अन्तर्राष्ट्रिय बक्सिङमा पुनमलाई कास्य

अन्तर्राष्ट्रिय बक्सिङमा पुनमलाई कास्य


भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले काँस्य पदक जितेकी छिन् । महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले नेपाललाई कास्य पदक दिलाएकी हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भएको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी हुन् । पुनमले ताजिकिस्तानकी इडीमोखमाथि ५–० को जित निकालेकी थिइन् । अब पुनमले सेमिफाइनलमा भारतीय खेलाडीसँग प्रतिपर्धा गर्ने छिन् । उक्त खेलमा पराजित भएपनि पुनमले कास्य पदक प्राप्त गर्ने छिन् ।

पुनमको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । पुनमले दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई पदक दिलाएकी हुन् । जितपछि पुनमले नेपाललाई पदक दिलाउन पाउदा गर्व लागेको बताईन् । उनले भनिन् निकै खुशी छु । नेपालको लागि पदक जित्न पाउदा, अब नेपालको लागि स्वर्ण जित्ने योजनामा छ ।

प्रतियोगितामा पुनमले जितेको यो पदक नेपालको यो दोस्रो पदक हो । यसअघि नेपालकी विमला श्रेष्ठले कास्य पदक पक्का गरेकी छिन् । अर्को क्वाटरफाइनल खेलमा भने नेपालकी सरस्वती राना मगर पराजित भएकी छिन् । मिडल ७५ केजी तौल समूहकी सरस्वती भारतीय खेलाडी स्विटी बूरासँग अंकको आधारमा ५ – ० ले पराजित भईन ।

प्रतियोगितामा नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । पुरुषतर्फ मनोहर बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घलेले आज बुधवार प्रतिस्पर्धा गर्दैछन् । पुरुषतर्फको खेल बेलुका ६ बजेपछि हुने आयोजकले जनाएको छ ।