चुनावले नेताहरूलाई दिएको सवक

चुनावले नेताहरूलाई दिएको सवक


– निर्जला कक्षपति

प्रतिनिधिसभाको चुनावमा झापा क्षेत्र नं १ बाट कांग्रेसका यूवा नेता नेता विश्वप्रकाश शर्मा माओवादी नेता राम कार्कीसँग हार्दा धेरैको मन कटक्क खायो । ‘हेर… जित्नुपर्ने नेता हारे’ भने धेरैले । मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले एमाले नेता लालबाबु पण्डितसँग हार व्यर्होनुपर्दा पनि धेरैको चित्त दुख्यो । काठमाडौं क्षेत्र नं १ बाट रविन्द्र मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग हार्दा धेरैले ‘यत्तिको जाने–बुझेको मानिस संसदमा जानुपर्ने’ भनेर थक्थकाए । तर कैयन ‘हेभिवेट’ नेताहरू हार्दा जनता निकै खुशी पनि भए र खुच्चिङ समेत भन्न भ्याए ।

पञ्चायत कालदेखि शासन–सत्तामा रमाउँदै आएका नेताहरूसँग जनता कतिसम्म इरिटेट भएका रहेछन् भन्ने कुरा यो चुनावले केही हदसम्म भए पनि प्रष्ट्याइदिएको छ । यो चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता देखि एमाले र माओवादी केन्द्रका उपाध्यक्ष र राप्रपा अध्यक्षलाई समेत जनताले पराजित बनाएर पाखा लगाइदिएका छन् । वर्षौदेखि राजनीति गर्दै आएका यी नेताहरूको प्रभाव आफ्नो जिल्लामा निकै नै रहनु पर्ने हो तर यी नेताहरूको हार किन हुन पुग्यो ? के यी नेताहरूलाई चुनावमा हराएर जनताले राजनीतिक विश्राम नै लगाइदिएका हुन् त ?

नेपाली कांग्रेसका डा. शेखर कोइराला, कोइराला परिवारका नेता हुन् । यिनको छवी समाजमा राम्रै छ । गाउँस्तरसम्म पुगेर कार्यकर्तासँग भिजेर काम गर्ने नेतामा पर्छन् यिनी । यिनीसँगै उठेका एमाले नेता लालवावु पण्डित स्वच्छ छवी भएका नेताका रुपमा चिनिन्छन् । सामान्य प्रशासनमन्त्री हुँदाखेरि यिनले समाज सुधारका लागि अति नै महत्वपूर्ण र उल्लेखनीय काम गरेका थिए । नेपालको प्रशासनिक क्षेत्र राम्रो भयो भने मात्र देश सुध्रन्छ भन्ने उद्देश्यले उनले कर्मचारीहरू कार्यालायमा अनिवार्य १० बजे उपस्थिति हुनुपर्ने अनि ५ बजेसम्म खटिएर काम गरेको हुनुपर्ने नियम बनाएका थिए । जटिल राहदानी वितरण प्रणालीलाई निकै नै सहज बनाए ।

त्यसैले लालवाबु पण्डित, निकै नै काम गर्ने नेताको रुपमा र भ्रष्टाचारका खिलापमा उत्रिने नेताको रुपमा उनले आफनो परिचय बनाएका छन् । दुबै उम्मेदवार राम्रा र जनताका बीच लोकप्रिय हँुदाहुँदै पनि जनताले लालवावु पण्डितलाई नै किन रोजे त ? उनको सादगीपन, भष्ट्राचार नगरेको छवि, जनतासँग घुलमिल गरेर काम गर्ने उनको बानी नै उनलाई धेरैले मत दिने आधार बन्यो र उनलाई जिताएरै छाडे । यता कांग्रेसका नेता शेखर कोइरालाको हाइट लालबाबुको भन्दा निकै नै उच्च रहेपनि त्यो हाइटले काम गर्न सकेन । कोइराला परिवारमा अझै पनि हामी कोइराला परिवारको भन्ने घमण्ड र दम्भ अझै पनि देखिन्छ र बाहिर जनताका पक्षमा मिठा भाषण गरिए पनि जनतासँग केही न केही दूरी कोइराला परिवारले राख्ने गर्छ । अबका दिन जनतासँग टाढिएर, केन्द्रमा अधिकांश समय बस्ने अनि चुनाव आएका बेला मात्र गाउँ बसेर चुनाव जित्नु भनेको फलामको चिउरा चपाउनुसरह हो ।

अर्का चुनाव हार्ने नेता माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ हुन् । नयाँशक्तिका डा. बाबुरामसँग हार्न पुगेका यी नेता व्यवहार त असल नेताका रुपमा चिनिदाचिनिदै पनि चुनावमा पराजित हुन पुगे । यी नेता ०६२–०६३ को आन्दोलनपछि उदाएका र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुईचढाएर उनलाई यो स्थानसम्म पुर्याएको नेताको रुपमा लिइन्छ । उनीसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका डा. बाबुराम भटराईलाई बौद्धिक, काम गर्न सक्ने क्षमता र भिजन भएको नेताको रुपमा धेरैले लिने गर्छन् । पछि आएर बीचमा सुत्न खोज्दा ठाउँ कहाँ सजिलै पाइन्छ र ?

अर्का कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि यो चुनावमा नराम्ररी हार ब्यहोर्नु परयो । पंचायतकालदेखि मन्त्री बन्दै आएका केसीको गृहनगर नुवाकोट हो र यिनी नुवाकोटबाटै चुनाव लड्दै आएका छन् । लामो समय सत्तामा बसिसकेका केसीले नेपालको राजनीतिमा खासै योगदान पुर्याउन नसकेकै हो । तर उनी पटक–पटक मन्त्री बन्दा बर्षौंदेखि उही मानिस किन मन्त्री बन्ने भन्ने प्रश्न जनतको मनमा रहँदै आएको हो । यसपटक नेपाली जतताले राम्ररी मूल्यांकन गरिदिएका छन् । यिनी हार्दा, धेरैले हार्नै पर्ने मान्छे हारे भन्ने प्रतिक्रिया दिए । किनभने काम नगर्ने तर सत्ताको रस्वादन गर्न पल्केका नेता राजनीतिमा पटक पटक मन्त्री भएको देख्दा साह्रै नै इरिटेट हुँदोरहेछ भन्ने प्रमाण हो योे ।

अर्का हेभिवेट नेता रामशरण महतले पनि यो पटक चुनाव हारेका छन् । आर्थिक क्षेत्रमा राम्रो ज्ञान भएका नेता मानिए पनि धेरैले यिनलाई पनि चुनावमा हार्नुपर्ने नेताका रुपमा लिएका थिए । अझै पनि भन्ने गरिन्छ, उनले जत्तिको नेपालको अर्थतन्त्रलाई राम्ररी बुझ्ने र अगाडि बढाउन सक्ने नेता कोही छैनन् भनेर, अलिक अहम् प्रवृत्तिका कारण उनी पनि यसपटकको चुनावमा हार्न पुगे ।

राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महेश आचार्य, दमननाथ ढुंगाना, आरजु राणा देउवा, दीपकुमार उपाध्याय र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा लगायतका पुराना नेताले पनि हार ब्यहोरे । राप्रपा अध्यक्ष कमल थापाको मुसा प्रवृत्ति जनताले पटक्कै रुचाएका होइनन् । बारम्बार सत्तामा रहीरहन चाहने यी नेताको अनुहार नेपाली राजनीतिबाट कहिले अस्त होला हँ भनेर जनताले चाहिरहेका थिए ।

एमाले उपाध्यक्ष बामदेव गौतम बाम गठबन्धन गरिएको बेलामा पनि हारे । यसभन्दा अघि उनी प्यूठान र वर्दियाबाट उठ्ने गरेका थिए । दुई ठाउँबाट उठेपछि नेताहरूका लागि एक ठाउँबाट जित्ने निश्चितप्रायः हुन्थ्यो । यिनीसँगै उठेका कांग्रेस नेता संजय गौतम स्थानिय स्तरमै भिजेका नेता हुन् त्यसैले वाम एकताको सुत्रधार भएपनि उनी निर्वाचनमा पराजित हुन पुगे ।

उपप्रधानमन्त्रीका दावेदारहरूले चुनावमा हार बेहोर्नु परेपछि कत्तिले त सामाजिक संजालमा उपप्रधानमन्त्रीको खडेरी पर्ने होकि भनेर ब्यङ्ग्यात्मक स्टयाटस् पनि लेखे । जनताले नचाहँदानचाहँदै आफै म उपप्रधानमन्त्री हुनुपर्छ भन्दै यी नेताहरूले रोइलो गरेको जनताले कहाँ बिर्सीएका छन् र केपी शर्मा ओली प्र्रधानमन्त्री भएका बेला ६ जनासम्म उपप्रधानमन्त्री भएको र त्यसमा पनि वरियताका क्रमले तँभन्दा म ठूलो भन्दै मन्त्रालयमा हाजीरसम्म नगरेको कुरा जनताले कहाँ बिर्सिएका छन् र आफैले आफैंलाई मपाइँ बनाएका यी नेताहरूको स्तर योपटक जनताले राम्ररी मापन गरिदिएकै हुन् ।

चुनावमा हार खेपेकी महिला नेतृ आरजु देउवा राणालाई पनि जनताले, पैसाबाट मात्र राजनीति सम्भव हुँदैन भन्ने कुरोको सबक सिकाएका छन् । चुनावअघि धनगडीमा ३ करोडको घर किनेर उनी त्यहाँकी स्थानीय हुन खोजेकी थिइन् । तर सत्ताको उन्माद लागेकी यी महिलालाई जनताले सत्यको पक्ष लिन्छन् भन्ने कुराको हेक्का के थाहा ? लेनदेनमा संलग्न भनेर आफनो छवी निकै धमिल्याएकी यी महिलालाई राजनीतिमा प्रवेश गरेको धेरैले रुचाएका थिएनन् । अरुले चुनावमा प्रतिस्र्पधा गर्न टिकट नै नपाउने उनले भने श्रीमान् सँगै आफूले पनि टिकट प्राप्त गर्न सफल रहिन् । आफ्नो श्रीमान् प्रधानमन्त्री भएपनि प्रधानमन्त्रीको कार्यालय यिनले नै संचालन गर्ने गरेको आरोप जानकारहरू बताउने गर्छन् । प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि उनको खासै योगदान नरहेको पार्टीकै कार्यकर्ताहरू गर्ने गर्छन् ।

आरजु देउवालाई पराजित गर्ने नेकपा एमालेका नेता नारदमुनि राना, थारु र राना समुदायबीच भिजेर काम गरेका त्यहीँका स्थानीय नेता हुन् । यसबाट के बुझ्न सकिन्छ भने यसपालीको चुनावमा जनताले टुरिष्ट नेताभन्दा जनतासँग भिजेर काम गर्ने नेता नै रुचाएका छन् । त्यसकारण जति नै हेभिवेट भएका नेता होस् यो पालीको निर्वाचनमा हार वेर्होनु परेको छ । अब जनताको अगाडि चिल्ला कुराको भाषण दिएर मात्र चुनाव जित्न सकिँदैन रहेछ भन्ने पाठ नेताहरूले बुझन सक्नुपर्छ र विगतमा झैँ हारेका नेतालाई प्रधानमन्त्री बनाउने गल्ती नेपालको राजनीतिमा कहिल्यै दोहरिन हुन्न है ।