दुईबर्षअघि लागेको प्रतिबन्धन फुकुवा हुने संकेत

दुईबर्षअघि लागेको प्रतिबन्धन फुकुवा हुने संकेत


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले दुई वर्षअघि नेपाली क्रिकेटलाई गरेको निलम्बन फुकुबा हुने संकेत देखिएको छ ।

आईसीसी प्रतिनिधिमण्डलसँगको हालै बसेको नेपाली प्रतिनिधिको बैठकपछि नेपाली क्रिकेटलाई लगाइएको विवाद फुकुवा हुने संकेत देखिएको हो । आईसीसी प्रतिनिधिसँगको बैठकमा सरोकारवालाहरू विवादका विषयमा केहि लचिलो बनेका छन् ।

आईसीसीसँगको बैठकपछि राष्ट्रिय खेलकुद परिषद्ले आधिकारिक धारणा राख्दै गरेको पत्रकार सम्मेलनमा सबै पक्ष लचिलो देखिएकाले नेपाली क्रिकेटले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।

आईसीसीले विधान पुनः संशोधन गरेर पाँच सदस्यीय अनुगमन समिति गठन गर्ने भएको छ । अहिलेको निर्वाचित क्यानले विधान पारित गरेपछि यो समिति स्थापित हुनेछ । जसले चार महिना भित्रमा क्यानको जिल्ला निर्वाचनको अनुगमन गर्ने र बैधानिक रुपमा भए–नभएको पत्ता लगाउनेछ ।

यो कमिटीमा तीन जना आईसीसीबाट, एक÷एक जना सल्लाहकार समिति र क्यानबाट बस्नेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले यसअघि जे भए पनि अब सच्चिएर नगए आईसीसीका साथै आफूले पनि कडा कदम चाल्ने बताए ।

यस्तै सल्लाकार समितिका संयोजक विनयराज पाण्डेले आइसीसीले उठाएका चासोहरु सम्बोधन गरिएको र अब पनि सहमती अनुसार नगए आईसीसीले कुनै पहल नगर्ने स्पष्ट पारे । निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्नु आफूहरुको मुख्य योजना रहेको भन्दै सबै बाधा अड्चनलाई पछि पार्दै काम गर्ने बताए ।

अनुगमन समितिमा को–को रहने भन्ने तय भइसकेको छैन् । यसका साथै अनुगमन समितिको समयतालिका पनि अझै आइसकेको छैन ।