अन्तरकर्मचारी राष्ट्रिय खेलकुदमा तीन खेल

अन्तरकर्मचारी राष्ट्रिय खेलकुदमा तीन खेल


सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपालको आयोजनामा ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता– क्यान कपमा तीन खेलमा प्रतिस्पर्धा हुने भएको छ । क्यान कपमा टेबलटेनिस, ब्याडमिन्ट र फुटसलमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी गराए ।

प्रतियोगिताअन्तर्गत तीनदिने टेबलटेनिस सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । पुरुष सिंगल्स र डबल्स, ४५ वर्षमाथि भेट्रान पुरुष डबल्स र महिला डबल्समा प्रतिस्पर्धा हुनेछ । माघ १७ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने ब्याडमिन्टनमा पनि टेबलटेनिस मै समावेश स्पर्धामा प्रतिस्पर्धा हुनेछ । टेबलटेनिस र ब्याडमिन्टनको कुल पुरस्कार राशी पनि समान रहेको छ ।

दुवै खेलमा चारै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगदबाट पुरस्कृत गरिने छ । कुल पुरस्कार राशी समान ५४–५४ हजार रुपैयाँ रहेको आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।

त्यस्तै २३ पुरुष टिम सहभागी हुने फुटसल माघ १७ र १८ गते बानेश्वर फुटसल रिक्रिएसन सेन्टरमा हुनेछ । विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा विभिन्न २३ संस्थाबाट २६५ प्रतिस्पर्धी सहभागी हुनेछन् । आयोजकले जनाए अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख २२ हजार रुपैयाँ खर्च हुनेछ ।