मौका गुम्न सक्छ, नअल्मलिऔँ नेताका नौटङ्कीमा

मौका गुम्न सक्छ, नअल्मलिऔँ नेताका नौटङ्कीमा


– निर्जला कक्षपति

प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको चुनाव आउन अब केही दिन मात्र बाँकी छ । चुनावले घर–आँगन ढपक्कै छोपिसकेको अवस्था छ । सामाजिक सञ्जाल, घरदैंलो अभियान, व्यक्तिगत भनसुन जे–जे गरेर हुन्छ नेताहरू भोट माग्न हिँडिरहेका छन् । टेलिभिजनमा बाहेक, कहिल्यै आफनो घर–आँगनमा देख्न नपाइने नेताहरू जनताको घर–घर पुगेर चिल्ला कुरा गर्दा त पत्याउनै मुस्किल जस्तो ! कतिपय नेताले त जनताकहाँ पुग्दा दूध दोइदिएका, धान काटिदिएका र घाँसको भारी बोकेर समेत फोटो खिचाई फेसबुकमा तस्बिर पोष्ट गरेका सन्दर्भसमेत चर्चामा रहे । नेताको यो नौटङ्कीलाई लिएर हजारौँ कमेन्ट पनि आए । के अब पनि त्यत्ति सजिलो छ होला ? यस्ता नौटङ्की गरेर जनताले भोट हाल्नान् यी नेतालाई ? तीन दशकसम्म सास्ती र अलमलमा राखेका यी नेताहरूका बारे जनाताले एक–एक दामको हिसाब किताब गरेर बसेका छन्, जसको परिणाम निर्वाचनले देखाउनेछ ।

जति–जति चुनाव नजिकिँदै गएको छ चुनावमा आफ्नो जित कसरी हुन्छ भनेर नेताहरूले नयाँ–नयाँ रणनीति बनाउँदै जान्छन् । यो हाम्रोे देशमा मात्र होइन, अन्य देशका नेताहरूले गर्ने पनि यही नै हो । तर यहाँको जस्तो चुनावका बेला मात्र नेताहरू जनताकहाँ पुग्ने अनि हात जोडेर भोट माग्ने भनेको हाम्रो देशमा मात्र होला । जुन कुरा नेपालीहरू अब पटक्कै मन पराउँदैनन् । साना पार्टी होस् या ठूला, चुनावमा उठेको त जित्नको लागि नै हो । सामान्यतया जो कोहीले पनि जित्नका लागि नै आफ्नो उम्मेदवारी दिने गर्छन् । तर, विजयी हुनको लागि त काम गर्ने नेता नै हुनुपर्छ । जनस्तरमा भिजेको नेता हुनुपर्छ र राष्ट्रको उन्नतिको लागि केही गर्छु भन्ने चाहना अनि क्षमता भएको नेता नै हुनुपर्छ । इमानको राजनीति गर्ने व्यक्ति हुनुपर्छ । जनतको सेवा गर्ने भाव बोकेका नेता हुनुपर्छ । पटक–पटक सासंद पद पड्काइसकेकाहरूले जनतासमक्ष काम गरेर अलिकति भएपनि सुखको अनुभूति दिलाएको हुनुपर्छ । हैन भने पटक–पटक एकै व्यक्तिलाई भोट किन हाल्ने ?

केही दिनयतादेखि तपाईं–हामी मतदातालाई ठूला नेताको कार्यालयबाट भनेर फोन आउने क्रम बढ्दो छ । त्यति मात्र नभइ नेता स्वयंको दिनमा तीनपटक जस्तो मेसेज आउन थालेको छ । फलानो पार्टी र व्यक्तिलाई भोट दिनुहोला है, विगत पनि भोट दिएर सहयोग गर्नुभयो, यसपटक पनि तपाईंबाट हामीले आशा राखेका छौँ, सहयोग गर्नुस् है भनेर दिनहुँजसो फोन आउन थालेको छ । सायद योभन्दा पहिले यसरी कहिल्यै फोन आउने गरेको थिएन । फलानो नेताको कार्यालयबाट भनेर पहिलोचोटि फोन आउँदा त कुन चाहिँ जनता छक्क पर्दैनन् होला र ? मान्छेको बानी नै हो जहाँ आफूलाई अलि असुरक्षित ठान्दछ त्यसपछि मात्र सबैलाइ सम्झने अनि सबैको आवश्यकता ठान्ने गर्दछ । सत्ताको मात रहुन्जेल अथवा आफू जित्ने निश्चित देखिएपछि जनतालाई नेताले कहाँबाट आफ्नो सम्झनु र ?

लगातार नेताका दिनमा तीन–चार वटा फोन कल र मेसेज आयो भन्दैमा अब मैले मेरो मताधिकार प्रयोग गर्दा आफ्नो विवेक प्रयोग गरेर सही व्यक्ति चुन्ने कि नचुन्ने ? कि दबाब र प्रलोभनमा परेर फेरि पनि गलत व्यक्तिलाई नै भोट दिने ? निर्णय गर्ने अधिकार हामी जनताको हातमा नै छ । चुनावका बेला यस्ता धम्कीपूर्ण फोन, दबाब दिने फोन, अथवा नगद दिनेसम्मका फोन आउन सक्छन् । नेता असल र इमान्दार नभएका कारण हामीले यत्रो वर्ष दुःख झेल्नु पर्यो । अब पनि हामी यस्तै प्रलोभनमा पर्ने कि इमान्दार नैतीकवान नेता छान्ने ? त्यसैले यो समय भनेको आफनो विवेक पूर्ण रुपमा उपयोग गर्ने समय हो ।

आखिर राजनीतिमा सुधार नभई कुनै पनि क्षेत्र सुध्रिन मुश्किल पर्ने रहेछ, यो हाम्रो भोगाई हो । त्यसैले राजनीतिलाई सुद्धिकरण गर्नु अति नै जरुरी छ । हरेक जनताले भोट हाल्नुअघि म यो उम्मेदवारलाई किन भोट हाल्दैछु भन्ने प्रश्नको जवाफ खोज्नु जरुरी भैसकेको छ यतिबेला । अनि काम गर्न सक्ने इच्छाशक्ति भएको व्यक्ति हो कि होइन, योभन्दा अगाडि उसले कस्ता खालका कर्म गरेका छन्, अपराधी, भ्रष्टाचारी होकि होइन यी सबै कुरामा ध्यान दिनु उत्तिकै आवश्यक छ । हुन त भोलीको कुरा त कसलाई थाहा हुन्छ र तै पनि चुनाव जितेपछि आफू र आफनो परिवार अनि कार्यकर्ताको मात्र विकास गर्छकि समग्र देशको विकासमा आफनो शिप र समय अर्पित गर्छ त्यो कुरा हेर्नु अति नै आवश्यक छ । यदि हामीले भोट दिनुअघि छातीमा हात हालेर यो कुरा सोंचेनौँ भने फेरि उही यो देशको लागि बोझ बनेका नेताहरूको विजय हुनेछ अनि हाम्रो काम पनि पुर्पुरामा हात हालेर बस्नु सिवाय अरु केही हुने छैन । नेतालाई सराप्नु पनि बेकार हुनेछ । हामीले हाम्रो भविष्य त बर्बाद पार्यौँ पार्यौँ सन्ततीको भविष्य पनि अन्धकार नै हुनेछ ।

त्यसैले चुनावका बेला मतदातालाई अनेकौँ प्रलोभन आउन सक्छ, कसैले म विजयी भएपछि जागीर लगाइदिउँला भन्लान्, कसैले प्रोजेक्ट मिलाइदिउँला भन्लान्, कसैले धाराबाट २४सै घण्टा पानी आउने बनाइदिन्छु भन्लान् कसैले नेपाललाई अमेरिका बनाइदिन्छु भन्लान्, कसैले सिंगापुर अनि कसैले एक वर्षमा काठमाडौंमा रेल गुडाइदिन्छु भन्लान् । यी सबै झुठा आश्वासनहरू हामीले विगतमा पनि सुन्दै आएका हौँ । तसर्थ, यस्ता बकमफुसे कुरामा जनता नअल्झेको राम्रो । हामी जनताको लागि बाँच्न चाहिने आधारभूत आवश्यकता परिपूर्ति गरिदिन सक्ने नेता भैदिएको भए मात्र पनि ठूलो कुरा । काठमाडौंबासीका लागि धुलो–धुवाँमुक्त शहर बनाउने अनि घरघरमा भएको धारोबाट टपटप पानी चुहाइदिने मात्र नेता भए काठमाडौंबासीले ती नेतालाई पुज्नेछन् ।

चुनाव नजिकिंदै गर्दा केही दिनअघि बाट पैसाको चलखेलको कुरो पनि सुन्ने गरिन्छ । गरीव जनतालाई रुपैंयाँ बाँडेर भोट किन्ने परम्परा यो पुरानो नै हो । हामी नेपाली जनता यति सजग हुने बेला भएको छ कि रुपैंयाँ बाँड्नेसँग नगद लिए पनि गोप्य मतदान हो, असल र इमानको राजनीति गर्नेलाई भोट हाल्नु जरुरी छ । यदि हामीले अहिले राम्रो उम्मेदवार चयन गरेनौँ भने विकास र समृद्धि निकै टाढाको कुरा हुनेछ । त्यसैले यो देशको विकास हेर्नको लागि पनि सक्षम, केही गर्छु भन्न्ने भावना बोकेका, इमानको राजनीति गर्नेलाई विजयी गराउनु आवश्यक छ । हैन भने नेतालाई सरापेर मात्र हुनेवाला केही छैन है । आफ्नो विवेकको पूर्ण रुपमा उपयोग गरोैँ, योग्य व्यक्ति छानेर भोट हालौँ ।