उपाध्यक्ष र सदस्यसचिव हटाउन दबाब

उपाध्यक्ष र सदस्यसचिव हटाउन दबाब


युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले अन्तिम समयमा कुनै पनि विवादास्पद निर्णय नगर्ने बताएका छन् । माघ १३ गते अमेरिका प्रस्थान गर्नुअघि मन्त्री केसीले यस्तो बताएका हुन् ।

एमाले र कङ्ंग्रेसका केही कर्ताकर्ताले मन्त्री केसीलाई भेटेर खेलकुदमा आमुल परिवर्तन गर्नुपर्ने र त्यसको लागि उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्यसचिव केशवकुमार विष्टसमेत हटाउनुपर्ने प्रस्ताव राखेको मन्त्रालय स्रोत बताउँछ ।

प्रत्युत्तरमा मन्त्री केसीले आफूले कुनै पनि गैरकानुनी कार्य नगर्ने भन्दै कानुनी कार्य पनि प्रक्रियागत र नियम–कानुनसम्मत मात्रै गर्ने बताएका बुझिएको छ ।
प्राप्त जानकारीका अनुसार एमालेका पूर्वखेलकुद पदाधिकारीहरू यतिबेला गुटबन्दीको राजनीतिमा सक्रिय रहेका छन् । उनीहरूले यसका लागि काङ्ग्रेसका केही खेलकुद पदाधिकारीलाई समेत हात लिएको बुझिन्छ ।

विगतमा खेलकुदमा हालीमुहाली गर्दै आएका र अहिले पनि ¥याल चुहाउँदै आएका यी पदाधिकारीले उपाध्यक्ष लामा र सदस्यसचिव विष्टलाई हटाउनका लागि मन्त्री केसीलाई दबाब दिइरहेका स्रोतको दाबी छ ।

केही दिनमै वाम गठबन्धनको सरकार बन्न लागेको अवस्थामा मन्त्री केसीलाई दुरुपयोग गर्ने तानाबाना बुनिए पनि केसीले कानुनी जटिलताको हवाला दिँदै आफु त्यस्तो कुनै कार्य गर्न तयार नरहेको बताएपछि उनीहरू मन्त्रीसँग पनि आक्रोशित बनेको बुझिएको छ ।

मौकामा चौका हानी सदस्यसचिव बन्ने दाउमा एमालेकै पूर्वपदाधिकारीहरू बढी सक्रिय भएर लागेका छन् । ती पदाधिकारीले उपाध्यक्ष लामा र सदस्यसचिव बिष्टलाई तत्काल हटाउनुपर्ने भन्दै केसीको कान फुक्दै आएको स्रोतले बताएको छ ।

यतिबेला एमालेका पूर्वखेलकुद पदाधिकारी एमालेकै खेलकुद पदाधिकारीका विरुद्धमा उत्रिनुले उनीहरूको कुर्सीमोहलाई प्रस्ट पारेको छ । अन्यथा मात्र चार महिना बाँकी रहेका लामा र डेढ वर्ष बाँकी रहेका विष्टलाई हटाउन उनीहरूले यस्तो चलखेल कदापि गर्ने थिएनन् । सिंहदरबारदेखि पुल्चोकसम्म धाउने उनीहरू को होलान् त्यो सोझै अनुृमान लगाउन सकिन्छ । उनीहरूको हर्कतबाट लामा र विष्ट राम्रोसँग परिचित छन् ।

प्राप्त जानकारीका अनुसार ती पदाधिकारीहरू यतिबेला काङ्ग्रेसीलाई कार्यकारी सदस्यसचिव बनाउन मन्त्री केसीलाई सुझाइराखेका छन् । केसीले आफुले कुनै गैरकानुनी कार्य नगर्ने भन्दा समेत उनीहरूले तपाईं हटाई मात्र दिनोस्, बाँकी काम हामी गरिहाल्छौँ भन्दै आएका छन् । यसको लागि उनीहरूले एमालेका एक चर्चित युवा नेतालाई समेत हातमा लिएर मन्त्री केसीलाई फोन गर्न लगाएको स्रोत बताउँछ ।