‘आमा’ भुवनलाई महेन्द्रको बक्सिस -राजन घिमिरे

‘आमा’ भुवनलाई महेन्द्रको बक्सिस -राजन घिमिरे


यिनी हुन् पहिलो नेपाली चलचित्र आमाकी नायिका भुवन चन्द ।
०२२ सालतिर निर्माण भएको चलचित्र आमाकी प्रथम नायिका भुवन चन्द नेपाली चलचित्र उद्योगको एउटा ज्युँदो इतिहास हुनुहुन्छ । रेडियो नेपालका तत्कालीन वरिष्ठ गायक भैरवबहादुर थापाकी छोरी भुवन चन्दले आफ्ना पितासँगै रेडियो नेपालमा पनि गायिकाको रूपमा कार्य गर्नुभयो र त्यसपछि बन्नुभएको थियो चलचित्र आमाकी नायिका ।
बुबा गायक भएपछि छोरी पनि गायिका बन्नुपर्छ भन्ने मान्यता राखेका थिए भुवन चन्दका परिवारले । तर, उहाँको रुचि भने अभिनयतिर बढी मात्रामा जाग्यो । ०१८/१९ सालतिरबाट गीत गाउन थाल्नुभएकी थापाले भजन, लोक र आधुनिक गरेर ४०/५० वटा गीत गाइसक्नुभएको छ भने उहाँले २०१० सालमा बालकृष्ण समको नाटकबाट अभिनय यात्रा सुरु गर्नुभएको हो । हुने बिरुवाको चिल्लो पात भनेझैं ५-६ वर्षको उमेरमा नै बाल-कलाकारको रूपमा अभियन फाँटमा ओर्लनुभयो उहाँ ।
पहिलो नेपाली चलचित्र आमाकी पहिलो नायिका हुन पाएकोमा भुवन चन्द आफूलाई जति गौरवान्वित ठान्नुहुछ त्यत्तिकै मात्रामा दुःखित पनि हुनुहुन्छ उहाँ चलचित्र आमाको प्रथम प्रदर्शनी नेपालमा हुन नपाउँदा । यता निकै भव्य एवम् कुतूहलपूर्ण चलचित्र आमाको प्रदर्शन भइरहेको थियो भने उता भुवन चन्दचाहिँ सांस्कृतिक टोलीसहित चीन जानुभएको थियो । चलचित्र हेरिसकेपछि स्वर्गीय राजा महेन्द्रबाट बक्सिसस्वरूप नगद चार हजार रुपैयाँ पाएको क्षणलाई आज पनि उहाँले भुल्न सकिरहनुभएको छैन । आफ्ना पिता उस्ताज स्वर्गीय भैरवबहादुर थापाको नाम नै कलाकारिता क्षेत्रको उच्चस्थानमा पुगेका कारण कलाकारिता क्षेत्रमा जम्न भुवन चन्दलाई खासै दुःख परेन । त्यसो त जन्मघरबाट साथ पाए तापनि मामाघरबाट भने उहाँलाई साथ त्यति मिलेन । त्यही पनि कलाकारिता क्षेत्रमा नै लाग्ने दृढसङ्कल्पका साथ अगाडि बढ्नुभएकी भुवन चन्दले विवाह गर्नुभयो रेडियो नेपालमा अङ्ग्रेजी समाचार वाचक एवम् उद्घोषक माइकल चन्दसँग ।
माइकल चन्दसँग ०३३ सालमा वैवाहिक बन्धनमा बाँधिएपछि भुवन चन्दको कलाकारिता क्षेत्र झनै झाँगिँदै जान थाल्यो । आफूलाई मात्र नभएर कलाकार र कलाकारिता क्षेत्रलाई माया गर्ने श्रीमान् पाएपछि कलाकारिता क्षेत्रलाई निरन्तरता दिन सफल हुनुभएकी भुवन चन्दको जन्म २००६ साल असार १ गते काठमाडौंमा भएको हो । हालसम्म तीन दर्जन नाटक, रेडियोनाटक त्यत्तिकै सङ्ख्यामा एक दर्जनभन्दा बढी टेलिफिल्म अनि तीसवटाभन्दा बढी चलचत्रिहरूमा निरन्तर रूपमा अभिनय गर्दै आउनुभएकी भुवन चन्दको आजको जीवन निकै सुखदायी, आनन्ददायी र सौखिन किसिमले बितिरहेको छ । उहाँका तीन छोरी अमेरिकामा अध्ययनरत छन् भने आफ्ना पति सञ्चारकर्मी माइकल चन्दसँग काठमाडौंको महाराजगन्जमा बस्दै आउनुभको छ । भुवन चन्दले नेपाली कलाक्षेत्र विशेषगरी चलचित्र जगतमा पुर्‍याउनु भएको योगदानका लागि उहाँ सदा सम्मान र सम्झनायोग्य व्यक्तित्व हुनुहुन्छ ।

ँफिल्म छाडौं कि क्या हो ’
अभिनय हेर्ने कि उनको सुन्दरता हेर्ने – शिक्षा हेर्ने कि उनको उठबस हेर्ने – हरेक कोणबाट निपुण लाग्छिन् नायिका झरना बज्राचार्य । उनको तारिफ गरेर नथाक्नेहरू पनि कम छैनन् यहाँ । तर विडम्बना सिनेमाको नायिकाको रूपमा भने झरना जम्न त के राम्रोसँग उभिन पनि सकिनन् । किन होला – जवाफमा उनी भन्ने गरि्छन्, ‘मैले त दिलोज्यानले नै काम गरेकी छु । सबैले वाहवाही भनेर ताली पनि बजाउँछन् तर फिल्म चल्दैन त के गरूँ -‘ उल्टै झरना प्रत्रि्रश्न गरि्छन् ।
धेरैले ‘अनलक्की’ नायिका भनेर सम्बोधन गर्न थालेपछि यतिबेला झरनाको मन साह्रै कुँडिन थालेको छ । आजभोलि उनी सार्वजनिक कार्यक्रममा नै भन्न थालेकी छिन्, ‘नाच्न जान्दैनन् आँगन टेडो भनेजस्तै हो यो । फिल्म हिट भयो भने त्यसको जस सबैले लिने अनि फ्लप भयो भनेचाहिँ मेरो मात्र बद्नाम नर्गे ।’
सिनेमा बनाउनेहरूको भीड अत्यधिक बढ्नाले ‘क्वालिटी’ भएका सिनेमाहरू छायामा पर्ने गरेको कुरा बताउने झरना कलाकारिताको विधामा पनि यो रोगले प्रवेश गरेको कुरा बताउँछिन् । आजभोलि झरना बज्राचार्यलाई लाग्न थालेको छ, ‘मैले खेलेको म्युजिक भिडियोको तारिफ हुन्छ । अवार्ड पाउँछन् तर फिल्म चल्दैन त म के गरूँ – अब फिल्म छाडौँ कि क्या हो -‘

ँफटाहा’हरूको भीडमा राजु
झट्ट हेर्दा कुनै सिनेमाको नायकभन्दा कम लाग्दैनन् उनी । जिउडाल अनि पहिरनबाट उनको मूल्याङ्कन गर्ने हो भने नायकभन्दा कम नलागे तापनि उनी वास्तवमा हास्य कलाकार हुन् नेपाली कलाकारिता फाँटको । उनले नामै राखेका छन् आफ्नो राजु कमेडी भनेर ।
करिब दस वर्षदेखि हास्य कलाकारिता क्षेत्रलाई निरन्तरता दिँदै आएका राजु कमेडीको प्रतिभा भने स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको क्यारिकेचरबाट अगाडि बढेको हो । ‘गिरिजाप्रसाद कोइरालाको स्वर निकै सरल’ पहिलो क्यारिकेचर गरेको सम्झँदै उनले भने, ‘उनकै नक्कलबाट सुरु भयो मेरो कला यात्रा ।’
राजु यतिबेला तराई टेलिभिजनबाट प्रसारण हुने कमेडी सिरियल गाई कि त्रिशूलमा ढाडेको भूमिकामा देखापर्दै आएका छन् । स्टेज कार्यक्रमदेखि स्कुल र कलेजमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमतिर सहभागी हुँदै आफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाउँदै आएका राजु पनि नातावाद र कृपावादबाट हैरान भइसकेका रहेछन् । ‘यहाँ प्रतिभा र क्षमता भएर मात्र हुँदैन रहेछ । चाकडी र चाप्लुसी गर्न सकिएन भने प्रतिभा त्यसै मर्दोरहेछ,’ राजुको तीतो अनुभव यस्तो छ । जीवनमा धेरै हन्डर खानुपरे तापनि केही समययता आएर आर्थिक रूपमा पनि आफू कलाकारिता क्षेत्रबाट सन्तुष्ट नै रहेको कुरा बताए उनले । ‘अबचाहिँ केही होला जस्तो छ । अहिले उभिन सकेको छु । अब हिँड्न पनि सक्छु होला,’ राजुको आत्मविश्वास छ ।

कलिवुडमा जम्ने प्रदीपको सपना
नेपाली सिने जगत्मा नयाँ-नयाँ पहिचान बनाउँदै गरेका प्रतिभाशाली युवा प्रदीप ढुङ्गानाले कला क्षेत्रमा प्रवेश गरेको ७/८ वर्ष भयो । मोडेलका रूपमा र्‍याम्पमा उत्रिएका विभिन्न अनुभवबाहेक ओम प्रोडक्सनको चलचित्र ‘माया नमार’ र ‘घातक’ मा प्रदीपले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन् । गायिका श्वेता उप्रेतीको एक गीतमा प्रदीपले गरेको मोडलिङ उनका नायक अङ्कल रमित ढुङ्गानालाई मनपरेपछि उनैबाट चलचित्रमा अभिनय गर्न प्रेरणा मिलेको प्रदीपको कथन छ । हाल उनी रमितले निर्माण गर्दै गरेको ‘मन’ मा अभिनय गर्दै छन् । नेपाली चलचित्र फाँटमा भविष्यमा एउटा स्थापित कलाकार बनेर उभिने उद्देश्य बोकेका प्रदीपलाई सफलताको शुभकामना ।