स्टेजमै देखाइदिइन् रेजिनाले -राजन घिमिरे

स्टेजमै देखाइदिइन् रेजिनाले -राजन घिमिरे


‘उमेर सानो, उचाइ पनि सानो र शरीर पनि सानो । अनि यस्तीले के गर्लिन् एक्सन रोल ।’ यो आरोप हो नायिका रेजिना उप्रेतीलाई ।
आफूमाथि आएका यस्ता आरोपको भने रेजिनाले खेलेर नै खण्डन गरि्छन् । ‘उहाँहरूले भनेको कुरा सही नै होला । तर, मेरो मन भने सधैं उचो नै हुन्छ उहाँहरूप्रति,’ रेजिनाले भनिन् । आफ्नो अभियन-क्षमता, कला र दक्षताका बारेमा बजारमा चलेका ‘हौवा’ हरूलाई चुनौती दिँदै रेजिनाले प्रदर्शन भइरहेको चलचित्र ‘चिनो’मा प्रस्तुत गरेको ‘एक्सन’ भूमिकाले यतिबेला दर्शकहरूमाझ ‘वाहवाही’ कमाएपछि उनको विरोध गर्नेहरूको मुख थुनिएको छ भने समूह बनेर कुरा काट्नेहरूलाई पनि रेजिनाले चलचित्र चिनोमार्फत गतिलै झापड हानेकी छिन् । ‘केही गरी चलचित्र चिनो नचलेको भए मेरा लागि जीवनकै दुर्भाग्यपूर्ण दिन हुन्थ्यो यो । मेरो कुरा काट्नेहरू झनै जुर्मुराउँथे भने मलाई बसिखप्न दिँदैनथे, तर दर्शकहरूको साथ पाइयो,’ रेजिना निकै दङ्ग छिन् र उनी धन्यवाद दिन्छिन् दर्शकहरूलाई ।
चलचित्र चिनोलाई सशक्त बनाउन रेजिनाले कुनै कसुर बाँकी राखिनन् । घोडचढी, स्विमिङदेखि फाइटजस्ता जोखिमपूर्ण कुराले लामै प्रशिक्षण लिइन् यिनले । ‘मैले कति मिहिनेत गरेकी छु, मलाई थाहा छ । तर, यहाँ मिहिनेत, त्याग र कर्मको मूल्याङ्कन नै छैन । त्यसो त, आज मेरो मिहिनेतले र्सार्थक रूप पाएकोमा अत्यन्तै खुसी लागेको छ,’ उनी भन्छिन् ।
चलचित्र चिनोमा रेजिनाले प्रस्तुत गरेको एक्सनका दृश्य जब टेलिभिजनको पर्दामा आए त्यतिबेला पनि उनको यो क्षमतालाई लिएर प्रश्न उठाउनेहरूले भने, ‘त्यो त रेजिनाले गरेकै होइन । एनिमेसन गरिएको दृश्य हुन् यी ।’ आफ्नो मिहिनेतविरुद्धमा यस्ता आवाज सुनिन थालेपछि थुप्रै मिडियाहरूसमक्ष नै रेजिनाले आफ्ना एक्सनहरू प्रस्तुत गरेकी थिइन्, ‘आफूलाई सही प्रमाणित गर्न मैले धेरैपटक उदाहरण प्रस्तुत गर्नुपरेको छ । नयाँ काम र दक्षता उजागर गर्न यहाँ साहै्र गाह्रो मात्र छैन, विश्वास दिलाउन पनि हम्मे पर्छ,’ यस्तो अनुभव सुनाइन् रेजिनाले ।

जियाको क्यारियरमालाग्दै छ खिया
कसैलाई खातका खात कसैको रित्तो हात अनि कसलाई भ्याइनभ्याई छ भने कोही आफूलाई अरूको माझ चिनाउनु अनि प्रचारप्रसार गर्न कुनै पनि चलचित्रसम्बन्धी समारोह छुटाउँदैनन् ।
माथिको यो प्रसङ्ग मेल खान्छ जिया केसीसँग । हुन त उनलाई नायिका नै भनिन्छ चलचित्र रिलिज नभए तापनि । पहिला उनको नाम थियो जानकी । त्यसपछि उनी फेरिइन् जानी भएर र, अहिले उनी भएकी छिन् जिया । जतिपटक नाम फेरे तापनि उनले अभिनय गरेको दुईवटा चलचित्र भने लापत्ताको अवस्थामा छन् । आफूले अभिनय गरेको चलचित्र रिलिज नहुँदा जियाको मनमा निकै ठूलो चोट परेको हुनुपर्छ । त्यसो त चलचित्रसम्बन्धी समारोहमा उनको उपस्थिति देख्दा लाग्छ उनी नम्बर वान नायिका नै हुन् । ‘निकै चुुरिफुरी छ नि यिनको, यिनी को हुन् -‘ जियाको व्यवहारबाट उब्जिने यस्ता प्रश्नलाई जवाफ दिनका लागि फिल्म रिलिज नहुँदा निकै मारमा परेकी जियाले अभिनय गरेको ‘हो यही त मायो हो’ र … यतिबेला कुन कुनामा के गरेर बसेकी छ अनभिज्ञ छिन् । कसरी आफूले अभिनय गरेका चलचित्र कुनामा सडेर बस्दा आफ्नो कलाकारितामा नै खिया लाग्ने त होइन – निकै चिन्तित छिन् उनी । यता रिलिज चाँडो हुने सिनेमाबाट अफर आउँदा पनि आफूलाई निकै व्यस्त देखाउँदै ‘सोच्नुपर्छ’ भनेर गफ दिने रोगका कारण पनि जियाबाट चलचित्र निर्माता भाग्न थालेका छन् । एउटा पनि सिनेमा रिलिज नभएकी युवतीको चुरिफुरी साँच्चिकै विशुद्ध रूपमा सिनेमा कर्ममा लागेकाहरूका लागि त असह्य नै हुन्छ ।
सिनेमा कर्मको थोरै मान्यतालाई पनि अङ्गीकार गरेको देखिँदैन जियाले । जसले सिनेमाको पर्दामा उभिन उनलाई सहयोग गर्‍यो त्यसलाई पनि ‘वाइकट’ गरेर अगाडि बढ्न खोज्ने नीति नै जियाका लागि घातक बनेको छ । ‘हो यही त माया हो’ नामक चलचित्रमा अवसर पाएकी जियाको अन्ततः अहिले त्यसै चलचित्रका निर्देशक दीपक श्रेष्ठसँग सम्बन्ध चिसिएको छ । कसलाई नजिक राख्नुपर्छ अनि कसलाई टाढा राख्नुपर्छ भन्ने थोरै हेक्का मात्र नभएकी जानकी उर्फजियाले नायिकाहरूको भीडमा आफ्ना गरिमामय र दह्रो उपस्थितिका लागि अपनाउनुपर्ने ‘आइडिया’को खोजी भने गर्नैपर्छ । यी कुरा त उनले आफ्नै सहपाठी अर्की नायिका युना उप्रेतीसँग सिक्दा पनि हुन्छ कि आज युनालाई भ्याइ-नभ्याई छ भने कुनै समय एउटै कोठामा एउटै भान्छामा बाँडेर खाना खाने जिया भने भौंतारिरहेकी छिन् । यस्तै छ यहाँ ।

झल्लु निर्देशकको ‘हरिबिजोक’
पूरा युनिटलाई सम्हालेर अगाडि बढ्नुपर्ने चलचित्रका निर्देशकलाई नै अन्ततः युनिटका अन्य सदस्यहरूले सम्हाल्नुपर्‍यो भने त्यतिबेलाको अवस्था के होला – यस्तै हरिबिजोक देखियो गत साता एउटा सिनेमाको शुभसाइत समारोहमा ।
सिनेमाको नाम हो डेस्टिनेसन काठमाडौं, अनि निर्देशक हुन्- दीपक रायमाझी । निकै होहल्ला र तमकझमकका साथ यो सिनेमाको ओपनिङ गरियो तर शुभसाइत समारोहमा अगुवा अर्थात् निर्देशक नै देखिएनन् । सबैले प्रश्न गरे- ‘निर्देशक खोइ त -‘ जवाफ आयो, ‘उहाँ अस्वस्थ हुनुहुन्छ ।’ अघिल्लो दिनसम्म ठाँटिएर हिँड्ने दीपक रायमाझीलाई आफ्नो सिनेमाकै शुभसाइत समारोहका दिन बिरामी हुनुपर्ने त्यो घटना पनि असत्य रहेछ । कार्यक्रम सुचारु रूपले अगाडि बढिरहेको थियो- एक्कासि निर्देशक रायमाझी मदिराबाट निकै झल्लु भएर पो कार्यक्रममा देखापरे । निर्देशकको यो अवस्था देखेपछि अघि नै बिरामी परेका निर्देशक कसरी स्वस्थ भए तुरुन्त – त्यो पनि मदिराबाट लट्ठ भएर हिँड्नै नसक्ने अवस्थामा – सबै अचम्ममा परे- ‘म बिरामी भएको होइन, मेरो बुबा बिरामी,’ निर्देशक रायमाझीले समारोहबीच नै निकै अभद्र, असभ्य अनि नशाको हालतमा यसरी आफ्नो स्पष्टीकरण दिए । हल एकछिन हाँसोले त गुञ्जायमान पनि भयो । कुरा बुझदै जाँदा खाँटी कुरा त अर्कै पो रहेछ । नायिका करिश्मा मानन्धरले सो सिनेमामा खेल्न अस्वीकार गरेपछि शुभसाइतका दिन हिरोइन उभ्याउनुपर्ने बाध्यतालाई सबैले बुझेपछि निर्देशक रायमाझीले सुभेच्छा थापालाई हिरोइन बनाउने निधो गरेछन् भने निर्माताहरू भने नन्दिता केसीको पछि लागेछन् । आफ्नो वचन काटेर निर्माताले आफूलाई ओभरटेक गरेपछि निर्देशक रायमाझी शुभसाइतमा नै नआउने निष्कर्षमा पुगेका रहेछन् । ‘बरु नआएको भए पनि हुन्थ्यो । यस्तो दुर्दशा देख्नु त पर्दैनथ्यो नि,’ निर्माताको गुनासो थियो यो ।
मदिराका कारण उभिन नसक्ने अवस्थामा पुगेका निर्देशक दीपक रायमाझीले स्टेजमा गएर माइक समाउँदै बिनाप्रसङ्ग नायक राजेश हमाललाई पनि गाली गर्न थाले । ‘त्यो राजेशलाई मैले ल्याएको हो । त्यो कहाँको महानायक हो र । अभियन गर्न नसक्ने पनि महानायक हुन्छ,’ उनको आरोप थियो । आफूले भनेकी नायिका हिरोइन बन्न नसकेपछि निकै विक्षिप्त भएका निर्देशक रायमाझीका कारण ‘डेस्टिनेसन काठमाडौं’ बन्ने हो या होइन निश्चित छैन । निर्देशककै हालत नाजुक देेखेपछि निर्माण पक्ष यतिबेला निर्देशक फेर्ने तयारीमा रहेको कुरा बुझिएको छ ।

रहेनन् कुमार कान्छा
गायक कुमार कान्छा अब रहेनन् । लामो समयदेखि अस्वस्थ रहेका गायक कान्छाको गत सोमबार भारतमा उपचारकै क्रममा निधन भयो । उनको उपचारका लागि स्वदेश एवम् विदेशमा रहेका थुपै्र नेपालीले आर्थिक श्रोत जुटाउँदै आएका थिए । सोमबार नै उहाँको दाहसंस्कार गरिएको छ ।
‘जीवनको के छ र भर…’ लगायतका सयौं गीतका गायक कुमारकान्छाले केही महिनाअगाडि नेपाल आएर नयाँ एल्वमको लागि गीत रेकर्ड पनि गरेका थिए । ‘आमैले भन्थे धाराको पानी…’ -चलचित्र साइनो) र ‘बतासैले उडाइ लग्यो माया मेरो…’ -चलचित्र चिनो)को गीतले निकै चर्चा पाएको थियो ।