प्रचण्डबाट उपयोग हुने पालो अब केपीको !

प्रचण्डबाट उपयोग हुने पालो अब केपीको !


– देवप्रकाश त्रिपाठी

ऐतिहासिक पृष्ठभूमि, दर्शन, विचार, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा नेपाली काङ्ग्रेस र माओवादीबीचको अन्तरविरोध प्रधान हुनुपर्ने हो, थियो । हिंसात्मक युद्धको दशकमा नेपाली काङ्ग्रेसका हजारौँ निर्दोष कार्यकर्ता मारिए, काङ्ग्रेससँगको आबद्धता नै तिनको इहलीला समाप्तिको कारण थियो । तर, माओवादी युद्ध विसर्जनसँगै काङ्ग्रेस नेतृत्व र माओवादीबीचको मित्रता नाटकीय रूपमा प्रगाढ बन्न पुग्यो । ०६३ मा तात्कालिक श्री ५ महाराजाधिराजबाट विघटित संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्री बन्नुभएका गिरिजाप्रसाद कोइराला र उहाँका गृहमन्त्री कृष्णप्रसाद सिटौलाको भूमिका यसरी माओवादीमैत्री बन्न पुग्यो कि पाइला–पाइलामा काङ्ग्रेसजन निरुत्साहित र माओवादी प्रोत्साहित हुन थाले ।

एमालेलाई ‘डिमरलाइज्ड’ गर्न गिरिजाप्रसाद कोइराला र प्रचण्डबाट विशेष सहमति गरी कहिल्यै संसदीय निर्वाचनमा सहभागी नभएको माओवादीलाई एमालेभन्दा ठूलो संसदीय हैसियतमा पु¥याउने काम भयो । गिरिजाप्रसाद एमालेलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठान्नुहुन्थ्यो भने प्रचण्ड पनि एमालेभन्दा ठूलो हैसियतमा स्थापित हुन चाहनुहुन्थ्यो । दुवैथरीको ‘टार्गेट’ बनेको थियो एमाले । जसले माओवादीलाई रोल्पादेखि नयाँदिल्ली हुँदै सिंहदरबारसम्मको यात्रा गराएको थियो त्यो शक्ति पनि काङ्ग्रेस–माओवादी मिलाप र एमालेलाई विलाप गराउने पक्षमा देखिन्थ्यो । त्यसैले २०६३ पछिका केही वर्ष एमाले एकप्रकारले ‘कर्नर’मा परेको थियो ।

काङ्ग्रेसका हजारौँ कार्यकर्ता माओवादीबाट काटिएका, लखेटिएका र लुटिएका थिए । तिनलाई गिरिजाप्रसाद र कृष्णप्रसादहरूले भान्जाभान्जीप्रति झैँ मायाममता दर्शाएको देख्दा आमकाङ्ग्रेसजनमा ‘औडाहा’ हुन्थ्यो । जसलाई अभिभावक/संरक्षक मानेको उही व्यक्ति दुश्मनको हितैषी बनेको अवस्थामा जुन किसिमको परिस्थिति र मनस्थिति बन्छ, ठीक त्यस्तै अवस्था व्यहोर्दै थिए आमकाङ्ग्रेसजन । अर्कोतिर प्रचण्ड नेपाली राष्ट्रिय सेनाविरुद्ध सार्वजनिक सञ्चारमाध्यमबाट अश्लील गाली गर्ने र सेनाको तेजोबध गर्ने आक्रामक भूमिकामा देखापरेपछि सेना पनि एकप्रकारले निरीहझैँ बन्न पुगेको थियो । त्रास र बाध्यताले प्रचण्ड र उहाँको पार्टीविरुद्ध बोल्ने–लेख्ने हिम्मत त्यसबेला धेरैले गर्दैनथे, तर प्रचण्ड र उहाँको समूहविरुद्ध कसैले अभिव्यक्ति दिँदा राहत महसुस गर्ने मानसिकताचाहिँ जनस्तरमा थियो । हावा, पानी, रूख, पातसमेत माओवादीमय बनेको त्यो समयमा एक्ला केपी ओली हुनुहुन्थ्यो जसले प्रचण्ड र उहाँको समूहलाई चुनौती र जनसमूहलाई राहत दिने क्षमता प्रस्तुत गर्नुभएको थियो ।

दश वर्षपछि अहिले तिनै प्रचण्ड र माओवादीसँग सहकार्य गर्ने स्थितिमा केपी पुग्नुभयो । हुन त माओवादी त्यस्तो हतियार हो जसको प्रयोग–उपयोग विभिन्न समयमा विभिन्न शक्तिले गर्दै आएका छन् र यतिखेर उक्त हतियारको प्रयोग केपी ओली गर्दै हुनुहुन्छ भनेर बुझ्न पनि सकिन्छ । प्रचण्ड र उहाँको समूहलाई प्रयोग गरेर एमालेलाई दरकिनार गर्दै जाने देशी–विदेशी रणनीतिक योजनालाई असफल तुल्याउन प्रयास गर्नुसम्म वाञ्छनीय मानिन्थ्यो, एकीकृत पार्टी नै निर्माण गर्ने केपीका कुराले चाहिँ संसय र त्रास पैदा गरेको छ । त्यो किनभने अहिलेसम्म प्रचण्डलाई जसले समीप राखेका या उहाँसँग सहकार्य गरेका छन् तिनकै सत्यानास हुँदै आएको छ ।

वि.सं. २०४४ सालतिर तात्कालिक नेकपा मशालका महामन्त्री मोहन वैद्य किरणले सीपी गजुरेल र देव गुरुङलगायतका नेताहरूको विरोध हुँदाहुँदै प्रचण्डलाई पार्टीको सत्ता हस्तान्तरण गर्नुभएको थियो, तीन दशकभित्रै प्रचण्डले वैद्यको कुन हालत बनाइदिनुभएको छ हामी सबैले अनुभूति गरिरहेका छौँ । वैद्यको उठिबास मात्र होइन ‘कुटिबास’ नै गराइएको छ र यसो हुनुमा प्रचण्डबाहेक अरू कसैलाई जिम्मेवार ठानिरहनुपर्दैन । त्यसपछि हिंसात्मक युद्धकालमा राजा वीरेन्द्र र राजाका कैयन हितैषीहरूलाई काङ्ग्रेस–एमालेको सत्ताविरुद्ध प्रयोग–उपयोग गर्ने काम प्रचण्डबाट भयो । तात्कालिक दरबारियाहरू जो नेपालमा संसदीय प्रजातन्त्र स्थापना भएकोमा असन्तुष्ट थिए र काङ्ग्रेस–एमालेलाई ‘ठेगान’ लगाउन चाहन्थे, तिनका निम्ति प्रचण्ड शायद ‘देवता’ नै ठहरिएको हुँदा हुन् । अधिराजकुमार धीरेन्द्रमार्फत दरबारसँगको सम्पर्क–सम्बन्ध र संवादमा रहेको व्यहोरा धेरै अघि नै प्रचण्डले सार्वजनिक गरिसक्नुभएको हो ।

प्रजातन्त्र र काङ्ग्रेस–एमालेविरुद्ध प्रचण्डलाई ‘हितैषी’ ठान्नुको मूल्य राजदरबारले नराम्रोसँग चुकाइसकेको छ । मोहन वैद्य किरणझैँ अब फेरि उठ्नै नसक्ने गरी ‘दरबार’लाई विस्थापित गर्न प्रचण्ड नै ‘सारथि’ बन्नुभएको हो । राजसंस्थाको विस्थापनपछि गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई आफ्नो ठान्नुभयो, सहकार्य गर्नुभयो र प्रचण्डले पनि कोइरालालाई आफू निकटतम् सहयोगी एवम् हितैषी भएको ‘इम्प्रेसन’ दिनुभयो । ०६२ देखि ६५ सम्म गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग ‘माया बसेपछि’ दशकौँदेखि आफूसँग रहेका आफ्नै पार्टीका नेता–कार्यकर्तालाई समेत पराया ठान्न थाल्नुभएको थियो । कोइरालाका निम्ति प्रचण्डजत्तिका विश्वासपात्र न रामचन्द्र पौडेल हुनुभयो, न शेरबहादुर, खुमबहादुर र रामशरण महत नै । ०६५ जेठ १५ गते संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि जब राष्ट्रपतिको निर्वाचन हुने समय आयो त्यसबेला मात्र गिरिजाप्रसादले आफू प्रचण्डबाट उपयोग भएको जानकारी पाउनुभएको थियो ।

संविधानसभाको गठन भएपछि संविधान जारी नहुँदासम्म गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री पदमा कायम रहने विश्वास पनि प्रचण्डले दिलाउनुभएको थियो, तर राष्ट्रपतिको निर्वाचनपश्चात् कोइरालालाई पदमुक्त गरेर आफैँ प्रधानमन्त्री बन्ने प्रक्रियाको अगुवाइ पनि प्रचण्डले नै गर्नुभयो । गिरिजालाई उपयोग गर्दै गणतन्त्र घोषणा गराएपछि प्रचण्डको सहारा बन्यो भारतको पुरानो सत्ता । प्रधानसेनापति प्रकरणमा भारतको साथ आफूलाई प्राप्त नभएको महसुस गर्नुभएका प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाहिरिएपछिका केही महिना उहाँले भारतको विरुद्ध शब्दवाण चलाउँदै आफूलाई राष्ट्रवादी देखाउने प्रयास गर्नुभयो । निश्चित बिन्दुमा पुगेपछि प्रचण्डको ‘राष्ट्रवादी अभियान’ स्थगित भयो र उहाँ पुनः भारतको निकटस्थ बन्नुभयो । ०७० मा सम्पन्न संविधानसभाको निर्वाचनअघिसम्म ‘एस म्यान’को भूमिकामा रहनुभएका उहाँ चुनाव परिणामपछि झस्किनुभयो र भारतप्रति सचेत रहने मानसिकता उहाँले बनाउनुभयो । तर, दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुने समय (२०७४) सम्म आइपुग्दा प्रचण्ड र भारतबीच सुमधुर सम्बन्ध पुनस्र्थापित भएको महसुस नेपालभित्र गरिएको थियो । यही चरणमा प्रचण्डको अद्भुत मित्रता गाँसियो काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग ।

माओवादी त्यस्तो हतियार हो जसको प्रयोग–उपयोग विभिन्न समयमा विभिन्न शक्तिले गर्दै आएका छन् र यतिखेर उक्त हतियारको प्रयोग केपी ओली गर्दै हुनुहुन्छ भनेर बुझ्न पनि सकिन्छ । प्रचण्ड र उहाँको समूहलाई प्रयोग गरेर एमालेलाई दरकिनार गर्दै जाने देशी–विदेशी रणनीतिक योजनालाई असफल तुल्याउन प्रयास गर्नुसम्म वाञ्छनीय मानिन्थ्यो, एकीकृत पार्टी नै निर्माण गर्ने केपीका कुराले चाहिँ संसय र त्रास पैदा गरेको छ । त्यो किनभने अहिलेसम्म प्रचण्डलाई जसले समीप राखेका या उहाँसँग सहकार्य गरेका छन् तिनकै सत्यानास हुँदै आएको छ ।

देउवा र प्रचण्डबीचको घनिष्टता यति प्रगाढ देखियो कि प्रधानमन्त्री पदबाहेक सबै कुराहरू प्रचण्डलाई सुम्पन देउवा तयार रहेको सन्देश प्रवाहित हुन थाल्यो । जुनीजुनीसम्म प्रचण्ड आफ्नो साथमा रहने विश्वासमा रहनुभएका देउवाले बाँचिन्जेल आलोपालो प्रधानमन्त्री भइरहने सपना देख्न थाल्नुभएको थियो । कुनै समय शान्तिवार्तामा आउने भनी झुक्याएर शक्ति सञ्चय गरी धोखा दिएको र आफैँलाई मार्नका निम्ति घातक आक्रमण भएको घटना बिर्सिएर देउवाले प्रचण्डसँग ‘प्रीतिको अस्वाभाविक गाँठो’ कस्नुभयो । काङ्ग्रेसका कार्यकर्ता एवम् समर्थकलाई हँसिया–हथौडाअङ्कित चुनाव चिह्नमा छाप लगाउन बाध्य बनाउनुभयो र चितवनजस्तो कुनै समय काङ्ग्रेसको प्रभाव क्षेत्र मानिने ठाउँसमेत ‘पिता र पुत्री’लाई सुम्पनुभयो । यतिबेला शेरबहादुर देउवा प्रचण्डबाट भएको धोखाधडीको परिणाम भोग्दै हुनुहुन्छ, चलनचल्तीको भाषामा भन्ने हो भने गिरिजाझैँ उहाँ पनि एकप्रकारले सकिनुभएको छ । प्रचण्डसँगको मित्रताको पटाक्षेप हुँदा देउवा ‘घरको न घाटको’ स्थितिमा पुग्नुभएको छ । यस प्रकरणले छिमेकी मित्रराष्ट्र भारतभित्र रहेका प्रचण्डका हितैषी व्यक्ति र संस्थालाई कस्तो अवस्थामा पु¥याएको होला, अनुमान गर्न सकिन्छ ।

गणतन्त्र घोषणापछिको पहिलो निर्वाचनको पूर्वसन्ध्यामा केपी ओली र प्रचण्डबीच मित्रवत् सम्बन्ध बनेको धमाकेदार घोषणा भयो । आफूलाई घेराबन्दी गर्न भइरहेका प्रयासलाई निस्तेज तुल्याउन ओलीबाट ‘काउन्टर गेम’सम्म हुनुलाई अस्वाभाविक मान्नुपर्दैन । एमालेलाई दरकिनार गर्न खोज्नेहरू यस प्रकरणबाट एकप्रकारले हतप्रभ हुन पुगेका छन् । र, मुख्य प्रतिस्पर्धी काङ्ग्रेस तथा पर्दापछाडिको शक्तिलाई यस घटनाले स्तब्ध र विचलित तुल्याएको पनि हो । तर, ओलीसँगको ‘मित्रता’बाट पनि लाभचाहिँ प्रचण्ड र उहाँको समूहलाई नै पुगेको छ । एकतीस लाखभन्दा बढी मतदाताको समर्थन पाएको काङ्ग्रेस प्रतिनिधिसभाको १६५ स्थानमध्ये २३ मा मात्र विजयी बन्नु र जम्मा १३ लाख मतदाता भएको माओवादीलाई ३६ सांसद प्राप्त हुनुले ओलीसँगको मित्रताको लाभको मात्रा स्पष्ट गर्दछ ।

अब ओलीलाई आफ्नो एक मात्र ‘हितैषी मित्र’ बनाउँदै प्रचण्ड एमाले पार्टीमाथि सवार हुन चाहनुहुन्छ । माओवादी र एमालेबीच पार्टी एकीकरण भइसकेपछि ओलीकै बुई चढेर ओलीलाई ‘सिध्याउने’ भूमिकामा देखापर्नुहुने तथ्य उहाँकै आफ्नो पृष्ठभूमि र चरित्रले दर्शाएको छ । ‘सम्मानजनक हैसियत’ लिएर एमालेमा प्रवेश गर्ने र एमालेकै नेताहरूबीच खेलेर आफ्नो सर्वोच्चता स्थापित गर्नेबाहेक प्रचण्डको अर्को कुनै उद्देश्य छ भने त्यो एमालेजस्तो सङ्गठित र ठूलो पार्टीको नेताको हैसियत बनाएर आफूलाई सुरक्षित गर्ने र बारम्बार सत्ताको मैदानमा बुर्कुसी मारिरहने मात्र हो भन्ने बुझिन्छ । एमालेमा समूहवादी सोच अब संस्कार बनिसकेको आभास हुन्छ र एमालेका अन्य अनेक कमी–कमजोरी पनि नभएका होइनन्, तर एमालेलाई नेपालको सबैभन्दा सङ्गठित एवम् गतिशील राजनीतिक दल मानिन्छ । मध्यमवर्गीय जनताको विश्वास र भरोसाको दल बनेको एमालेले पछिल्लो समयमा ‘राष्ट्रवादी’ छवि पनि बनाएको छ । मन्दिर भत्काउन र देवी–देवताको मूर्तिमा सौच गर्न, प्रहरी चौकी ध्वस्त गर्न र मान्छेका गर्धन ताक्न जति सजिलो हुन्छ त्यति सजिलो एमालेजस्तै पार्टी बनाउने काम होइन रहेछ भन्ने महसुस प्रचण्डले यो दशकमा गरेको हुनुपर्छ । त्यसैले प्रचण्डका निम्ति एमालेसँगको एकीकरण उच्च प्राथमिकतामा परेको छ ।

एमालेभित्र हैसियतसहित प्रवेश गर्न र त्यहाँभित्र आफ्नो स्थान सुरक्षित बनाउन प्रचण्डलाई केपी ओलीको साथ अनिवार्य हुने स्पष्ट छ । त्यसैले कुनै बेला धीरेन्द्र (दरबारिया), एसडीमुनिहरू (भारत), गिरिजाप्रसाद र शेरबहादुर (काङ्ग्रेस) लाई जसरी असली मित्रताको झाँसा प्रचण्डले दिनुभएको थियो, अहिले सोही स्तरको ‘मित्रवत् व्यवहार’ केपी ओली पाउँदै हुनुहुन्छ । चरम महत्वाकाङ्क्षा र आत्मकेन्द्रित सोचले ग्रस्त प्रचण्ड, जसले आफ्नो निजी महत्वाकाङ्क्षा पूर्ति गर्न देशलाई दाउमा राख्न हिचकिचाएनन्, त्यस्ता प्रचण्डका निम्ति केपी ओलीसँगको मित्रता दिगो र भरोसायोग्य रहन्छ भन्ने हुँदै होइन । प्रचण्डले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न देशी–विदेशी धेरैसँग धेरै प्रकारको उचित–अनुचित सम्झौता गरेका छन्, तर ओलीबाट राजनीतिक महत्वाकाङ्क्षा पूरा गर्नका लागि कसैसँग कुनै अनुचित सम्झौता भएको पाइएको छैन । मिर्गौला प्रत्यारोपणले ओलीको स्वास्थ्यस्थितिमा मात्र परिवर्तन ल्याएन, उहाँको मनस्थितिमा पनि परिवर्तन ल्याएको छ । बाँकी जिन्दगीमा देशका निम्ति केही गर्ने र गरेरै छाड्ने अठोट केपी ओलीमा देखिएको छ । दुई नेताबीच देखिने यही अन्तरले कुनै पनि बेला तनाव र विवाद पैदा हुन सम्भव छ । प्रचण्डसँगको मित्रता र एकताको मूल्य चुकाउन ओलीले सम्भवतः अर्को दुई वर्ष पर्खनुपर्ने हुँदैन । हालको एमाले बचाउने नाममा ओलीलाई धोखा दिइने र त्यसपछि एमाले पार्टीले नै धोखा व्यहोर्ने सम्भावना प्रबल छ ।

प्रचण्ड अहिलेसम्म प्रजातान्त्रिक मूल्य–मान्यताप्रति इमानदार देखिनुहुन्न र मूल नेतृत्वमा आफूबाहेक अर्कोलाई देख्ने या ‘सेकेन्डम्यान’को हैसियतमा बस्ने स्वभाव पनि उहाँमा रहेको पाइँदैन । यही बिन्दुमा ओलीमाथि धोका हुन सक्छ । ओलीले एकल राष्ट्रवादको पक्षमा स्पष्ट धारणा राख्दै आउनुभएको छ । भाषा, भेष र संस्कृतिका बारेमा पनि केपीका दृष्टिकोणमा खोट लगाइँदैन, त्यस्तै जाति, क्षेत्र एवम् मधेसको समस्या र समाधान तथा सङ्घीयताको अभ्यासका बारेमा पनि केपीको धारणा प्रचण्डको भन्दा भिन्न छन् । भारतसँगको व्यवहार र चीनप्रतिको नीति पनि प्रचण्डले अहिलेसम्म अभ्यास गरी आएको भन्दा ओलीको बेग्लै छ । यस्तो पृष्ठभूमिमा प्रचण्ड–केपी मित्रता मुलुक, प्रजातन्त्र र एमालेका निम्ति कति लाभप्रद हुन सक्ला सबैका निम्ति सोचनीय बनेको छ ।