घोचपेच छोडौँ, सोच बदलौँ

घोचपेच छोडौँ, सोच बदलौँ


– डा. तिलक रावल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीतादेवी दाहालका पुत्र राजनीतिकर्मी प्रकाश दाहालको यही मंसिर ३ गते भएको असामयिक निधनको समाचारले देशवासी स्तब्ध हुन पुगे । धेरैलाई दुःख लाग्यो र स्वभाविक छ दाहाल दम्पत्तिलाई जवान छोरोको आकस्मिक अवसानले ठूलो पीडा दियो । सोको बोध आमजनताले पनि गरे । बहुपत्नीका पति रहेका प्रकाशको निधनले निजका पत्नीलाई परेको चोटबारे पनि हामीले देख्ने, पढ्ने र सुन्ने गरेको छौँ ।

परिवारको सदस्य गुमाउँदा परिवारजनलाई भन्दा ज्यादा चोट अरु कसलाई पुग्छ र ? हामीले प्रकाशबारे सुनेका, पढेका कुराको आधारमा यिनी कामै नलाग्ने मानिस त पक्कै होइनन् जस्तो लाग्छ । युद्धकालदेखि हालसम्म यिनले आफ्ना पिता प्रचण्डको असल सहयोगीका रूपमा काम गरेको बुझिन्छ । प्रचण्डको निजि सुरक्षादेखि अन्य व्यवस्थापकीय कुराहरूमा समेत संलग्न रहेर उनले दायित्व निर्वाह गरे ।

हामी मानवहरू सर्वगुणसम्पन्न दोषरहित भएका भए देवी–देवता हुन्थ्यौँ र दुर्गुणका भकारी मात्र भएका भए राक्षस–भुत हुन्थ्यौँ । हामीमा गुण र अवगुण दुबै भएकाले नै हामी मानव (नर–नारी) भएर कर्म गरिराखेका छौँ यस धर्तिमा । हामीमा दुर्गुण भन्दा गुणको मात्रा बढी हुँदा हामी असल कहिलन्छौँ भने अवगुण ज्यादा हुँदा खरावको संज्ञा पाउँछौा । औषत मानिसले आपूmमा नकारात्मक या खराब पक्षभन्दा सकारात्मक राम्रा पक्ष ज्यादा रहेको ठान्छ र समाजले पनि यस्तै ठान्छ भने त्यस्ता व्यक्तिलाई नराम्रा भन्न मिल्दैन जस्तो लाग्छ ।

प्रकाशका गुण–अवगुण बारे सबैभन्दा जानकार जन्म दिने आमा, बाबु, र पत्नीहरू नै हुनुपर्छ । बाहिरबाट हामीले हेर्दा किशोरावस्थादेखि बाबुसँगै संघर्षमा होमिएका प्रकाश केही कमजोरी र केही सकारात्मक पक्ष भएका औषत व्यक्ति नै थिए, अपाच्य व्यक्ति थिएनन् जस्तो लाग्छ । जब समाजका लागि उनी अपाच्य थिएनन् भने परिवारका लागि त अवश्य पनि प्रिय थिए होलान् । तसर्थ, मार्ने र मर्नुपर्ने कालखण्डमा सहयोगीका रूपमा काम गरेका जवान छोरालाई गुमाउँदा प्रचण्ड सार्वजनिक स्थलमा दुःखी देखिनु, दागबत्ती दिदाका बखत प्रचण्डका आँखाबाट आँसु झर्नु स्वभाविक हो, यसलाई अन्यथा लिनु हुँदैन ।

त्यस्तै पुत्र वियोगकी आमाका रूवाईमा हाँस्नु वा यसको गलत अर्थ लगाइने कार्य एक सभ्य नागरिकको लागि शोेभनीय कदापि होइन । हामी नभुलौँ सीता दाहालको कोखबाट उनको एउटा मात्र छोरा खोसिएको छ, पत्नीले पति गुमाएकी छन् । प्रचण्डका आँशुको कदर नगरे पनि एक आमा र पत्नीको आँशुको कदर गर्न नसके पनि उनिहरूको खिल्ली उडाउने काम कदापि राम्रो भन्न सकिँदैन ।

यहाँ केही अरु प्रसङ्ग पनि कोटयाउन मन लाग्यो । श्री ५ (पूर्व) ज्ञानेन्द्रलाई पुत्र पारसबाट कहिल्यै सहयोगको कुरा छोडौँ शान्तिपूर्वक बस्न सक्ने स्थिति समेत प्राप्त भएन । पारसका देश र विदेशमा रहँदाका क्रियाकलाप आमनागरिकलाई त पाच्य भएनन् भने शालिन बडामहारानी (पूर्व) कोमललाई कति बिजाउँथे होलान् यी पारसका हर्कत ? राम्रो, नराम्रो जस्तो कदम भए पनि शासनभार आफूले लिँदा राजा ज्ञानेन्द्रको के अपेक्षा–आशा थियो होला, जवान छोराबाट ? देखेका सुनेका यी निन्दनीय क्रियाकलापका बाबजुद पारसका यदाकदा देखिने सकारात्मक क्रियाकलापबाट मानिस खुशी हुने गर्थे र अझै हुन्छन् पनि । नेपाली नरनारी एक जवान छोराले वयस्क पितामातालाई पुऱ्याएको मानसिक चिन्ताले दुःखी बने । पारसमा राम्रो सुधारको आशा गर्न सकिन्छ । प्रकाशमा नशापानी र नारीसम्बन्धी केही कमजोरी अवश्य थिए भनेर ठोकुवा हामीजस्ता उनलाई नचिन्ने व्यक्ति पनि गर्न सक्छौँ, किनकि उनका सम्बन्धित क्रियाकलाप नै बोल्छन्, यसबारे ।

यस्तै, प्रकाशका क्रियाकलापलाई पिता प्रचण्डले सजिलै क्षमा गरेनन्, पार्टीगत कारबाही पनि नभएको होइन । तसर्थ ज्यान जोखिममा राखेर युद्धकालमा बाबुको मात्र भए पनि सुरक्षाको जिम्मा लिने छोराको मृत्युमा प्रचण्डले दुई थोपा आँशु चुहाउन किन नपाउने ? यो पनि हामी नभुलौँ क्रुर शासक सद्दाम हुसेन (जो घृणित थिए) लाई उनको मृत्यु (मृत्यु दण्ड)पछि विखण्डनको संघारमा रहेका इराकवासीले सम्झिँदै छन् आज । त्यस्तै लिबियाका शासक कर्णेल गद्दाफि जुन प्रकारले मारिए, गद्दाफिलाई लखेट्ने पश्चिममा संचारमाध्यमले नै त्यसलाई सहन गर्न सकेन र ‘हत्याको’ संज्ञा दिइयो । ढलमा लुकिराखेको र जीवनको भिख मागिराखेको तानाशाहलाई सोहि ढलमै मार्नु हुँदैनथ्यो भन्ने भनाईप्रति धेरैले आजसम्म विमति जनाउँदैनन् ।

निश्चय पनि प्रचण्डको नेतृत्वमा सञ्चालित युद्घमा धेरैको कोख रित्ता भए, धेरैको सिन्दुर पुछियो, धेरै घरवारविहीन भए । विपक्षको कारवाहीमा या युद्घमा प्रकाशको निधन भएको भए, प्रचण्ड र सीताले संघर्षका बेलामा उनका लडाकु सामुन्ने रुने हिम्मत गर्दैनथे होलान् । युद्घकालका यी कार्यका लागि कुन पक्ष कति दोषी छ आउँदा कालखण्डले बताउला भन्ने आशा गरौँ । तर, निबिर्सौ यो ‘खुच्चिङ’ भन्ने बेला होइन र युद्घकालीन कहालिलाग्दा घटनाहरूको सम्झना गर्ने–गराउने बेला पनि होइन । जवान छोरा गुमाएका प्रचण्डले प्रायश्चित गर्ने बेला पनि यो होइन जस्तो लाग्छ ।

हुँडारले चितुवालाई ‘माछामासु खानु हुन्न’ भन्ने शैलीमा केही नेताले प्रचण्डलाई दिने गरेका अर्ति–उपदेश हास्यास्पद छन् । यो समयमा विगतका कर्तुतको छानबिन हुने हो भने धेरै देश सञ्चालकहरू दोषी प्रमाणित हुने देखिन्छन् । अतः सारा देशले आँसु, नझारे पनि ‘प्रकाशको दिवंगत आत्मालाई शान्ति मिलोस्’ भन्न कन्जुस्याइँ नगरौँ ।

अब अलिकति अर्थतन्त्रका कुरा गरौँ । कति भनि रहने हाम्रो आर्थिक अवस्था राम्रो छैन भनेर–सबैले बुझेकै छन् । चुनावी घोषणा पत्रमा ठूला–ठूला बाचा गरिए पनि आर्थिक एजेन्डालाई प्रमुख रुपमा नेताहरूले चुनावी प्रचारप्रसारका क्रममा राखेका छैनन् । चुनावी घोषणापत्रहरूलाई आम जनताले अर्थहीन ठानेका छन् । वास्तवमा स्थानीय तहका निर्वाचनका लागि तयार गरिएका पत्रहरू नै पर्याप्त छन्, किन पटक–पटक अर्थहीन घोषणपत्र तयार गर्नु पथ्र्यो र ? केहि प्रमुख पार्टीका पत्रहरू त यति विस्तृत छन् कि आउने आठ–दश वर्ष अर्को घोषणपत्रको आवश्यता नै छैन ।

हाम्रो दयनीय आर्थिक स्थिति प्रष्टयाउन केहि तथ्याङ्कको सहारा लिँदैछु । कृषिप्रधान देश नेपाल प्रत्येक महिना करिव २ अर्बको चामल आयत गर्छ, मूलतः भारत, बंलादेश, थाइल्याण्ड र चाइनाबाट, अधिकांश चामल भारतबाट नै आयात गरिन्छ । इन्धनदेखि खाद्य सामग्रीको आयात चुलिँदो छ भने हाम्रो निर्यात नगण्य छ र नतिजा कहालिलाग्दो व्यापार घाटा हाम्रो सामु छ । यो उदेकलाग्दो व्यापार घाटाबारे कति नेताले बोल्ने गरेका छन् त ? यहाँ त दिगो शासन दिई समृद्घि ल्याउने एकथरीले भन्छन् भने अर्काथरिले दिगो शासन र समृद्घिका कुरा गर्नेलाई साँच्चै साम्यवाद स्थापना गर्न खोजको आरोप लगाइँदै छ । हाम्रा नेताले अरूबाट सिक्ने बेला भएन र ? याद रहोस्, अमेरिकी राष्ट्रपति ट्रम्पले हालै चीन भ्रमणका क्रममा आफ्नो देशको चीनसँग रहेको ३०० अर्ब डलरको व्यापार घाटा घटाउने कुरा मात्र गरेनन्, २५० अर्ब डलर बराबरको वाणिज्य सम्झौता नै गरे । चीनसँग ३०० अर्ब डलर बराबरको सामान बिक्री गर्ने कुरा पनि गरे । चीनप्रति कडा शब्द प्रयोग नगरेर, राष्ट्रपति सीको तारिफ गरेरै उत्तर कोरियाका आणविक कृयाकलाप रोक्न चाहिने चिनियाँ सहयोग प्राप्त गर्न पनि केही हदसम्म राष्ट्रपति ट्रम्प सफल रहे ।

हाम्रा नेताहरूले पनि अविश्वासिला हास्यापत्र रहिनरहने हो भने देशका लागि काम गर्न थाल्नुपऱ्यो । हुन त चलेकै छ, देश मरेको छैन भन्नको लागि या सान्त्वना लिनका लागि त कहालिलाग्दो महँगी व्याप्त भनेजुवेला छँदै छ । एक वर्षअघिको तुलनामा यो देशमा मुद्रास्फिति ४११५ प्रतिशतले बढेको छ भने यस वर्ष मात्र त्यस देशको मुद्रा ९६ प्रतिशतले अवमुल्यन भएको छ । हाम्रो नेपाली मुद्रा त विगत २० वर्षमा मात्र ४०० प्रतिशतले अवमुल्यन भएको छ भने हामी किन चिन्तित हुने भनेर भन्न किन नमिल्ने हाम्रा नेताहरूलाई ? तर चिन्तित हामी सबै हुनैपर्छ ।

विप्रेषणले कत्रो थेकभार गरेको छ हामीलाई र यसको पनि वृद्धि घट्दो क्रममा छ । गत आ.व.को ३ महिनामा ३.२ प्रतिशत ले बढेको विप्रेषण यो आ.व.को सोही अवधिमा २.६ प्रतिशतले मात्र बढेको छ । नेताहरू मात्र होइन सचेत नागरिक पनि चिन्तित हुनुपर्छ । इयुबाट बाहिरीने निर्णयपश्चात बेलायत विश्वको पँचौ अर्थतन्त्रबाट एक स्थान तल झरेकोमा बेलायती चिन्तित छन् भने पाँचौ स्थानमा उक्लेको फ्रान्स अब तल झर्न चाहँदैन । अनुमान गरिँदै छ कि सन् २०३० सम्ममा चीनको अर्थतन्त्र ३८ ट्रिलियन डलरको भई नम्बर १ स्थान ओगटने छ भने भारतीय अर्थतन्त्रको स्थान तेस्रो (१९ ट्रिलियन डलर) रहने छ । हामी अब के गर्ने ? उत्तर र दक्षिण हेर्दै नेपाललाई धनी बनाउने कि भनेजुवेला जस्ता समस्यामा परेका देश हेर्दै आत्मसन्तुष्टि लिएर आफू र आफ्नाको मात्र आर्थिक उन्नति गर्ने ? सुन, लागुपदार्थको कारोबारलाई छोड्ने हो भने छोटो समयमा डरलाग्दो किसिमले धनी हुन राजनीति गर्नेहरू मात्र सक्दा रहेछन् भन्ने नेपालीहरूले बुझिसके है !

भगवान पशुपति नाथले हामी सबैको रक्षा गरुन् !