पूँजीगत खर्च बढाउन अर्थ मन्त्रालयको निर्देशन

पूँजीगत खर्च बढाउन अर्थ मन्त्रालयको निर्देशन


चालू आर्थिक बर्षको छ महिनामा सरकारले २७ प्रतिशत बजेट खर्च गरेको छ । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु खर्चको तुलनामा पुँजीगत खर्च कम भएको भन्दै सरकारले पूँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयमार्फत आयोजना तथा कार्यालयहरुलाई निर्देशन दिएको छ । सरकारले चालु आर्थिक बर्षमा पूँजीगततर्फ ३१ अर्ब ९९ करोड अर्थात ९ दशमलव ५५ प्रतिशत मात्रै खर्च भएको छ ।

सरकारले चालू आर्थिक वर्षको छ महिनामा तीन खर्ब ४० अर्ब १९ करोड बजेट खर्च गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक बर्षको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको छ ।

कूल विनियोजित बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६ दशमलव ६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालू खर्च दुई खर्ब ९२ अर्ब ७८ करोड अर्थात ३६ दशमलव ४४ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ ३१ अर्ब ९९ करोड खर्च भएको छ ।

यस्तै, मन्त्रालयले वित्तीय व्यवस्थातर्फ १५ अर्ब ४१ करोड अर्थात १०.९९ प्रतिशत खर्च भएको जनाएको छ । चालू आर्थिक बर्षको मंसिर महिनासम्ममा दुई खर्ब ५१ अर्ब १२ करोड ७४ लाख ९७ हजार राजश्व संकलनको लक्ष्य राखिएकामा ९५ दशमलव ५६ प्रतिशत असुली हुन सकेको मन्त्रालयले जनाएको छ ।