आर्थिक अनियमितता र मनपरीतन्त्रको दलदलमा छ राखेप

आर्थिक अनियमितता र मनपरीतन्त्रको दलदलमा छ राखेप


-श्रीविक्रम भण्डारी
ध खेलकुदमा के सोचेर आउनुभएको थियो, के पाउनुभयो ?
– सर्वप्रथम म खेलकुदमा जुन कुरा सोचेर आएको थिएँ त्यस्तो पाइनँ । खेलकुदमा आउनुअघि यो ठाउँ राष्ट्रलाई चिनाउने, खेलाडी र युवाहरूलाई अनुशासनमा राख्ने रूपमा हेरेको थिएँ । तर, यहाँ आएपछि ठीक उल्टो लथालिङ्ग र भताभुङ्ग पाएँ ।
ध नेपाली खेलकुदको यस्तो दुर्दशा हुनुको कारण के होला ?
– नेपाली खेलकुदको यस्तो दुर्दशा हुनुको प्रमुख कारण राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्ति हो । खेलकुदको विकासका लागि विभिन्न राजनीतिक दलका व्यक्ति अर्थात् कार्यकर्ता नियुक्ति भए पनि उनीहरू खेलकुदको भन्दा व्यक्ति विकासमा लागेका छन् । सबैको आ-आफ्नै डम्फु भएकोले काम गर्न निकै कठिनाइ भएको छ । उनीहरूको यस्तो हर्कतले खेलकुद दिन प्रतिदिन भुमरीमा फस्दै गएको छ ।
ध तपाईंको पनि राजनीतिक नियुक्ति हो, किन आफैंलाई आरोप लगाइराख्नुभएको छ ?
– मैले आरोपभन्दा पनि सतप्रतिशत सत्य कुरा गरिरहेको छु । खेलकुदमा राजनीतिक शक्तिका आधारमा जे पायो त्यही भइरहेको छ, मनपरीतन्त्र चलिरहेको छ, कसैलाई कसैको मतलब छैन । सबै पदाधिकारीहरू आफ्नो दुनो सोझ्याउनेतिर लागेका छन् । खेलकुदको विकासभन्दा आर्थिक लाभ कसरी हुन्छ ? त्यसतर्फ आकरि्षत भएका छन् । साँचो रूपमा भन्नुपर्दा हाम्रो टिमवर्क नै छैन ।
ध यस्तो असमझदारी बढ्नुको पछाडिको के रहस्य छ ? तपाईंहरू खेलकुदमा मिलेर काम गर्न आएको होइन र ?
– हो, अवश्य हो, हामी खेलकुदमा मिलेर काम गर्न आएका हौँ । तर, विडम्बना, साथीहरूको नकारात्मक सोच र गुटबन्दीले गर्दा अहिलेसम्म खेलकुदमा सिन्कोसमेत भाँच्न सकेका छैनौँ । सबै आर्थिक लोलुपताप्रति झुकेका कारणले गर्दा विपरीत ध्रुवतर्फ लाग्न बाध्य भएका छौँ । आफूलाई ठूलो पार्टीको मान्छे भन्नेहरूले नै घीनलाग्दो र लाजमर्दो कार्य गरेपछि यस्तो स्थिति उत्पन्न भएको हो ।
ध त्यसो भए तपाईंको सोचाइमा खेलकुद पदाधिकारीहरूको जिम्मेवारी के हो त ?
– कुरा स्पष्ट छ, हाम्रो काम र जिम्मेवारी भनेको निर्देशन मात्र दिने हो । समग्र खेलकुद र खेलाडीहरूको विकासका लागि लड्ने हो । तर, यहाँ ठीक उल्टो भइरहेको छ । खेलकुद पदाधिकारीहरू राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी बाईपास गर्दै खुद कर्मचारी भएर काम गरिरहेका छन् ।
ध कर्मचारीलाई काम नदिएर खेलकुद पदाधिकारीले आफैं कर्मचारीको काम गर्नुको पछाडिको स्वार्थ के होला ?
– धेरै स्वार्थ लुकेको छ । अन्यथा उनीहरू कर्मचारीको काम आफैं किन गर्थे होला, त्यसै अनुमान लगाउन सकिन्छ । यो सबै आर्थिक हिनामिना गर्नका लागि भएको खेल हो । उनीहरूले सबै कुरा गोप्य राख्न आफंै कर्मचारी भएर काम गरेका हुन् । यो सवै खानका लागि भएको घृणित कार्य हो ।
ध उसो भए अहिले राखेपमा कर्मचारीको कुनै काम छैन त ?
– तपार्इंले एकदमै राम्रो प्रश्न सोध्नुभयो । मैले अहिलेसम्म यहाँ कर्मचारी छन् कि छैनन् बुझ्न सकेको छैन । साँचो रूपमा भन्नुपर्दा मैले देखेको कर्मचारी भनेको एउटै मात्र छ । उनी हुन्- आर्थिक शाखाका प्रमुख वासुदेव आचार्य । आचार्यले नै सम्पूर्ण कर्मचारीको काम गरिरहेका छन् ।
ध राखेपमा त हजारजना कर्मचारी छन्, तपार्इंले भन्न खोज्नुभएको गाँठी कुरा के हो ?
– यही त अहिलेसम्म कसैले बुझ्न सकेको छैन । वासुदेव मात्र कसरी परिषद्का एक्ला वृहस्पति बने भनेर ? मेरो जानकारीअनुसार आर्थिक विभागको प्रमुख भएकोले वासुदेव मात्र कर्मचारीका रूपमा देखिएका हुन् । अन्यथा उनको पनि अन्य कर्मचारीहरूको जस्तै हविगत हुन्थ्यो । वासुदेवले खेलकुद पदाधिकारीहरूको खानपिनको व्यवस्थालाई राम्रोसँग मिलाइदिने भएकाले उनी मात्रै कर्मचारी बन्न सफल भएका हुन् । गाँठी कुरा भए पनि वास्तविक कुरा भने पनि सत्यचाहिँ यही हो ।
ध उसो भए वासुदेवलाई राखेपका पदाधिकारीले बलिको बोका बनाई आर्थिक हिनामिना गरिरहेका छन् भन्न खोज्नुभएको हो ?
– यो एकदमै सत्य हो, वासुदेवको आडमा खेलकुदका जिम्मेवार पदाधिकारीहरूले व्यापक रूपमा आर्थिक हिनामिना गर्दै आएका छन् । यसमा वासुदेव बलिको बोका नभई उसको पनि सहभागिता रहेको छ । पदाधिकारीसँगै उसले पनि ठूलै रकम असुल्न सफल भएको छ । समयको फाइदा उठाउँदै अर्थात् मौकामा चौका हान्दै वासुदेवले कुनै पनि महत्त्वपूर्ण चेकमा हस्ताक्षर गरेको दस प्रतिशत लिन थालेको छ ।
ध आर्थिक हिनामिना गर्ने जिम्मेवार खेलकुद पदाधिकारी हुन् भन्नुभयो, के उनीहरूको बारेमा बताउन सक्नुहुन्छ ?
– किन नसक्नु ? चोरलाई चोर र साधुलाई साधु भन्न केको आपत्ति ? खेलकुदमा आर्थिक हिनामिना गर्नेहरूमा सदस्यसचिव हरिबाबु चौधरी, उपाध्यक्ष पीताम्बर तिमिल्सिना र वासुदेव आचार्य प्रमुख हुन् । यो सबै यी तीनजनाकै मिलोमतोमा भएको हो । अझ स्पष्ट रूपमा भन्नुपर्दा यो सबैको रचनाकार उपाध्यक्ष पीताम्बर हुन् । उनकै व्यवस्थापन र निर्देशनमा खेलकुदको रकम हिनामिना भएको हो ।
ध आर्थिक हिनामिनाको सिलसिला कहिलेदेखि चल्दै आएको हो ?
– उनीहरूले खेलकुदको जिम्मेवारी सम्हालेदेखि नै आर्थिक अनियमितता गर्दै आए हुन् । पछिल्लोपटक ग्वान्झाउमा सम्पन्न १६औँ एसियाली खेलकुदमा खेलाडीको सामानदेखि हवाई टिकटमा उनीहरूले व्यापक रूपमा आर्थिक घोटाला गरेका थिए । ३८ हजार पर्ने एउटा टिकटको ७२ हजारदेखि एक लाखसम्म तिरेको सार्वजनिक रूपमै खुलासा भए पनि अहिलेसम्म उनीहरूले त्यसको प्रमाण दिन सकेका छैनन् । अहिले यही कुरोलाई आधार बनाएर सत्यतथ्य बुझ्नका लागि मन्त्रालयले एउटा छानबिन समिति पनि गठन गरेको छ, हेरौँ उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन ।
ध तपाईंले आफ्नै साथीको विरुद्धमा आवाज उठाउनुको आसय के हो ? कतै तपाईंलाई बाईपास गरेर त होइन ?
– हामीलाई खेलकुदमा पार्टीले राम्रो काम गर्नको लागि पठाएको हो, आर्थिक अनियमितता गर्न होइन । साथीहरूले यो कुरालाई आत्मसात् गरेनन् । उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा लागे । थुप्रै कर्मचारीको नाममा लाखौँलाख पेस्की निकालेर खेलकुदलाई नाङ्गेझार पार्नेपट्ट िलागे । यसबारे मैले अरू भन्नुभन्दा वासुदेवलाई सोध्नुभयो भने सबै कुरा ऐनाजस्तै र्छलङ्ग हुनेछ ।
ध त्यसो भए तपाईंले सुको नपाएको झोकमा सबैको पोल खोल्नुभएको त होइन ?
– मेरो त्यस्तो उद्देश्य भएको भए पहिल्यै उनीहरूको टिममा म सामेल भइसक्थेँ । उनीहरूले मलाई बारम्बार बोलाएका पनि हुन् सहभागी हुन । तर म यो खाने ठाउँबाट सधैं टाढा बसेँ ।
ध तपाईंको खेलकुदमा आउनुको उद्देश्य के थियो त ?
– कसैले मानोस् या नमानोस् मेरो खेलकुदमा आउनुको उद्देश्य पवित्र थियो । म खेलकुदको जरैदेखि विकास गर्न चाहन्थेँ । खेलकुदलाई विकास, अनुशासन र गतिशीलताको नारामा अगाडि बढाउन चाहन्थेँ । तर, विडम्बना, खेलकुदमा आएपछि ‘आफू ताक्छु मुढो बन्चरो ताक्छ घँुडो’ भएपछि म निराश भएको छु । यदि खेलकुदमा राजनीतिक हस्तक्षेप यसरी नै बढ्दै जाने हो भने नेपाली खेलकुद नाम मात्रैको रहनेमा बेर लाग्ने छैन ।कर्मचारी आन्दोलनमा
ँपी वान’को कमाल, कर्मचारी भोकभोकै
तीन महिनादेखि कर्मचारीलाई तलब खुवाउन नसकेपछि राष्ट्रिय खेलकुद कर्मचारी सङ्घ आन्दोलनमा उत्रिएको छ । साताभरिको आन्दोलनपश्चात् पनि राष्ट्रिय खेलकुद परिषद्बाट कुनै सुनुवाइ नभएपछि आइतबारदेखि सङ्घ पुनः विरोधमा उत्रिएको छ । सङ्घका अध्यक्ष नारायणदेव राणाले आफ्ना विभिन्न मागको सुनुवाइ र कर्मचारीले सहज रूपमा तलब नपाउन्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । साथै उनले आइतबारदेखि राखेपअन्तर्गतका सम्पूर्ण क्षेत्र र जिल्लामा समेत अनिश्चितकालीन पेनडाउन गर्ने बताएका छन् । साथै सङ्घले हालै मन्त्रालयले गठन गरेको छानबिन समितिको औचित्य र राखेपको आर्थिक क्रियाकलापका बारेमा मौनता साँध्नुको पछाडिसमेत न्यायिक छानबिन गरी सम्पूर्ण हिसाबकिताब छानबिन गर्नुपर्ने माग गरेको छ । कर्मचारी आन्दोलनले गर्दा एक सातादेखि परिषद्का सम्पूर्ण काम कारबाही ठप्प भएका छन् ।
कर्मचारीले समयमै तलब नपाउनुमा सदस्यसचिव हरिबाबु चौधरी दोषी रहेको थाहा भएको छ । समय छँदा कानमा तेल हालेर बसेका चौधरीले ग्वान्झाउबाट फर्केपछि पनि कुनै पहल नगरेको स्रोतले बताएको छ । सदस्यसचिवले चौधरी कर्मचारीलाई तलब ख्वाउनुभन्दा पनि आफ्नोे स्वार्थ सिद्ध गर्नपट्ट िलागेकोले यो अवस्थाको सिर्जना भएको बुझिन आएको छ । चौधरीले यति लामो समय ग्वान्झाउ एसियाडमा भएको आर्थिक अनियमिततालाई ढाकछोप गर्न चाकरीमै बिताएको सूत्रले दाबी गरेको छ । हवाई टिकट र खेलाडीहरूको मालसामान खरिदमा ठूलो रकम कमिसनको रूपमा झ्वाम पारेका चौधरीले यसबाट चोखिन अहिले विभिन्न उपाय अवलम्बन गरिरहेको पनि स्रोतले बताएको छ । स्मरण रहोस्, सदस्यसचिव चौधरीलगायत उनका सहकर्मी खेलकुद पदाधिकारीले लाखौं रुपैयाँको आर्थिक घोटाला गरेको विरोधमा अहिले परिषद्मा विरोधका आवाजहरू घन्किरहेका छन् ।
कर्मचारीले तीन महिनासम्म तलब नपाएकोबारेमा आर्थिक शाखाका प्रमुख वासुदेव आचार्यसँग प्रतिक्रिया लिँदा उनले यस्तो स्थिति सदस्यसचिवको कमजोरीले आएको बताए । आचार्यले बजेटको बारेमा विश्लेषण गर्दै अहिलेे राखेपको बजेट ‘पी वान’ -पहिलो प्राथमिकता) मा परेकोले यस्तो समस्या परेको बताएका छन् । यसभन्दा अघि राखेपको बजेट ‘पी टु’ -दोस्रो प्राथमिकता) र ‘पी थ्री’ -तेस्रो प्राथमिकता) मा पर्ने बताउँदै त्यस्तो अवस्थामा मन्त्रालयमा कार्यक्रम स्वीकृत भएपछि बजेट निष्कासन हुन्थ्यो । पी वानको बजेट राष्ट्रिय योजना आयोगबाट स्वीकृत हुनुपर्ने प्रावधान रहेको बताउँदै आचार्यले सोका लागि आवश्यक कार्यक्रम, कार्ययोजना, खरिदयोजना, अनुगमन र कार्यविधिसहित हेरेर पास गर्नुपर्ने भएको हँुदा ढिलाइ भएको बताए ।
राखेपको बजेट पी वानमा पर्नु राम्रो कुरा भए पनि तलबलाई मात्र पी टुमा पारेर पेस गरेको भए कर्मचारीले समयमै तलब पाउने आचार्यले बताए । पी वानमा पर्नुले सदस्यसचिवको हात पनि बाँधिएको खुलासा गर्दै आचार्यले रातो किताबसमेत बनिसकेकोले त्यसलाई फेरबदल गर्न नमिल्ने प्रस्ट पारेका थिए । अर्को कुरा राष्ट्रिय खेलकुद परिषद् अनुदान प्राप्त गर्ने संस्था भएको र तलबसहित सबै कुरा अनुदानमा पर्ने भएकोले यस्तो ढिलाइ भएको सुनाए । आचार्यले गत बुधबार योजना आयोगबाट बजेट पास भएको र त्यसको तीन प्रति ओरिजनल योजना आयोगमा बुझाएपछि मात्र बजेटको प्रक्रिया अगाडि बढ्ने बताए । राखेप, योजना आयोग र मन्त्रालयबाट हस्ताक्षर र स्ट्याम्प लगाउन बाँकी रहेको बताउँदै त्यसका लागि आफू दिनरात खटेर काम गरिरहेको बताए । आचार्यले काम जारी रहेको सुनाउँदै यही शुक्रबारभित्र कर्मचारीलाई तलब खुवाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
राखेपका पदाधिकारीहरू बजेटको प्रक्रियाको बारेमा अनविज्ञ हुँदाहुँदै पनि जथाभावी सार्वजनिक रूपमा बोलेर समस्यालाई अझ जटिल पारेको लेखा अधिकृत वासुदेव आचार्यले आरोप लगाएका छन् । कर्मचारीको तलबको विवादले आफू पनि विवादमा परेको र मानसिक तनाव खेप्नुपरेको उनले सुनाए । सदस्यसचिव हरिबाबु चौधरीले कर्मचारीको तलबको बारेमा समयमै पहल नगरेको बताउँदै यसको जिम्मेवारी सबै उनले लिनुपर्ने बताए । आचार्यले परिषद्का पदाधिकारीहरूले आफूलाई ‘युज एन्ड थ्रो’को रूपमा प्रयोग गरेको बताउँदै कर्मचारीलाई तलब खुवाएपछि लेखाप्रमुखको दायित्वबाट पन्छिने बताए ।

आन्दोलन स्थगित
तलब र दर्ुर्व्यवहारलगायत विभिन्न आरोप लगाउँदै आन्दोलनमा उत्रिएको कर्मचारी सङ्घले अन्ततः आन्दोलन फिर्ता लिएको छ । दुवै पक्षको बैठक सकारात्मक ढङ्गले टुङ्गिएपछि यस्तो निर्णय गरिएको हो । बैठकमा कर्मचारीको माग र कार्यान्वयनका लागि विशेष कार्यदल गठन गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको हो । समस्याको समाधान गर्न राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कृष्णमोहन ब्याडमिन्टन पुस २५ देखि
सशस्त्र प्रहरी केन्द्रीय खेलकुद समितिको आयोजनामा सातौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता पुस २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बारेमा जानकारी दिँदै समितिका अध्यक्ष तथा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले यसपटक पुरस्कारको राशिमा एक लाख वृद्धि भएर सात लाख ६५ हजार पुगेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले प्रतियोगितामा पुरुष र महिला एकल, युगल, मिक्स डबल्स, १७ वर्षमुनिको ब्वाइज तथा गल्र्स, ४५ र ५५ वर्षमाथि भेट्रान्स युगल इभेन्टमा प्रतिस्पर्धा हुने जानकारी गराएका थिए । साथै यो वर्षदेखि इन्टर गभर्मेन्टल सरि्भस समूहअन्तर्गत मास्टर ३५ वर्षमाथि युगल र मास्टर ४५ वर्षमाथि युगल थपिएको पनि बताए ।
प्रतियोगितामा एक खेलाडीले बढीमा तीन समूहमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । पुरुष एकलमा विजयी खेलाडीले एक लाख १५ र महिला एकलमा विजयी खेलाडीले ८० हजार प्राप्त गर्ने छन् । त्यस्तै पुरुष युगलमा एक लाख र महिला युगलमा ७० हजारको नगद पुरस्कारको व्यवस्था गरिएको छ । १७ वर्षमुनि ब्वाइज र गल्र्समा ४०-४० हजार, ४५ तथा ५५ वर्षमाथि भेट्रान युगलमा ७०-७० हजार, मिक्स डबल्समा ७० हजार र इन्टर गमर्मेन्टल सरि्भस समूहमा ५५-५५ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो अवसरमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष प्रकाशबहादुर शाहीले प्रतियोगिताको सफल आयोजनाका लागि प्राविधिक सहयोग गर्ने बताएका थिए । त्यस्तै महासचिव रामजीबहादुर श्रेष्ठले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आयोजना गरेका प्रतियोगितालाई आधार मानेर सातौँ कृष्णमोहन स्मृतिका लागि खेलाडीहरूको वरियता निकालिने जानकारी गराएका थिए ।

यू-१९ का लागि खेलाडी छनोट
नेपाल क्रिकेट सङ्घ क्यानले एसीसी यू-१९ इटाइट कपका लागि हालै २३ खेलाडीको प्रारम्भिक छनोट गरेको छ । आगामी फेब्रुअरीमा थाइल्यान्डमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले खेलाडी छनोट गरेको हो । हालै सम्पन्न वाइवाइ यू- १९ प्रतियोगितालाई आधार बनाएर खेलाडीहरूको छनोट गरिएको राष्ट्रिय छनोट प्रमुख विजयकुमार शर्माले बताएका छन् । शर्माले विभिन्न क्षेत्रबाट खेलाडीहरू छनोट गरिएको बताउँदै अहिलेसम्म पृथु बास्कोटाको नाम मात्र टोलीमा परेको घोषणा गरेका थिए । सन् २००९ मा कुवेतमा सम्पन्न भएको यू- १९ प्रतियोगितामा उत्कृष्ट पर््रदर्शन गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

धरानमा मिस्टर पूर्वाञ्चल हुने
धरान शारीरिक सुगठन तथा फिटनेस सेन्टर क्लबको आयोजनामा चौथो मिस्टर पूर्वाञ्चल शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । पुस २३ गतेदेखि धरानको सभागृहमा सञ्चालन हुने उक्त प्रतियोगिता दुई दिनसम्म चल्नेछ । पहिलो दिन विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ ।
विभिन्न पाँच समूहबाट प्रतिस्पर्धा हुने भए पनि फाइनलका लागि प्रत्येक समूहबाट पाँच-पाँच खेलाडीलाई छनोट गरिने आयोजक समितिले बताएको छ । प्रतियोगितामा मिस्टर पूर्वाञ्चल हुनेे खेलाडीले उपाधिसँगै २५ हजार, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १५, १० र ७ हजार प्राप्त गर्ने छन् । आयोजक क्लबका अध्यक्ष हर्कराज लिम्बूले प्रतियोगितामा मोस्ट मस्कुलर बडी, मोस्ट इम्प्रुभ बडी र वेस्ट पोजरको पुरस्कारको व्यवस्था रहेको बताए ।

पाथीभरा म्याराथनको तेस्रो संस्करण
म्याराथनको विकासमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको अन्तर्राष्ट्रिय हिमालयन गाइडस् पाथीभारा म्याराथनको तेस्रो संस्करण फागुनमा हुने भएको छ । फागुन १८ गतेदेखि शुभारम्भ हुने उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । शिवरात्रि र सेना दिवसको अवसर पारी आयोजना गरिन लागेको उक्त प्रतियोगितामा महिला हाप म्याराथन पनि समावेश गरिएको छ । ताप्लेजुङको सदरमुकामबाट पाथीभारा मन्दिरसम्म पुगी पुनः सदरमुकामसम्म पुग्नेगरी खुला म्याराथनको आयोजना गरिनेछ । हाप म्याराथन सदरमुकामबाट भालुगौंडे हँुदै पुनः सदरमुकाम आएर टुङ्गिने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा खुला म्याराथनतर्फ विजयी खेलाडी ४० हजार र दोस्रो र तेस्रो स्थान हासिले गर्ने क्रमशः ३० र २० हजार प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फको हाप म्याराथनमा विजयी खेलाडीले २० र दोस्रो तथा तेस्रो स्थान हासिल गर्नेले क्रमशः १५ र १० हजार प्राप्त गर्नेछन् । यो प्रतियोगिता २०६५ सालदेखि निरन्तर रूपमा हुँदै आइरहेको छ ।