ताजमनियामा बृहत शैक्षिक मेला : सागर, सुरज र केन्जलले स्टेज तताउने

ताजमनियामा बृहत शैक्षिक मेला : सागर, सुरज र केन्जलले स्टेज तताउने


राजन घिमिरे, सिड्नी

अष्ट्रेलियाको ताजमनियामा केही समययता आएर नेपालीहरुको उपस्थिति बढ्न थालेको छ । विशेष गरेर विद्यार्थीहरु बाक्लिँदै जाँदा यहाँको चहलपहलले पनि चर्चा पाउन थालेको हो । त्यसमा पनि अंग्रेजी भाषापछि बढी बोलिने भाषा नेपाली रहेको तथ्यांकले पनि विद्यार्थीहरू ताजमानियातिर आकर्षित हुन थालेका छन् ।

यही ताजमानियामा पहिलोपटक वृहत शैक्षिक मेला एवम् विभिन्न कार्यक्रमहरूको आयोजना हुने भएको छ । ‘शैक्षिक मेला त पहिलोपटक नै हो । शैक्षिक मेलासँगै हामी वेलकम २०१८ मेघा लाईभ कन्सर्ट पनि गर्दै छौँ ।’कार्यक्रम आयोजक ताज इभेन्टका छत्र थापाले जानकारी गराए ।

‘आगामी शनिबार जनवरी २७ तारेखका दिन आयोजना हुन लागेको कार्यक्रममा दिउँसने शैक्षिक मेला एवम् परामर्श कार्यक्रम हुने छ भने साँझ नेपाल आइडियलका तीन चर्चित स्वरहरू सागर आले, सुरज थापा र केन्जलमेहर श्रेष्ठको सांगितिक प्रस्तुतिले ताजमानियाको होबाट सिटी हल तताउने छ र कार्यक्रमकै दिन सुरज थापा, सागर आले र राहुल विश्वासको आवाज रहेको गीतको भिडियो पनि सार्वजनिक गर्ने छौँ ।’ निकै उत्साहित हुँदै छत्रले थपे- ‘यो भिडियोमा लामो समयदेखि ताजमानियामा बस्दै आएकी मोडल नर्वदा थापाले मोडलिङ गरेकी छिन् ।’

विगत ७ बर्षदेखि अष्ट्रेलियाको ताजमनियामा बस्दै आएका छत्र नेपाली सांगितिक कार्यक्रम र नेपाली चलचित्रको प्रदर्शनमा लामो समयदेखि लाग्दै आएका छन् । ‘अब मनोरन्जनका साथै शैक्षिक क्षेत्रमा पनि लाग्ने सोचले अघि बढ्दैछुु’, छत्रले शैक्षिक मेलाका बारेमा भने, ‘ताजमनियामा कसरी पिआर पाईन्छ ? कुन कलेज राम्रो हो या कलेजहरूको अबस्था के छ भन्ने जस्ता विद्यार्थीका लागि जानकारीमूलक सामग्री उपलब्ध हुने छ यो मेलामा ।’ उनले मेलामा विद्यार्थीहरू, रोजगारदाता र कलेज सञ्चालकहरुको सहभागिता हुने बताए । सोही दिन ताजमानियामा पहिलोपटक नेपालीहरूले प्रकाशित गरेको प्रदीप ढुंगानाको सम्पादनमा तयार भएको द एभरेष्ट म्यागजिनको पनि लोकार्पण गरिने भएको छ भने कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन डिजेहरूको पनि ब्यवस्था गरिएको बताइन्छ ।