यसकारण बदनाम हुन्छ लोकतन्त्र

यसकारण बदनाम हुन्छ लोकतन्त्र


– दामोदर पौडेल

संघीय र प्रान्तीय चुनाव सकिएको छ । परिणामले कांग्रेसजनमा हतासा छाएकै हुनु पर्दछ । एमाले, माओवादी र मधेशवादीहरू अपेक्षा गरेभन्दा बढि सफल भएका छन् । तर, चुनाव भनेको लोकतन्त्रको निरंतरताको प्रतीक हो । लोकतन्त्रको निरन्तरताको शर्तबाहेक अरु विषयमा कसले चुनाव जित्ने वा कसले हार्ने भन्ने विषय गौण हुन् । डर भनेको चुनावको माध्यमबाटै चुनाव गराउने परिपाटीको अन्त्य नहोस् भन्ने पनि हो ।

जति नै पीडा भए पनि काङ्ग्रेसहरूले अन्तर्घातको परिणाम तथा चुनावमा अपेक्षाकृत कम जनप्रिय वा गलत ब्यक्तिलाई टिकट दिँदा के हुन्छ भन्ने महसुस गर्न थालेका हुनु पर्दछ । शेरबहादुर देउवाले पनि आंफुसँग असहमत हुनेलाई पेलेरै जाने प्रवृत्ति कति घातक हुन्छ भन्ने पनि महसुस गरेकै होलान् । पार्टीका साथीहरूलाई सामान्य असहमतिको कारणले माइनस गर्नु हुँदैन भन्ने बुझेर नै गिरिजाप्रसादले फुटेको काङ्ग्रेसलाई एक बनाए । दलवाहिर पनि सहमति र सहकार्यको बाटोमा सबैलाई हिँडाउन प्रयास गरे । जीवनको उत्तरार्धमा गिरिजाप्रसादमा आएको परिवर्तनले देशमा र काङ्ग्रेसमा नै सकारात्मक सन्देश दिएको हो । त्यो सत्यलाई देउवाले वुझ्ने र ब्यवहारमा लागु गर्ने कि नगर्ने भन्ने सवाल अब निर्णयक हो । झण्डै एक्लै चुनाव जित्नु भनेको पहाड खन्न एक्लै सक्छु भनेजस्तै हो । माओले किसान र पहाडको बारेमा यो उदाहरण दिएका थिए ।

यथार्थमा कतिपय उदाहरणहरू हार होस् वा जित, सत्यको र न्यायको बाटोमा हिँडिरहनु पर्दछ भन्नेसँग पनि सम्बन्धित हुन्छन् । जबकि, अहिलेको काङ्ग्रेसको हारको श्रृंखला देउवाले पार्टी सभापति जितेदेखि नै सुरु भएको हो । उनलाई पार्टी सभापतिमा जिताउना साथ मानिसहरूले भन्न थालेका थिए कि लोकतन्त्र दरबारमा बुझाउनेलाई सभापति बनाए, अब कांग्र्रेसहरू कांग्रेस रहेनन् । गलतले आफ्ना गल्तीलाई स्वीकार गर्दैन वा गल्ती गरेको कारण अरु नै देखाउन खोज्छ । जब मानिसले गल्ती महसुस गर्दछ तब उसले पुनः गल्ती गर्दैन र आफ्नो हैसियत पनि महसुस गर्दछ । त्यो सम्झने अवस्था देउवाहरूमा आएको छ ।

कांग्रेसहरूले न्यायालय प्रकरण, प्रहरी प्रकरण आदिमा आफ्नो पक्षमा भन्न सक्ने धेरै उदाहरण थिए । तर आफ्ना भनाई जनसमक्ष नराखेकोले कांग्रेसले गल्ती नै गरेको हो भन्ने भ्रम जनतामा गएको हो । कतिपय गल्तीहरू पनि भएका हुन् । ती गल्तीमध्ये एउटा गल्ती स्थानीय चुनावमा प्रचण्डपुत्रीलाई भरतपुरबाट मेयरमा चुनाव लडाउनु पनि हो । उनलाई उपमेयरमा र कांग्रेस जनलाई मेयरमा उठाएको भए तथा पोखरामा माओवादीलाई मेयर दिएको भए दुबै सिट काङ्ग्रेस र माओवादीले पाउन पनि सक्थे । देशमा सबै जिल्लाका मानिसहरूको सम्पर्क थलो रहेको चितवनमा मेयरमा कांग्रेस भएको भए धेरै सकारत्मक सन्देश जाने थियो । गैंडाकोट र चितवनका अरु नगरपालिकाहरूमा पनि कांग्रेसले केही राम्रो गर्ने सम्भावना हुने थियो । यसको प्रभाव संसदको चुनावमा पनि नपर्ने कुरा भएन । सम्भवतः केही सिट नै कांग्रेसले थप्ने थियो । कांग्रेस प्रतिरक्षात्मक पंङ्क्तिमा भएको अवस्थामा देउवा र देउवा पत्नी, केसी र महत बन्धु जस्ता परिवारका सदस्यहरू चुनावमा नलडी एक जना मात्र चुनावमा लड्नुपर्ने थियो ।

व्यक्तिगत तवरले भन्नुपर्दा पङ्क्तिकारलाई काङ्ग्रेसहरूले खेदिरहेको भए पनि बारम्बार सामाजिक सुरक्षा भत्ता, स्थानीय निकायलाई दिइने रकम, विद्युत समेतका बारेमा भ्रम चिर्ने र जनतालाई सत्य कुरा प्रेसित गर्ने प्रयास गरियो । तर ती विषयहरू कांग्रेसका केही नेताहरूले मात्र चुनावको अन्तिम समयमा उल्लेख गर्न थाले । लोकतन्त्रवादीहरूको सवैभन्दा ठुलो सम्पत्ति भनेको समाजका उपयुक्त कुरा नोटिसमा लिने, त्यसलाई पारख गर्न अर्थात छलफल गर्ने र राम्रो कुरा देखिएमा त्यसलाई लागु गर्ने हो । त्यसमा कांग्रेसका नेताहरू साह्रै असफल रहे । जनप्रियता र समाज हितलाई साथ लग्ने स्थुल प्रयास कांग्रेसबाट भएन ।

प्रदिप गिरि जस्ता विद्धानले यो देशमा जनतालाई देखाउने र आफ्नो क्षमता प्रयोग गर्न मन्त्री पदसम्म पाएनन् । मन्त्री बन्नु उनको लागि जरुरी छैन र उनमा त्यति लगाव पनि छैन सायद । तर देश र जनताको लागि उनी जरुरी थिए र छन् । पदको महत्वाकांक्षा नभएका तर क्षमता भएका र देशलाई केही दिन सक्नेलाई वेवास्ता गर्नु कांग्रेसको ठुलो भुल थियो । उनीहरूले अरुको नेतृत्व विकास भएमा आंफु माइनस हुने डरमा मात्र आंफुलाई अल्झाए । एमालेले ३ पटकमा ३ जना प्रधानमन्त्री बनायो र त्यो ब्यक्तित्व उचाइ बढ्ने कार्यले एमालेलाई फाइदा भयो । देउवालाई भने अरुलाई पेलेर नेपालमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने र पत्नीलाई पनि त्यही बाटोमा लग्ने चिन्ता मात्र भयो भन्ने उनको ब्यवहारले देखायो । सायद चुनाव हारेको वा चुनावमा नउठेको भए पनि विश्वप्रकाश, धनराज, चन्द्र भण्डारीसमेतका केही नेतालाई कांग्रेस सरकारमा हुँदा ६ महिना मन्त्री बनाएको भए धेरै सकारात्मक सन्देश जाने थियो । जनताले उनीहरूबाट कांग्रेसलाई राम्रोसँग चिन्ने थिए । ब्यक्तित्व विकासबाट लोकतन्त्र र कांग्रेसलाई नै फाइदा हुने थियो । कांग्रेसले त जितेका गगन थापाको पनि पुर्ण उपयोग गर्न चाहेन ।

कांग्रेसहरू अहिेले पनि कांग्रेस हारेको होइन बरु नयाँ पालुवा पलाउनको लागि यसका पात झरेका हुन् भन्दैछन् । चुनाव हार्दा कांर्यकर्तालाई हतोत्साहित हुन नदिन भन्ने कुरा यस्तै यस्तै हुन् । तर यो भनाई सत्य पनि हुन सक्दछ । अव ७० बर्ष कटेकाहरूलाई चुनावमा नलडाउने कार्य सम्भव छ र स्वभाविक पनि हो । ६० बर्ष वा सो भन्दा मथिका अहिलेसम्म कुनै ठुलो हैसियत नराखेकाहरूलाई पनि काम गर्ने पद नदिन सकिन्छ । उनीहरूको भूमिका सल्लाह दिने नै हुन सक्दछ । ९० प्रतिशत पद कुनै पनि चुनाव र अन्य पदका लागि ६० वर्षभन्दा कमका योग्य मानिसहरूलाई नै दिने ब्यवस्था अव अपरिहार्य नै छ । यो अवसर पनि हो र यसले पालुवाको सन्देश दिन पनि सक्दछ ।

मैले बारम्बार भ्रष्टाचार हटाउने र कर्मचारी कम गरेर त्यो पैसा विकास कार्यमा लगाउने तथा स्वरोजगारको वातावरण वनाउने उपायका बारेमा लेखेँ तर त्यो कांग्रेसलाई रमाइलो कुरा जस्ता ेमात्र लाग्यो । मैले फास्टट्रयाक ३ देखि ५ बर्षमा सरकारले केही पैसा नलगाई बनाउने र बचेको पैसाले कमसेकम ५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रस्ताव केही कांग्रेससमक्ष राखेंँ, उनीहरूले हँसिमजाक सम्ंझे । एमाले र माओवादीहरूले केही गम्भीर भएर सुने । आज पनि मसँग देशको प्रशासनिक खर्च करिव ५ बर्षमा आधा घटाउन सकिने योजना छन् । त्यो बचेको पैसाले जनतालाई स्वरोजगारी र विकासमा लगाउन सकिन्छ । अर्थात जहिले पनि लोकतन्त्र राम्रो ब्यवस्था भएकोले लोकतन्त्र भए पछि सबै भैहाल्यो नि भन्ने भ्रम नै हामी नेपालीको भाग्य जस्तो भयो । मैले कांग्रेसहरूलाई ठिक वा खराव भन्न खोजेको होइन तर असल विचार लिनेहरूले राम्रो डेलिभरी दिन नसके पछि खराव पात्रले जित्छ नै र राम्रो विचार पनि नराम्रो हो कि भन्ने जनतामा सन्देश जान्छ । त्यो भन्दा दुःखदायी राजनीतिमा अरु हुनै सक्दैन । वास्तवमा नराम्रो विचारले पनि जनतालाई प्रभाव पार्नु भनेको राम्रो विचार भएकोले नराम्रो गनु नै हो भन्नेमा दुइमत छैन ।

राजनीतिमा आउने गरेका शब्दहरूमा खान नपुग्नेहरू, मध्यम वर्गहरू र उच्च वर्गहरू भन्ने गरिन्छ । निम्न वर्गको प्रतिनिधित्व माओवादीले, मध्य वर्गको प्रतिनिधित्व एमालेले र उच्च वर्गको प्रतिनिधित्व कांग्रेसले गरेको र गर्ने भन्ने भ्रम पनि धेरैमा छ । यो समेत एउटा चुनावको समयमा मतदाताको लागि दिशान्तरको विषय भएको छ ।

लोकतन्त्रमा जनताबाट अनुमोदित हुनु पर्दछ र त्यसमा सबै दलको शान्तिपुर्ण राजनीति गर्न पाउनु पर्दछ भन्ने मान्यता प्रमुख र निर्णायक पनि हुन् । त्यसैले लोकतन्त्र मान्ने दल आंफैमा यो वर्गको प्रतिनिधि नै भन्ने धारणा आउन सके पनि त्यसभन्दा पहिला लोकतन्त्रलाई आत्मसात गर्ने र नगर्नेमध्ये कुन जनपक्षीय र गरिव जनताको पक्षधर भन्ने सवाल प्रधान हो । कांग्रेसले लोकतन्त्र र वहुलवादलाई आफ्नो लक्ष्य मध्येको एक वनाएको प्रष्टै हो । तर नेपालका वामपन्थीहरू मध्ये केपी ओली समेतका केही नेताहरू लोकतन्त्र र बहुलवादको पक्षमा भएकोमा कुनै शङ्का छैन । तर कम्युनिष्ट विचारको माध्यवाट अगाडि बढिरहँदा त्यो पन्थमा एकदलीयताका पक्षधरहरू हाबी हुने सम्भावना एक हदसम्म छ । सबैभन्दा वढि घातक हुनसक्दछ । यस अवस्थाको दोष केही हदसम्म कांग्रेसलाई पनि जान सक्दछ । किनभने लोकतन्त्र मानिदिए पछि अरु जे गरे पनि हुन्छ भन्ने मान्यताले गर्दा लोकतन्त्र नै बदनाम हुन्छ ।