बीपी विचार र नेपाली काङ्ग्रेस

बीपी विचार र नेपाली काङ्ग्रेस


– स्वयम्भूनाथ कार्की

नेपाली काङ्ग्रेसको निमित्त बीपी विचार सबैभन्दा महत्वपूर्ण तत्व हो । यो कुरा स्वाभाविक हो, त्यसैले यसलाई धेरै चर्चा गर्न पनि आवश्यक छैन । तैपनि यो विषय भने हाल चासोको केन्द्र बनेको छ । काङ्ग्रेसजनहरूको निमित्त त चासो हुने नै भयो, तर काङ्ग्रेसमा आस्था नभएकाहरूको पनि यसमा चासो पलाएको छ । यो चासोको कारण भने सामान्य छ । त्यो हो– विभिन्न परस्पर विरोधी विचार राखेर पनि काङ्ग्रेसजनहरू त्यसलाई बीपी विचार भन्ने गर्दछन् ।

नेपाली काङ्ग्रेसमा विचारक तथा चिन्तकहरूको कमी छैन । बीपीको जीवनकालमा सानिध्य पाउनेहरूको पनि लामै लर्को छ । सबैको व्याख्या एक समान छैन, एक समान नभएको मात्र होइन कुनै–कुनै व्याख्या त परस्पर विरोधी पनि छन् । यस्तोमा बीपी सानिध्य पाउन वञ्चित युवा अनि स्वतन्त्र व्यक्तिहरू पनि बीपीको विचार र सिद्धान्त लिपिबद्ध भएको प्रमाणित दस्तावेज खोज्न थालेका छन् । यसको अर्थ अब वास्तविक पुराना पुस्ताका विचारक, चिन्तक वा नेताहरूको व्याख्या आ“खा चिम्लेर स्वीकार गर्ने सोचमा नयाँ पुस्ता छैन । यहाँ भन्न खोजिएको नयाँ पुस्ताचाहिँ यो विचार र सिद्धान्तको कुरा पछि जानेसुनेका हुन्, यसमा उमेरको महत्व छैन ।

कुनै पनि राजनीतिज्ञले आफ्नो विचार वा सिद्धान्त एकै स्थानमा लिपिबद्ध गरेका हुँदैनन् । उनीहरू हमेशा कार्यक्षेत्रमा हुन्छन्, त्यसैले अन्तिम अवस्थासम्म पनि परिष्कार गर्ने प्रयत्न गरिरहेका हुन्छन् । नित्य त्यसको विविध व्याख्या गरिरहेका हुन्छन्, त्यसैले आफ्नो कुरा वा इतिवृत्तान्त लिपिबद्ध गर्ने फुर्सद हुँदैन । त्यसैले जति पनि राजनीतिज्ञहरूको यसप्रकारका लेखन उपलब्ध छन् ती सबैजसो कारागार या नजरबन्दमा लेखिएको पाइन्छ । स्वतन्त्रताको हनन भएको अनुभूतिले यस्ता लेखनमा कहिले प्रभाव पार्छ, कहिले पार्दैन । आफू पात्र नभएको कुरा लेख्दा प्रभाव पर्दैन नत्र प्रभाव पर्छ ।

यो कुरामा बीपी पनि अपवाद थिएनन् । उनी नेपाली काङ्ग्रेसको इतिहास लेख्न चाहन्थे, तर सुरु गर्न सकेनन् । कारण जतिखेर उनी सुन्दरीजलमा बन्दी थिए त्यो समय काङ्ग्रेसको इतिहास लेख्ने होइन बनाउने बेला थियो । आत्मकथा लेख्न सुरु गरेर पनि छोडेको कारण आत्मवृत्तान्तको सुरुको दोस्रो अनुच्छेदमा छ । भन्छन्, ‘मलाई लाग्छ, अझ त्यो समय आइसकेको छैन कि म आफ्नोबारेमा लेखौँ । मलाई निरन्तर के लागिरह्यो भने मेरो काम बाँकी नै छ ।’

मूल विचारमा विचलन आएकाले काङ्ग्रेसीहरू सत्तालाई मात्र सत्य मान्ने भ्रममा फसेका छन् । भिडको धार मोड्ने त के कुरा भिडको हावाले उडेर त्यसलाई नै सिद्धान्त बनाउने काङ्ग्रेसीहरूलाई अहिलेको निर्वाचन परिणाम सहन गाह्रो भएको छ ।

बीपीको मृत्युपछि उनको विचार र सिद्धान्तको बखान गर्ने धेरै निक्ले । बीपी अध्ययनको निमित्त सङ्घ सङ्गठनहरू पनि खुले । तर, अपवाद छोडेर सबैजसोको प्रयत्न आफ्नो कुरालाई कसरी बीपी विचार भनेर प्रक्षेपित गर्न सकिन्छ भन्ने नै रह्यो । बीपीका बारेमा अनगिन्ती प्रवचनहरू भए । ती प्रवचनमा चना खाएर जीवन धानेको, बन्दीजीवनको कष्ट भोगेकोजस्ता कुरा मात्र बारम्बार भए । आफूलाई स्नेह गरेको सँगै बिताएका पलको सम्झनामा नै यस्ता प्रवचन सीमित भए ।

उनले गरेका कामहरू र त्यससँग मिलेका उद्गारहरू अनि नमिलेका भनाइहरू नकेलाई नयाँ पिँढीले खोजेकोजस्तो सिद्धान्त र विचारको सङ्कलन बन्दैन । यस क्रममा बीपीको बोली रेकर्ड गरेर त्यसलाई सम्पादन र प्रस्तुत गर्ने गणेशराज शर्माको प्रयत्न अद्वितीय छ । जीवनको अन्ततिर आफ्नो अन्तिम समय भएको अनुभूति भएर व्यक्त गरिएका ती कुराहरूले वास्तवमै उनको विचार र सिद्धान्तको अपेक्षाकृत सही अनुमान गर्न सकिन्छ ।

यसअनुसार मोटामोटी देखिएको रूपरेखा गिरिजाप्रसाद कोइरालाले लिएको बाटोको ठीक उल्टो देखिन्छ । उत्तराधिकार सम्हालेका भाइले लिएको बाटो नयँ पिँढीका काङ्गे्रसजन बीपीको विचारसँग मेल खाएको देख्दैनन् । जहाँ भाइको रूपमा सहयोगी भएर गिरिजाले बीपीलाई अध्ययन गरे त्यहीँ उनका छोराछोरी अनि स्नेह गरिएकी भान्जीको अध्ययन पनि छ । पार्टीमा अविछिन्न अभिन्न भएर साथ, रगत, पसिना बगाएका गणेशमानजी, किशुनजीले गिरिजाप्रसादभन्दा ज्यादा बीपी बुझेका थिएनन् भन्ने आधार छैन ।

बीपीमा बहुदल मात्र होइन त्यसमा बहुविचार पनि हुनुपर्छ भन्ने सोच भेटिन्छ । बेलाबेलामा गणेशमानजी र किशुनजीले आफ्नो कुराको विरोध गरेका प्रसङ्गहरू छन् । बीपीले व्यवहारमै ती फरक मतको सम्मान गरेका छन्, निषेध गरेका छैनन् । तर, गिरिजाप्रसादले सामान्य मतभिन्नता पनि सहन गर्न नसक्ने स्वभाव र काम प्रसस्त देखाएका छन् ।

सहकार्य हुन सक्छ, तर सिद्धान्त छोडेर सहमति गरिनुहुँदैन भन्ने कुरामा बीपी हमेसा अडिग रहे । गोर्खा दलको भरतशमशेरसँग पनि सहकार्य गर्न हिचकिचाएनन्, तर सहमतिको नाममा आफ्नो सिद्धान्त छोडेनन् । गिरिजाप्रसादले सहमतिको नाममा नेपाली काङ्ग्रेसको आधारभूत कुरा मात्र छोडेनन्, संस्थापक सदस्यहरू पनि त्यागे । बीपीले मुलुकको हितको निमित्त, मुलुक जोडेर राख्न आवश्यक पर्ने कुराहरू आफूलाई मन परे पनि नपरे पनि हुनैपर्छ भन्ने विचार र कार्यनीति राखे । सङ्घर्षबाट निक्लेको राम्रा कुराले मुलुुकको भलो हुन्छ, त्यसैले आपूmलाई बाधा भयो भन्दैमा केही भत्काउन हुन्न भन्ने उनको विचारको विपरीत गिरिजाको आफ्नो बाटो निष्कंटक बनाउने नीति रह्यो ।

यी कुराहरूको अब असर देखिन आरम्भ भएको छ । मूल विचारमा विचलन आएकाले काङ्ग्रेसीहरू सत्तालाई मात्र सत्य मान्ने भ्रममा फसेका छन् । भिडको धार मोड्ने त के कुरा भिडको हावाले उडेर त्यसलाई नै सिद्धान्त बनाउने काङ्ग्रेसीहरूलाई अहिलेको निर्वाचन परिणाम सहन गाह्रो भएको छ । जो स्वाभाविक पनि छ किनभने अब नेपाली काङ्ग्रेस गतिशीलताको नाममा पीपलपाते सिद्धान्त अपनाउन थालेको छ । नत्र यसपटक ‘लोकतान्त्रिक गठबन्धन’को आवश्यकता किन देखियो र त्यसमा साथ लिने के मापदण्ड थियो ? यो प्रश्नको जवाफ माओवादी नेता बाबुरामको भागिदारीको सन्दर्भमा दिइनुपर्छ, सबै प्रस्ट हुन्छ ।