पर्यटन र जलविद्युतमा अब्बल प्रदेश नं ४

पर्यटन र जलविद्युतमा अब्बल प्रदेश नं ४


छविलाल बगाले
राजनीतिक दलहरुको कठिन परिश्रमपछि मात्रै प्रस्तावित ६ प्रदेशका आ–आफ्नै विशेषता र संभावना छन् । संघियतामा प्रदेशहरूबीच ठूलो विविधता हुने गर्दछ । प्रत्येक प्रान्तका आफ्ना छुट्टै विशेषता छन् र आफ्नै चुनौती अनि सम्भावना पनि । कुनै प्रदेश उद्योगधन्दा अनि व्यापार ब्यवसायमा अगाडी छन् भने कुनै कृषि त कुनै पर्यटन अनि उर्जामा अघि छन् । सबै प्रदेशहरुमा सबै अवसर भेट्न पनि सकिदैन् । स्पष्ट दृष्टिकोण र नीति भएमा प्रत्येक प्रदेशमा विकासका लागि आवश्यक पर्ने स्रोत र साधन पर्याप्त छन् ।

सरकारले गोरखा, मनाङ, लमजुङ, तनहुँ, कास्की, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ (पूर्वी भाग) र नवलपरासी (दाउन्ने पूर्व) लाई प्रदेश नं ४ रहने गरी छुट्याएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश नं ४ जलविद्युत र पर्यटनमा आत्मनिर्भर रहेको छ । यि स्रोतहरुको सही ब्यवस्थापन हुन सकेमा प्रदेश नं ४ आत्मनिर्भरको बाटोमा अघि बढ्न सक्नेछ ।

हिमाल र पहाडका ११ जिल्ला समेटेर बनाइएको चौथो प्रदेशलाई छिमेकी राष्ट्र भारतसँग जोड्न नबलपरासीको केही स्थान मिलाइएको छ । मुुलुकको अहिलेसम्मकै कालीगण्डकी जलविद्युत आयोजना यसै क्षेत्रमा परेपनि यो एउटा यस्तो प्रदेश हो, जुन प्रदेशमा नेपाल भारतको भन्सार छैन् । गण्डकी र मस्र्याङ्दी नदी वेशिनमा बन्न लागेका कयांै जलविद्युत आयोजनाका कारण यो क्षेत्र आर्थिक रुपले समृद्ध छ । पर्यटकीय हिसावले पनि यो क्षेत्र आकर्षक छ ।

चौथो प्रदेश २० हजार ६ सय १२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो अन्य प्रदेशहरुको तुलनामा निकै कम जनसंख्या भएको प्रदेश पनि हो । यहाँ २२ लाख ७९ हजार ६ सय १ जनसंख्या रहेको छ । यो प्रदेशको साक्षरता प्रतिशत औसतमा ५९.३३ रहेको छ भने मानव विकास सूचकांक ०.५१ विन्दु रहेको छ । चौथो प्रदेशमा ३ सय ८७ वटा मात्रै उद्योग र २९ जलविद्युत् आयोजना छन् । यहाँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनास्लु संरक्षण क्षेत्र आयोजना, गोरखा दरबार, चितवन राष्ट्रिय निकुञ्ज, सार्क राष्ट्रकै नमुना पर्यटकिय गाउँ घलेगाउँ, माथिल्लो मुस्ताङ, कागबेनी, ढोरपाटन शिकार आरक्ष, मनकामना मन्दिर, मुक्तिनाथ मन्दिर, सिक्लेस, सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र ५ हजार ४ सय १६ मिटरेको उचाईमा अवस्थित थोराङ भञ्ज्याङ लगायतका क्षेत्रहरु प्रदेश नं ४ का उत्कृष्ट गन्तब्यहरु हुन् ।

प्रस्तावित प्रदेश नं ४ मा रहेका सबैजसो जिल्लाहरु पर्यटन, जलविद्युत र कृषिमा आत्मनिर्भर बन्न सक्ने उदाहरण प्रस्तुत भएको छ । विश्व विख्यात अन्नपूर्ण पदमार्ग, मनास्लु संरक्षण क्षेत्र आयोजना, संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल लगायतका स्थानहरुले पनि यो प्रदेशलाई प्राकृतिक र धार्मिक पर्यटकहरु भित्र्याई आत्मनिर्भरको बाटोमा डोर्याउन सक्नेछ ।

जलश्रोतमा अपार
६ वटा प्रदेशमध्ये जलस्रोतमा दोश्रो ठूलो प्रदेशको रुपमा प्रदेश नं ४ लाई लिइएको छ । यो प्रदेश जलस्रोतमा प्रदेश नं ३ पछिको दाश्रो ठूलो प्रदेश हो । देशभरी उत्पादित बिद्युतमध्ये सबैभन्दा धेरै यो प्रदेशबाट आपूर्ति भइरहेको विद्युत विकास विभागको एक तथ्यांकले समेत देखाएको छ । सबै आयोजनाहरु गण्डकी बेशिनमै रहेका छन् । जहाँ निजि तथा सरकारी दुवै क्षेत्रले यही प्रदेशमा लगानी गरेर विद्युत उत्पादन गरिरहेका छन् । अन्य प्रदेशहरुमा जलविद्युतको संभावना रहेपनि अहिलेलाई भने प्रदेश नं ४ कै अग्रता छ ।

मुलुकमा अहिले झण्डै ९ सय मेगावाट मात्रै बिजुली उत्पादन भएको विद्युत विकास विभागले जनाएको छ । जहाँ ४ सय २५ मेगावाट विद्युत प्रदेश नं ४ बाट मात्रै उत्पादन भएको छ । देशकै धेरै क्षमतावान १ सय ४४ मेगावाटको कालीगण्डकी–ए जलविद्युत आयोजना पनि यसै प्रदेशमा छ ।

यसका साथै मुलुककै २ ठूला जलविद्युत आयोेजनाहरु पनि यसै प्रदेशका लमजुङ र तनहुँमा क्रमशः ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको तल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाहरु रहेका छन् । २ मेगावाटको छयाङ्दीले पनि विद्युत उत्पादन थालिसकेको छ । यसका साथै लमजुङमा माथिल्लो मस्र्याङ्दी–ए बाट ५० मेगावाट विद्युत थपिएको छ । यसका साथै आगामी ३ बर्षभित्रमा लमजुङबाट दोर्दी करिडोरस्थित ४९.६ मेगावाटको सुपर दोर्दी–ख, २५ मेगावाटको माथिल्लो दोर्दी–ए, २७ मेगावाटको दोर्दी र मिदिम करिडोरस्थित ३ मेगावाटको मिदिमखोला (करापु) जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछन् । जस्ले गर्दा यो प्रदेशमा विद्युतबाट आउने रोयल्टी पनि थपिने छ । यसका अलवा गोरखामा ६ मेगावाटको दरौदी थपिएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा १३.६ मेगावाटको थापाखोला थपिएको छ । कास्कीमा ४.८ को मर्दी खोला र ४.५ को विजयपुर थपिएको छ । यसका अलवा तनहुँ, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङजा लगायतका जिल्लाहरु पनि जलविद्युतका निकै संभावना बोकेका जिल्लाहरु हुन् ।

आगामी एकदुई बर्षभित्रै निर्माण सकिने गरी अन्य प्रदेशहरुमा ठूला खालका जलविद्युत आयोजनाहरु छैनन् । तर यस प्रदेशबाट मात्रै हजारौं मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । त्यसैले यो प्रदेशलाई जलविद्युतको मोडेल प्रदेशको रुपमा पनि विकास गर्न सकिन्छ ।

यस प्रदेशबाट उत्पादन दिइरहेका जलविद्युत आयोजनाबाहेक अन्य जलविद्युत आयोजनाहरुबाट पनि यथाशक्य जलविद्युत उत्पादन गर्न सकिन्छ । कालीगण्डकी, मस्र्याङ्दी, बुढीगण्डकी, मादी, सेती, मोदी लगायतका करिडोरबाट हजारौ मेगावाट विद्युत उत्पादन गर्ने हो भने अन्य प्रदेशको तुलनामा हामी आफै आत्मनिर्भर बन्न सक्छौं । तर यसका निमित्त सबै प्रदेशबासीको साझा धारणा हुन जरुरी छ ।

यो प्रदेशमा निरन्तर रुपमा उत्पादन दिइरहेका बाहेक अन्य विभिन्न जिल्लाहरुमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरुबाट मात्रै केही बर्षभित्रै ५ सय मेगावाटभन्दा बढि विद्युत उत्पादन हुनेछन् । जस्ले गर्दा यो प्रदेशलाई रोयल्टीबाट मात्रै पनि सम्बृद्ध बनाउन सकिन्छ । बन्द हडतालजस्ता क्रियाकलापको अन्त्य गर्ने हो भने पनि आफ्नो प्रदेशमा निर्माणाधिन जलविद्युत आयोजनाहरु समयमै सम्पन्न हुनेछन् ।

यही प्रदेशमा बन्न लागेको १ सय ४० मेगावाटको सबैभन्दा ठूलो सेती जलविद्युत आयोजना, राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी र ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजना पनि यसै प्रदेशमा रहेको छ ।

यहाँ निर्माणाधीन आयोजनाको जडित क्षमता मात्रै ४ सय ७७ मेगावाट रहेको छ भने विद्युत उत्पादन अनुमति लिएर निर्माण सुरु गर्ने तयारीमा रहेका आयोजनाको कुल जडित क्षमता ३ सय मेगावाट बढि छ । अन्य प्रदेशको तुलनामा यो प्रदेशको आर्थिक विकास झनै तीव्र रुपमा अघि बढ्न सक्छ । गण्डकी र धवलागिरी जलविद्युत तथा पर्यटनमा धेरै कदम अघि छ । यो हाम्रो सम्पति हो । यहीँबाट हामी हाम्रो प्रदेशलाई आत्मनिर्भर बनाउन सक्छौं ।

मुलुकमा उर्जाको ब्यापक माग भइरहेका बेला प्रदेश नं ४ सँग उत्पादित विद्युत भएमा अन्य प्रदेशहरुलाई बिक्रि गर्न सकिने हुँदा हामी अझै अघि जान सक्छौं । अहिलेसम्म यही प्रदेशभित्र पर्ने विभिन्न जिल्लाका आयोजनामा सिंगो नेपालको बिजुली धानिएको छ । अन्य प्रदेशमा प्रस्तावित कुनै ठूला क्षमताका आयोजना पूरा नहुँदासम्म यसको योगदान बढी नै हुनेछ ।

पर्यटनको उर्बरभुमि
भौगोलिक बातावरण, उपयुक्त हावापानी र भौगोलिक विविधता कारण प्राकृतिका सौन्दर्यले भरिपूर्ण नेपाल विश्वसामु एक उत्कृष्ट बसोवास स्थल र पर्यटकिय गन्तव्य मुलुकका रूपमा विख्यात छ । विशेष गरी पानी, पर्यटन र जनशक्ति नेपालको आर्थिक भविष्यका आधार पनि हुन् । यसको अत्याधिक उपयोगमार्फत नेपालले आर्थिक उपार्जन गर्न सक्ने प्रचुर सम्भावना छ ।

दर्जनौं हिमाली श्रङ्खलाहरु नेपालको उत्तरी सिमानामा अवस्थित छ । बेला बेलामा फेरबदल भइरहने हावापानीका कारण हिमाल, पहाड र तराईको उत्कृष्ट संरचना निर्माण भएको छ । त्यसै संरचनाभित्र नागबेली आकारमा बगेका नदीनाला, निला तालतलैया, हरिया बनजंगल, प्रश्स्त मात्रामा वन्यजन्तु, विभिन्न प्रजातिका जडीबुटी अनि खेतियोग्य भुमिले पनि नेपालको पर्यटनलाई थप टेवा पु¥याइदिएको छ ।

गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ (पूर्वी भाग) र नवलपरासी (दाउन्ने पूर्व) रहने गरी सरकारले प्रस्ताव गरेको प्रदेश नं ४ पर्यटकिय हिसावले निकै अग्रणी छ । अन्य प्रदेशहरुको तुलनामा यो प्रदेश पर्यटकिय गन्तब्य पनि बनेको छ । यो प्रदेशको राजधानी शहर पोखरा पर्यटनका हिसाबले मुलुकको दोस्रो गन्तव्य पनि हो । काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै पर्यटक यहीं आइपुग्ने गर्दछन् । प्रकृतिले दुलही झै सिंगारिएको यो शहरबाहेक पर्यटकलाई लोभ्याउने आकर्षक र मनमोहक गन्तव्य अन्नपूर्ण क्षेत्रको सबै भाग यही प्रदेशमा नै पर्दछ । पर्सा र चितवनसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको धेरै खण्ड नवलपरासीको पूर्वी भेगमा पर्ने भएकाले त्यहाँ पर्यटक तान्न सकिन्छ ।

मुलुकमा शान्ति स्थापना भए पश्चात यसको सोझो प्रभाव पर्यटन ब्यवसायमा परेको थियो । जसका कारण अन्नपुर्ण पदमार्गमा सन् २००७ देखि नै पर्यटक आगमनमा उत्साहजनक बृद्धि भएको थियो । पर्यटन आगमनमा भएको बृद्धिसगै विगतका बर्षहरुमा शिथिल रहेको पर्यटन उद्योग उभो लाग्ने संकेत पनि देखिएको छ । विश्वविख्यात अन्नपूर्ण पदमार्ग र मनास्लु क्षेत्रले यो प्रदेशको पर्यटनलाई अरु टेवा पुर्याएको छ । तर अहिलेको अनुपातमा यो प्रदेशमा पर्यटक आइरहने हो भने हामीलाई कुनै आपत्ती भने पर्दैन् । अन्नपूर्ण पदयात्रा मार्ग (थोराङ पास) विश्वका १० उत्कृष्ट पदयात्रा मार्ग मध्येको एक हो भने मनास्लु क्षेत्रको लार्केपास अर्को महत्वपूर्ण गन्तब्य हो । यसका साथै पोखराका महत्वपूर्ण पर्यटकिय स्थल, तनहुँस्थित बन्दिपुर, मुस्ताङ क्षेत्र पनि पर्यटकिय गन्तब्य भएका कारण यसलाई हामीले सदुपयोग गर्न आवश्यक छ ।

यहाँ ठूला ठूला उद्योगधन्दाहरु नभए पनि यो प्रदेश सम्पन्न बन्ने प्राकृतिक आधार धेरै छन् । यस क्षेत्रमा प्रस्तावित जलविद्युत् आयोजना निर्माण र पाकृतिक सौन्दर्य अवलोकन गर्न पर्यटक आउँदा त्यसबाट प्राप्त हुने रोयल्टीबाट प्रदेशको कायापलट हुने देखिन्छ । यसका साथै ठूला जलविद्यात आयोजना, पर्यटकीय स्थल, जडीबुटीको भण्डार पनि यसै क्षेत्रमा पर्ने हुनाले यस प्रदेशको पर्यटनले छिटै फड्को मार्ने दुइमत नहोला ।

यस प्रदेशमा पदयात्राका लागि विश्वमै नाम कमाएको अन्नपूर्ण संरक्षण क्षेत्रदेखि मनास्लु संरक्षण क्षेत्र र शिकारका लागि प्रशिद्ध ढोरपाटन शिकार आरक्ष र चितवन राष्ट्रिय निकुन्ज पर्दछन् । पोखराको फेवा ताल, बेगनास ताल, रुपा ताल, विभिन्न स्थानमा रहेका गुफाहरु, गोरखा दरवार, कागवेनी, मुक्तिनाथ, मनकामना मन्दिर, अग्लो स्थानमा रहेका झोलुङगे पुल, लघु जलविद्युतको जिल्ला बाग्लुङ, सार्क राष्ट्रमै विख्यात लमजुङको घलेगाउँ, संसारको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल, ५ हजार ४ सय १६ मिटरको उचाईमा रहेको थोरङ भञ्ज्याङ यस प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरु हुन् । यिनको समुचित प्रयोग गर्न सकेमा यो प्रदेश आत्मनिर्भर नहोला भन्न सकिन्न । सरकारले मनाङ, मुस्ताङ, गोरखा लगायतका स्थानबाट चिन र तिब्बतसँगको नाका खोलेमा पनि बाह्य पर्यटकहरु भित्रिने र यो प्रदेशमा उत्पादन भएका बस्तुहरुले अन्तराष्ट्रिय बजारमा सजिलै स्थान पाउने थिए ।

गण्डकी र धौलागिरी क्षेत्रमा रहेका प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुले प्रस्तावित प्रदेशको मुहार फेर्ने पर्यटन ब्यवसायीहरु बताउँछन् । यस क्षेत्रमा पर्यटकको रुपमा भित्रिने बाह्य पर्यटकहरुबाट प्राप्त रोयल्टीबाट सजिलै आत्मनिर्भर हुन सकिनेछ । यस प्रदेशको राजधानी पोखरामा दिनानुदिन साहसिक पर्यटनको आकर्षण पनि बढिरहेको छ । पर्यटकहरू स्वच्छ हावापानीमा रमाइरहेका हुन्छन् । पछिल्लो समय पोखरा र लमजुङमा साहसिक पर्यटकहरुको ओइरो पनि लाग्न थालेका छन् । यस तथ्यलाई ध्यान दिँदै पोखरा क्षेत्रलाई अन्तराष्ट्रिय व्यवसायिक केन्द्रका रूपमा पनि विकास गर्न सकिन्छ । विदेशी लगानी आकर्षित गरी यो प्रदेशका विभिन्न स्थानमा अन्तराष्ट्रिय आर्थिक केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना छ ।

यस प्रदेशको राजधानी पोखरा र पोखराको आँगनको रुपमा रहेको धौलागिरिलाई (दोविल्ला) डिमुवा–पामे (पोखरा) सुरुङ मार्गबाट जोड्न सक्नु यस क्षेत्रको कायापलट हुनु हो । सम्भाव्य प्रदेश राजधानी पोखरा–कोरल्ला (चिन) नाका छोटो बनाउन र कालीगण्डकी करिडोरसँग प्रदेश राजधानी जोड्न तथा पोखरा आएका पर्यटकहरुलाई धौलागिरी भित्र्याउन यो सुरुङ मार्ग अत्यावश्यक छ । पोखरामा बन्ने अन्तराष्ट्रिय विमानस्थालले पनि यस प्रदेशको मुहारमा निखार ल्याइदिनेछ ।

यसै प्रदेशमा पर्ने अन्नपुर्ण पदमार्गमा दशबर्षे द्धन्दका बेला ओरालो लागेको पर्यटन सन् २००७ बाट उकालो लागेको छ । सन् २००७ मा अन्नपुर्ण संरक्षण क्षेत्र भित्र ६० हजार २ सय ७४, २००८ मा ७२ हजार १ सय ७५, २००९ मा ७९ हजार ८ सय ९६, २०१० मा ९० हजार १ सय ६१, २०११ मा १ लाख १ हजार ९ सय ८, २०१२ मा १ लाख ६ हजार ४ सय ९९, २०१३ मा १ लाख १६ हजार १ सय २० र २०१४ मा १ लाख २९ हजार ९ सय ६४ पर्यटक भित्रिएका थिए भने २०१५ मा ८० हजार पर्यटक अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए । त्यस यताका बर्षहरुमा पनि पर्यटक आगमन निकैल उत्साहवनक नै रहँदै आएको छ ।

मुलक संघियतामा गएर प्रदेशमा बिभाजन हुने हो भने पनि यस प्रदेशमा बसोबास गर्ने आम नागरिकले आफ्नो प्रदेशको भाग्य रेखा आफैं निर्धारण गर्न सक्नेछन् । जलविद्युत र पर्यटनको अग्रणी प्रदेशको रुपमा विख्यात यो प्रदेशले उत्पादन गरेका विद्युत अन्य प्रदेशमा पुर्याएर र विदेशी पर्यटकहरुलाई यहाँका प्राकृतिक सौन्दर्यलाई देखाएर प्रदेश नं ४ लाई आत्मनिर्भर बनाउन सकिनेछ ।