चीनको अडान अस्पष्ट

चीनको अडान अस्पष्ट


छयालीस जनाको ज्यान जाने गरी भएको दक्षिण कोरियाको चिओनान जहाज डुबेको घटनाले उक्त क्षेत्रको शान्ति र स्थिरताका सामु गम्भीर चुनौती ल्याइदिएको जापान, दक्षिण कोरिया र चिन त्रिपक्षीय वार्ताले ठम्याइ गरेको छ।

जापानका प्रधानमन्त्री युकियो हातोमायाले दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ्ग बाकप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले उक्त जहाजलाई उत्तर कोरियाली पनडुब्बीले टरपेडो हानेर डुबाइदिएको भनी अगाडि सारिएको प्रमाण विश्वसनीय भएको समेत बताए। तर यस विषयमा चीनको अडान भने अस्पष्ट छ।

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा तीनै नेताहरु संगसंगै उभिएका थिए। त्यहाँ बोल्दै चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले उक्त घटनामा परी मारिएकाहरुको परिवारप्रति समवेदना प्रकट गरे। उनले कोरियाली प्रायद्विपमा उब्जिएको तनाव साम्य पार्न पर्ने बताए, तर आफ्नो अडानबारे उल्लेख गरेनन्।

शीतयुद्ध कालदेखिकै आफ्नो पुरानो तर अलि अप्ठेरो मित्र उत्तर कोरिया, जसले तमाम आरोपहरुको आक्रोशयुक्त खण्डन गरेको छ, चिढिने डरमा बेइजिंग रहेको ठानिएको छ। साथै यस मुद्दाले उक्त क्षेत्रमा बिस्तारै बदलिरहेको शक्ति सन्तुलनलाई पनि उजागर गरिदिएको छ, खासगरी चीनभित्रै आइरहेको परिवर्तनको सम्बन्धमा।

यदि चीनले जहाज डुबाइएको घटनाको पछाडि कुनै रुपमा उत्तर कोरिया जिम्मेवार रहेको कुरा पछि स्वीकार्‍यो भने त्यसले अब उत्तर कोरिया चीनको निम्ति दायित्व बन्दै गएको संकेत दिनेछ।

उक्त घटनामा आफुलाई दोषी देखाइएको छानबीनको रिपोर्टलाई दक्षिण कोरियाले गरेको षडयन्त्र भन्दै आएको उत्तर कोरियाले राजधानी प्योङयाङमा ठूलो र्‍याली आयोजना गर्‍यो।

त्यसमा सहभागी दशौं हजार मानिसहरुले हावामा मुक्का हान्दै दक्षिण कोरियाका अधिकारीहरुलाई युद्ध चाहने कठपुतलीको संज्ञा दिंदै कडा निन्दा गरेका थिए।

श्रोत: बिबीसी