निर्वाचनमा दलीय व्यवहार र परिणाम

निर्वाचनमा दलीय व्यवहार र परिणाम


– अयोध्याप्रसाद श्रीवास्तव

मेरो ‘लाइब्रेरी टाइम’मा मोबाइलमा एक मित्रको सानो स्टेटस पढें– ‘धोकेबाज नेता, गुरू र नेपाली राजनीति’ । यसैसम्बन्धी पुस्तक मेरो अगाडि खुल्ला थियो । यसैको अध्ययनमा त मेरो यतिका वर्ष बितेका छन् । आज चश्मा लगाएर विदेशी पुस्तकालय र गुरूहरूसँग किताबका पाना पल्टाउँदै छु ।

शिक्षकलाई यो कुरा भनें– हाँस्नु भयो । उनले पुरै आलेख तयार हुन् टाइम लाग्ला, अहिले समयको माग अनुसार केही अंश मात्रै भए पनि त लेखे ठीक होला भने । मैले सोच्न थालें, २०७४ को स्थानीय चुनावको स्मृति दिमागमा ताजा हुन् थाल्यो ।

स्थानीय चुनावको घोषणा भएपछि कतिपय राजनीतिशास्त्री र प्राध्यापक साथीहरूले यस्तै एउटा सुझाव दिएका थिए– समस्याको जरो पत्ता लगाउन अनुसन्धान त गर्नै पर्छ । प्रत्यक्ष प्रयोग गर्ने यसभन्दा राम्रो अवसर कहाँ पाइन्छ ? राजनीतिशास्त्रीको प्रयोगशाला त पूरा संसारका राजनीतिक परिस्थति र घटनाहरू नै त हुन् । कोही एक जनाको प्रयोग र अनुभवबाट नै त समाजले निष्कर्ष पाएको हुन्छ । तर राजनीति ? हजारौं लाखौँ मानिसहरूको सोंच, विचार र भावनाहरूको आँधीमा हाम फाल्नु र पौडी खेल्नु हो । सुशिक्षित व्यक्तिका लागि त यो बहुतै साहस को कदम हो ।

म राजनीतिशास्त्रको प्राध्यापक, अध्येता र विद्यार्थी हुँ, तर मेरो व्यवहारिक राजनीतिमा किञ्चित पनि संलग्नता छैन । राजनीतिको दुनियामा प्रकाशको एउटा दियोको रूपमा उदित हुन् लागेको मेरो पुस्तकलाई नितान्त प्रायोगिक, आधिकारिक, प्रमाणिक निष्कर्शहरू प्राप्त हुने दुर्लभ अवसर उपस्थित थियो । मैले गुलरिया नगरपालिकाको मेयरको प्रत्याशी हुने मन बनाएँ र कुरा बुझन गाउँ घर हिडें । गुलरियाले सबैभन्दा योग्य उम्मेदवार पाउने भयो भन्दै धेरैले खुशियाली जनाए, सामान्य जनताले निकै हौसला दिए । राम्रो अनुभवी मध्येका कोही कोहीले राजनीतिमा पस्दै नपस्नुस पनि भने । कसैले जीत नभए पनि सम्मानजनक हार हुन्छ भने । कसैले पत ार्टी समात्ने भने । कुनै पार्टीले विचार गर्ने, कसैले त उल्टै अफर पनि गरे तर मेरो लक्ष्यमा सहयोगी प्राज्ञहरूले अनुसन्धान नै प्रमुख उद्देश्य बनाउने र स्वतन्त्र नै लड्ने भने पछि पार्टी समाउने कुरा हरायो ।

मलाई दबाव दिइरहेका दुईटा राजनीतिक पकड भएका पार्टीहरू निराश भएर आफ्नो बाटो लागे । मैले जीतमा प्रशन्नता र हारमा दुःख नमानेर निरपेक्ष लडने भएँ, बिल्कुलै गीता को अर्जुन सरह । यो कुरा निकै राम्रो मानियो । मैले अन्य पार्टीबाट लड्ने मेरा आफन्तहरुलाई कुरा स्पष्ट पार्न एक ठाउँमा बस्न पटक-पटक आग्रह गरें । तर गीताको निष्काम कर्मयोग महान हस्तीलाई बुझ्न त गाह्रो हुन्छ भने मैले बोलाएकाहरूलाई हृदयंगम गराउने कसले ? कोही त आए तर आफनो बिग्रन लागे पछि सुधारको लागि म बसीदिनु पर्ने भनेर आए ।

मेरो चुनाव प्रचारमा घर कै छोरा, भाइ भतीज र तीन जना मित्रहरू थिए तर भाडाका मानिस मैले राखिनँ । निरपेक्ष लडाईमा त्यस्तो गर्नु पर्ने, जीवन–मरणको प्रश्न नै थिएन ।

बहुदलीय–संसदीय व्यवस्था भएका सभ्य देशहरूमा स्थापित भएको नीति–रीति अनुसार स्थानीय चुनाव पार्टीगत आधारमा लडिँदैन । कदाचित पार्टीले उम्मेदवार उठाए पनि पार्टी पर्दापछाडि रहन्छ । यदि कुनै देशमा निर्वाचनमा पार्टीको संलग्नता देखिन्छ भने पनि चुनाव चिन्ह पार्टीको हुँदैन । उम्मेदवार सबै जना स्वतन्त्र जस्तै हुन्छन् र उम्मेदवारी दर्ता भई सके पछि स्वतन्त्र र दलगत सबै उम्मेदवारले एकै दिन एकैसाथ स्वतन्त्र निर्वाचन चिन्ह पाउँछन् । तर हामी कहाँ निर्वाचन आयोगले सिद्धान्त र प्रचलन विपरित काम ग¥यो । राजनीतिक दलहरूलाई उनीहरूले प्रयोग गर्दै आएको र जनताको मन मस्तिष्कमा छाप रहेको निर्वाचन चिन्ह नै प्रयोग गर्न दिने भन्यो । उनीहरू पार्टीको झण्डा, पार्टीको चिन्ह, संगीत, बाजा–गाजाका साथ मानिसको हुल लिएर महिनौं पहिलेदेखि गाउँ पसे भने स्वतन्त्र उम्मेदवार बिना चुनाव चिन्ह, खालि हात, दुई चार जना साथी र अधिकांश अनपढ र राजनीतिको ज्ञान नभएका जनतामा पम्पलेट र घोषणापत्र वितरण गर्दै बिना तडक–भडक खाली भेटघाटले चुनावी माहौल कसरी बन्न सक्दथ्यो ?

असार १४ गते मतदान तोकिएको, २ गते उम्मेदवारी दर्ता भयो र स्वतन्त्र उम्मेदवारलाई ६ गते मात्र चुनाव चिन्ह दिइयो । ७ गते सम्म प्रचार सामाग्री छपाएर ८ गते देखि ११ गते सम्म ४ दिन मात्र प्रचारको समय पाइयो । त्यति धेरै १४४ गाउँ, टोल र मतदातालाई विशाल र भूल भुलैया बुद्धिको मतपत्रमा चुनाव चिन्ह देखाउन, कुरा बुझाउन र प्रचार सामाग्री टाँस्न कुनै हालतमा सम्भव हुन् सक्दैन । निर्वाचन आयोगले समानता र सिद्धान्तको धज्जी उडायो । जनतालाई पनि त स्वतन्त्र मानिएन । राजनीतिक दलकै उम्मेदवारलाई मत दिन बाध्य गराइयो । राजनीतिक दलहरूले विद्यार्थी समेतलाई जुलूसको अंग बनाए । रक्सी मासुको भोज भतेर, टिशर्ट र पैसाका गिफ्ट चले । मतदाता खरीद–बिक्रीमा परे । जाली फटाहाहरूले खुल्ला पैसा मागे । मैले किन पैसा दिन्थे र ? अरूहरूले पैसा बाँडेका खबर सुन्ने बाहेक उपाय के नै थियो ? मेरा सहयोगी बन्न आएकाहरूले साथ छाडे र अन्तै देखा परे । मेरा साथी बन्न पुगेका स्वतन्त्र उम्मेदवारहरूलाई अरू पार्टीले किन्यो, कोहीलाई लोभमा पारेर उम्मेदवारी फिर्ता गराइयो भने कसैलाई त थाहै न दिई आफ्नो पार्टीको वार्ड सदस्य पद मा उम्मेदवार बनाइ दिए । जुन सुकै पार्टीबाट जो जिते जितोस् तर स्वतन्त्र न आओस् भनेर सबैले मलाई नै प्रतिस्पर्धी ठानेका थिए ।

मतदाताको कुरा गर्ने हो भने त्यही चार दिनको अवधिमा साम, दान, दण्ड र भेद सबै नीतिको प्रयोग भयो । केही मतदाताले मलाई फोन गरे, गाउँमा बोलाइ, हाम्रो गाइ, भैसी र बाख्रा भारतीय जंगलमा जान न पाउने र हाम्रो घाँस दौरा नै बन्द हुने भयो, कि त भारतीय वनपालेलाई गाउँमा ल्याएर वचनवद्धता गराउनुस भने ? थुप्रै गाउँहरूबाट यस्तो कुरा आयो, मैले विदेशी वनपालेले घाँस दौरा र चरण गर्न दिन्छु भन्न किन आउला र– भनें । मतदाता चुप लागे । तिनको लोभ, चालाकी या त्रास जे थियो, मैले मेटाउन सक्ने अवस्था थिएन ।

एउटा (राम्रै ?) पार्टीको प्रमुख कार्यकर्ताले आगामी संसदीय र प्रादेशिक चुनावमा तिनको उम्मेदवारी हुँदा मेरो सहयोग पाउने आशामा मेरो पार्टीबाट टिकट लिएर लडनुस् भन्दै आएका थिए तर म स्वतन्त्र लड्ने भएपछि उनले देशी समूदायबाट एक जना सीधा–सादा नवयुवकलाई मेयरको टिकट दिएर उठाएका थिए । यस उम्मेदवारबाट मेरै क्षति हुने स्पष्ट थियो ।

कुनै पार्टीले निम्न वर्गीय मधेशी दलितहरू मध्येका र मेरा गाउँले नाताका नितान्त आफन्तहरूलाई स–साना पदहरूमा उठाई दिए । मतपत्रको ढांँचा अनुसार मतदानमा तिनलाई मोहरा बनाएर । तेर्सो लाइनमा सबैलाई मत हाल्दा मलाई पर्न जाने क्षतिको ती विचरा साधारण ग्रामीणले कसरी अनुमान गर्न सक्थे ?

सब भन्दा अशोभनीय र मतदाताको स्वतन्त्रताको हनन गरियो मतपत्रको बनावटबाट । पञ्चायती चुनावमा प्रधान र उप प्रधान तथा वार्ड अध्यक्ष तथा ६ वटा वर्गीय संगठनको समेत चुनाव हुँदा र २०४६ पछिका चुनावमा समेत विभिन्न पदको छुट्टा छुट्टै मतपत्र हुन्थ्यो । जसमा मतदातालाई मतदान गर्न सरल हुनथ्यो । तर यो चुनावमा पार्टीगत आधारमा मतपत्रमा मेयर, उपमेयर, अध्यक्षदेखि सबै सदस्यलाई एकै लाइनमा एक साथ राखिएकोले मतदाताले आफ्नो मन पर्ने उम्मेदवारलाई छान्न कठिन हुने गराइयो भने मतदाताले आफूलाई मन पर्ने कुनै एक सदस्यलाई पनि मत दिन चाह्यो भने उसले त्यो पार्टीको लाइनको मेयरसम्म सातै जनालाई छाप लागाई दिन सजिलो मान्ने गराइयो । यो धुर्तताले गर्दा राम्रो व्यक्तिको छनौट भन्दा पार्टीलाई छान्नु पर्ने विवशता पैदा गरियो । विचरा मतदाता, सार्वभौम जनता ? यी सबै कारणले गर्दा मैले प्रेसबाट उठाएको प्रचार सामाग्री मतदातामा वितरण गर्न आवश्यक ठानिन, सब घरमा ल्याएर राखें । मैले व्यवहारिक राजनीति बुझी सकेका थिएँ, पाउन खोजेको राजनीतिक कुरा पाई सकेको थिएँ । अब मतदानको नाटक र कसैको जीतहारको मतगन्ती हेर्न मात्र बाँकी थियो ।

यो हार को फाइदा के ? भन्ने प्रश्न उठाउनेहरू पनि होलान, तर यो ‘बेमौसमको बाजा’ होइन । यस अनुभवले निम्न तथ्यहरू देखा पर्दछ ।

तत्कालीन परिणाम :

(१) सबै उम्मेदवारहरू मध्ये सर्वाधिक शैक्षिक योग्यता, कानून र विकाश प्रशासनको सर्वाधिक व्यवहारिक ज्ञान भए पनि पछाडि हुल न भएको स्वतन्त्रसँंग जनताले उभिने हिम्मत गर्न नसकेको रहेछ ।

(२) यदि स्वतन्त्र उम्मेदवारलाई जनताले साथ दिन चाहेंन भने पार्टीको शक्ति भएको यो माओवादीको र संघीय समाजवादीको उच्चस्तरीय राम्रो शिक्षा, दीक्षा कर्मठ, योग्य, उत्साही र लगनशील युवक र उम्मेदवारलाई पनि जनताले चाहेन ।

(३) एमालेबाट व्यवहारिक राजनीतिका अनुभवीलाई पनि जनताले चाहेन ।

(४) राप्रापाबाट आर्थिक सम्पन्नता र उच्च पारिवारिक अवस्थाका शालीन व्यक्तिलाई पनि जनता ले चाहेन ।

तसर्थ,

(क) नेपाली जनतालाई शैक्षिक योग्यता, प्रशासकीय कार्य क्षमता, विकास, पार्टीको शक्ति, उम्मेदवारको शालीनता, शिष्टता, पदीय अनुभव, पार्टीमा उच्च हैसियत र राजनीतिक अनुभव, जस्ता कुनै कुरा नचाहिने रहेछ ।

(ख) आकाशे कुरा सुन्न जनता बढी मन पराउँछन् ।

(ग) जनतालाई लोभका कुरा गरेर, भय देखाएर ( विगतमा माओवादीले यसैबाट सफलता पाएको थियो) स्वार्थ सिद्ध गर्न सकिन्छ ।

(घ) कुनै पार्टी या उम्मेदवारको नीति अथवा घोषणापत्रसँंग जनताको खासै मतलब हुँदैन । बढी भन्दा बढी गफ हाक्न सक्नु पर्दछ ।

(ङ) जनतालाई सुनाएर, पुलिस प्रशासनलाई अघि पछि बेसरी गाली गर्न सक्नु पर्दछ र पुलिसको साथ संगत र साँठगाँठ जरूरी हुन्छ । सीमा नजिककाले भारतीय पुलिस र प्रशासनसंँग पनि नजिक भई रहनु पर्दछ ।

(च) ग्रामीण, गरीब, अशिक्षित र साधारण जनताको भावनाको दोहन (लोभ र भयबाट गर्न सजिलो छ) ।

(छ) बर्दियामा पहाडी समूदायको बस्ति बाहेक अन्य ग्रामीण इलाकामा जनताको भावनाको भित्री तहसम्म कांग्रेसी अगुवाहरूको पहुँच छ ।

(ज) जनतालाई लगातार चुनावी जुलूस, आकर्षक र चटके नारा, बाजागाजा, होहल्ला र पर्चा पोस्टरको अधिकताबाट प्रभावित गर्न सजिलो छ ।

(झ) उम्मेदवार र मतदाताको एक समान जातीयता, भाषा र संस्केतिले मतदातालाई आकर्षित गर्दछ ।

समग्र दलीय व्यवहार र परिणाम :

(१) सामान्यतया बढी मतदाताको जातिको उम्मेदवारलाई टिकट दिने गर्दछन् ।

(२) उच्छिृङ्गखल, बदनाम, सनकी, दलाल र अपराधीले पनि पार्टीको निकटता, संरक्षण र चुनावी टिकट लिन सफल हुने गरेका उदाहरण पाइन्छ ।
(३) विकासको काम गर्न सक्ने भन्दा पार्टी र कार्यकर्तालाई पालन सक्नेले प्रायः टिकट पाउने गरेको देखिन्छ ।

(४) निर्वाचनमा धनबल, जनबल, प्रशासनको बल, भय, त्रास, लोभ सबै अस्त्र को प्रयोग हुन्छ । जनताको स्वतन्त्रता, समानता र विधिको शासनको दुर्गति हुन्छ ।

(५) देशमा लोकतन्त्रको नाम लिएर कांग्रेस, एमाले र माओवादीको पारस्परिक सहमतिमा देशको शक्ति, सत्ता र सम्पत्तिको भागबण्डाले वैधता पाएको छ । प्रजातान्त्रिक निरङ्कुश शासन व्यवस्था भएको छ । लोकतन्त्रात्मक शक्ति, इकाई र संरक्षक सत्तामाथि त्रिदलीय पकड छ । त्रिपक्षीय सहमति नै न्याय भएको छ ।

(६) कांग्रेसले आफ्नो नीति परित्याग गरी माओवादीसँंग गएकोले उसको छवि बिग्रेको छ । माओवादीलाई कसैले इतिहासको बदला लिन्छ कि ? अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछ कि ? भन्ने आशंकाले पिरोली रहेकाले जथाभावी अवसरवादी व्यवहार गरेको छ । एमालेको स्थिति बलियो देखिन्छ ।

(७) निर्वाचन आयोगले आगामी संसदीय र प्रादेशिक निर्वाचन एक साथ गराइरहेकाले स्वतन्त्र उम्मेदवार र पार्टी गठबन्धनमा मतदातालाई मतदान गर्न कठिन हुने छ । गठबन्धन्मा मतदाताले उम्मेदवार न भएको तर आफूले मतदान गर्दै आएको चिन्हमा मतदान गरेर मतपत्र बदरको संख्या बढ्ने सम्भावना छ ।

(८) मधेशी जनताले मधेशी नेता या अगुवा, जति सुकै सक्षम भएपनि उसलाई आफू जस्तै शोषित पीडित, निर्वल, असहाय, सत्तामा पराधीन र असुरक्षित ठान्दछ । यस कारण मधेशी नेतृत्वलाई सोझै सहयोग गर्नु भन्दा पहाडी समुदायको कमजोर, कमसल र अपरिचित भए पनि नेपाली भाषामा हावादारी कुरा गर्न सक्ने नेता या अगुवाको बोली बचनमा बढी भरोसा गर्दछन् ।

(लेखक राजनीतिशास्त्रका प्राध्यापक, अधिवक्ता र हाल अमेरिकामा अध्ययनरत छन् ।)