आत्मघाती मान्छे ‘अघि बढेपछि’ रोकिँदैन, किन ?

आत्मघाती मान्छे ‘अघि बढेपछि’ रोकिँदैन, किन ?



– देवप्रकाश त्रिपाठी

देशको राजनीतिक प्रक्रिया यति ‘अघि बढिसकेको’ छ कि अब यहाँबाट फर्कन सकिँदैन, राजनीतिक दलका नेताहरूबाट केही वर्षअघिदेखि प्रकट हुँदै आएको दाबी–अभिव्यक्ति हो यो । देश, जनता र प्रजातन्त्रलाई केन्द्रबिन्दुमा राखेर गरिने निर्णयहरू तत्काल सच्याउनुपर्ने या त्यसबाट पछि हट्नुपर्ने प्रकृतिका नहुन सक्छन् र कुनै गलत निर्णय हुन पुगेछ भने त्यसबाट तत्काल पछि हट्ने सामथ्र्य र लचकता पनि नेतृत्वमा हुन्छ–हुनुपर्छ । तर, राजनीतिक या आर्थिक प्रलोभन र दबाबमा गरिएका निर्णयबाट पछि हट्न भने निर्णयकर्ताहरू हिचकिचाउँछन्, जसरी निदाएको बहाना गर्ने मानिस ब्युँझन चाहँदैन ।

०६३ को परिवर्तनपछि नेपाललाई गणतन्त्रात्मक, धर्मनिरपेक्ष, सङ्घीय, समानुपातिक समावेशी मुलुकमा रूपान्तरण गरिएको छ । एघार वर्षको अवधिमा संविधानसभामार्फत संविधान जारी गर्ने, उक्त संविधानअनुरूप राज्यको स्वरूप तथा संरचना निर्धारण गर्ने र स्थानीय, प्रादेशिक एवम् प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने चरणसम्म परिस्थितिलाई तन्काइसकिएको छ । जबर्जस्ती भित्र्याइएकी भए पनि बालबच्चा भइसकेपछि कुनै पनि महिला ‘स्थिर’ हुन्छन् भन्ने पुरातन मान्यताअनुरूपको सोच दलका नेताहरूमा देखिन्छ । त्यसैले वास्तविक समस्याको समाधान गर्नेभन्दा पनि हतार–हतार बालबच्चा पैदा गरेर ‘स्थिरता’ पैदा गर्ने हुटहुटीमा राजनीतिक नेतृत्व रहेको अनुभूति आमनेपालीलाई हुँदै छ । सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई महान उपलब्धि भन्दै यसरी बाजा बजाइएको छ कि यसले सतीप्रथा कायम रहँदाको समय स्मरण गराएको छ ।

जब कुनै विवाहित पुरुषको निधन हुन्थ्यो, पत्नीले पतिसँग जिउँदै जल्नका निम्ति चितासम्म जानुपथ्र्यो । बालबच्चा भएकाहरू आफ्नो लालबाला सम्झेर, नभएकाहरू माइती सम्झेर र केही कोही नभएकाहरू पनि यो रमाइलो संसार सम्झेर रुने–चिच्याउने गर्थे । चेलीको विलाप नसुन्नका निम्ति चर्को स्वरमा बाजा बजाइन्थ्यो र मृतकसँगै ‘सती’लाई मसानघाटमा पुऱ्याएर जिउँदै जलाइन्थ्यो । हो, त्यही सतीको चीत्कार छोप्न बाजा बजाइएकै शैलीमा राजनीतिक दलका नेताहरूले सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समानुपातिक–समावेशी व्यवस्थालाई ‘महान् उपलब्धि’ भनेर चिच्याउँदै छन्, यिनको चिच्याहटले ‘सतीको आवाज’ छोपेको छ । वास्तवमा जेलाई उपलब्धिका रूपमा प्रचार गरिएको छ, यो नेपाली जाति र देशका निम्ति उपलब्धिभन्दा बढी अभिशाप सिद्ध हुने अनेकौँ कारण छन् । खासगरी धर्मनिरपेक्षताले इसाईकरणलाई प्रोत्साहित गरिरहेको र यसले कालान्तरमा सामाजिक द्वन्द्व बढाउने र गृहयुद्धसम्मको स्थिति पैदा गराउने सम्भावना छ ।

पृथ्वीकै एक मात्र ‘हिन्दू अधिराज्य’को पहिचान मेटिएकोमा सनातनी ओमकार परिवारसम्बद्ध मानिस स्थायी रूपमै दुःखी भएका छन् र यसरी दुःखी हुनेहरू सम्पूर्ण जनसङ्ख्याका बयासी प्रतिशतभन्दा बढी छन् । गणतन्त्रका कारण दुःखी हुनेहरूको सङ्ख्या पनि सानो नहुन सक्छ । सङ्घीय अवधारणाले त देशको स्थायित्व र अस्तित्वमै खतरा पैदा गर्नेसम्मको सम्भावना रहन्छ । एकात्मक अभ्यासमा रहेको मुलुक सङ्घीयतामा जानुको परिणाम नाइजेरियाले शताब्दीअघिदेखि भोग्दै छ । एक सय दुई वर्षअघि सन् १९१५ मा केही क्षेत्रीयतावादी र फरक धार्मिक समुदाय (इसाई) को इच्छापूर्ति गर्न नाइजेरियालाई सङ्घीय अवधारणामा लैजाने निर्णय भएको थियो । मुलुकलाई सङ्घीय ढाँचामा लैजाँदा समस्याको स्थायी समाधान हुने ठानिएको थियो । शुरुमा एउटा क्षेत्रलाई मात्र स्वायत्तता दिएर शुरु भएको सङ्घीयताको अभ्यास अहिले छत्तीस (३६) राज्य बनिसक्दा पनि गृहयुद्धमा पूर्णविराम लाग्न सकेको छैन ।

सुडान, इथियोपिया, रसिया (सोभियत सङ्घ) र युगोस्लाभियालगायतका मुलुकले विभाजनको जुन पीडा भोग्नुपरेको छ त्यस्तै पीडाभोगाइको पूर्वसन्ध्यामा बेल्जियम र क्यानडाजस्ता मुलुक पनि छन् । फरक–फरक देशको ‘झण्डासहित’ बसाइँ सरेर गएका मानिसको देश स्वीट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाले समेत दुई÷दुईपटक संहारक गृहयुद्धको सामना गर्नुपरेको थियो । हामी कृत्रिम ढङ्गले सङ्घीय ढाँचामा प्रवेश गर्दै छौँ र ‘सबै नेपालीको सिङ्गो नेपाल’ भन्ने विश्वास र अवधारणालाई विस्थापित गर्न खोज्दै छौँ । स्थानीय निकायलाई समयानुकूल अधिकार बढाउँदै लैजाने, जनतालाई गाउँ–टोलमै सेवासुविधा पु¥याउने विकेन्द्रीकरणको अवधारणा जायज र स्वीकार्य हो । तर, सार्वभौमिकता नै विभाजन गरी सृष्टि गरिने राज्यहरू कुन स्रोत र सोचबाट सञ्चालन हुने हो त्यसको निश्चितता छैन । सदरमुकामको नाममा, नामाकरणको निहुँमा, प्राकृतिक स्रोत तथा साधनमाथि स्वामित्व कायम गर्ने क्रममा र अधिकारका नाममा शुरु हुने द्वन्द्वको क्रम आरम्भ भएकै छैन ।

बहुसङ्ख्यक नेपालीको मन दुखाएर जारी गरिएको धर्मनिरपेक्षता, जनतालाई मानसिक रूपमा तयार नगरीकन कृत्रिम ढङ्गले लादिएको सङ्घीयता, राजाहरू असली राष्ट्रवादी हुन्छन् भन्ने विश्वास नमेटीकन घोषणा गरिएको गणतन्त्र र अप्राकृतिक एवम् असान्दर्भिक ढङ्गले लागू गरिएको समावेशी समानुपातिक अवधारणा नेपालका निम्ति आत्मघाती सिद्ध हुन सम्भवतः अर्को एक दशक प्रतीक्षा गर्नुपर्ने हुँदैन ।

एकात्मक अभ्यासमा रहेको मुलुक युगाण्डा तीन वर्षको ‘सङ्घीय’ अभ्यासपछि पुरानै अवस्थामा फर्किएको थियो, नेपाल अहिले सङ्घीय ढाँचामा प्रवेश गरेपछि कालान्तरमा यस्तो अवधारणाबाट फिर्ता हुने हो या अघि बढ्दै गएर देश विभाजनसम्म पुगेपछि मात्र सङ्घीयताको यात्रामा विराम लाग्ने हो थप केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । समावेशिता र समानुपातिक शीर्षकमा पैदा भएका विकृति हामीले अहिले नै भोगिसकेका छौँ । यस अवधारणाअनुरूप दिइने आरक्षणको आधार जातीय बनाउँदा उत्पन्न हुने विकारको उदाहरण भारत हो । भारतले पनि उक्त गल्ती सच्याएर आरक्षणको आधार आर्थिक स्थितिलाई बनाउने तत्परता लिँदै छ । हाम्रा राजनीतिकर्मीहरू जातीय आरक्षणलाई पनि महान् उपलब्धिका रूपमा प्रचार गर्दै छन् । विभिन्न स्तरका निर्वाचनहरू सम्पन्न भएकै कारण यसप्रकारका विकारहरूको असर अन्त्य हुने विश्वास गर्न सकिँदैन ।

राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय पहिचानका सबै आधार मेटाउँदै जाने क्रममा शुरुमा राजसंस्था विस्थापित गरियो, त्यसपछि धर्ममाथि आक्रमण भयो÷हुँदै छ । राष्ट्रिय राजनीतिक दललाई जातीय तथा क्षेत्रीयतावादी समूह पैदा गरेर कमजोर तुल्याउन खोजियो । नेपालीको पहिचान झल्काउने पोशाक विधिवत् विस्थापित गरियो र राष्ट्रसेवक भनिने कर्मचारीसमेत अचेल टाईमा ढल्किएर प्रस्तुत हुने गर्दछन् । प्रदेश सरकारहरूको गठनपश्चात् बिस्तारै भाषामाथि पनि आक्रमण हुनेछ । देशको मौलिकता प्रकट हुने र नेपालीको पहिचान झल्किने सबै तत्वगुण मेटेर ‘अघि बढ्नु’लाई महानतम् क्रान्तिकारी कर्म भन्ने गरिएको छ । नेताहरूले महान् उपलब्धिका रूपमा प्रचार गरेको एजेण्डाबारे जनता अनभिज्ञ छन् । अदृश्य शक्तिले भिडाएका एजेण्डा आफ्ना नेताले बोकेको हुँदा जनताले ती एजेण्डा पनि ‘आफ्नै होलान्’ भन्ने ठानेका हुन सक्छन्, त्यसैले प्रतिवादका निम्ति अहिलेसम्म अग्रसरता लिइएको छैन ।

देशलाई विघटनको स्थितिसम्म पुऱ्याउने आत्मघाती एजेण्डाहरूको खारेजीका निम्ति जनजागरण पैदा नहोस् भनेर राजनीतिक नेतृत्वले ‘स्थायित्व र विकासको’ अर्को आकर्षक नारा दिन थालेको छ । कुनै पनि मुलुकको निम्ति स्थायित्व र विकास पहिलो या सर्वाधिक महत्वपूर्ण सर्त हुन सक्छ, तर कृत्रिम ढङ्गले ल्याइएका आत्मघाती एजेण्डाहरूबाट जनताको ध्यान हटाउनका लागि मात्र दिइने स्थायित्व र विकासको नाराले वास्तवमा कुनै पनि मुलुकलाई स्थायित्व र विकास दिन सम्भव हुन्न । बहुसङ्ख्यक नेपालीको मन दुखाएर जारी गरिएको धर्मनिरपेक्षता, जनतालाई मानसिक रूपमा तयार नगरीकन कृत्रिम ढङ्गले लादिएको सङ्घीयता, राजाहरू असली राष्ट्रवादी हुन्छन् भन्ने विश्वास नमेटीकन घोषणा गरिएको गणतन्त्र र अप्राकृतिक एवम् असान्दर्भिक ढङ्गले लागू गरिएको समावेशी समानुपातिक अवधारणा नेपालका निम्ति आत्मघाती सिद्ध हुन सम्भवतः अर्को एक दशक प्रतीक्षा गर्नुपर्ने हुँदैन ।

यसप्रकारका आत्मघाती एजेण्डाहरूलाई महान् उपलब्धिका रूपमा प्रचार गर्नेहरूका निम्ति वास्तवमै यो महान् उपलब्धि सिद्ध भएको छ, २०६३ अघिको तिनको आर्थिक हैसियत वर्तमानसँग तुलना गरियो भने यो तत्काल प्रमाणित हुनेछ । तर, महान् उपलब्धिका रूपमा प्रचारित एजेण्डाहरू जतिसुकै चरणका निर्वाचन सम्पन्न गराए पनि अन्ततः आत्मघाती प्रमाणित हुने नै छन् । आत्मघाततर्फको यात्रामा रहेका कुनै पनि व्यक्ति आफैँ फर्कन असमर्थ रहन्छन् । कोही मानिस आत्महत्या गर्ने सोच बनाएर निस्केको हुन्छ भने ऊ आफैँ घर फर्कन खोज्दैन, कसैले फर्काउनुपर्ने हुन्छ । ‘म हिँडिसकेँ, हिँडेको त मर्नै भनेर हो, तर मर्न भए पनि अघि बढिसकेको हुनाले अब फर्कन मिल्दैन’ भन्ने भनाइ÷सोच आत्मघातीको हुने गर्दछ । यस सम्बन्धमा मानवीय मनोविज्ञान प्रस्फुटित गर्ने एउटा वास्तविक घटना–सन्दर्भ यहाँ उल्लेख गर्नु उपयुक्त ठानिएको छ ।

मेरो जन्मस्थान मलेखु (रिचोकटार) मा कुनै कारणवश कसैले आत्मघातको निर्णय लियो भने उसको रोजाइमा त्रिशूली नदी पर्ने गर्दछ । धेरै युवायुवती र जीवनसँग हारेको ठान्नेहरूले त्रिशूली नदीलाई आफ्नो जीवन समर्पण गरेका छन् । यस्तैमा एकजना थिए गोरे श्रेष्ठ, जसले जीवनमा आइपरेको विपत्ति सहन नसकेर आत्मघात गर्ने निर्णय लिए । उनको एक मात्र छोरा थियो । दशकौँअघि समाजमा जातीय भावना र छुवाछुत परम्परा कायम रहेका बेला उनको छोराले विश्वकर्माकी पुत्रीलाई पत्नी बनाएर घरमा भित्र्याए । यसरी छोराले अजातीय कन्या घरमा भित्र्याएपछि उनका अघिल्तिर दुई विकल्प अगाडि आए, विवाहलाई स्वीकार गर्दै समाजमा जात फालेर आफू अजातीय बन्ने या घर छोडेर बाहिरिने र जात जोगाउने ।

गोरेले पहिलो विकल्प रोजे, जात फालेर छोरा बुहारीसँगको सम्बन्ध जोगाउने । जिन्दगी राम्रैसँग चलिरहेको थियो, तर मानिसले गोरेलाई छोएपछि छोइछिटो भने गर्न थालेका थिए । विवाहको वर्ष दिनपछि अज्ञात रोग लागेर छोरा बिरामी परे, अनेकौँ उपचार गर्दा पनि स्वास्थ्यमा सुधार भएन । पतिको यस्तो अवस्था देखेपछि पत्नीले नयाँ पति खोज्ने सोच बनाइछन् र एक दिन घर छोडेर कसैसँग हिँडिन् । यस घटनाको केही दिनपछि ती बिरामीको निधन भयो, यस घटनालाई गोरेले सहन सकेनन् । छोराको खुशीको लागि भनेर जात फालेका थिए, अब त जात पनि रहेन र एक मात्र छोरा पनि । छोराको लास आँगनमा सुताइएको थियो, गोरे छाती पिटिपिटीकन रोए र रुँदारुँदै ‘अब बाँच्दिनँ’ भनेर त्रिशूली नदीतर्फ दौडिए । मलेखुको वैकुण्ठपुरी बजारबाट एक किलोमिटर दक्षिणतर्फ पहाडको फेदीमा रहेको गाउँबाट उनी दौडिए आत्महत्या गर्न । त्यहाँ रहेका केही युवा गोरेलाई समातेर घर फर्काउन पछिपछि कुदे । पीडामा रन्थनिएका गोरेको गति यति तीव्र थियो कि एकैछिनमा झण्डै पाँच सय मिटरको अन्तर बन्यो ।

गोरे अघिअघि आत्मघात गर्न, पछिपछि उनलाई बचाउन जानेहरू । गाउँबाट त्रिशूली नदी देखिँदैन, नदी भेट्न करिब दुई किलोमिटरको दूरी तय गर्नुपर्छ । हाल बजार भएको ठाउँबाट केही उत्तरतर्फ बढेपछि नदी देखिन्छ, गोरेले पनि देखे । नदी देखिनेबित्तिकै गोरे झस्किए, मनमा आएछ– ‘ओ हो ! आज मर्ने भैयो ।’ पछाडि फर्किएर हेरे, उनलाई समाउन आउनेहरू अझै टाढा थिए । गोरेले आफ्नो वेग कम गर्नु उपयुक्त ठानेनन्, मर्न हिँडेको मानिसले वेग कम गर्दा आफूमाथि विभिन्न प्रश्न उठ्ने ठाने उनले र, वेगलाई निरन्तरता दिए । नदी नजिकिँदै जाँदा गोरेलाई जीवनप्रतिको मोह बढ्न थाल्यो, सोचे– ‘ओहो, यति राम्रो जिन्दगी दाहो¥याएर पाइन्न, आज मर्ने भैयो कि क्या हो !’ छोरा मरेको, जात गएको पीडा उनले भुले, अब आफू मरिने चिन्तामा उनी परे । पछिल्तिर फर्किएर हेरे, बचाउन आउनेहरू अझै टाढै थिए । गोरेले वेग कम गरिदिएको भए दूरी कम हुन सक्थ्यो, तर एकपटक मर्ने निर्णय गरेर अघि बढिसकेको हुनाले वेग कम गर्दा निर्णय बदलेको अर्थ लाग्न सक्छ र समाजले आफूलाई हास्य र खिसिट्युरीको पात्र बनाउँछ भन्ने चिन्ता उनमा पैदा भयो । त्यसैले मर्न हिँडेको वेगलाई उनले यथावत् राखे । सकेसम्म बचाउनेहरूले भेट्टाउन सकून् भनेर त्रिशूलीको बगरमा गोरेले ठाउँ–ठाउँमा जानाजान खुट्टा फिस्ल्याए जसले गर्दा उनको वेगमा कमी आयो ।

घरि न घरि टाउको घुमाएर उनी पछाडि हेर्दै थिए, दूरी केही कम भएको थियो, तर वेग रोक्न मिल्ने उनले उपयुक्त ठानेनन् । किनभने उनी आत्मघातका निम्ति अघि बढिसकेका थिए । अन्त्यमा पानीछेउको एउटा ठूलो ढुङ्गामाथि चढे र गोरे नदीमा फाल हान्न मात्र लागेका थिए, एक युवाले फुर्तीसाथ ढुङ्गामा चढेर गोरेको पाखुरामा समाते । अब गोरे बाँच्ने भए, बाँचिने भैयो भन्ने विश्वास भएपछि उनी मर्नका निम्ति झनै बल गर्न थाले । तर, गोरेले आत्महत्या गर्ने मौका पाएनन् । हामी सानो छँदा गोरेको उमेर सात दशक कटिसकेको जस्तो देखिन्थ्यो । कहिलेकाहीँ हामी केटाकेटीहरूलाई आफ्नो वरिपरि राखेर जीवनको दुःखद घटना आफ्ना आँखा चम्काइचम्काईकन उनी सुनाउने गर्दथे । भन्थे, ‘बाबुहरू हो ! आत्महत्या गर्ने मान्छे अघि बढेपछि रोकिँदैन, मन फर्किएर बाँच्ने इच्छा भएछ भने पनि यस्तो मानिस आफ्नो निर्णयबाट पछि हट्न सक्दैन, अरू कसैले रोकिदिनुपर्छ ।’

नेपालमा हामीले व्यहोर्नुपरेको हालको राजनीतिक नेतृत्वले तय गरेको यात्रा पनि आत्मघाततर्फकै हो । यिनले तय गरेका एजेण्डा पु¥याउने ठाउँ भनेको देशको बर्बादी या विघटन नै हो । यात्रा आत्मघाततर्फको हो भन्ने जान्दाजान्दै पनि उनीहरू गोरेझैँ फर्कन सक्ने अवस्थामा छैनन् । भन्छन्, ‘अब धेरै अघि बढिसकियो फर्कन सकिँदैन ।’ तर, ‘रेस्क्यु’ गरिदिने कसले ? यिनलाई आत्मघाततर्फको यात्राबाट फर्काइदिने कसले ? देशमा जनता नामको स्वतन्त्र समुदाय पनि भइदिएको भए तिनले आवश्यक र उचित भूमिका निर्वाह गर्न सक्थे । अदृश्य शक्तिको कब्जामा नेता, नेताको कब्जामा कार्यकर्ता र कार्यकर्ताको कब्जामा मान्छे भएको देशमा जनताको भूमिका निर्वाह गर्न सक्ने–गर्न खोज्ने स्वतन्त्र र सचेत मानिसको ठूलो अभाव भएको छ, त्यसैले आत्मघाततर्फको यात्रामा विराम कसले लगाइदिने भन्ने चिन्तापूर्ण अवस्था पैदा भएको छ ।