ओलम्पिक खेलाडीमाथि यौनशोषण

ओलम्पिक खेलाडीमाथि यौनशोषण


खेलकुदभित्र कति घिनौला खेल हुन्छन्, त्यसको पर्दाफास हालै अमेरिका भएको छ । अझ अमेरिकाजस्तो विकसित देशका महिला खेलाडीसमेत यस्तो यातनाबाट पीडित भएका छन् भन्ने कुरालाई यो घटनाले लालमोहर लगाएको छ । खेलकुदमा लाग्ने महिला खेलाडी विश्वका जुनसुकै देशको भए पनि सुरक्षित छैनन् भन्ने कुरालाई यो घटनाले प्रमाणित गरेको छ । यतिबेला महिला खेलाडीले न्याय पाए पनि त्यतिबेला उनीहरूले भोगेको यौनशोषणको पीडा कुनै डरलाग्दो सपनाभन्दा कम छैन । एउटा उत्कृष्ट खेलाडी भएर पनि खेलकुदका पदाधिकारीहरूसँग गर्नुपर्ने हरेक किसिमका सम्झौताको यथार्थपरक सत्यतालाई यो घटनाले छताछुल्ल पारेको छ । जसले खेलकुदको मान, सम्मान र प्रतिष्ठामाथि यतिबेला ठूलो प्रश्न खडा गरिदिएको छ । के खेलकुद यौनपिपासुहरूको क्रीडास्थल हो भनेर ।

अमेरिकी ओलम्पिक जिम्न्यास्टिक टिमका पूर्वडाक्टर ल्यारी नास्सारलाई तत्कालीन समयमा ओलम्पिक खेलाडीमाथि यौनशोषण गरेको आरोप लागेको थियो । ल्यारीको यौनशोषणको विरुद्धमा निवेदन दर्ता गर्ने र बयान दिनेमा चारपटककी ओलम्पिक च्याम्पियन सिमोन वाइल्ससमेत थिइन् । सिमोनले आफ्नो बयानको क्रममा ल्यारीले आफ्नो यौनशोषण गरेको खुलासा गर्दै ल्यारी डाक्टरको नाममा यौनपिपासु भएको कुरा सार्वजनिक गरेकी थिइन् । ल्यारीको यौनशोषणको आरोप लागेपछि पछिल्लो केही सातादेखि पीडितहरूले अदालतमा बयान दिएका थिए । पीडित सबैले ल्यारीले आफूमाथि यौनशोषण गरेको बयान दिएका थिए । आश्चर्यको कुरा के थियो भने पीडितहरूको बयान एउटै थियो ।

जिम्न्यास्टिकमा अमेरिकालाई चारपटक ओलम्पिक स्वर्ण पदक दिलाएकी चर्चित खेलाडी सिमोन वाइल्सले त्यो समय निकै भयानक, भयभीत र सन्त्रासपूर्ण भएको बताएकी छिन् । यतिबेला आफू त्यो घटनाबारे कुनै व्याख्या नगर्ने ट्विटमा लेखेकी छिन् । त्यसलाई आफूले दुस्वप्नको रूपमा बिर्सिएको बताउँदै सिमोनले अहिले आफू मानसिक रूपमा पनि निकै शक्तिशाली भएको बताएकी छिन् । त्यस्तै, ल्यारीको विरुद्धमा बयान दिएका अन्य महिलाले पनि सिमोनको बयानलाई नै प्राथमिकतामा राख्दै ल्यारीले आफूलाई यौनशोषण गरेको बताएपछि ल्यारी कानुनी रूपमा दोषी ठहरिएका थिए ।

एक सातासम्म पीडित महिलाहरूसँग बयान लिएपछि न्यायाधीश रोजम्यारी अकिलिनाले फैसला सुनाएकी थिइन् । अकिलिनाले १ सय ६० जना पीडित महिलासँग बयान लिएपछि फैसला सुनाएकी हुन् । फैसलामा ल्यारीलाई यौन उत्पीडनको आरोपमा १ सय ७५ वर्षको जेल सजाय सुनाएकी थिइन् । फैसला सुनाएपछि न्यायाधीश अकिलिनाले ल्यारीमाथि निकै कडा रूपमा प्रस्तुत हुँदै पीडित महिलाको सम्मानका लागि पनि उनले जेल बस्नुपर्ने बताएकी थिइन् ।
फैसला सुनाउनअघि ५४ वर्षीय ल्यारीले आफूले गरेको यौनशोषणको मामिलामा माफी माग्ने कोसिस गरे पनि न्यायाधीश अकिलिनाले त्यसलाई अस्वीकार गर्दै बाँकी जीवन जेलमा बिताउन भनेकी थिइन् । ल्यारीलाई अन्तिम समयमा पनि आफ्ना भनाइ राख्न दिइएकोमा उनले आफूलाई अहिले निकै पश्चात्ताप भइरहेको बताएका थिए ।