छैटौं राष्ट्रिय प्रतियोगिता-श्रीविक्रम भण्डारी

छैटौं राष्ट्रिय प्रतियोगिता-श्रीविक्रम भण्डारी


गर कि मरको अवस्थामा सुदूरपश्चिम
खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिमको धनगढीमा आयोजना गर्ने निर्णय गरिसकेको छ । आउँदो फागुनको अन्तिम सातादेखि आयोजना हुने उक्त प्रतियोगिताको तयारी अहिले युद्धस्तरमा चलिरहेको छ । प्रतियोगितालाई समयमै सञ्चालन गर्न र सफलताको मर्ूतरूप दिन अहिले खेलकुद पदाधिकारी सुदूरपश्चिमको दौडाहामा निस्किएका छन् । ३२ खेल समावेश गरिएको छैटौँ राष्ट्रिय प्रतियोगिता डडेल्धुरा, कञ्चनपुर र कैलालीमा आयोजना गरिने आयोजक समितिले बताएको छ । प्रतियोगिताको सफल आयोजनाका लागि नेपाल सरकारले १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सरकारले उक्त रकम छैटौँ राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र खेल सञ्चालनका लागि प्रदान गरेको हो ।
छैटौँ राष्ट्रिय प्रतियोगिताको समय नजिकिँदै जाँदा कुरोले तीव्रता पाए पनि काम भने सोचेअनुरूप अगाडि बढ्न सकेको छैन । कुन-कुन खेल कहाँ-कहाँ आयोजना गर्ने भन्ने कुरामा अन्योल देखिएको छ । भौतिक पूर्वाधारको कमी र निर्माणका लागि समय थोरै भएकोले प्रतियोगिता तोकिएको समयमा हुने-नहुनेबारेमा समेत टुङ्गो लाग्न सकेको छैन । भौतिक पूर्वाधारकै कमीका कारणले पाँचौँ राष्ट्रिय प्रतियोगिता गर्न नसकेको धनगढीका लागि यो प्रतियोगिता गर कि मरको अवस्थामा पुगेको छ । बजेटको ढिलाइ गर्दा आयोजक समिति अहिलेसम्म हात बाँधेर बस्नुपरेको छ । खाउँm भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाबुको अनुहारजस्तै बनेको राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमका लागि अहिले पनि प्रसवपीडाभन्दा कम भएको छैन ।
हारगुहार गर्ने ठाउँ राखेप भए पनि त्यहाँका पदाधिकारीहरूको आ-आफ्नै डम्फु भएकोले कार्य अगाडि बढाउन निकै अप्ठ्यारो भएको छ । खेलकुद मन्त्रालय, राखेप, योजना आयोग र अर्थ मन्त्रालयका काम र कुरोको बेमेलले गर्दा दिनानुदिन समस्यामाथि समस्या उत्पन्न भइरहेको छ । बल्लतल्ल खेलकुदका पदाधिकारीहरूले आयोजन स्थलको निरीक्षणमा जाने निर्णय गरे पनि उनीहरूले बुझाउने प्रतिवेदनमा सुदूरपश्चिमका ज्यान अड्किएको छ । अर्थात् मान, सम्मान र प्रतिष्ठा गाँसिएको छ । प्रतियोगिता तोकिएको मितिमा हुने-नहुने या समय सारणी गर्नेबारेमा टुङ्गो लाग्नेछ । राष्ट्रिय प्रतियोगिता धनगढीमा आयोजना गर्ने राखेपले निर्णय गरे पनि अहिलेसम्म त्यसका लागि ठोस कदम उठाउन सकेको छैन । आयोजक कमिटीका पदाधिकारीहरूले परिषद्को दैलोमा रातदिन हारगुहार गर्दा पनि कसैले प्रतियोगिताका बारेमा जिम्मेवारीपूर्वक सोचेको पाइएको छैन ।
समयको पावन्दीले गर्दा राष्ट्रिय प्रतियोगिता अहिले धरापमा परेको छ । चर्चित तेक्वान्दो खेलाडी दीपक विष्ट राष्ट्रिय प्रतियोगिताका बारेमा निकै चिन्तित देखिएका छन् । राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमाञ्चलमा गराउन उनी ज्यान छोडेर लागेका छन् । सुदूरपश्चिमको प्रतिष्ठाको रूपमा रहेको राष्ट्रिय प्रतियोगिता समयमै सफलतापूर्वक आयोजना गराउन उनी मन्त्रालय, योजना आयोग र राखेपमा दिनहँु दौडाहा गरिरहेका छन् । चाकरी, चाप्लुसी र धम्क्याउनसमेत भ्याएका छन् । खेलकुदको बृहत् मेला आफ्नो क्षेत्रमा हुँदासमेत राजनीतिक दलका नेताहरूले कुनै चासो नदेखाउँदासमेत उनले हिम्मत हारेका छैनन् । राजनीतिक दलका नेताहरूले देखाएको उदासीनताले दीपकको मन पोलेको छ । उनी ती नेताहरूलाई चुनौती दिँदै राष्ट्रिय प्रतियोगिताको छिनोफानो गर्नेपटि्ट डटेर लागेका छन् । घटना र विचारसँगको जम्काभेटमा दीपकले भने- यो त अति नै भयो, साँच्चिकै हाम्रा नेताहरूले खेलकुदको वास्तविकतालाई बुझेका रहेनछन् । उनी निराश मुद्रामा भन्दै थिए, ‘आखिर एक्लो प्रयास कहिले सम्म -‘ सबै कुरा बितिसक्यो, कसैलाई चासो छैन ।
दीपकको चिन्ताले नेताहरूलाई प्रभाव पार्न नसके पनि राष्ट्रिय प्रतियोगितालाई भने अवश्य पारेको छ । उनको जागरुकताले राष्ट्रिय प्रतियोगिताको आयोजनाको आशा सुदूरपश्चिमाञ्चलले मारेको छैन । र्सर्ूय एउटै भए पनि संसारलाई उज्यालो पारेको ध्रुवसत्यलाई आत्मसात् गरेका दीपकले आफ्नो सतप्रतिशत योगदान दिन कहिल्यै पछि नहट्ने बताएका छन् । राष्ट्रिय प्रतियोगितालाई सुदूरपश्चिममा सफलतापूर्वक आयोजना गरेर मात्र सास लिने प्रतिबद्धता जाहेर गरेका दीपकले यसका लागि राजादेखि रंकसम्मको चाकरी गर्न आफू पछि नहट्ने बताए । प्रतियोगिताको आयोजनाका लागि समय निकै कम भएको बताउँदै जसरी पनि तोकिएको समयमा प्रतियोगिता हुने बताए । प्रतियोगितालाई सफलताको मर्ूतरूप दिन स्थानीय स्तरमा मात्र नभई केन्द्रीय स्तर र राजनीतिक दलहरूको पनि महत्त्वपूर्ण भूमिका रहने हँुदा सबैले आ-आफ्नो ठाउँमा बसेर सहयोग गर्न आग्रह गरेका थिए ।
राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुदको मेरुडण्ड हो भन्दा सायदै कसैको दुईमत होला । खेलकुदमा नयाँ हिरो जन्माउने यो प्रतियोगिताको महत्त्वबारे खेलकुदका पदाधिकारीहरूले पनि राम्ररी बुझेका छन् । र पनि, बजेट अभावमा कुनै पनि कार्य अगाडि बढाउन नसकिने ती पदाधिकारीहरूको दाबी छ । बजेटले नै प्रतियोगितालाई सञ्जीवनी बुटी प्रदान गर्ने भएकोले यो सबै अन्योलको बाधक पनि बजेट भएको बताएका छन् । राष्ट्रिय प्रतियोगिताका लागि सरकारले प्रदान गरेको बजेटको केही हिस्सा यही साता प्राप्त हुने र त्यसपछि तयारीका सम्पूर्ण कार्यक्रम द्रुत गतिमा अगाडि बढ्ने बताए । खेलकुद पदाधिकारीहरू राष्ट्रिय प्रतियोगिताका लागि आफूहरू निकै सकारात्मक भएको बताउँदै यसै साता सम्भाव्य स्थलहरूको निरीक्षण गर्न आफूहरू त्यसतर्फ जान लागेको खुलासा गरे । ती पदाधिकारीहरूले आयोजक कमिटीले प्रतियोगिता चार ठाउँमा आयोजना गरिने परिषद्लाई जानकारी गराएको बताउँदै खेल र खेलाडीको हितलाई ध्यानमा राखेर आफूहरूले निर्णय गर्ने बताए ।
ढिलो-चाँडो जहिले भए पनि छैटाँै राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा हुनुपर्नेमा सबैको एकमत रहेको छ । केही खेलहरूका पूर्वाधारहरू तोकिएको समयमा बन्न नसके पनि अन्य खेलका लागि खासै समस्या देखिएको छैन । तर्सथ विकासका हरेक पक्षबाट पिछडिएको र ठगिएको सुदूरपश्चिमको विकासका लागि मन, वचन र कर्मले सबैले सहयोग गर्नुपर्ने जरुरी भइसकेको छ । जसका लागि राज्य, सम्बन्धित निकायका साथसाथै जनताले चुनेर पठाएका राजनीतिक प्रतिनिधिहरूको भूमिका अहम् हुनुपर्ने स्थानीय जनताले विश्वास गरेका छन् । राष्ट्रिय प्रतियोगिताको आयोजनासँग सुदूरपश्चिममा खेलकुदको लहर आउने भएकोले पनि दीपकजस्तै अरू थुप्रै राष्ट्रिय प्रतिभा जन्माउन पनि सबैले होस्टेमा हैंसे गर्ने बेला भइसकेको छ । पछि पछुताउनुभन्दा खेलकुदको महत्त्व बुझी समयमै एकढिक्का भएर अगाडि बढ्न सके सुदूरपश्चिमको काँचुली फेरिने कुरामा दुईमत छैन ।

हिंगिसको हनिमुन माल्दिभ्समा
स्वीट्जरल्यान्डकी विश्वचर्चित महिला टेनिस खेलाडी मारि्टना हिंगिस हालै विवाहबन्धनमा बाँधिएकी छिन् । एक गोप्य समारोहमा ३० वर्षीया मारि्टनाले फ्रान्सका २४ वर्षीय शो जम्पर थिबाउल्ट हुटिनसँग विवाह गरेकी हुन् । यो विवाह दुवै पक्षका मित्रहरूका बीच सम्पन्न भएको थियो । एकपटक टेनिसकी कान्छीकी नामले परिचित मारि्टना सानो उमेरमा नै टेनिसमा तहल्का मच्चाउन सफल भएकी थिइन् । लामो समयसम्म विश्व टेनिस बरियताको शीर्ष स्थानमा रहन सफल मारि्टना पाँच एकल ग्रान्डस्लाम र थुप्रै अन्य प्रतियोगिता जित्न सफल भएकी थिइन् । टेनिस खेल्ने क्रममा खुट्टामा लागेको चोटले गर्दा उनी लामो समयसम्म टेनिस कोर्टबाट बाहिर बस्नुपरेको थियो । पुनः टेनिसमा फर्केपछि विम्बल्डन ओपनका दौरान कोकिन सेेवन गरेको प्रमाणित भएपछि मारि्टनलाई दुई वर्षको प्रतिबन्ध लागेको थियो । प्रतिबन्धसँगै सन् २००७ मा टेनिसबाट सन्न्यासको घोषणा गरेकी मारि्टना त्यसपछि सामाजिक कार्यमा लागेकी थिइन् । सोही क्रममा उनी नेपाल पनि आएकी थिइन् ।
टेनिसबाट सन्न्यास लिएपछि मारि्टना र हुटेनको प्रेम फक्रिएको थियो । केही वर्षको रोमान्सपछि हालै दुवैले विवाह गर्ने निर्णय लिएका थिए । आफ्नो विवाहको बारेमा धेरैलाई आर्श्चर्य लाग्ने भए पनि लामो समयको होमवर्कपछि आफूले विवाह गरेको मारि्टनाले बताएकी छिन् । आफ्नो विवाह एकाएक नभएको भन्दै यो योजनाबद्ध तरिकाले समयमै भएको र आफूहरू हनिमुनका लागि टापुहरूको मुलुक माल्दिभ्स जान लागेको खुलासासमेत गरेकी थिइन् ।

विश्वकपका हिरोहरू सम्मानित
सन् २०१० मा दक्षिण अफि्रकामा सम्पन्न भएको विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गत साता सम्मानित गरिएको छ । एडिडास गोल्डन अवार्डबाट सम्मानित हुने खेलाडीहरूमा डिएगो फोर्लान, इकर कासियास र थोमस मुलर रहेका छन् । विश्वको प्रतिष्ठित अवार्डको रूपमा स्थापित यो अवार्ड विश्व फुटबलको सबैभन्दा उच्चतम प्रतिस्पर्धामा गरेको प्रदर्शनको आधारमा दिइने गरिन्छ । स्पेनका कप्तान तथा गोलरक्षक इकर कासियास गोल्डन ग्लोभबाट सम्मानित भएका थिए । उनलाई स्पेनलाई पहिलोपटक विश्वकप जिताउन अहम् भूमिका र उत्कृष्ट प्रदर्शन गरेको आधारमा उक्त अवार्डबाट सम्मानित गरिएको थियो । यो पुरस्कारबाट सम्मानित भएपछि इकरले आफूलाई विश्वकप जितेझंै खुसी लागेको बताए । त्यस्तै विश्वकपमा समग्रमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा डियोगो फोर्लानलाई गोल्डन बल प्रदान गरिएको थियो । फोर्लानले यो पुरस्कार पाउनु आफ्नो सौभाग्य भएको बताउँदै फुटबल खेलाडी भएर पाएको सबैभन्दा उत्कृष्ट उपहार हो भनेका थिए । विश्वकपमा पाँच गोल गर्नुको साथै तीन गोलका लागि अवसर मिलाइदिएबापत थोमस मुलरले गोल्डन बुट प्राप्त गरेका थिए । मुलरले यो ठूलो सम्मान भएको बताउँदै आफूले अपेक्षा नगरेको फल पाएको बताएका थिए ।

आहा गोल्डकप माघमा
मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा गोल्डकपको नवौँ संस्करण माघदेखि शुभारम्भ हुने भएको छ । साहारा क्लबको आयोजनामा माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुदको सहरको रूपमा स्थापित गरौँ भन्ने नारा बोकेको उक्त प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन ६, छिमेकी राष्ट्र भारतका दुई, सहारा एफसी युके, पूर्वाञ्चल र पश्चिमाञ्चलका १-१ र आयोजक साहारा क्लब गरी १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको बारेमा जानकारी गराउँदै साहारा क्लबका अध्यक्ष विक्रम थकालीले यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको बताउँदै आसन्न नेपाल पर्यटन वर्षका लागि यो प्रतियोगिता साधक हुने स्पष्ट पारेका थिए । अध्यक्ष थकालीले यसपटकको विजेताले दुई लाख र उपविजेताले एक लाख पाउने बताउँदै सर्वोकृष्ट खेलाडीले याहामा मोटरसाइकल पाउने पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । त्यस्तै सर्वाधिक गोलकर्तालाई १५ हजार र अन्य उत्कृष्ट खेलाडी-प्रशिक्षकलाई जनही १० हजार प्रदान गरिने थकालीले बताए ।

सचिनको दादागिरी, भगवान्का अगाडि सबै नतमस्तक
वेष्टइन्डिजका महान् ब्याट्सम्यान सर विलियम रिचर्डले भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकरको रेकर्ड कसैले पनि तोड्न नसक्ने बताएका छन् । सचिनको खेलदेखि निकै प्रभावित भएका रिचर्डले सचिनजस्तो खेलाडी क्रिकेटमा पैदा हुन नसक्ने पनि खुलासा गरेका छन् । दुई दशकसम्म क्रिकेट खेल्नु आफैंमा कीर्तिमान भएको भन्दै यो अवधिमा सचिनले गरेको प्रदर्शन त्योभन्दा पनि उपलब्धिपूर्ण भएको बताएका छन् । एकदिवसीय क्रिकेट होस् या टेसट, दुवैमा यादगार प्रदर्शन गरेका सचिनले हासिल गरेको उपलब्धि आफैंमा अविष्मणीय भएको बताउँदै रिचर्डले उनको समक्ष पुग्न अन्य खेलाडीलाई निकै गाह्रो हुने स्पस्ट पारेका छन् । सचिनले क्रिकेटमा अद्भूत प्रतिभा, अद्भूत प्रदर्शन र अद्भूत प्रतिबद्धता जनाएकाले यस्तो अद्भूत सफलता मिलेको स्वीकार गर्दै रिचर्डले सचिनलाई क्रिकेटको भगवान्को संज्ञा दिनु उचित भएको बताएका थिए ।
सचिनको खेलदेखि निकै मोहित भएका रिचर्डले आफू सचिनको टेस्ट क्रिकेटमा ५० शतक हेर्न लालायित भएको बताएका छन् । टेस्ट क्रिकेटमा ४९ शतक प्रहार गरिसकेका सचिन शतकको अर्धशतक अर्थात् ५० शतक हान्न एक कदम मात्र टाढा रहेका छन् । दक्षिण अफि्रकामा सचिनले यो कीर्तिमान बनाउने अड्कल पनि काटिएको छ । रिचर्डले ३७ वर्षको उमेरमा पनि सचिन युवा अवस्थामा झैं खेलिरहेको स्पष्ट पार्दै उनले अझ कति शतक बनाउने हुन् त्यसको कुनै अनुमान र अड्कल लगाउन नसकिने बताएका छन् । वर्तमान अवस्थामा सचिनलाई चुनौती दिन सक्ने खेलाडी अस्ट्रेलियाका रिकी पोन्टिङ मात्र भएको बताउँदै उनको वर्तमान र्फम हेर्दा उनी सचिनको आसपास पनि नपुग्ने देखिएको छ । सचिनभन्दा टेस्ट क्रिकेटमा दुई हजार पाँच सय रनले पछाडि रहेका पोन्टिङको क्रिकेटजीवन अहिले खतरामा परेको र उनी कहिलेसम्म क्रिकेट खेल्ने हुन् टुङ्गोसमेत नभएको बताएका छन् ।
रिचर्डले सचिनको उत्कृष्ट प्रदर्शनको बारेमा चर्चा गर्ने क्रममा उनलाई अनुशासनको पुजारीको पनि संज्ञा पनि दिएका छन् । रिचर्डले सचिनले अनुशासन, प्रतिबद्धता र आत्मविश्वासले गर्दा नै यति लामो समय क्रिकेट खेल्न सक्षम भएको खुलासा गरेका छन् । चोट समस्याले बारम्बार पीडित हुँदा पनि सचिनले आफ्नो फिटनेसलाई सदाबहार राख्नु उनको सफलताको राज भएको बताएका छन् । सचिनले आफ्ना फ्यानहरूलाई कहिल्यै निराश नपारेको बताउँदै आउँदो विश्वकपमा उनले अझ उत्कृष्ट प्रदर्शन गर्ने बताए । आगामी विश्वकपको प्रमुख दाबेदार भारत भएको खुलासा गर्दै सचिनले उक्त विश्वकपमा महत्त्वपूर्ण भूमिका निभाउने र यादगार प्रदर्शन गर्ने बताए ।
त्यस्तै रिचर्डले वर्तमान अवस्थामा भारतकै वीरेन्द्र सेहवाग सबैभन्दा आक्रामक ब्याट््सम्यान भएको पनि बताएका थिए ।
त्यस्तै विश्वचर्चित ब्याट्सम्यान ब्राइन लाराले सचिनलाई शतकको अर्धशतक बनाएकोमा बधाई दिएका छन् । उनले सचिनलाई आधुनिक युगको सबैभन्दा उत्कृष्ट ब्याट्सम्यानको पनि संज्ञा दिएका छन् । लाराले डन ब्रेडम्यानको पालाको र अहिलेको क्रिकेटमा आकाश-पातालको फरक भएकोले सचिनलाई उत्कृष्ट ब्याट्सम्यान भएको घोषणा गरेका हुन् । समयसँगै क्रिकेटमा भएको परिवर्तन र प्रविधिको विकासलाई मध्यनजर गर्दा त्यसबेलाको क्रिकेटलाई अहिले क्रिकेटसँग दाँज्न नमिल्ने लाराले दाबी गरेका थिए । सचिनलेे आफूलाई सर्वोकृष्ट ब्याट्सम्यान मान्ने भए पनि उनी आफूभन्दा निकै उकृष्ट भएको बताएका छन् । सचिनलेे पाएको सफलता क्रिकेटको सफलता भएको बताउँदै क्रिकेटमा उनले बनाएको रेकर्ड कसैले तोड्न नसक्ने बताए । सचिनको क्रिकेटप्रतिको लगाव र निरन्तरताले गर्दा यो उपलब्धि हासिल गरेको उनको ठम्याइ छ । सचिनको नामबिना क्रिकेट अधुरो हुने भएकोले अब सचिन जति पनि रन बनाउँछन् त्यो उनको व्यक्तिगत नभई क्रिकेटको हुने पनि बताए ।

स्याबास सचिन †
‘स्याबास सचिन’ । अहिले क्रिकेटका धुरन्धर र प्रशंसकहरूले सचिनलाई पठाइरहेको सन्देश यही हो । सचिनले टेस्ट क्रिकेटमा शतकको अर्धशतक अर्थात् ५०औँ टेस्ट शतक बनाएपछि उनलाई विश्वभरिका क्रिकेट फ्यानहरूले विभिन्न उपमा दिएर बधाई दिइरहेका छन् । दक्षिण अफि्रकाको सेन्चुरियनमा भएको पहिलो टेस्टको दोस्रो इनिङमा सचिन शतक बनाउन सफल भएका थिए । टेस्ट क्रिकेटमा पचासौँ शतक प्रहार गरेपछि सचिनले यो शतकलाई आफ्नो बुबालाई समर्पित गरेका थिए । यो शतक प्रहार गर्नु एक दिन पहिले उनको बुबाको जन्मदिन थियो । सचिनले यो सबै विश्वभरिका आफ्ना शुभचिन्तकको प्रेरणा र प्रोत्साहनको नतिजा भएको बताए । सचिनले भविष्यमा पनि आफूले यस्तै आशा गरेको बताउँदै देशको गौरव बढाउन आफू कहिल्यै पछि नपर्ने बताए । अन्तराष्ट्रमा देशको नाम रोशन गर्न पाउँदा आफूलाई निकै गौरवान्तित भएको बताएका थिए । सचिनले यो शतकसँगै टेस्ट क्रिकेटमा १४ हजार पाँच सय रन पनि बनाउन सफल भएका छन् । टेस्ट र एकदिवसीय क्रिकेटमा ९६ शतक प्रहार गरिसकेका सचिनले विश्वकपका दौरान सयौँ शतक प्रहार गर्ने अनुमान गरिएको छ । दक्षिण अफि्रकाविरुद्ध एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गरेपछि सचिन अहिलेसम्म एकदिवसीय क्रिकेटमा उत्रिएका छैनन् । विगत नौ महिनादेखि एकदिवसीय क्रिकेट नखेलेका सचिनले विश्वकपमा तहल्का मच्चाउने अनुमान गरिएको छ ।

सचिन मदिराको एम्बेस्डर नबन्ने
क्रिकेटमा कीर्तिमानमाथि कीर्तिमान कायम गरेर भगवान्को संज्ञा पाएका भारतका लिटिल मास्टर सचिन तेन्दुलकरले हालै मदिराको एम्बेस्डर बन्न अस्वीकार गरेका छन् । मदिराको एक कम्पनीले उनलाई आफ्नो कम्पनीको एम्बेस्डर हुन प्रस्ताव राखे पनि उनले अस्वीकार गरेका थिए । उक्त कम्पनीले सचिनलाई वारि्षक ३२ करोड रुपैयाँ दिने प्रस्ताव राखेको थियो । करोडौँ युवाहरूका आदर्शका रूपमा रहेका सचिनले आफ्नो सामाजिक जिम्मेवारी र बुबाले सिकाएको पदचिह्न हिँड्ने बताउँदै उक्त प्रस्ताव अस्वीकार गरेका थिए । सचिनका बुबाले धुम्रपान र मदिराको विज्ञापनमा कहिल्यै नखेल्न उनलाई प्रतिज्ञा गराएका थिए । थाहा भएअनुसार कुनै पनि खेलाडीलाई ब्रान्ड एम्बेस्डर बन्न कुनै पनि कम्पनीले दिएको यो सबैभन्दा ठूलो रकम थियो । सचिनले मदिराको एम्बेस्डर बन्ने प्रस्ताव अस्वीकार गरेर क्रिकेटको मैदानमा मात्र नभई बाहिर पनि महान् व्यक्ति भएको प्रमाणित गरेका छन् ।