी पनि दिएका छन् । उनीहरूले यसको प्रत्यक्ष प्रभाव युवाहरूमा नकारात्मक पर्ने भएकोले सेक्सबजार खोल्दा आम्दानीलाई मात्र ध्यान नदिई व्यवस्थित र आधुनिक तरिकाले सञ्चालन गर्नुपर्ने राय व्यक्त गरेका छन् ।
कमनवेल्थ गेममा सेक्सबजार खुल्ने भएपछि यो बजारसँग सम्बन्धित व्यक्तिहरूले आ-आफ्नो तयारी सुरु गरिसकेका छन् । एक अन्तर्राष्ट्रिय एनजीओले केही समय पहिले गरेको सर्वेक्षणअनुसार विभिन्न देशका सेक्सगल्र्स भारतमा घुसपैठ गर्न लागेको बताएको छ । जसमा काजिकिस्तान, उज्वेकिस्तान, किर्गिस्तान, तर्ुर्केमेनिस्तान, थाइल्यान्ड, रुस, बंगलादेश र नेपालका सेक्स वर्कस्को नाम पनि समावेश गरिएको छ । वर्तमान अवस्थामा सेक्सगल्र्सहरूको माग अझै रहेकोले आयोजकले भारतीय कारोबारीमार्फत विदेशी सेक्स वर्कस् भित्र्याउने जनाएको छ । जसमा युरोपेली, अमेरिकन र अफि्रकीहरू पनि परेका छन् । अहिले भारतका विभिन्न साना-ठूला सहरमा सेक्स गल्र्सको चयन प्रक्रिया गोप्य रूपमा चलेको त्यहाँको पुलिसले जानकारी गराएको छ । पुलिसहरूले आफ्नो अथक प्रयासका बाबजुद पनि रोकथाम गर्न नसकिएको भन्दै कमनवेल्थ गेमका दौरान उनीहरूमाथि कडा निगरानी राखिने बताएको छ ।
कमलवेल्थ गेममा सेक्सको बजार निकै चर्चित र आकरि्षत हुने बताउँदै आयोजक समितिका पदाधिकारीले समयमै उचित व्यवस्था गरिनुपर्ने बताए । अन्यथा दिल्ली सहरलगायत लाखौं युवा र धार्मिक र सामाजिक संस्कारमा यसले नकारात्मक असर पार्ने स्पष्ट पारेका छन् । एक अन्य पदाधिकारीले वास्तविकतालाई आत्मसात् गर्नुपर्ने र अगाडि आएर समस्याको समाधान गर्नुपर्ने बताएका छन् । आँटिसपछि नानाथरीका कुरा गर्नुभन्दा विश्वकप आयोजक दक्षिण अफि्रका र ओलम्पिक आयोजक बेलायतको सिको गर्दा भारतलाई फाइदा पुग्ने धारणा राखेका छन् ।

मार्टिना स्तनक्यान्सरको सिकार

महान् महिला टेनिस खेलाडी मार्टिना नाभ्रातिलोभालाई स्तनक्यान्सर भएको छ । ५३ वर्षीया मार्टिनाले हालै आफूलाई स्तनक्यान्सर भएको थाहा पाएकी हुन् । बायाँस्तनमा एक्कासि गाँठाहरू देखिएपछि जाँच गराउँदा उनलाई डाक्टरहरूले स्तनक्यान्सर भएको बताएका थिए । आफू स्तनक्यान्सरको सिकार भएको थाहा पाएपछि मार्टिना बच्चाझैं रोएकी थिइन् । मार्टिनाले आफूलाई यो बिरामले निकै चिन्तित बनाएको बताउँदै अमेरिकाको वर्ल्ड टे्रड सेन्टरमा भएको हमलापछि आफ्ना परिवार गुमाएका मानिसझैं भएको खुलासा गरेकी छिन् । गत महिना मार्टिनालाई स्तनक्यान्सर भएको पत्ता लागेपछि उक्त क्यान्सरलाई बढ्न नदिन डाक्टरले अप्रेसन गरेका थिए । अप्रेसन सफल रहे पनि भावनात्मक रूपमा मार्टिना निकै कमजोर देखिएकी छिन् । उनले अहिले आफू पूर्णरूपमा स्वस्थ रहेको जानकारी गराउँदै यो निकै खतरनाक रोग भएको बताएकी छिन् ।
नौपटक विम्बल्डनको एकल उपाधि र अठारपटक ग्य्रान्डस्लाम उपाधि जितेर मार्टिनाले विश्वटेनिस जगत्मा कीर्तिमान कायम गरेकी थिइन् । कीर्तिमानी खेलाडी मार्टिनाले अहिले आफू स्वस्थ रहेको बताउँदै स्तनक्यान्सरको बारेमा पहिलोपटक थाहा पाउँदा मानसिक सन्तुलन गुमाएको बताएकी छिन् । मार्टिनाले स्तनक्यान्सरपछि आफ्नो स्तनको आकार घटेको अर्थात् सानो भएको खुलासा गरेकी छिन् । साथै उनले अहिले आफ्नो कपाल क्रमिक रूपले झर्दै गएको बताएकी छिन । पूर्व विश्वनम्बर एक खेलाडी मार्टिनाले पहिले आफूलाई लागेको रोगलाई लुकाउने प्रयास गरे पनि पछि सम्पूर्ण महिलाको हितका लागि उनले आफूलाई स्तनक्याक्सर भएको कुरा सार्वजनिक गरेकी थिइन् । आफूजस्तै हजारौं स्तनक्यान्सर भएका महिलालाई यो रोगबाट बचाउन सहयोगी हुने निष्कर्ष निकाल्दै उनले यस्तो निर्णय गरेकी थिइन् । मार्टिनाले स्तनक्यान्सरबाट पीडित महिलाले यो रोगलाई समयमै उपचार गरेको खण्डमा निको हुनेसमेत दाबी गरेकी छिन् ।
टेनिसको शीर्षस्थानमा रहँदा नै आफू समलिङ्गी भएको कुरा सार्वजनिक गरेर मार्टिना निकै चर्चामा आएकी थिइन् । तत्कालीन समयमा उनको यो हरकतको सर्वस्त्र विरोध भए पनि समलिङ्गीहरूको विश्व सङ्गठनले भने उनको खुलेर प्रशंसा गरेका थिए । उक्त सङ्गठनले मार्टिनालाई साहसिक महिलाको संज्ञा दिँदै उनको घोषणाले समलिङ्गीहरूको आत्मविश्वास बढेको बताएका थिए । अहिले आफूलाई स्तनक्यान्सर भएको कुराको पनि मार्टिनाले सार्वजनिक गरेर आफू स्पष्टवादी महिला भएको प्रमाणित गरेकी छिन् । मार्टिना स्तनक्यान्सरको सिकार भएपछि अहिले विश्व खेलजगत् स्तब्ध हुनुको साथै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरिरहेको छ ।

रोडिककी पत्नी ‘टु पिस’ पोजमा
चर्चित अमेरिकी टेनिस खेलाडी एन्डी रोडिककी पत्नी ब्रुकलिन डेकरले एउटा स्पोर्टस् म्यागजिनको आवरण पेजमा दिएको स्वीमसुटको फोटोले अहिले ग्ल्यामर क्षेत्रमा निकै सनसनी फैलाएको छ । पहेँलो रंगको उक्त टु पिसमा डेकर निकै आकर्षक देखिएकी छिन् । पेसाले व्यावसायिक मोडेल भए पनि खेलकुदप्रतिको रुचिका कारण डेकरले उक्त प्रस्ताव स्वीकारेको बताएकी छिन् । स्पोर्टस् म्यागजिनको आवरण पेजमा आफ्नो फोटो प्रकाशित भएपछि निकै प्रसन्न मुद्रामा देखिएकी डेकरले लामो समयदेखिको आफ्नो चाहना पूरा भएको बताएकी छिन् । यसअघि पनि डेकरले चारपटक स्वीमसुटमा पोज दिए पनि खासै चर्चा भएको थिएन । यसपटक उनको फोटोलाई निकै गोप्यताका साथ राखिएको थियो । खुद डेकरलाई समेत आफ्नो कस्तो किसिमको फोटो आउँदै छ भन्ने जानकारी थिएन । पत्रिका सार्वजनिक भएपछि मात्र उनले आफ्नो फोटोबारेमा थाहा पाएकी थिइन् । खेलकुदको निकै प्रशंसक रहेको दाबी गर्ने डेकरले किशोर अवस्थामा बाधादौड र फुटबल खेलेको बताएकी छिन् । डेकरको चर्चा एक्कासि चुलिएपछि अहिले उनको फिगर र फिटनेसको बारेमा निकै खोजी हुन थालेको छ । तस्बिरमा निकै कामुक देखिएकी डेकरले आफ्नो लोभलाग्दो शरीरमा कुनै गोप्यता नभएको प्रस्ट पार्दै यो सबै सन्तुलित आहारको परिणाम भएको बताइन् ।